Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

आरक्षणः दोहोरो धार भएको राजनीतिक हतियार

कुमार दाहाल

बाबा अम्बेडकरको विषयमा भारतका गृहमन्त्री अमित शाहको लोकसभाभित्रको वक्तव्यलाई लिएर भारतीय संसदमा हंगामा भएको छ । बाबा अम्बेडकर अनुसूचित र सीमान्त जाति र वर्गको आरक्षण, संरक्षण र उत्थानको विषयका ठूला संस्थापक योद्धा हुन् । भर्खरै बंगलादेशमा आरक्षणको विषयलाई लिएर सत्ताको तख्तापलट भएको छ । भारतीय राष्ट्रिय कांग्रेसको सामाजिक न्याय र संरक्षणवादी अडानले भारतीय लोकसभामा बाबा अम्बेडकरको विषय निकै चर्को रुपमा उठेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संरक्षणवादी राष्ट्रवाद र राष्ट्र प्रथमको नीति र युरोपमा चल्दै गरेको राष्ट्रवादको समर्थनले संसारमा आन्तरिक राष्ट्रवादको संकेत देखापरेको छ । यद्यपि यो विषय निश्चित वर्ग जनजातिको उत्थान र संरक्षणको विषयमात्र नहोला, तर राजनीतिभित्र देखिएका यस्ता संकेत चरम पुँजीवाद र प्रजातन्त्रभित्र बढ्दै गएको प्रियतावादको उत्कर्ष होइनन् भन्न सकिँदैन ।

आरक्षण संरचनात्मक भेदभाव हो । यो भेदभाव नै समानताको औजार मानिन्छ । सामाजिक न्यायको उत्तर आधुनिक मन्त्र आरक्षण नै हो । अर्थशास्त्रको पुँजीले मात्र न्याय दिँदैन भन्ने मार्क्सवादी अवधारणा अहिले चरितार्थ हुँदैछ । किन्सिएन अर्थशास्त्रको असफलताको विषय मार्क्सले त्यतिखेरै भनेका थिए । मान्छेको योग्यताको न्यायपूर्ण वितरण प्रणालीबाट मात्र बजारमा न्याय प्राप्त हुन्छ भन्ने विषय आरक्षणको मूल आशय हो । संसारमा ८० को दशकसम्म सामाजिक न्यायका विषय ओझेल थिए । किनकि अर्थतन्त्र र पुँजीको उपयोग राज्यको नियन्त्रणभित्र थियो । सन् १९८० को नवपुँजीवादले यो नियन्त्रण भङ्ग गरिदियो । भौगोलीकरण र व्यापारले धनी र गरिबको खाडल झन् बढायो ।

यो चिन्ता तिनै देशलाई थियो, जसले गरिब देशबाट समेत पुँजी भित्र्याउँदै थिए र छन् । यो विषय गरिब देशले थाहै पाएनन् । सहश्राब्दी विकास लक्ष्य, वातावरण र जलवायु परिवर्तन, मानव अधिकार, प्रजातन्त्र र सामाजिक न्यायका नाममा जी(सेभेन र जी(ट्वेन्टीले अविकसित देशमा ऋण अनुदान दिँदै गए । यो उनीहरूको अनिवार्य दायित्व र संरक्षणवादी नीति थियो र छ, तर हाम्रा जस्ता देश ऋण र अनुदानबाट यति थिचिए कि देशभित्रै सामाजिक न्याय र आरक्षणलाई मूल सिद्धान्तको रुपमा अपनाउनुपर्ने बाध्यता बन्यो ।

यसबाट विकसित देशलाई दुइटा फाइदा भयो । पहिलो( गरिब देश सधैं सामाजिक न्याय र वितरण प्रणालीभित्रै रमाइरहन्छन् र दोस्रो( पुँजीको अत्यधिक उपयोग तिनै धनी देशले गरिरहन्छन् । जसको फाइदा गरिब देशले संरक्षणको रुपमा लिने गर्छन् । यस्ता संरक्षण हामीले अपनाइएको सामाजिक न्याय नै हो, तर यो गहिराइसम्म पुग्न हाम्रा नीति निर्माता तत्पर छैनन् । किनकि अन्तर्राष्ट्रिय बजार र पुँजीको उपयोग सम्बन्धमा हामी धनी देशसँग आँखा जुधाएर वार्ता गर्न सक्दैनौं । यसको अर्थ गरिब देश जति सक्दो सहायता र अनुदान लिनमा उत्सुक हुन्छन्, हतारिन्छन् ।

आरक्षण र संरक्षण जस्ता नीतिले वर्गको उत्थानमा समानता पहुँच र अपनत्व त दिन्छ नै, तर दीर्घकालमा यो अधिकारको रुपमा स्थापित हुन्छ । त्यसैले आरक्षण धेरै वर्षसम्म रहिरहनु हुँदैन । नत्र यो आदत बन्छ । बङ्गलादेशको पछिल्लो उदाहरण यही हो । यो आदतले योग्यता प्रणालीलाई मात्र खराब गर्दैन । देशको शासन प्रणालीमाथि नै चुनौती दिनसक्छ । भारत, बंगलादेश, पाकिस्तान नेपाल अहिले यही अवस्थाबाट गुज्रिरहेका छन् ।

आरक्षण दोहोरो धार भएको तरवार हो । यसको तटस्थ तर्क कुतर्क हुनसक्छ । आरक्षणका पक्षधर विरुद्धमा बोल्न कठिन छ । त्यसैले आरक्षणको विश्लेषण गर्दा यसको तथ्यमा आधारित भएर गर्नुपर्छ । आरक्षणबाट शिक्षा, राजनीति, नोकरी प्राप्त हुन्छ । त्यसैले आरक्षणका पक्षधर यसको विरोध रुचाउँदैनन् । गरिबी देशमा वितरण प्रणाली तटस्थ हुन सक्दैन । किनकि स्रोतको सीमितता हुन्छ । पिछडिएको र सीमान्त वर्गमा स्रोतको वितरणमा समानता नभएको विश्वास रहन्छ । यो विश्वास जित्न सरकारले आरक्षणको नीति दिन्छ ।

बीसौं शताब्दीका ठूला विचारक जोन रहल्स, डेकाटेले राज्यका नीतिमा तटस्थताको सिद्धान्त प्रतिपादन गरे । आरक्षणको प्रमुख सिद्धान्त तटस्थताको सिद्धान्त हो । समाजका सबै पक्षलाई तटस्थ रुपमा हेर्ने र सम्मान गर्ने व्यवस्था आरक्षण हो । सिद्धान्ततः आरक्षण समानताको विरुद्ध हुन्छ । आरक्षण बुझ्न समानता, समतामूलक व्यवहार बुझ्नुपर्छ । नेपालमा महिला, मधेशी, अपाङ्ग, पिछडिएको वर्गलाई आरक्षण कहिलेसम्म दिने भन्ने विषय झूटो विषय हो । किनकि राजनीतिले सधैंभरि आरक्षण खोजिरहन्छ । भारतको संविधानमा राजनीतिक आरक्षण १० वर्षसम्म र कर्मचारीतन्त्रको आरक्षणको विषयमा केही लेखिएको छैन । बेलाबेला यो विषयमा त्यहाँको अदालतका आदेश बढी आकर्षित हुने गर्छन् । अहिले भारतको संसदमा चर्किएको विषयको अप्रत्यक्ष आशय यही हो ।
नेपालको आरक्षण यही सिद्धान्त र अन्तर्राष्ट्रिय परिवेशबाट प्राप्त भएको विषय हो, तर यसलाई हामीले पञ्चायत र शासन प्रणालीको दोष ठान्यौं । यो दोष आन्तरिकमात्र थिएन । सामाजिक न्याय, मानव अधिकारका विषयमा हामीले झण्डै दर्जनौं अन्तर्राष्ट्रिय अभिसन्धिमा हस्ताक्षर गरेका छौं । त्यसपछि गरिबी निवारण कोष, सहश्राब्दी विकास लक्ष्य, शासकीय सुधार, डब्ल्यूटीओ सदस्यताको प्राविधिक सहयोगलगायत थुप्रै क्षेत्रमा खर्बौंभन्दा बढी अनुदान र ऋण लियौं, तर ती सबै अहिले मूल नीतिमा छैनन् ।

हामीले अन्तर्राष्ट्रिय क्षेत्र दाता र समूहबाट सामाजिक न्याय र तल्लो वर्गको उत्थानको लागि लिएको सहयोगको मूल्याङ्कन कसले गर्ने रु यसैको प्रत्युत्पादक अहिले आरक्षण भएको छ । यदि यी कार्यक्रम सफल भएको भए आरक्षणको लागि नीतिमै दबाब गर्नुपर्ने स्थिति आउँदैनथ्यो, तर आज हामी आरक्षणलाई झन् विस्तृत बनाउँदैछौं । यो तत् वर्गको अधिकारको कुरा पक्कै हो, तर यसले अन्त्यमा झन् ठूलो सामाजिक विभेद खडा गर्छ भन्ने विज्ञता पक्कै राज्यका नीति निर्मातालाई थाहा होला ।

नेपालमा राजनीति र प्रशासन दुवै क्षेत्रमा आरक्षण छ । नेपालको अन्तरिम संविधान २०६३ ले महिलालाई राजनीतिमा ३३ प्रतिशत र प्रशासनमा महिला र सबै समुदाय तथा वर्गलाई ४५ प्रतिशत आरक्षणको व्यवस्था गर्‍यो । महिला, आदिवासी तथा जनजाति, दलित, मधेशी, मुस्लिम, अपाङ्ग र पिछडिएको वर्गलाई आरक्षण दिइयो । अन्य सामाजिक न्यायका विषय छुट्टै छन् । वितरण प्रणालीमा आधारित सामाजिक न्याय र सकारात्मक विभेदका नीति तत् वर्गलाई छँदैछन् । विगत १५ वर्षमा आरक्षण र यसको प्रभाव उल्लेख्य छैन । अहिले तत् वर्गका सीमान्त क्षेत्र आरक्षणको नीतिप्रति उदासीन छन् ।
यसको अर्थ आरक्षण नीति होइन, यसको प्रयोगको अप्रभावकारिता मुख्य हो । अपाङ्गता नदेखिने अपाङ्गले आरक्षणको सुविधा लिएका छन् । वास्तविक अपाङ्ग यसको पहुँचभित्रै छैन । तत् वर्गका उपल्लो वर्गले महिलाको आरक्षण उपयोग गरेको छ । सीमान्त महिला अहिले वैदेशिक रोजगारतर्फ आकर्षित छन् । पिछडिएको वर्गका शहर केन्द्रितले आरक्षणको सुविधा लिएका छन् । गाउँमा आरक्षण पुगेकै छैन । प्रथमतः आरक्षण दिने वर्ग र क्षेत्र समष्टि रुपमा हेर्दा आरक्षण नीतिको पुनः मूल्यांकन गर्नुपर्ने स्थिति छ । आरक्षण सधैंको लागि होइन, आरक्षित वर्गको उत्थान एउटा समयभित्र गरिसक्नुपर्छ भन्ने सिद्धान्तभित्र अडिन अहिले कोही तयार छैन ।

भारतका संविधानविद् डाक्टर बाबा अम्बेडकरले भनेका छन्, ‘आरक्षण वैशाखी होइन । यो निश्चित समयभित्र आरक्षित वर्गको उत्थानको आधारमा मूल्याङ्कन हुनुपर्छ ।’ नेपालमा १५ वर्षमा आरक्षणले झन्डै २६ हजार पदमा आरक्षित वर्ग पुगेका छन् । सङ्ख्यात्मक हिसाबमा यो उच्च हो । महिलाको प्रतिनिधित्व स्थानीय तहमा झन्डै ३८ प्रतिशत छ । राजनीतिमा उल्लेख्य संख्यामा आरक्षण पुगेको छ, तर यसको गुनासो र गुणात्मक पक्ष साह्रै कमजोर छ । आरक्षणको सामाजिक न्याय वितरण प्रणाली गाउँसम्म पुगेन । उत्पादन, उद्योग, श्रम र बजारमा आरक्षित वर्गको पहुँच पुगेन । यिनीहरु सरकारी पहुँचसम्म पुग्नै सकेनन् ।

राजनीतिले आरक्षणलाई कार्यकर्ताको रुपमा प्रयोग गर्दै गयो । पुनर्भरण र क्षतिपूर्तिको रुपमा दिइने आरक्षण र आर्थिक र सामाजिक रूपमा दिइने आरक्षण अब फरक हुनुपर्छ । हतारमा हामीले सबैलाई एउटै बास्केटमा राखेर विश्लेषण गरेका छौं । विश्वमा फैलँदै गरेको आन्तरिक राष्ट्रवाद कतै यस्तै सामाजिक नारा र विषयको रुपमा नेपालमा पनि प्रभावित नहुन् । अहिले नै नीतिगत र अधिकार सापेक्ष रूपमा आरक्षणको मूल्याङ्कन हुन जरुरी छ ।

(नेपाल सरकारका सहसचिव रहेका दाहाल नेपाल ट्रस्टको कार्यालयमा कार्यरत छन् ।)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानलाई माटो परीक्षण गर्न आह्वान

काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...

नेपाल टेलिकमको थ्रीजी सेवा क्रमिक बन्द, फोरजीमा रूपान्तरण सुरु

काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...

डोल्पामा बाटोमै सुत्केरी, नवजात शिशुको मृत्यु

डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...

सर्लाहीको रामवनमा दुई किशोरी मृतावस्थामा फेला

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...

जनयुद्धकालदेखि संसदसम्मको राजनीतिक यात्रामा ‘बादल’, बने एमाले संसदीय दलको नेता

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...

नबिल बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा सूचीकृत

काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...

एमालेको रणनीति: सदनमा ‘वाचडग’ भूमिका, पहिलो बैठक अवरोध नगर्ने

काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...

सधैं साथमा तिम्रो’मा सुरेश–रेहाको रोमान्टिक प्रस्तुति सार्वजनिक

काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...

सवारी दुर्घटना हुँदा कपिलवस्तुमा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending