काठमाडौं । १४ वर्षीया बालिकालाई घरेलु मजदुरका रूपमा ६ वर्षसम्म बन्धक बनाई शारीरिक यातना दिएकी एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माले सत्ताको ‘निगाह’मा उन्मुक्ति पाएकी छिन् । सरकारी वकिल कार्यालय काठमाडौंले बाल श्रमशोषणमा उनीविरुद्ध मुद्दा नचलाउने निर्णय लिएको छ । र, उच्च सरकारी वकिल कार्यालय पाटनले पनि यसलाई वैधता दिएको छ । अब महान्यायाधिवक्ता कार्यालयबाट त्यसलाई सदर गर्ने सरकारको तयारी छ ।
सांसद शर्माविरुद्धको मुद्दा नचलाउने आफ्नो निर्णय सरकारी वकिल कार्यालय काठमाडौंले उच्च सरकारी वकिल कार्यालय पाटन पठाएको थियो । उच्चले पनि जिल्लाकै निर्णय सदर गर्दै महान्यायाधिवक्ता कार्यालय पठाइसकेको छ । अब मुद्दा चल्ने–नचल्ने विषयमा अन्तिम निर्णय महान्यायाधिवक्ताले लिनेछन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता रामहरि काफ्लेले शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय भएको पुष्टि गरे । ‘रेखा शर्माविरुद्धको मुद्दा नचल्ने निर्णय भएको हो । उक्त निर्णय उच्च सरकारी वकिल कार्यालयबाट पनि निर्णय भएर महान्यायाधिवक्ता कार्यालयमा पेस भएको सुनेको छु,’ उनले भने ।
जिल्ला सरकारी वकिल कार्यालय स्रोतका अनुसार महान्यायाधिवक्ता कार्यालयको निर्देशनपछि जिल्ला सरकारी वकिल कार्यालयले शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय लिएको हो । शर्मा दाङ तुल्सीपुर उपमहानगरपालिका– ५ की स्थानीय हुन् । उनको धुम्बाराहीमा निजी निवास छ । सोही निवासमा कक्षा ७ मा अध्ययनरत १४ वर्षीया बालिकालाई ६ वर्षदेखि बन्धक बनाई राखेकी थिइन् । बालिकाको काठमाडौं महानगरपालिकाले उद्धार गरेको थियो ।
महानगरपालिकाले घटना सार्वजनिक गरेपछि गत भदौमा संसद्मा हंगामा मच्चिएको थियो । महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ले सामाजिक सञ्जालमार्फत शर्मालाई कारबाही गर्नसमेत भनेका थिए । दबाबपछि उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा दर्ता भएको थियो । तर, मुद्दा अदालतसम्म पुग्न सकेको थिएन । सरकारी वकिल कार्यालय सोही मुद्दा नचलाउने निर्णयमा पुगेको हो ।
६ वर्षदेखि यसरी गरिएको थियो शोषण
महानगरपालिकाले गत भदौमा बालबालिकाको क्षेत्रमा काम गर्न केही विद्यार्थी इन्टर्नमा मागेको थियो । सोही क्रममा ३१ विद्यार्थी छनोट भए । उनीहरू विद्यार्थीको अवस्था बुझ्न महानगरभित्रका विद्यालयमा पुगे ।
यही क्रममा उनीहरू धुम्बाराही माध्यमिक विद्यालय पुगे । त्यहाँ उनीहरूले अभिभावकसँग नबस्ने सम्पर्कमा आएका पाँच विद्यार्थीलाई बाल अधिकार, संरक्षण र वकालतका सम्बन्धमा अनलाइन फर्म भर्न लगाएका थिए ।
सोही क्रममा कक्षा ७ मा अध्ययनरत १४ वर्षीया बालिकाले आफू ६ वर्षदेखि घर जान नपाएको र शारीरिक यातना भोग्नुपरेको फाराममा उल्लेख गरेकी थिइन् । महानगरले थप खोज्दा एमाले प्रदेश सांसद रेखा शर्माले धुम्बाराहीस्थित निजी निवासमा ती बालिकालाई बन्धक बनाएर श्रमशोषण गर्दै आएकी थिइन् ।
त्यसलगत्तै महानगरको टोली शर्माको घर पुगेर बालिकाको उद्धार गरेको थियो । महानगरको टोलीसँग बालिकाले ‘भनेको नमान्दा शर्माले लाठी, पाइप, हातले शरीरमा कुटपिट गर्ने गरेको’ बताएकी थिइन् । घरमा उनले पोछा लगाउने, पानी भर्ने, भाँडा माझ्ने, घर सफा गर्ने, खाना बनाउने र बगैँचा सफा गर्नेलगायतका काम गर्नुपर्ने बताएकी थिइन् ।
बालिकाको उद्धार गरेपछि महानगरले प्रहरीमा जाहेरी दिएको थियो । तर, सत्ताको आडमा लामो समय प्रहरीले नै मुद्दा अगाडि बढाएन । सदनसम्मै हंगामा मच्चिएपछि प्रहरीले शर्माविरुद्धको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको थियो । तर, मुद्दा अदालतसम्म पुग्न सकेको थिएन । सरकारी वकिल कार्यालयले अहिले मुद्दा नचलाउने निर्णय नै गरेको हो ।
यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।
प्रतिकृया लेख्नुहोस्: