Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

फागुन ७ ले शासनको स्वरुप मात्रै फेरेको होइन, निजामती प्रशासनको जग पनि हाल्यो : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

खबरडबली संवाददाता

काठमाडाैं! प्रधानमन्त्री केपी ओली प्रजातन्त्र दिवसकाे अवसरमा बुधबार टुँडिखेलमा आयाेजित समाराेहमा सरिक भएका छन् । उनले मूल समाराेहलाई सम्बाेधन गर्दै फागुन ७ गतेले ल्याएकाे परिवर्तनबारे चर्चा पनि गरे ।

प्रधानमन्त्रीले फागुन ७ ले शासनको स्वरुप मात्रै फेरेको होइन, हुकुमी निगाहबाट हुने पजनी फेरेर निजामती प्रशासनको जग हालेकाे बताए । आजको दिन नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन भएकाे र बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन भएकाे ओलीले बताए ।

‘फागुन ७ गतेले हाम्रो, खेर गएको सि‌गो शताव्दीको स्मरण गराउँछ । विज्ञान–प्रविधिमा संसारले फड्को मारिरहँदा नेपालमा भने जहानियाँ शासकको एउटा सनकी आदेशले अन्वेषणमा लाग्ने प्रतिभाको हात काटिएको घटनाको स्मरण गराउँछ । सत्य तथ्य बोल्नेको जिब्रो थुतेर पातमा राखिएको, आँखा फोरिएको र नवप्रवर्तनमा लाग्नेहरुको जात काडिएको जस्ता पिडादायी घटनाहरुको याद गराउँछ,’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ :
फागुन ७ गते ! आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन हो । गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सर्वप्रथम म, सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरुमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । 
जहानियाँ राणा तन्त्रको बर्बरता बिरुद्ध आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठसहित सम्पूर्ण अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु । नेपाली लोकतान्त्रिक आन्दोलनको इतिहासमा केही दिनहरु विशेष छन्– चैत २६, वैशाख ११, जेठ १५, र असोज तीन । निर्दलीयताको समाप्ती, लोकतन्त्र, गणतन्त्र र संघीयता सहितको संविधान प्राप्तिमा यी दिनको विशेष महत्व छ । प्रत्येक दिनले एकपछि अर्को गर्दै जनतालाई सार्वभौम बनाएका छन्, थप अधिकार दिलाएका छन् । 
तर ती सबै दिन भन्दा युगान्तगारी महत्व फागुन ७ गतेले राख्छ । २००७ साल फागुन ७ गते ! नेपालको इतिहासमा यस्तो सन्धिकाल हो, जसले हाम्रा पुर्खालाई हुकुमी शासनको क्रूर जन्जिरले बाँधिएको घना रातबाट स्वयंको विवेकले चल्ने स्वतन्त्रताको न्यानो विहानीमा पुर्‍याएको यातनादायी, कहालीलाग्दो तर साहसिक लामो यात्राको स्मरण गराउँछ । 
फागुन ७ गतेले हाम्रो, खेर गएको सिङ्गो शताव्दीको स्मरण गराउँछ । विज्ञान–प्रविधिमा संसारले फड्को मारिरहँदा नेपालमा भने जहानियाँ शासकको एउटा सनकी आदेशले अन्वेषणमा लाग्ने प्रतिभाको हात काटिएको घटनाको स्मरण गराउँछ । सत्य/तथ्य बोल्नेको जिब्रो थुतेर पातमा राखिएको, आँखा फोरिएको र नव प्रवर्तनमा लाग्नेहरुको जात काडिएको जस्ता पिडादायी घटनाहरुको याद गराउँछ । 

फागुन ७ गते ! आजको दिनले, शासकका पटाङ्गिनीमा बज्ने बिगुलको इसारामा मात्र घरबाहिर निस्कन र भित्र छिर्न पाइने निरङ्कुश परम्परा सम्झाउँछ । आफ्नै नागरिकले राजधानी काठमाडौं छिर्न समेत ‘भिसा’ लिनु पर्ने र तानाशाही शासकका वैध/अवैध सन्तानका लागि भव्य महल ठड्याउन सयौं नागरिकलाई रैतान भन्दै झाराको उर्दी लगाएर जवरजस्ती श्रम शोषण गर्नेको इतिहास सम्झाउँछ । हाम्रो इतिहासको पुरानो कालखण्डमा दौड प्रतिस्पर्धाबाट राजा छान्ने युग थियो । तर, दौडमा समेत झेल गरी शासन हत्याउने र शासनाधिकार आफ्नै बंशमा राख्ने षडयन्त्रकारीहरुको कुरुप अनुहारलाई पनि यस दिनले सम्झना गराउँछ । यसरी फागुन ७ गतेले शासनको स्वरुप मात्रै फेरेको होइन, हुकुमी निगाहबाट हुने पजनी फेरेर निजामती प्रशासनको जग हाल्यो । योजनावद्ध विकासको थालनी ग¥यो । सार्वभौम समानताको आधारमा मित्रराष्ट्रहरुसँग कुटनैतिक सम्बन्धको शुरुवात गर्‍यो । 
समग्रमा फागुन ७ ले मुलुकलाई सबै हिसावले स्वतन्त्र र सार्वभौम बनाउने दृढ संघर्र्ष अघि बढायो ।
यसरी हामी फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा मनाउँछौं । शहीदहरुको महान त्यागलाई सम्झन्छौं । नयाँ पुस्तालाई, उनीहरुको उज्ज्वल भविष्यको लागि, पुर्खाले भोगेको हण्डर, ठक्कर तथा बलिदान र समर्पणको महान–गाथा स्मरण गराउँछौं । 
प्रजातन्त्रको उज्यालोमा हुर्किएको, अत्याधुनिक सूचना प्रविधि मार्फत अनलाइन सेवा लिने बानी परिसकेको आजको पुस्ताका लागि हिजोको शासनको त्यो क्रूरता– अनुभव होइन, कथा मात्र हो ! 
तसर्थ, हाम्रो भविष्यका रुपमा उदाउँदै गरेको भोलिको पुस्ताले यो दिन, बिर्सनै नमिल्ने दिन हो ! 
पुस्तान्तरको समयचापले कहिलेकाहीँ न्यानो दिनमा रहेका बेला समाजले त्यस कालरात्रीको क्रूरतम् स्मृतिलाई गुमाउन पुग्छ र भन्छ– ‘प्रजातन्त्रले के गरेको छ?! त्यसले त अझै राणाकालका दरवारहरुबाट निर्वाह गरिरहेको छ !’ 
जहानियाँ शासकले आफ्ना सन्तानका लागि दरवार बनायो,
प्रजातन्त्रले जनताका लागि सडक, पुल, कुलो, बिजुली, व्यवसायिक व्यापार केन्द्र, अस्पताल र विद्यालय बनायो । 
निरंकुश शासनले आफ्नो अभिजातीय विलासका लागि बनाएका संरचना र लोकतन्त्रले नागरिकको जीवनमा परिवर्तन ल्याउन बनाएका संरचनाको तुलना वस्तुगत र तथ्यगत हुन सक्छ र?!
यसलाई आजको पुस्ताले असान्दर्भिक तुलनाबाट होइन, विवेकको तराजुमा राखेर तौलनु पर्दछ ।
निरंकुश शासनको कहालीलाग्दो रात पार गरी लोकतान्त्रिक अधिकार उपभोग गरिरहेको हाम्रो समाजले पूर्वाधार विकासमा तुलनात्मक फाड्को मारेको छ । सामाजिक सुरक्षाका प्रवन्धहरु विस्तार भएका छन् । सामाजिक न्यायमा प्रगति गरेको छ । समाज, हुकुमी जन्जिरले बाँधिएको अवस्थाबाट सूचना–प्रविधिको सञ्जालमा जोडिएको छ । यसको प्रयोग मार्फत् आफूलाई निर्वाध अभिव्यक्त गर्ने स्वतन्त्रताको राजमार्गमा पुगेको छ । 
स्वतन्त्रताको यही राजमार्गमा यात्रारत यी यात्रीहरुको विवेकले हुकुमी जन्जिरको औचित्य सावित गर्न सक्दैन भन्नेमा म विश्वस्त छु ।  
१०४ वर्ष लामो निरंकुश जहानियाँ तन्त्रको अन्त्य पछिको ७५ बर्षमा अनेक आरोह/अवरोह बीच छरिएको लोकतन्त्रको उज्यालोमा नै हामीले मुलुकलाई विपन्नबाट सम्पन्नतातिर, विकासोन्मुखबाट विकसित राष्ट्रतिर र असमानताबाट समानतातिर लैजान थालेका हौं । 
राष्ट्रको समृद्धि प्रत्यक्षतः जनताको सुख, सन्तुष्टि र खुशीसँग जोडिएको हुन्छ । 
सम्पन्नताको यात्रा अनवरत चलिरहन्छ ।
‘राष्ट्रको समृद्धि र जनताको सुख’लाई मैले ‘परिपूर्ण लोकतन्त्र’ भन्ने गरेको छु । चलन चल्तीमा भनिने प्रजातन्त्रले ‘संगठन र अभिव्यक्तिको स्वतन्त्रता’को मात्र वकालत गर्‍यो । परिपूर्ण लोकतन्त्रले सबैलाई ‘अधिकार र अवसर, समानता र सामाजिक न्याय, सुरक्षा र सम्मान’मा समान पहुँचको पैरवी गर्छ । समृद्धि भनेको समग्र विकास हो, सुख भनेको व्यक्तिको मानवीय र जैविक न्यायोचित आवश्यकताको सहज परिपूर्ति हो । 
हामी त्यसतर्फ इमान्दारीपूर्वक हिंडिरहेका छौं । 
बढ्दो जनआकांक्षा र चुनौतीहरूबीच, राज्यको संस्थागत र सामथ्र्यवीच लय मिलाएर संगतिपूर्ण ढङ्गले अगाडि बढिरहेका छौं ।  
हाम्रो युवा पुस्ता देशको भविष्य हो । उनीहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमको अवसर उपलब्ध गराउन र स्टार्टअप मार्फत् उद्यमशीलताको थालनी गरिएको छ । युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने यस सरकारको नीति छ । 
लोकतन्त्रको खुला मैदानमा नै जनताको जीवनमा प्रगति भएको छ । तर हाम्रा चुनौती अझै बाँकी छन् । 
लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै, समाजमा व्याप्त असमानता, गरिवी र भ्रष्टाचारलाई हटाउँदै हामी ती चुनौतीलाई चिर्ने छौं । 
लोकतन्त्रको उज्यालोकै कारण आज हामीले डिजिटल माध्यमबाट नागरिकलाई शीघ्र सार्वजनिक सेवाको थालनी गर्न सकेका हौं, जसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाउन सुरु गरेको छ । 
सन् २०२६ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति गर्ने र त्यसको दीगो व्यवस्थापनका लागि आर्थिक सूचकहरुको बढोत्तरी गर्ने आधार पनि लोकतन्त्र नै हो । सन् २०३० भित्र दीगो विकासका लक्ष्यहरु हासिल गर्ने अभियानमा हामी हाम्रा हरेक क्षण, सम्भावना र सामर्थ्यको सदुपयोग गरिरहेका छौं । यसबाटै हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सफल हुने छौं । 
फागुन ७ गतेले,
सम्पूर्ण नेपालीहरूलाई इतिहासप्रति गौरव गर्न, 
वर्तमानमा क्रियाशीलले जिम्मेवारी निर्वाह गर्न र 
भविष्यप्रतिको उत्तरदायित्वलाई सामाजिक सम्पत्तिका रुपमा पूँजीकृत गर्न अभिप्रेरित गरिरहने छ । 
अन्त्यमा, 
फागुन ७ गते, नेपाली जनताको प्रजातान्त्रिक हक अधिकार स्थापनाका लागि विगतमा भएका अथक र अनवरत संघर्षमा आफूलाई समाहित गर्ने वीर/वीरङ्गनाहरुको स्मरण गर्ने दिन पनि हो । प्रजातन्त्र स्थापनाको हाम्रो संघर्षपूर्ण इतिहासलाई स्मरण गर्दै त्यस संघर्षमार्फत् जनताले चाहेको राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिको आकांक्षा साकार पार्न संकल्प गर्ने दिन पनि हो ।
जहानियाँ निरङ्कुश शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गरेको यस ऐतिहासिक दिनको स्मरणमा आयोजित यस विशेष समारोहमा म पुनः एकपटक नेपालको लोकतान्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने सम्पूर्ण अमर शहीदहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । मुलुकको सुशासन, विकास, समृद्धि र जनताको सुखको सुनिश्चितताको लागि प्रभावकारी शासन प्रणाली र सुव्यवस्थाको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा म हार्दिक आह्वान गर्दछु । 
धन्यवाद !

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

सप्तरी। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको ...

निर्वाचनका लागि स्थापना गरिएका विशेष एकाइ तथा समन्वय केन्द्र बन्द गरिने

काठमाडौँ। निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न निर्वाचनको तयारीका लागि आयोगको केन्द्रीय कार्यालयमा स्थापना गरेका विशेष एकाइ तथा समन्वय केन्द्रहरू ...

पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु

काठमाडौँ। बाह्र दिनदेखि प्रतिबन्धित पश्चिम एसिया क्षेत्रको हवाई उडान आंशिक रूपमा सञ्चालनमा आएको छ। त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलका प्रवक्ता स...

प्रतिनिधिसभा बैठक आह्वानको तयारी

काठमाडौँ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ ।  निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम सार्वज...

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्मा प्रतिनिधित्वका ल...

दुई हजार ८९० उम्मेदवारको जमानत जफत, ३५० जनाको मत 'शून्य'

काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका ठुलो सङ्ख्याका उम्मे...

सर्वोच्चमा रवि लामिछाने प्रकरण: अभियोग फिर्ता लिने निर्णयविरुद्धको रिट आइतबारदेखि सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दामा अभियोग फिर्ता लिने निर्णयविरुद्ध दायर रिट निवेदनमाथि आगामी आइतबारदेखि सुनुवा...

जनमतसँगै युवाको आशा: भ्रष्टाचार नियन्त्रण र डिजिटल सेवामा जोड

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति देशभरका युवापुस्ताको चासो र अपेक्षा बढेको छ । ुजेनजीु पु...

कर्णालीमा कांग्रेस बन्यो पहिलो

सुर्खेत। प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ मध्ये पाँच वटा निर्वाचन क्षेत्रमा जित हात पारेर पहिलो भएको नेपाली कांग्रेस समानुपातिक मतमा पनि पहिलो नै भएक...

सल्यानमा बाघको आक्रमण बढ्दो, शारदामा आठ भेडा–बाख्रा मारिए

सल्यान। सल्यानमा बाघको आक्रमणका घटना बढ्दै जाँदा स्थानीय बासिन्दामा त्रास फैलिएको छ। यसै क्रममा जिल्लाको शारदा नगरपालिका–९ सुनचौर क्षेत्रमा बाघले आठ व...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE