अनेकोट यस्तो महान् भूमि हो जहाँ सातजना सांस्कृतिक योद्धाले मुक्तिका लागि क्रान्तिको बेदीमा आत्माहुति चढाएका थिए । २०५५ सालको चैत ५ गतेको दिन तत्कालीन बर्बर र अमानवीय तानाशाहीसत्ताले काभ्रेको अनेकोटमा सशस्त्र घेरा हाली कुची, कलम र मादलका माध्यमबाट वर्गीय विचार र आस्थामा प्रतिवद्ध भएका कारण निःशस्त्र जनकलाकारहरूलाई ज्यूँदै आगो लगाएर मारेको थियो ।
उक्त स्थानमा ७ जना संस्कृतिकर्मीहरूले सहादत प्राप्त गरेका थिए । अछामको डुङ्गालामा नौजनाको सहादत भएको थियो भने रोल्पाको भवाङ्गमा ११ जना जनकलाकारहरू तथा डोटीको मुडभरा, अछामकै विनायकमा पनि जनकलाकारको सामूहिक सहादत भएको थियो ।
प्रतिरोध दिवस औपचारिकतामा मात्र होइन, निरन्तर सङ्घर्षको सन्देश पनि हो । सहिदको स्मृति भनेको तिनको त्याग, निष्ठा र समर्पणको निरन्तर आत्मसातीकरणको प्रक्रिया पनि हो । तिनका सपना पूरा गर्ने वाचा र प्रतिबद्धता हो । सहिदका रगतले लेखेको इतिहास कसैले मेट्न नदिने जुझारु सङ्घर्ष जारी राख्नु पनि हो । वर्गमुक्तिको यात्रामा वर्गचेतना, वर्गप्रेम र वर्गघृणालाई साम्यवादको युगसम्म जीवित राख्ने र वर्ग सङ्घर्षलाई लगातार अघि बढाउँदै सर्वहारावर्गलाई अन्तिम विजय नुहुँदासम्म निरन्तर सङ्घर्ष गर्ने सन्दर्भ पनि हो । त्यसकारण वर्गविद्रोहका संवाहकहरूका सामू ठूला चुनौती र महान् सम्भावनाहरू ठडिएका छन् ।
सहिदको सपना क्रान्ति थियो, वर्गीय मुक्ति थियो । त्यो आज के भो ? सहिदलाई सम्झनु चानचुने कुरा होइन । आमूल परिवर्तन संसदीय बाटोबाट होइन, आन्दोलन या संघर्षको बाटोबाट मात्र सम्भव छ । त्यो बाटो जनयुद्ध हो । प्वाँखभन्दा हलुका मृत्यु रोजेका नवसंशोधनवादीहरूको औचित्य सकिएको छ ।
जनताको गीत गाउँदै हिँड्नेक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य च्याङ्बा लामासहित ७ जना कलाकारहरूलाई २०५५ साल चैत ५ गते तत्कालीन राज्यपक्षले नियन्त्रणमा लिएर हत्या गरेको दिन रोल्पाको भावाङलगायतका सामूहिक हत्याकाण्ड र देशैभरका सांस्कृतिक सहिदलाई सम्मान गर्ने र उनीहरूका सपनालाई पूरा गर्नका लागि प्रण गर्ने दिनको रूपमा यो दिवस मनाइँदै आइएको छ ।
स्मरण रहोस्, नेकपा एमालेको सुराकीमा प्रहरीको एक जत्थाले जनताका कलाकारहरू कमरेड च्याङ्बा लामा, कमरेड निर्मला देवकोटा, कमरेड गुम्बासिं तामाङ, कमरेड मञ्जु कुँवर, कमरेड डम्बर श्रेष्ठ, कमरेड सुभद्रा देवकोटा र कमरेड चिनीमाया लामालाई २०५५ साल चैत ५ गते जिउँदै जलाएर हत्या गरेको थियो ।
अग्रगामी परिवर्तन र मानवमुक्ति यात्राकै एउटा हिस्साका रूपमा नेपालमा जनयुद्धको थालनी भएको थियो । यो दासता र पराधीनतालाई अस्वीकार गरेको महान् युद्ध घोषणा थियो । यो युद्धमा हजारौँ जनता र योद्धाहरूले बलिदान गरे । नेपालको इतिहासमा बलिदानको यो गाथा अद्वितीय छ ।
जनयुद्धको यही त्याग र समर्पणको जगमा विकास भएको आन्दोलनको लपेटाले सामन्ती राजतन्त्रको गजुरलाई धुलोमा सुताइदियो र कथित लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो तर सामन्तवाद भने यथावत् छ । अग्रगामी परिवर्तनका ढोका फेरि पनि अवरुद्ध भएका छन् । राज्यसत्तामा प्रतिगामी चिन्तन हावी भएकोले दुःखद् शृङ्खलाको पुनरावृत्ति भएको छ । यो शृङ्खलाको अन्त्यका लागि जनताको महान् सङ्घर्षको आवश्यकता छ र समयले पनि यही कासन गरिरहेछ । यसको नायकत्व एकीकृत जनक्रान्तिले गरिरहेको छ ।
सहिद कुनै एक्लो व्यक्ति होइन, त्यो मुक्ति, क्रान्ति, प्रगति, न्याय, समानता, र अग्रगामी परिवर्तनको समष्टि हो । साथै, त्यो हरेक गद्दारी, आत्मसमर्पण, बेइमानी र विसर्जन विरुद्धको खबरदारी पनि हो । त्यो त्याग, बलिदान, समर्पण, उदात्तता, मानिसको सुन्दर भविष्य र जनकल्याणको प्रतिबिम्बन हो ।
त्यो मुक्ति र स्वतन्त्रताको कहिल्यै ननिभ्ने ज्योतिपुञ्ज हो । त्यसैले सहिदसँग जीवनको स्पन्दन छ, सुन्दरता छ, गन्तव्य छ अनि परिवर्तनको अविरल धारा छ । मानवमुक्ति, उन्नति र प्रगतिका मूल्य, विचार र आदर्शहरूमा सहिद बाँचेको हुन्छ । सहिदको आदर्श ओझेलमा पार्नु भनेको अधोगति हुनु हो । ऐतिहासिक क्रममा सहिदका उद्देश्य र आदर्शहरू प्रगतिशील भए पनि सर्वकालिक रूपमा ती समान हुन्छन् । इतिहासको यही कडीमै जनयुद्धका सहिदहरूसँग विगतका सहिदहरू जोडिएका छन् ।
यतिखेर नेपाल वर्गयुद्धको तुफानी शृङ्खलाको अर्को मोडमा उभिएको छ । नेपाली जनता १० वर्षको वर्गयुद्धले ल्याएको उथलपुथललाई संस्थागत गर्ने प्रक्रियामा अघि बढेका छन् । असजिलो परिस्थितिका बीचमा पनि नेपालमा नयाँ जनवादी क्रान्ति अगाडि बढाउनुको कुनै विकल्प छैन । नयाँ जनवादी गणतन्त्र स्थापनाको सहिदका सपना अझै पूरा भइसकेको छैन । त्यसको नेतृत्व गर्ने दायित्व क्रान्तिकारीहरूकै काँधमा आएको छ । हामीले मनाउँदै आएको प्रतिरोध दिवसको सन्दर्भ र औचित्य पनि यसैमा सङ्केन्द्रित छ ।
हाम्रा अगाडि महान् सहिदहरूका रगतले लेखेको इतिहास, उनको जीवन उत्सर्ग, आस्था, उनका बलिदानको सपना र विचारको निष्ठाले औँला ठड्याएर आज पनि सचेतना दिइरहेको छ– नयाँ नेपाल निर्माणको सपना नभुल्नू, सर्वहारावर्गको राज्यव्यवस्था स्थापनाको सङ्कल्प नछोड्नू, सामनता, न्याय र स्वतन्त्रताको समाज स्थापना गर्ने दृढ अठोट नबिर्सनू, सामन्ती र साम्राज्यवादी उत्पीडन, दमन र शोषणका विरुद्ध सधैँ जागिरहने निष्ठा र समर्मणलाई नछोड्नू । तिनले हामीलाई प्रतिरोध संस्कृति, त्याग, बलिदानको संस्कृति र वर्गसङ्घर्षको संस्कृतिलाई निरन्तर अगाडि बढाउन सन्देश दिइरहेका छन् ।
नेपालमा शौर्य, साहस र वीरताको १० बर्से जनयुद्ध वर्गसंस्कृतिको स्मरण भइरहने छ ।
प्रतिकृया लेख्नुहोस्: