काठमाडौं । वीरगन्जमा हनुमान जयन्तीको अवसरमा आयोजित शोभायात्रामा दुई समूहबीचको तनाव र झडप भएपछि प्रशासनले कर्फ्यु लगाएको छ। शोभायात्रा वीरगन्ज महानगरपालिका-२ स्थित श्रीराम हलको नजिकै जामा मस्जिद अगाडि पुग्दा विवाद बढेर झडपमा परिणत भएको थियो।
धार्मिक शोभायात्रा नगर परिक्रमा गर्ने क्रममा छपकैया चोकमा तनाव उत्पन्न भएपछि प्रशासनले आइतबार १२ बजेसम्मका लागि कर्फ्यु जारी गरेको हो।
पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार छपकैया चोकस्थित जाइज बिरयानी र अन्य केही पसलमा आगजनी भएको घटनाले स्थिति थप जटिल बनाएको थियो। लम्सालका अनुसार धार्मिक शोभायात्रामा घरको छतबाट ढुंगा फालिनु, झडपको मुख्य कारण भएको देखिएको छ।
झडपपछि स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीहरूले अश्रुग्यास प्रहार गरेका थिए, जसको परिणामस्वरूप एक प्रहरी निरीक्षकसहित आठ प्रहरी घाइते भएका छन्। घाइतेमध्ये तीन प्रहरी नारायणी अस्पतालमा उपचाररत छन्।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले घटनाको पछिल्लो अवस्था सम्बन्धी सूचना जारी गर्दै वीरगन्ज महानगरपालिका आसपासका क्षेत्रहरूमा कर्फ्यु आदेश जारी गरेका छन्। कर्फ्यु आदेशले वीरगन्ज-१५ को भेडियाही चोक, वीरगन्ज-२५ को सिर्सिया चोक, वीरगन्ज-१४ को गण्डक चोक र वीरगन्ज-१६ को शंकराचार्य चोकसम्मको क्षेत्रमा प्रभाव पर्नेछ।
प्रशासनले कर्फ्युको उल्लंघन नगर्न स्थानीयलाई सचेत गराउँदै अत्यावश्यक सेवामा संलग्न सवारीसाधन र व्यक्तिहरूलाई मात्र आवश्यक कागजातका साथ आवतजावत गर्न अनुमति दिएको छ। उल्लंघनकर्तालाई कानुनी कारबाहीको चेतावनीसमेत प्रशासनले दिएको छ।
प्रतिकृया लेख्नुहोस्: