काठमाडौं । फागुन २१ को निर्वाचनमा अपेक्षाभन्दा कमजोर नतिजा आएपछि कम्युनिस्ट दलहरूबीच फेरि एकताको बहस सुरु भएको छ। विशेषगरी नेकपा एमाले र नेकपाबीच सहकार्य वा पार्टी एकताको सम्भावनाबारे नेताहरूले सार्वजनिक रूपमा अभिव्यक्ति दिन थाले पनि नेतृत्व तहमा भने सहमतिको आधार अझै बनेको देखिएको छैन।
निर्वाचनमा अघिल्लो पटकको तुलनामा एमाले दोस्रोबाट तेस्रो र नेकपा तेस्रोबाट चौथो स्थानमा झरेपछि कम्युनिस्ट शक्तिलाई पुनः एकताबद्ध गर्नुपर्ने आवाज बलियो बनेको हो। केही नेताहरूले निर्वाचनअघि नै एकता भएको भए परिणाम फरक आउन सक्ने तर्क गरेका छन् भने केहीले राष्ट्रियता र राजनीतिक स्थिरताका लागि कम्युनिस्टबीच न्यूनतम सहकार्य आवश्यक रहेको बताएका छन्।
पछिल्ला दिनमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न कार्यक्रममा एमालेसँग एकताको सम्भावना रहेको संकेत दिएका थिए। विराटनगरमा आयोजित प्रदेशस्तरीय भेलामा उनले कार्यकर्तालाई एकताबारे सकारात्मक सन्देश दिएका थिए भने काठमाडौंमा मदन भण्डारी स्मृति दिवसको कार्यक्रममा पनि कम्युनिस्ट एकता अपरिहार्य भएको बताएका थिए।
तर केही दिनमै प्रचण्डको धारणा फेरियो। कास्कीमा आयोजित कार्यक्रममा उनले गम्भीर समीक्षा र स्पष्ट आधारबिना एमालेसँग एकता सम्भव नरहेको बताए। त्यसपछि केन्द्रीय समिति बैठकमा पनि उनले तत्काल पार्टी एकताभन्दा सहकार्यको विषय मात्र उठाइएको भन्दै नेताहरूलाई जानकारी गराएका थिए।
उता एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि पार्टी एकताप्रति सतर्कता अपनाउनुपर्ने संकेत दिएका छन्। मदन भण्डारी स्मृति दिवसकै कार्यक्रममा उनले तत्काल एकताको पक्षमा नरहेको सन्देश दिएका थिए। त्यसपछि एमालेका वरिष्ठ नेताहरू शंकर पोखरेल र गोकुल बाँस्कोटाले पनि हतारमा पार्टी एकता गर्नु उपयुक्त नहुने धारणा सार्वजनिक गरेका थिए।
च्यासलमा आयोजित प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यक्रममा ओलीले नेताहरूलाई ‘एकताको भ्रममा नपर्न’ आग्रह गरेको बताइएको छ। यससँगै दुवै दलका शीर्ष नेतृत्वबाट तत्काल एकता हुने सम्भावना कमजोर रहेको संकेत देखिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार अहिलेको अवस्थामा एमाले र नेकपा एक भए पनि तत्काल सत्ता समीकरणमा ठूलो परिवर्तन आउने अवस्था छैन। एकतापछि संसदमा बलियो प्रतिपक्ष बन्ने सम्भावना भए पनि सरकार नेतृत्व गर्ने अवस्था नरहेकाले शीर्ष नेतृत्वमा उत्साह देखिएको छैन।
यस्तै, नेतृत्व व्यवस्थापन पनि अर्को चुनौतीका रूपमा रहेको छ। प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका ओली र प्रचण्डबीच नेतृत्व बाँडफाँट सहज देखिँदैन। एमालेभित्रै नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला ओलीको निरन्तर नेतृत्व स्वीकार्य हुने अवस्था पनि सहज छैन।
दुवै दलका दोस्रो तहका नेताहरूले पनि विगतमा ओली र प्रचण्डबीचको व्यक्तिगत द्वन्द्वकै कारण नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको निष्कर्ष निकाल्दै आएका छन्। त्यसैले पर्याप्त राजनीतिक आधार, स्पष्ट कार्यदिशा र आपसी विश्वासबिना फेरि एकता गर्दा पुरानै समस्या दोहोरिन सक्ने उनीहरूको बुझाइ छ।
यसकारण सार्वजनिक रूपमा कम्युनिस्ट एकताको चर्चा चुलिए पनि व्यवहारमा भने एमाले र नेकपाबीच तत्काल पार्टी एकता हुने सम्भावना कमजोर देखिएको छ। अहिले दुवै दलले संगठन पुनर्गठन र निर्वाचन समीक्षालाई प्राथमिकतामा राखेका छन् भने एकताको बहसभन्दा सहकार्यको सम्भावनामै बढी केन्द्रित देखिन्छन्।
प्रतिकृया लेख्नुहोस्: