Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

भारत र पाकिस्तान- कोसँग कति हतियार छन्, सैन्य शक्ति कसको बढी छ ?

खबरडबली संवाददाता

काठमाडौं । जम्मु कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव उत्कर्षमा पुगेको छ।

भारतले दुई देशबीचको सिन्धु जल सन्धि निलम्बन गर्ने, सीमा नाका बन्द गर्ने र पाकिस्तानी नागरिकहरूको भिसा रद्द गर्ने जस्ता धेरै निर्णयहरू गर्‍यो।

त्यसको जबाफमा पाकिस्तानले सन् १९६० को सिमला सम्झौताबाट पछि हट्ने घोषणा गर्नुका साथै नदीहरूको पानी रोक्ने वा मोड्ने कुनै पनि प्रयासलाई 'युद्धको कार्य' मानिने र पूर्ण शक्तिका साथ जवाफ दिइने बताएको छ।

दुवै देशका राजनीतिक नेतृत्वले एक अर्कालाई कडा चेतावनी र अभिव्यक्ति जारी गर्दै उचित जबाफको माग गरिरहेका छन्।

पहलगाम आक्रमणपछि पहिलो पटक सार्वजनिक रूपमा बोल्दै भारतका प्रधानमन्त्रीले गत बिहीबार एक र्‍यालीमा 'आक्रमण गर्ने आतङ्ककारीहरूले कल्पना गर्न सकिने भन्दा पनि नराम्रो सजाय पाउनेछन्' भनेका थिए।

उनले भनेका थिए, "म सारा संसारलाई यो सन्देश दिन्छु कि भारतले हरेक आतङ्ककारी र उनीहरूलाई समर्थन गर्नेहरूलाई पनि पहिचान गर्नेछ र दण्ड दिनेछ... अब आतङ् कारीहरूको बाँकी रहेको जमिन ध्वस्त पार्ने समय आएको छ।"

भारतका जलस्रोत मन्त्री सीआर पाटिलले 'पाकिस्तानले एक थोपा पनि पानी नपाओस् भनेर रणनीति बनाइँदैछ' भनेका थिए।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले कुनै पनि दुस्साहसको कडा जबाफ दिने कुरा गरे पनि, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले बीबीसीसँगको अन्तर्वार्तामा 'सिन्धु जल सन्धिसँग सम्बन्धित कुनै पनि कार्यलाई युद्धको घोषणा मानिने' अभिव्यक्ति दोहोर्‍याए।

अवकाशप्राप्त जनरलले दिए चेतावनी 

दक्षिण एसियाली राजनीतिका जानकार विज्ञहरूले भारतले सीमित सैन्य कारबाही गर्ने सम्भावनालाई अस्वीकार गर्दैनन्। तर त्यसले पूर्ण युद्ध निम्त्याउन सक्ने पनि उनीहरू ठान्छन्।

यद्यपि सेवा निवृत्त लेफ्टिनेन्ट जेनरल एसएच पनागले सैन्य कारबाहीमा हतारमा निर्णय लिन नहुने चेतावनी दिएका छन्।

द प्रिन्ट अनलाइनमा लेखिएको एक लेखमा उनले पाकिस्तान आणविक हतियारले सम्पन्न देश भएको भन्दै भारतीय सेनाको सीमित सैन्य कारबाहीको जबाफ दिन पर्याप्त परम्परागत शक्ति पाकिस्तानसँग रहेको लेखेका छन्।

उनले लेखेका छन्: "भारतसँग चाहे त्यो मिसाइल, ड्रोन होस् वा वायुसेना, विना कुनै क्षति बदला लिने गरी सर्जिकल स्ट्राइक गर्नका लागि कुनै पनि क्षेत्रमा पर्याप्त प्राविधिक पहुँच छैन। पाकिस्तानसँग जबाफ दिने क्षमता छ र हामी यसका लागि तयार रहनुपर्छ।"

अर्कोतर्फ बीबीसीलाई दिएको एक अन्तर्वार्तामा पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले आफ्नो सेनाको तयारीको बारेमा भनेका छन्: "हामीलाई तयारी गर्नु पर्दैन। हामीले पहिले नै तयारी गरिसकेका छौँ। हामी कुनै पनि परिस्थितिको लागि तयार छौँ।"

शनिवार पाकिस्तानका प्रधानमन्त्री शाहवाज शरीफले समेत 'यदि कुनै पनि प्रकारको दुस्साहसपूर्ण कार्य गरिएमा सन् २०१९ मा जस्तै जबाफ दिइने' बताएका छन्।

उनले पुलवामा आतङ्कवादी हमलापछि बालाकोटमा भारतले गरेको हवाई आक्रमणलाई सङ्केत गर्दै थिए।त्यसबेला दुई देशका वायु सेनाबीच सीमित झडप भएको थियो।

भारतीय सेनाको शक्ति

ग्लोबल फायर पावरका अनुसार सन् २०२५ को सैन्य शक्तिको वरीयतामा भारत र पाकिस्तानबीच आठ स्थानको अन्तर छ।

सन् २०२५ मा विश्वव्यापी सैन्य शक्तिको हिसाबले भारत १४५ देशहरूमध्ये चौथो स्थानमा हुनेछ भने पाकिस्तान १२औँ स्थानमा हुनेछ।

भारतीय सेनासँग लगभग २२ लाख सैनिक, ४,२०१ ट्याङ्क, झण्डै १.५ लाख बख्तरबन्द सवारी साधन, १०० सेल्फ प्रोपेल्ड आर्टिलरी र ३,९७५ बाह्य सहायताका भरमा चल्ने आर्टिलरी छन्। यसबाहेक, मल्टी ब्यारल रकेट आर्टिलरीहरूको सङ्ख्या २६४ छ।

भारतीय वायुसेनासँग ३ लाख १० हजार सैनिक एवं ५१३ लडाकु विमान र २७० पारवहनमा प्रयोग हुने विमानसहित कुल २,२२९ वटा विमान छन्। कुल विमानहरूमा १३० वटा हमलाकारी, ३५१ वटा प्रशिक्षणमा प्रयोग हुने विमान र छवटा ट्याङ्कर फ्लीट विमानहरू छन्।

भारतीय सेनाका तीनवटै अङ्गसँग गरेर कुल ८९९ हेलिकप्टर छन्। तीमध्ये ८० वटा हमलाकारी हेलिकप्टर छन्।

भारतीय नौसेनामा १.४२ लाख नौसैनिक र दुई विमानवाहक युद्धपोत, १३ डिस्ट्रोअर, १४ फ्रिगेट्स, १८ पनडुब्बी र १८ कार्भेटसहित कुल २९३ वटा जहाजहरू छन्।

त्यसबाहेक भारतीय सेनासँग ३११ विमानस्थल, ५६ बन्दरगाह र ६३ लाख किलोमिटर सडक र ६५ हजार किलोमिटर रेलवे सञ्जाल छ।

पाकिस्तानी सेनाको शक्ति

ग्लोबल फायर पावरका अनुसार पाकिस्तानी सेनामा झण्डै १३.११ लाख सैनिक, १.२४ लाख नौसैनिक र ७८ हजार वायुसेना छन्।

पाकिस्तानसँग ३२८ लडाकु विमान, ९० आक्रामक प्रकारका, ६४ यातायात विमान, ५६५ ट्रेनर, ४ ट्याङ्कर फ्लीट र ५७ लडाकु हेलिकप्टरका साथ ३७३ हेलिकप्टर सहित कुल १,३९९ विमानहरू छन्।

यसमा २,६२७ ट्याङ्क, ६६२ सेल्फ प्रोपेल्ड आर्टिलरी, २६२९ बाह्य सहायताका भरमा चल्ने आर्टिलरी र ६०० मल्टी ब्यारल रकेट छन्।

पाकिस्तानी नौसेनासँग नौवटा फ्रिगेट, नौवटा कर्भेट, आठवटा पनडुब्बी र ६९ गस्ती जहाज छन्।

अन्य क्षमताका हिसाबले पाकिस्तानसँग तीन बन्दरगाह, ११६ विमानस्थल र ६० व्यापारिक समुद्री जहाजहरू छन्। यसबाहेक उसको २ लाख ६४ हजार किलोमिटर सडक र ११.९ हजार किलोमिटर रेलवे सञ्जाल छ।

कोसँग कतिवटा आणविक हतियार छन्?

स्वीडनको थिंक ट्याङ्क स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटको सन् २०२४ को एक रिपोर्ट अनुसार आणविक वारहेड भारतसँग १७२ वटा र पाकिस्तानसँग १७० वटा छन्।

तर दुवै देशसँग कति आणविक हतियार तैनाथ छन् भन्ने कुरा स्पष्ट छैन।

यस संस्थाका अनुसार पाकिस्तानले भारतसँग प्रतिस्पर्धा गर्न आणविक हतियार तयार गरिरहेको अनि भारतको ध्यान चाहिँ लामो दूरीका हतियारहरू तैनाथ गर्नमा रहेको जनाइएको छ। त्यसको अर्थ ती चीनलाई समेत निशाना गर्न सक्ने हतियारहरू हुनु हो।

भारत र पाकिस्तानको छिमेकी एवं विश्वको तेस्रो ठूलो आणविक शक्ति राष्ट्रका रूपमा चीनमा आणविक हतियारको संख्या २२ प्रतिशतले बढेको छ। त्यो ४१० वारहेडबाट ५०० पुगेको छ।

ड्रोनको सङ्ख्या

गत वर्ष नोभेम्बरमा प्रकाशित बीबीसी उर्दू संवाददाता शकील अख्तरको एक लेखका अनुसार भारत र पाकिस्तानले आफ्नो ड्रोनको सङ्ख्या द्रुत गतिमा बढाइरहेका छन्।

रक्षा विश्लेषक राहुल बेदीका अनुसार भारतसँग आगामी दुई देखि चार वर्षमा लगभग पाँच हजार ड्रोन हुनेछन्।

उनका अनुसार पाकिस्तानसँग 'भारतभन्दा कम ड्रोन' भए तापनि त्यसबाहेक ऊसँग भएका ड्रोनहरूको क्षमता फरक छ र ती १० देखि ११ भिन्न ब्रान्डका छन्।

गत वर्ष अक्टोबरमा भारतले अमेरिकासँग ३.५ अर्ब डलर बराबरको ३१ प्रिडेटर ड्रोन खरिद सम्झौतामा हस्ताक्षर गरेको थियो।

प्रिडेटर ड्रोनहरू संसारकै सबैभन्दा सफल र खतरनाक मानिन्छन्।

त्यससँगै ५० करोड अमेरिकी डलर बराबरका बम र लेजर निर्देशित मिसाइलहरू पनि खरिद गर्नेछ जुन ती ड्रोनमार्फत् निसानामा मार गर्न प्रयोग गरिनेछ।

राहुल बेदीका अनुसार पाकिस्तानले टर्की र चीनबाट ड्रोन आयात गर्छ। तर उसले जर्मनी र इटलीबाट पनि ड्रोनहरू खरिद गरेको छ।

पाकिस्तानले बराक र शाहपरजस्ता ड्रोनहरू पनि बनाएको छ। पाकिस्तानसँग टर्कीको आधुनिक 'बेराक्टार' ड्रोन टीबीटू र अकेन्जी छ भने उसले चीनबाट 'वाङ लङ टु' र 'सीएचफोर' जस्ता ड्रोनहरू पनि प्राप्त गरेको छ।

-बीबीसी हिन्दीबाट

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending