Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

धनराजलाई जोगाउन गत वैशाखमा मितेरीका बचतकर्ताको रकम फिर्ता गराइयो, अर्को कागज बनाइयो

खबरडबली संवाददाता

काठमाडौं । ललितपुरस्थित मितेरी सेभिङ एन्ड क्रेडिट सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङलाई उन्मुक्ति दिँदै आइतबार जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरिएको छ । जबकि, सिआइबीको अनुसन्धानका क्रममा सहकारीको रकम अपचलनमा प्रत्यक्ष संलग्नता खुलेपछि धनराजलाई बचतकर्ताको ३० लाख फिर्ता गर्न लगाएर उन्मुक्ति दिने प्रपञ्च रचिएको खुलेको छ । सहकारीका अध्यक्षसहित आठविरुद्ध भने साढे तीन करोडदेखि ६ अर्ब ७४ करोड ३२ लाख ६९ हजारसम्म बिगो दाबी गरिएको छ ।

मितेरीकी बचतकर्ता कमला गुरुङले जानकारी नै नदिई आफ्नो खाताबाट धनराजले सिधै ५० लाख लगेको र हारगुहार गर्दा पनि ३० लाख फिर्ता नगरेको बयान सिआइबीलाई दिएकी थिइन् । सहकारीकी महाप्रबन्धकसमेत रहेकी धनराजकी तत्कालीन पत्नी ज्योति गुरुङसँगको मिलेमतोमा आफ्नो रकम लगिएको उनको भनाइ थियो । यसबाट रकम हिनामिनामा धनराजको पनि प्रत्यक्ष संलग्नता खुलेको थियो । 

तर, प्रहरीबाट त्यो सूचना धनराजसम्म पुग्यो । त्यसपछि धनराजले गत २३ वैशाख ०८२ मा चेकमार्फत ३० लाख कमलालाई रकम भुक्तानी गरे । जब कि प्रहरीले आठ महिनाअघिदेखि उनीमाथि अनुसन्धान गरिरहेको थियो । सुरुमा कमलाले हिनामिनामा धनराजको पनि संलग्नता खुलाएकोमा पैसा फिर्ता पाएपछि ‘धनराजसँग कुनै लेनदेन छैन’ भनेर पछि प्रहरीमा अर्को कागज गरेको आइतबार जिल्ला अदालतमा दायर भएको अभियोगपत्रमा उल्लेख छ । 

उनले सुरुमा सिआइबीमा गरेको घटना विवरण कागजमा भनेकी छिन्, ‘मेरो मुद्दती खातामा रहेको एक करोडमा मेरो उल्लेखित ऋणको हिसाब मिलान गरी बाँकी रहेको ज्योति गुरुङको श्रीमान् धनराज गुरुङले विभिन्न मितिमा पटकपटक गरी जम्मा पचास लाख रुपैयाँ निकालेर लगेको कुरा लेखापाल विजय राईले भनेपछि थाहा पाएँ ।

सो मुद्दती रकम पचास लाख रुपैयाँमध्ये ज्योति गुरुङले निजलाई रकम आवश्यक परेको भनी तीस लाख रुपैयाँ निजको श्रीमान् धनराज गुरुङलाई दिन हुन भन्ने व्यहोराको निवेदन मलाई दस्तखत गर्न लगाएकी थिइन् र पछि यस सम्बन्धमा के भयो भनी सोध्दा सहकारी संस्थाले रकम नदिएको हुँदा उक्त निवेदनको काम भएन, च्यातेर फालेको भनेकी थिइन् । पछि म ज्योति गुरुङसँग सिंगापुरमा हुँदा ज्योति गुरुङले रकम चाहिएकोले मेरो मुद्दती खातामा भएको रकमबाट बीस लाख रुपैयाँ सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङलाई ज्योति गुरुङको श्रीमान् धनराज गुरुङलाई दिनु भनेको थिएँ । यसरी धनराज गुरुङले मेरो मुद्दती खातामा रहेको पचास लाख रुपैयाँ सबै निकालेको कुरा सहकारी संस्थाका अध्यक्षले भनेपछि थाहा पाएँ ।’ 

कमलाको यो विवरणका आधारमा धनराज आफैँले सहकारीबाट गैरकानुनी रूपमा ५० लाख रुपैयाँ लगेको देखिन्छ । यसबाट उनीमाथि मुद्दा चल्ने आधार बनेपछि धनराजले ३० लाख रुपैयाँ कमलालाई दिएका थिए । त्यसपछि धनराजलाई सहज हुने गरी प्रहरीले कमलासँग अर्को घटना विवरण कागज गराउँछ । जसमा उनले भनेकी छिन्, ‘मिति २०८२÷१÷२३ गते धनराज गुरुङबाट तीस लाख चेकमार्फत मेरो खातामा जम्मा भएको ठिक साँचो हो ।

उल्लेखित जम्मा रकम पचास लाख धनराज गुरुङले मितेरी बचत तथा ऋण सहकारी संस्थाको मेरो नामको मुद्दती खाताबाट सापट लगेको पचास लाख रुपैयाँ रकम फिर्तास्वरूप जम्मा गरेका रहेछन् । मैले बैंक खाता धेरै नचलाउने र बैंकमा जम्मा हुने रकम पनि सहकारीबाट ब्याजस्वरूप आयो होला भनी हेक्का गरिनँ, हाल आएर मेरो बैंकको स्टेटमेन्ट हेर्दा धनराज गुरुङले लिएको ५० लाख रकम सम्पूर्ण मेरै बैंक खातामा जम्मा गरिसकेका रहेछन् । अब धनराज गुरुङसँग मेरो अन्य कुनै लेनदेन÷कारोबार छैन, हिसाब–किताबको यकिन विवरण थाहा नभएकोले मैले मिति २०८१/०७/१२ गते गरेको घटना विवरण कागजमा उल्लेख गरेको थिएँ । धनराज गुरुङको विरुद्ध लेख्न–लेखाउन कोही–कसैको उक्साहटमा परेको छैन । मैले धनराज गुरुङसँग प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम प्राप्त गरिसकेको छु ।’

गत वर्ष भदौमा नै सिआइबीले मितेरी सहकारीको अनुसन्धान थालेको थियो । अनुसन्धान थालेको आठ महिनापछि धनराजले त्यसरी पैसा फिर्ता गरेको देखिन्छ । पैसा फिर्ता गर्ने वातावरण बनाउने र फिर्ता गरेपछि फेरि पीडितसँग पहिलेको भन्दा फरक कागज गराएर सिआइबीले धनराजलाई सघाएको देखिने जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारी बताउँछन् । 

सहकारीका सञ्चालकहरूले धनराजले अपचलन भएको पैसा दिर्ने मौखिम प्रतिबद्धता जनाएका थिए । सञ्चालक समिति सदस्य हरिबहादुर रोकाले बयानमा भनेका छन्, ‘ज्योति गुरुङ र धनराज गुरुङ भई मिति २०७६/०९/१६ गते मगर समाज सेवा केन्द्र, ललितपुरमा बैठक बसेका थियौँ । सञ्चालक समितिका सदस्यहरू कर्णबहादुर रोका, मनकुमारी गुरुङ र कौशिला गुरुङ भने सो बैठकमा उपस्थित थिएनन् ।

बैठकमा कुराकानी गर्दा निज ज्योति गुरुङले सहकारी संस्थामा बचतकर्ताहरूको व्यक्तिगत प्रयोजनका लागि अपचलन गरेको रकम जसरी पनि फिर्ता गर्ने साथै धनराज गुरुङले छोरा अस्ट्रेलियामा इन्जिनियरिङ अध्ययनरत रहेकाले छोराले जागिर सुरु गरेपछि सो रकम सहकारी संस्थामा फिर्ता गरिदिने मौखिक प्रतिबद्धता गरेको हुँदा हामीले धनराज गुरुङ र ज्योति गुरुङलाई सहकारी संस्थाको अपचलन भएको सम्पूर्ण रकम किस्ता–किस्तामा दिने भनेपछि कति वर्षमा के–कति किस्तामा फिर्ता गरिदिने हो, सो सम्पूर्ण खुलाई कागज गरिदिनु भनेपछि निजहरूले स्वीकार गरेकोमा सो कागज गराउने जिम्मेवारी सहकारी संस्थाको अध्यक्ष कुम्भराज गुरुङलाई दिइएकोमा यसको तीन दिनपछि मिति २०७६/०९/१८ गतेदेखि ज्योति गुरुङ सहकारी संस्थाको कार्यालयमा गयल हाजिर भई फरार भएकी थिइन् ।

पछि धनराज गुरुङले अध्यक्ष कुम्भराज गुरुङलाई भेटी ज्योति गुरुङ र निज धनराज गुरुङको सम्बन्धविच्छेद भइसकेको भनी अदालतको मिलापत्रको कागज देखाई सहकारी संस्थामा अपचलन भएको रकम तिर्नुपर्ने दायित्व आफ्नो नरहेको भनी भनेका रहेछन् ।’

यस्तै, रोकाले बयानमा थपेका छन्, ‘धनराज गुरुङको छोराको विवाहमा ज्योति गुरुङसमेत नेपालमा आई सहभागी भएकी र सम्बन्धविच्छेद भएर पनि सँगै बस्ने गरेको कुरा सुनेको हुँ । ज्योति गुरुङ थाइल्यान्डबाट फर्केर गौशालास्थित होटेलमा निजको श्रीमान् धनराज गुरुङसँग बसेको भन्ने कुरा ज्योतिबहादुर भण्डारीले बोधविक्रम थापाको ह्वाट्सएपमा पठाएको भिडियो म्यासेजबाट सुनेको थिएँ । धनराज गुरुङ नेपाली कांग्रेस, नेविसंघको अमेरिकामा भएको कुनै कार्यक्रममा जाँदा निजसँगै श्रीमती ज्योति गुरुङलाई पनि अमेरिकामा लगेको र सो कार्यक्रमबाट फर्केपछि पुनः ज्योति गुरुङ अमेरिका गएको र हाल अमेरिकामा नै रहेको भन्ने कुरा सुनेको थिएँ ।’

सहकारीका अर्का सञ्चालक मोती आलेमगरका अनुसार रकम फिर्ता गर्छु भनेर धनराज रोएका थिए । आलेमगरको बयानमा छ, ‘छलफल हुँदा धनराज गुरुङले सहकारीको रकम मेरी श्रीमतीले अपचलन गरेको कुरा आज यसै बैठकमा थाहा पाएँ, मेरी श्रीमती महाप्रबन्धक ज्योति गुरुङले अपचलन गरेको सम्पूर्ण रकम मेरो छोरा अस्ट्रेलियामा इन्जिनियरिङ अध्ययनरत रहेको र छोराले जागिर सुरु गरेपछि सो रकम सहकारी संस्थामा फिर्ता गरिदिने भनी धनराज गुरुङले मौखिक प्रतिबद्धता गरेका थिए ।

बैठकमा समितिसँग धनराज गुरुङ रोइकराइ गरी मलाई केही समय दिनुस्, सहकारीको अपचलन भएको रकम छोराले अस्ट्रेलियामा काम गर्न सुरु गरेपछि किस्ता–किस्ता तिर्छु भनी प्रतिबद्धता व्यक्त गरेका थिए । धनराज गुरुङ र महाप्रबन्धक ज्योति गुरुङले बैठकमा प्रतिबद्धता गरेका कुरा हामी अन्य सञ्चालक समिति सदस्यहरूले लिखितम् अभिलेख राख्न सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङलाई भनेका थियौँ, तर अध्यक्षले धनराज गुरुङ र महाप्रबन्धक ज्योति गुरुङले बैठकमा प्रतिबद्धता गरेका कुरा लिखितम् अभिलेख किन नराखेका हुन् सोबारे मलाई थाहा छैन ।’

यस्तै, उनले बयानमा भनेका छन्, ‘महाप्रबन्धक ज्योति गुरुङ सम्पर्कविहीन भएपछि धनराज गुरुङ ज्योति गुरुङसँग सम्बन्धविच्छेद गरेको कागजसहित हाम्रो मितेरी सहकारी संस्थामा उपस्थित हुनुभएको थियो, धनराज गुरुङ र महाप्रबन्धक ज्योति गुरुङको सम्बन्धविच्छेदको कागजात हेर्दा निजहरूले मगर समाज सेवा केन्द्र, ललितपुरमा बैठक बस्नुअगाडि नै निजहरूले सम्मानित ललितपुर जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दिएको देखिन्छ । तर, सो सम्बन्धविच्छेद गर्न लागेकोबारे बैठकमा केही कुरा नराखी सम्पूर्ण अपचलन भएको रकम आफूहरू मिलेर तिर्ने प्रतिबद्धता गरेका थिए, तर सम्बन्धविच्छेद भएपछि निज धनराज गुरुङले मेरो र ज्योति गुरुङको केही सम्बन्ध नरहेको र ज्योति गुरुङले अपचलन गरेको रकम आफूले नतिर्ने कुरा अध्यक्षसमक्ष भन्नुभएको थियो ।

धनराज गुरुङले छोराको विवाह मन्त्री क्वार्टरमा गरेका, छोराको विवाहमा निज प्रतिवादी ज्योति गुरुङ पनि सहभागी भएको र छोराको विवाहपश्चात् छोरा, बुहारी र छोरीलाई धनराज गुरुङले अस्ट्रेलिया पठाएको कुरा मैले समाचार÷साथीभाइबाट थाहा पाएको हुँ ।’

यस्तै, जाहेरीकर्ता बोधविक्रम थापाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०मा दिएको जाहेरीमा भनेका छन्, ‘२०७६ पुस १६ बिहान ९ बजे संस्थाका पदाधिकारी र प्रतिवादी ज्योति गुरुङलाई उहाँको श्रीमान् धनराज गुरुङसहित नेपाल मगर समाज सेवा केन्द्रको भवन, रानीबुमा।।।।।।।।। आकस्मिक बैठक राख्यौँ । सो समयमा प्रतिवादी ज्योति गुरुङले आफूले गरेको कसुर मौखिक रूपमा स्वीकार गरेपछि निजको श्रीमान् धनराज गुरुङले खेद प्रकट गर्दै अस्ट्रेलियामा इन्जिनियर अध्ययनरत आफ्नो छोराको कमाइ सुरु भएपछि यथाशीघ्र भुक्तानी दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।’ तर, बैठकमा भएको छलफल र धनराजले दिएको प्रतिबद्धता माइन्युटमा भने उल्लेख गरिएको थिएन । 
सहकारीमा ठगी भएको रकम चुक्ता गर्ने प्रतिबद्धता दिएकै कारण बोधविक्रमले बागमती प्रदेशस्थित सहकारी रजिस्ट्रारको कार्यालयमा समेत धनराजविरुद्ध जाहेरी दिएका थिए । तर, रजिस्ट्रारको कार्यालयले धनराजको नाम काटेर अनुसन्धान गर्न सिआइबीमा फाइल पठाएको थियो । यहीँबाट धनराजलाई उन्मुक्ति दिने प्रपञ्चको सुरुवात भएको देखिन्छ । 

चौतर्फी दबाबपछि सिआइबीले धनराजलाई कार्यालयमा नै उपस्थित गराएर दुईपटक बयान लिएको थियो । तर, बयान औपचारिकतामा मात्रै सीमित बनेको अदालतमा दर्ता अभियोग पत्रले पुष्टि गरेको छ । किनकि अभियोग पत्रमा उल्लेख भएअनुसार धनराज स्वयंले प्रेस विज्ञप्तिमार्फत स्वीकार गरेको तथ्य सम्बन्धमा समेत सोधपुछ गरिएको छैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच महिनामा थपियो सवा खर्ब सार्वजनिक ऋण

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्व...

रवि–बालेन अब ‘एउटै गाडी’मा

काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठ...

दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्र...

रवि र बालेनबीच ‘वान–टु–वान’ वार्ता, निवासमा भेट गराएका आशिफले भने : कथाको सुखद् सुरूआत भएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ ...

मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...

चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट

काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...

शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित, विद्यालयमा बिदा

रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending