भक्तपुर। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउने काम ख्यालठट्टा नभएको बताउँदै उनले जेनजी पुस्ताको माग सम्बोधनमा ध्यान दिन सरकारसँग आग्रह गरेको छन् ।
नेकपा ९एमाले० भक्तपुरले बिहीबार भक्तपुरको गुण्डुमा आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताउँदै देशको परिवर्तन र विकासमा एमाले जत्तिको चिन्तित पार्टी कुनै नभएको दाबी गरे। देशको परिवर्तन र समृद्धिका लागि एमाले स्थापनाकालदेखि सङ्घर्ष गर्दैआएको शक्ति भएको उनले प्रष्ट पारे।
जेनजी आन्दोलनको आवरणमा षडयन्त्रकारीहरूले नेपालको भौतिक संरचना ध्वस्त बनाएको बताउँदै उनले भने, “जेनजीको एजेण्डा मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नु हो । यहाँ सुशासन कायम हुनुपर्छ भन्ने हो । देशको समृद्धि र विकास हुनुपर्छ भन्ने हो । हामी सबैको माग पनि त्यही हो ।” सार्वजनिक पद धारणा गर्ने सबैको सम्पत्ति छानबिन गर्न उनले सरकारसँग आग्रह गरे।
आफू नेतृत्वको सरकारले सामाजिक सञ्जाल नरोकेको बरु नेपालमा दर्ता भएर चलाउ मात्र भनेको प्रष्ट पार्दै अध्यक्ष ओलीले भने, “टमाटर र तरकारी उत्पादनले कर तिर्छन्, सामाजिक सञ्जालबाट अरबौं रुपियाँ कमाउनेले सरकारलाई कर तिर्नु पर्दैन ? नेपालमा दर्ता भएर कर तिर भनेका हौं, बन्द गरेका होइनौं ।” अराजकता मच्चाउन सामाजिक सञ्जाल बन्द गरिएको आरोप लगाइएको उनले टिप्पणी गरे।
नेकपा ९एमाले० का महासचिव शङ्कर पोखरेलले राष्ट्र निर्माणको विषय एउटा पुस्ताको मात्र नरहेको बताउँदै परिवर्तन सबैको चाहना र योगदानको खाँचो रहेको बताए। जेनजी पुस्ताको आवरणमा मुलुकलाई वर्वाद गर्ने षडयन्त्र भइरहेको बताउँदै उनले देशलाई बचाउन सबै शक्ति एक ठाउँमा आउनुपर्ने बताए।
पश्चिमाहरूले पुस्ता विभाजन गरी नेपालमा अस्थिरता कायम गर्न खोजेको आरोप लगाउँदै महासचिव पोखरेलले भने, “भदौ २३ र २४ गते भएको आन्दोलनमा अराजकता कायम भएको छ । विद्यालयका विद्यार्थीलाई प्रयोग गरी शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गराई अराजकता मच्चाउने काम भएको छ ।” जेनजी आन्दोलनको नाममा मुलुकमा ठुलो अपराध मच्चाउने काम भएकाले दोषीलाई कारबाही गर्नुपर्छ उनले भने।
अन्तरिम सरकारको लक्ष्य फागुन २१ गते तय भएको निर्वाचन गराउने देखिए पनि शान्ति सुरक्षाका लागि सुरक्षाकर्मीको मनोबल उठाउन आवश्यक रहेको बताए। प्रहरीको हतियार लुटिएको छ, प्रहरीको कार्यालय जलाइएका छन्, सरकारले मनोबल उठाउने काम गरेको छ त ? उनले जिज्ञासा गरे। निर्वाचनबारे दलहरूसँग सरकारले परामर्श नगरेको बताउँदै उनले राजनीतिक दलहरूलाई किनारा लगाएर निर्वाचन सफल हुन नसक्ने उनले बताए।
एमाले स्थायी कमिटी सदस्य डा। राजन भट्टराईले नेपालको राजनीतिलाई प्रणालीमा ल्याउन नसके मुलुक युक्रेन, सुडान बन्ने खतरा औल्याए। मुलुकमा सुशासन कायम गरी समृद्ध नेपाल बनाउन उद्देश्य सबैको साझा एजेण्डा भएको बताउँदै उहाँले त्यसका लागि सबै एक भएर अघि बढ्न आवश्यक रहेको बताए । नेपाललाई अस्थिर बनाउन विभिन्न शक्तिहरू लागि परेकाले देशको राष्ट्रियता जोगाउन सबै राष्ट्रिय शक्ति एक हुनुपर्ने बताए।
अर्का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपाललाई असफल बनाउन विभिन्न देशी विदेशी शक्तिहरु सल्बलाइरहेकाले सबै नेपाली सचेत हुनुपर्ने बताए। जेनजीको माग आफ्नो ठाउँमा ठिक रहे पनि जेनजीको आवरणमा मुलुकको भौतिक संरचना जलाउने काम दु:खद भएको टिप्पणी गरे।
एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले मुलुकको परिवर्तनको चाहना सबैको साझा भए पनि अराजकता कायम गरी विकास सम्भव नभएको बताए। एमालेलाई लक्षित गरी गरिएको आक्रमण सह्य नरहेको बताए। मुलुकको विकास एमालेको नेतृत्वमा गर्ने दाबी गर्दै नेता बस्नेतले देश वर्वाद गर्न खोज्ने तत्वलाई परास्त गरिने बताए ।
प्रतिकृया लेख्नुहोस्: