Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

कोटा कागजमै थन्कियो, भान्सामा महँगी छरियो

सरकार–उद्योगीको तानातानमा गहुँ, उपभोक्ता सिधै मारमा

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा गहुँ आयातलाई लिएर सरकार र उद्योगीबीच देखिएको द्वन्द्वको प्रत्यक्ष असर बजारमा देखिन थालेको छ । कागजमा कोटा, सूचनामा म्याद र विज्ञप्तिमा निर्णय थुप्रिँदै जाँदा बजारमा भने आटा र मैदाको मूल्य आकासिएको छ । सरकारी संयन्त्र निष्क्रिय जस्तै देखिँदा उद्योगीहरू वैकल्पिक (अनौपचारिक) बाटो रोजिरहेका छन् । परिणाम—राजस्व गुम्दै छ, बजार महँगिँदै छ र उपभोक्ताको भान्सा थप दबाबमा परेको छ ।

सरकारले आधिकारिक माध्यमबाट गहुँ आयात सहज बनाएको दाबी गरिरहँदा उद्योगीहरू भने त्यसलाई व्यवहारमै असम्भव ठान्दै आएका छन् । यही विरोधाभासका बीच पछिल्ला दुई वर्षमा नेपालमा आधिकारिक गहुँ आयात लगभग शून्यमा झरेको छ ।

कोटा तोकियो, तर गहुँ आएन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १० माघ २०८१ मा भारतीय सरकारी कम्पनी ‘नेसनल कोअपरेटिभ एक्स्पोर्ट लिमिटेड’ (एनसीएल) मार्फत ९० हजार टन गहुँ आयातका लागि कोटा तोक्यो । एक साताभित्र आवेदन आह्वान गरियो । ५८ उद्योग तथा फर्मले आवेदन त दिए । तर, कोटा बाँडिएपछि पनि एउटा किलो गहुँसमेत आयात भएन ।

त्यसपछि पनि विभागले पटक–पटक म्याद थप्दै सूचना निकाल्यो । चालु आव २०८२/८३ को भदौमा पुनः ४० हजार टन गहुँ आयातका लागि सार्वजनिक आह्वान गरियो । तीन महिनाभित्र गहुँ ल्याइसक्नुपर्ने शर्त राखियो । तर, म्याद सकिँदासम्म एउटा आवेदन पनि परेन ।

भन्सार विभागको तथ्यांक झनै चकित पार्ने खालको छ । गत आव २०८१/८२ मा नेपालमा आधिकारिक रूपमा जम्मा २ टन मात्र गहुँ आयात भयो । कुनै समय वार्षिक दुई लाख टनसम्म आयात हुने गहुँ आज तथ्यांकमै हराएको जस्तो देखिन्छ ।

‘गहुँ कहाँबाट आयो ?’ सरकारकै प्रश्न

वाणिज्य विभागका अधिकारीहरू नै अहिले गम्भीर प्रश्न उठाउन थालेका छन् ।
‘दुई वर्षदेखि आधिकारिक आयात छैन । तर, ठूला–साना सबै फ्लोर मिल पूर्ण क्षमतामा चलिरहेका छन्,’ एक अधिकारी भन्छन्, ‘कच्चापदार्थ कहाँबाट आइरहेको छ ? यो राज्यकै लागि गम्भीर विषय हो ।’

उनका अनुसार उद्योगीहरूले आर्थिक वर्षका लागि गहुँ आयात गर्न आधिकारिक रूपमा कोटा माग्दै आवेदन नै दिएका छैनन् । तर, बजारमा अभाव छैन, मिल बन्द छैन । यसले अनौपचारिक आयात र राजस्व चुहावटको आशंका थप बलियो बनाएको छ ।

उद्योगीको प्रतिवाद : प्रक्रिया नै बाधक

उद्योगीहरू भने दोष सरकारकै जटिल आयात प्रक्रियामाथि थोपर्छन् । गहुँ आयात गर्न चाहने कम्पनीको चुक्ता पूँजी कम्तीमा १ करोड रुपैयाँ हुनुपर्ने, विगतको कर चुक्ता प्रमाणपत्र अनिवार्य, कोटा पाएपछि तीन महिनाभित्र गहुँ ल्याइसक्नुपर्ने, एनसीएललाई शतप्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने र थप १० प्रतिशत धरौटी राख्नुपर्ने जस्ता प्रावधानलाई उद्योगीहरूले अव्यावहारिक ठान्दै आएका छन् ।

‘अत्यन्तै कम नाफा हुने खाद्यान्न व्यवसायमा अग्रिम भुक्तानी, धरौटी र लामो प्रक्रिया कसरी धान्ने ?’ एक उद्योगी भन्छन्, ‘भारतीय व्यापारीहरू समेत यस्तो जोखिम लिन तयार छैनन् ।’

उनका अनुसार टेन्डर प्रक्रियामा भारतीय पक्षको सहभागिता न्यून हुँदा आधिकारिक कोटाबाट गहुँ ल्याउने प्रयास नै असफल भएको हो ।

कमिसनको खेल र खुला बाटो

केही उद्योगीहरूले एनसीएलले प्रतिकिलो गहुँमा १ रुपैयाँ कमिसन माग्ने गरेको आरोप पनि लगाएका छन् ।
‘खुला बजारमा सस्तो पाइन्छ, तर टेन्डर प्रक्रियामा महँगो पर्छ,’ एक आटा उद्योगी भन्छन्, ‘त्यसैले व्यापारीहरू खुला बाटो रोज्न बाध्य छन् ।’

उद्योगीहरू नै सरकारी कोटाको झन्झट छलेर अनौपचारिक रूपमा गहुँ ल्याइरहेको स्वीकार्छन् । यसबाट सरकारले पाउनुपर्ने ५ प्रतिशत भन्सार राजस्व गुमिरहेको छ ।

नेपालमै गहुँ छ भन्ने दाबी

नेपाल फ्लोर मिल्स एसोसिएसनका पूर्वअध्यक्ष माधवलाल श्रेष्ठ भने फरक मत राख्छन् ।
उनका अनुसार आयात प्रक्रिया झन्झटिलो भएको र सोही समयमा नेपालमै गहुँ सहज रूपमा उपलब्ध भएकाले उद्योगीले कोटा प्रयोग नगरेका हुन् ।

‘हामीसँग अहिले दुई–तीन महिनालाई पुग्ने स्टक छ,’ उनी भन्छन्, ‘चैतदेखि नयाँ सिजन सुरु हुन्छ । अभावको अवस्था छैन ।’ तर, बजार मूल्य भने उनको दाबी विपरीत दिशामा गइरहेको छ ।

भान्सामा महँगीको सिधा प्रहार

भारतमा गहुँको मूल्य बढेको भन्दै उद्योगीहरूले आटा र मैदाको मूल्य बढाएका छन् ।
थोकमा प्रतिबोरा (५० किलो) २ देखि ३ सय रुपैयाँसम्म वृद्धि भएको छ । प्रतिकिलो ५–६ रुपैयाँ बढेको थोक मूल्य खुद्रामा पुग्दा २० रुपैयाँसम्म बढेर प्रतिकिलो १ सय रुपैयाँ नाघिसकेको छ ।

आधिकारिक आयात बन्द हुँदा मूल्य नियन्त्रण गर्ने सरकारी संयन्त्र पनि कमजोर देखिएको छ । परिणाम—सामान्य उपभोक्ता सीधै मारमा परेका छन् ।

भारतमा निर्भर नेपाल, जोखिममा बजार

नेपालमा वार्षिक करिब ५–६ लाख टन गहुँ आवश्यक पर्छ । स्वदेशी उत्पादनले बढीमा ३–६ महिनामात्र धान्छ । बाँकी समय भारतमै निर्भर रहनुपर्ने बाध्यता छ ।

भारतले विगत तीन वर्षदेखि गहुँ निर्यातमा कडाइ गरेपछि नेपाली बजार थप अस्थिर बनेको छ । उद्योगीहरूका अनुसार भारतीय नीतिमा सानो परिवर्तनले पनि नेपाली बजार, उद्योग र उपभोक्तामा ठूलो असर पार्छ ।

खेती घट्दै, निर्भरता बढ्दै

कृषि मन्त्रालयको तथ्यांकले गहुँ खेती गर्ने क्षेत्रफल र उत्पादन दुवै घट्दो क्रममा रहेको देखाउँछ । खेतबारी खण्डीकरण, सिँचाइ अभाव, मल–बिउको समस्या र युवा पलायनले गहुँ उत्पादन झन् कमजोर बन्दै गएको कृषि विज्ञ बताउँछन् ।

कागजमा कोटा, व्यवहारमा आयात शून्य, बजारमा महँगी र भान्सामा चाप गहुँ आयातको यो चित्र केवल व्यापारिक समस्या होइन, राज्यको नीति, नियमन र कार्यान्वयन क्षमतामाथि उठेको गम्भीर प्रश्न हो ।

सरकार र उद्योगीबीचको यो रस्साकस्सीको मूल्य अन्ततः नेपाली उपभोक्ताले चुकाइरहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६९०औँ हप्तामा पनि निरन्तर बागमती सफाइ, आधा टन फोहोर संकलन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...

अन्तिम चरणमा पुग्याे मधेशमा धान रोपाइँ, ९१.५५ प्रतिशत क्षेत्रफलमा खेती सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...

इरान जाने क्रममा मरुभूमिमा १४ अफगान आप्रवासीको मृत्यु

काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...

मौखिक सहमतिपछि सञ्चालनमा आयो बीपी राजमार्ग, आन्दोलन स्थगित

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...

प्रवेश परीक्षा दिएपछि विश्वविद्यालय भवनबाट हामफालेका विद्यार्थीको मृत्यु

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...

ब्रड पिक दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त, निर्मल पुर्जासहित सबै आरोहीलाई श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...

सरकार–हिन्दु सम्राट वार्ता निष्कर्षविहीन, सहमति खोज्न पुनः संवाद हुने

जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफल...

चुलोमा पेट्रोल हाल्दा आगो भड्कियो, कालीकोटमा दम्पती गम्भीर घाइते

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्ने प्रयास गर्दा दम्पती गम्भीर घाइते भएका छन्। घाइते दुवै जन...

ब्रड पिकको हिमपहिरोमा निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि, ६ नेपालीले गुमाए ज्यान

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending