काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनले तीन दशकभन्दा बढी समय नेपाली राजनीतिमा निर्णायक प्रभाव जमायो । सशस्त्र संघर्ष, जनआन्दोलन, संविधान निर्माण र सरकार सञ्चालनसम्म आइपुग्दा कम्युनिस्ट शक्ति कहिले पहिलो त कहिले तेस्रो शक्तिका रूपमा स्थापित भयो। तर पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा भने नेकपा इतिहासकै कमजोर अवस्थामा पुगेको छ।
ताजा परिणाम : चौथो स्थानमा खुम्चिएको शक्ति
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपाले जम्मा ७ सिट जित्दै चौथो स्थानमा सीमित भएको छ। प्रत्यक्षतर्फ कमजोर प्रदर्शन गरेको नेकपाले समानुपातिकतर्फ पनि उल्लेख्य मत ल्याउन सकेकाे देेखिँदैन।
आइतबार अपरान्ह ५ बजेसम्म ४५ लाख ३० हजार ९१३ मत गणना हुँदा नेकपाले ३ लाख ४ हजार ६२ मत मात्रै प्राप्त गरेको छ। एक समय राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति मानिएको दल अहिले अस्तित्व र प्रभाव जोगाउने संघर्षमा देखिएको छ।
विद्रोहबाट शिखरसम्म
२०५२–०६२ सालसम्म चलेको सशस्त्र विद्रोह र २०६२/६३ को जनआन्दोलनपछि माओवादी शक्ति मूलधारमा आयो। ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादी २२९ सिटसहित पहिलो दल बन्यो।
राजतन्त्र अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गर्यो। समय पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी शक्ति परिवर्तनको प्रतीक थियो।
विभाजन, एकता र पुनः विघटन
२०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी बनेपछि १७४ सिटसहित झण्डै दुईतिहाइ बहुमत प्राप्त भयो।
त्यो चरणमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड को सहकार्यले शक्तिशाली सरकार गठन भयो। तर आन्तरिक विवाद, नेतृत्व संघर्ष र सर्वोच्च अदालतको निर्णयपछि पार्टी पुनः विभाजित भयो। विभाजनपछि जनआधार क्रमशः खस्किँदै गयो।
२०७० देखि २०७९ : क्रमिक गिरावट
२०७० : ८३ सिट — तेस्रो स्थान
२०७४ : एमालेसँग मिलेर दुईतिहाइ नजिक
२०७९ : ३२ सिट — तेस्रो स्थान कायम
२०८२ : ७ सिट — चौथो स्थान
यसपटक प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको वाम घटकहरू मिलेर नयाँ समीकरण बनाउने प्रयास भए पनि मतदाताले अपेक्षित समर्थन गरेनन्।
नयाँ चुनौती : रास्वपाको उभार
तीन वर्षअघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित रूपमा बलियो देखिएको छ। पुराना दलहरूप्रतिको असन्तोष, भ्रष्टाचारका आरोप र आन्तरिक कलहले नेकपालाई कमजोर बनायो।
नयाँ पुस्ता र शहरी मतदाताको ठूलो हिस्सा रास्वपातर्फ सरेपछि नेकपा चौथो स्थानमा धकेलिएको विश्लेषण गरिँदैछ।
किन खस्कियो जनाधार?
विश्लेषकहरूका अनुसार नेकपाको ओरालो यात्राका प्रमुख कारणहरू यस्ता छन्:
नेतृत्वप्रति बढ्दो अविश्वास, पटक–पटकको विभाजन र गुटबन्दी, सरकार सञ्चालनमा विवाद र अस्थिरता, नयाँ पुस्तासँग दूरी र एजेन्डाको कमजोर प्रस्तुति जस्ता कमजाेरी रहेका छन् ।
एक समय परिवर्तनको एजेन्डा बोकेको दल अब यथास्थितिको प्रतीकजस्तो देखिन थालेको आरोप पनि लाग्ने गरेको छ।
अस्तित्वको प्रश्न
३४ वर्षको यात्रामा नेकपा कहिले पहिलो, कहिले तेस्रो र अहिले चौथो शक्तिमा खुम्चिएको छ। के नेकपा पुनः आफूलाई पुनर्गठित गर्दै जनविश्वास फर्काउन सक्छ? कि यो गिरावट दीर्घकालीन राजनीतिक सन्देश हो? जस्ता प्रश्न जन्मिएका छन् ।
नेपाली राजनीतिमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै समाप्त भएको छैन। तर परिवर्तनको राजनीति केवल इतिहासको उपलब्धिमा टिकेर बाँच्न सक्दैन; निरन्तर आत्मसमीक्षा र नयाँ दृष्टि अनिवार्य भएकाेे जनादेशले सन्देश दिएको छ ।
प्रतिकृया लेख्नुहोस्: