गुल्मी । गुल्मी अस्पताल मा बिहानै बिरामीको भीड लाग्छ । कोही ज्वरो लिएर आएका हुन्छन्, कोही भिडियो एक्स–रे गराउन लाइनमा बसेका हुन्छन्, कोही आकस्मिक कक्षमा कुरिरहेका हुन्छन् । एउटै कोठामा धेरै चिकित्सकले बिरामी हेर्नुपर्छ । कुरुवाहरू बस्ने ठाउँ छैन । उपकरण थप्ने ठाउँ छैन । नयाँ सेवा सुरु गर्ने अवस्था छैन ।
तर अस्पताल परिसरमै अर्को दृश्य पनि सँगै देखिन्छ—पाँच वर्षदेखि अधुरै रहेको नयाँ भवन ।भवनको संरचना ठडिएको छ । कतै रङरोगन हुँदैछ, कतै तार झुन्डिएका छन्, कतै कामदार फिनिसिङ गरिरहेका भेटिन्छन् । हेर्दा लाग्छ, काम भइरहेको छ । तर समय गनिरहेकाहरूका लागि यो निर्माण अब आशाभन्दा बढी निराशाको प्रतीक बनिसकेको छ ।
२०७८ असार १८ गते २५ करोडभन्दा बढी लागतमा नयाँ भवन निर्माणको सम्झौता भएको थियो । निर्माण व्यवसायीले दुई वर्षभित्र काम सक्नुपर्ने थियो । तर पाँच वर्ष बितिसक्दा पनि भवन पूर्ण हुन सकेको छैन ।
एक पटक होइन, चार पटकसम्म म्याद थपियो । हरेक पटक नयाँ समयसीमा दिइयो । हरेक पटक “अब चाँडै सकिन्छ” भनियो । तर भवन अझै सञ्चालनमा आउन सकेको छैन । अस्पताल प्रशासनका अनुसार अहिलेको भवनले बढ्दो बिरामीको चाप धान्नै सकेको छैन । ५० शय्यामा स्तरोन्नति भइसकेपछि पनि पूर्वाधार पुरानै छ । दैनिक करिब २५० सेवाग्राही आउने अस्पतालमा ठाउँ अभाव सबैभन्दा ठूलो समस्या बनेको छ ।
आइसियु सञ्चालन गर्न सकिएको छैन । मिर्गौला रोगीका लागि डायलाइसिस सेवा विस्तार रोकिएको छ । नयाँ उपकरण थप्ने ठाउँ छैन । पुरानो वायरिङ र साँघुरो संरचनाका कारण आधुनिक इलेक्ट्रोनिक हेल्थ रेकर्ड प्रणालीसमेत प्रभावकारी रूपमा सञ्चालन गर्न कठिन भइरहेको छ ।
अस्पतालले पछिल्ला वर्षहरूमा सेवा विस्तार गर्दै जिल्लावासीको विश्वास जितेको थियो । तर अहिले त्यो साख जोगाउनै कठिन भइरहेको अस्पताल प्रशासनको गुनासो छ । बिरामी बढिरहेका छन्, अपेक्षा बढिरहेका छन्, तर भवन अझै अधुरै छ ।
सबैभन्दा ठूलो प्रश्न निर्माणको सुस्त गतिलाई लिएर उठिरहेको छ । काम पूर्ण रूपमा रोकिएको पनि देखिँदैन, उल्लेख्य प्रगति भएको पनि महसुस हुँदैन । निर्माणस्थलमा केही काम भइरहेजस्तो देखिए पनि परिणाम भने शून्यजस्तै छ ।
सरकारी परियोजनाहरूमा यो दृश्य नयाँ होइन । ठेक्का लाग्छ, समयसीमा तोकिन्छ, म्याद थपिन्छ, फेरि थपिन्छ । अन्ततः वर्षौँसम्म परियोजना अधुरै रहन्छ । लागत बढ्छ, नागरिकले सास्ती भोग्छन्, तर जिम्मेवारी कसैले लिँदैन । गुल्मी अस्पतालको भवन पनि त्यही रोगको अर्को उदाहरण बनेको छ ।
विडम्बना के छ भने यो कुनै विलासिताको परियोजना होइन । यो अस्पताल हो—जहाँ ढिलाइको अर्थ प्रत्यक्ष रूपमा नागरिकको स्वास्थ्यसँग जोडिन्छ । भवन नहुँदा सेवा रोकिन्छ । उपकरण थन्किन्छन् । बिरामीले समयमै उपचार पाउँदैनन् ।
दूरदराज जिल्लाका नागरिकका लागि जिल्ला अस्पताल नै अन्तिम भरोसा हुन्छ । तर त्यही अस्पताल पूर्वाधार अभावले थलिँदा सबैभन्दा बढी असर गरिब र ग्रामीण भेगका मानिसलाई पर्छ ।
निर्माण कम्पनीले जनशक्ति र सामग्री थपे एक महिनाभित्र काम सकिने दाबी गरेको छ । तर यस्ता प्रतिबद्धता अब धेरैलाई विश्वास लाग्न छाडेको छ । किनकि विगत पाँच वर्षदेखि यही आश्वासन दोहोरिइरहेको छ । अस्पताल भवन केवल इँटा, सिमेन्ट र रङको संरचना होइन । त्यो बिरामीको आशा हो । समयमै उपचार पाउने अधिकार हो । जीवन बचाउने आधार हो ।
तर नेपालमा विकास आयोजनाहरूको सुस्त गतिले देखाइरहेको छ । यहाँ भवनभन्दा ढिलाइ बलियो छ, आवश्यकता भन्दा लापरबाही ठूलो छ ।
प्रतिकृया लेख्नुहोस्: