काठमाडौं । अमेरिकामा बस्दै आएकी एक नेपाली महिलाको नाममा रहेको बैंक चेक कीर्ते गरी संघीय सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरिएको आरोप सार्वजनिक भएको छ। पीडित परिवारले हस्ताक्षरसमेत नक्कली गरिएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्। घटनाले बैंकको आन्तरिक सुरक्षा प्रणाली, चेक प्रमाणीकरण प्रक्रिया र प्रहरी अनुसन्धानमाथि समेत गम्भीर प्रश्न उठाएको छ।
पीडित कुस्मा बुढाथोकी, जो हाल अमेरिकामा बसोबास गर्दै आएकी छन्, उनले आफूले सांसद तामाङलाई कहिल्यै नचिनेको, कुनै आर्थिक कारोबार नगरेको र आफ्नो नामको चेक कसरी प्रयोग भयो भन्नेबारे आफू पूर्ण रूपमा अनभिज्ञ रहेको बताएकी छन्।
परिवारका अनुसार सानिमा बैंकको सीतापाइला शाखामा प्रस्तुत गरिएको ००१३४४२४९ नम्बरको चेक खातामा पर्याप्त रकम नभएको भन्दै बैंकले बाउन्स गरेको थियो। त्यसपछि बैंकले ७ जुन २०२६ मा कुस्मालाई इमेल पठाएर ४५ दिनभित्र रकम जम्मा गर्न, अन्यथा कानुनी प्रक्रिया अघि बढ्ने चेतावनी दिएको थियो।
‘पत्र माग्दा पनि बैंकले दिएन’
कुस्माकी बहिनी सुस्मा बुढाथोकीका अनुसार इमेल प्राप्त भएपछि बैंकबाट आधिकारिक पत्र लिन पटक–पटक प्रयास गरिए पनि विभिन्न बहाना बनाएर उपलब्ध गराइएको छैन।
उनले भनिन्, "हामीले बारम्बार आधिकारिक कागजात माग्यौं, तर अहिलेसम्म बैंकले उपलब्ध गराएको छैन। यसले बैंकको भूमिकामाथि नै शंका पैदा गरेको छ।"
घटनाको केन्द्रमा जीवनप्रसाद बाँस्कोटा ?
पीडित परिवारले झापाका जीवनप्रसाद बाँस्कोटालाई घटनाको मुख्य पात्रका रूपमा उल्लेख गरेका छन्। उनी लामो समयदेखि नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ताका रूपमा कार्यरत छन्।
परिवारका अनुसार बाँस्कोटाले आफू कम्पनीका उच्च अधिकारीसँग निकट रहेको दाबी गर्दै उनीहरूसँग सम्बन्ध विस्तार गरेका थिए। क्यान्सरबाट पीडित डम्बरबहादुर बुढाथोकीको उपचार खर्च जुटाइदिने आश्वासन दिँदै विभिन्न शीर्षकमा रकमसमेत लिएको आरोप परिवारको छ।
यही विषयमा परिवारले असार २३ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा बाँस्कोटाविरुद्ध लिखित उजुरी दिएको जनाएको छ। परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले उजुरी परेको पुष्टि गर्दै अनुसन्धान भइरहेको बताएका छन्।
स्वकीय सचिव बताइने व्यक्तिमाथि पनि प्रश्न
पीडित परिवारले सांसद आशिका तामाङका स्वकीय सचिव भएको दाबी गर्ने धादिङका दिलीप उप्रेतीको भूमिकामाथि पनि प्रश्न उठाएका छन्।
सुस्माका अनुसार उप्रेतीले आफू प्रधानमन्त्री र गृहमन्त्रीसम्म पहुँच भएको व्यक्ति भन्दै विवाद मिलाइदिने आश्वासन दिएका थिए। तर पछि उल्टै सांसद तामाङकै नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी भएको दाबी गरिएको छ।
१ करोड ८५ लाखको अर्को चेक पनि बाउन्स
परिवारका अनुसार यही प्रकरणमा जीवनप्रसाद बाँस्कोटाले कुस्मा बुढाथोकीकै नाममा रहेको लामो समयदेखि निष्क्रिय बैंक खाताबाट १ करोड ८५ लाख रुपैयाँको अर्को चेकसमेत काटेका थिए, जुन पछि बाउन्स भएको थियो।
लगातार दुईवटा ठूलो रकमका चेक बाउन्स भएपछि आफूहरू चेक कीर्ते, जालसाजी र आर्थिक अपराधको सिकार बनेको परिवारको दाबी छ।
यस विषयमा उनीहरूले प्रहरी महानिरीक्षकको सचिवालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समेत उजुरी दिएको बताएका छन्। तर हालसम्म प्रभावकारी सुनुवाइ नभएको उनीहरूको गुनासो छ।
प्रहरीमा उजुरी दर्ता गर्न नमानिएको आरोप
पीडित परिवारका अनुसार सांसद आशिका तामाङको नाम प्रयोग गरेर चेक काटिएको विषयमा थप उजुरी दर्ता गर्न खोज्दा जिल्ला प्रहरी परिसर काठमाडौंले उजुरी लिन अस्वीकार गरेको छ।
यदि यो आरोप पुष्टि भए अनुसन्धान प्रक्रियामै गम्भीर प्रश्न उठ्ने उनीहरूको भनाइ छ।
बैंकको भूमिकामाथि पनि प्रश्न
पीडित परिवारले लामो समयदेखि निष्क्रिय रहेको खाताबाट यति ठूलो रकमको चेक जारी हुनु, बैंकले त्यसलाई स्वीकार गर्नु, बाउन्स गर्नु र खातावालालाई कानुनी चेतावनी पठाउनु आफैंमा गम्भीर विषय भएको बताएका छन्।
उनीहरूका अनुसार यस्तो प्रक्रिया कसरी सम्पन्न भयो भन्नेबारे बैंकले स्पष्ट जवाफ दिनुपर्ने अवस्था छ।
यस विषयमा सानिमा बैंकसँग प्रतिक्रिया लिन प्रयास गरिए पनि कार्यालय समय सकिएकाले प्रतिक्रिया प्राप्त हुन सकेन।
आरोपित र सांसदको प्रतिक्रिया आउन बाँकी
जीवनप्रसाद बाँस्कोटाले भने घटनाबारे प्रहरीमा उजुरी परिसकेको र अनुसन्धान जारी रहेकाले विस्तृत प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। उनले यो व्यक्तिगत लेनदेनसँग सम्बन्धित विषय भएको दाबी गरेका छन्।
उता सांसद आशिका तामाङसँग सम्पर्क गर्ने प्रयास सफल हुन सकेन। उनका स्वकीय सचिव भएको दाबी गरिएका दिलीप उप्रेतीसँग पनि पटक–पटक सम्पर्क गर्दा प्रतिक्रिया प्राप्त हुन सकेन।
अनुसन्धानले मात्रै खुलाउने वास्तविकता
यो प्रकरणमा चेक कीर्ते भएको हो वा होइन, सांसद आशिका तामाङको नाम कसरी प्रयोग भयो, बैंकको आन्तरिक नियन्त्रण प्रणालीमा कमजोरी थियो वा थिएन, र पीडित परिवारका आरोप कति सत्य हुन् भन्ने विषय अनुसन्धानबाट मात्रै स्पष्ट हुनेछ।
हाल सार्वजनिक भएका विवरणहरू पीडित पक्षका दाबी, उपलब्ध कागजात र प्रारम्भिक सूचनामा आधारित छन्। त्यसैले घटनाको अन्तिम निष्कर्ष सम्बन्धित अनुसन्धान निकायको प्रतिवेदनपछि मात्रै स्पष्ट हुनेछ।
प्रतिकृया लेख्नुहोस्: