सडक, विद्युत्, खानेपानी र सञ्चारजस्ता आधारभूत सुविधा पुगे पनि गाउँमा बस्ने जनसंख्या निरन्तर घटिरहेको छ। यसको प्रत्यक्ष असर कृषि उत्पादन, स्थानीय अर्थतन्त्र, सामाजिक सम्बन्ध, संस्कृति र परम्परागत सीपमा देखिन थालेको छ।
दोर्दी गाउँपालिका–३ श्रीमञ्ज्याङको पुरानो नेवार बस्ती यस परिवर्तनको प्रतिनिधि उदाहरण बनेको छ। केही दशकअघिसम्म बाक्लो बस्ती रहेको क्षेत्रमा अहिले धेरै घर खाली छन् भने कतिपय जीर्ण बन्दै गएका छन्।
८५ वर्षीय शेरबहादुर श्रेष्ठका अनुसार पहिले गाउँमा बिहानदेखि बेलुकासम्म चहलपहल हुन्थ्यो। चाडपर्व, मेलापात र सामाजिक काममा गाउँ नै एकजुट हुने वातावरण अहिले हराउँदै गएको छ।
राइनास नगरपालिका–८ हराबोटको सिक्रा गाउँको अवस्था पनि उस्तै छ। स्थानीय लालमाया श्रेष्ठका अनुसार सुविधा थपिँदै गए पनि गाउँमा बस्ने मानिस भने घटिरहेका छन्।
युवा गाउँ छाड्दै जाँदा कृषि क्षेत्रमा पनि गम्भीर असर परेको कृषि विकास कार्यालय लमजुङले जनाएको छ। कार्यालयका सूचना अधिकारी सरोज थापाका अनुसार श्रमिक अभावका कारण खेतीयोग्य जमिन बाँझो रहने क्रम बढेको छ भने रैथाने बाली, परम्परागत खेती प्रणाली र स्थानीय ज्ञान नयाँ पुस्तामा हस्तान्तरण हुन कठिन बन्दै गएको छ।
कार्यालयको तथ्यांकअनुसार जिल्लामा ६१ हजार ८१९ हेक्टर खेतीयोग्य जमिनमध्ये ४५ हजार ७५७ हेक्टरमा मात्र खेती भइरहेको छ भने १६ हजार ६२ हेक्टर जमिन बाँझो रहेको छ।
सुन्दरबजार नगरपालिका–६ को पुरानो दिही गाउँ पनि बसाइँसराइको असरबाट अछुतो छैन। स्थानीय मदन रेग्मीका अनुसार कुनै समय करिब ५० घरधुरी रहेको गाउँ अहिले निकै पातलिएको छ।
जिल्ला समन्वय समिति लमजुङकी उपप्रमुख बुनाकुमारी रिमालले गाउँ रित्तिनु सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा गम्भीर चुनौती बनेको बताइन्। उनका अनुसार युवा गाउँमा नहुँदा भाषा, संस्कार, संस्कृति र परम्परागत ज्ञान संरक्षण गर्न कठिन हुँदै गएको छ।
दोर्दी गाउँपालिकाका उपाध्यक्ष बिच्छबहादुर गुरुङले गाउँमा जनसंख्या टिकाइराख्न कृषि र पर्यटनलाई आयआर्जनसँग जोड्ने प्रयास भइरहेको बताए। घरबास सञ्चालन, कफी, खुर्सानीलगायत नगदे बालीको प्रवर्द्धन तथा स्थानीय उत्पादनलाई बजारसँग जोड्ने कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए। साथै इलामपोखरी, दूधपोखरी, मेमेपोखरी र बारापोखरीजस्ता धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा पनि जोड दिइएको छ।
राष्ट्रिय जनगणना २०७८ ले देखाएको आन्तरिक बसाइँसराइको प्रवृत्ति लमजुङका ग्रामीण क्षेत्रमा अझ स्पष्ट रूपमा देखिएको छ। सरोकारवालाहरूका अनुसार गाउँ रित्तिनु केवल खाली घरको समस्या होइन, यसले कृषि, संस्कृति, उत्पादन र स्थानीय अर्थतन्त्रलाई समेत कमजोर बनाइरहेको छ।
उनीहरूको भनाइमा गाउँमा फेरि चुल्हो बल्ने, बाँझो खेतमा हरियाली फर्कने र मौलिक संस्कृति जोगिने वातावरण सिर्जना गर्न कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन र स्थानीय रोजगारी विस्तारमा प्रभावकारी कदम चाल्न आवश्यक छ। अन्यथा, आजका जीवन्त गाउँहरू भोलि इतिहासका कथा मात्र बन्न सक्ने चेतावनी उनीहरूले दिएका छन्।
प्रतिकृया लेख्नुहोस्: