दृश्य नम्बर १
उनी मेरा पुराना चिनारु हुन्, नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि सक्रिय। केही वर्षअघि उनले दसैंमा टीका लगाएको मेरो एउटा तस्बिरमाथि उनले कडा टिप्पणी गरेका थिए — हेहे बिजोग टाइपको । संयोगले एकदिन एक तीर्थस्थलमा उनको फरक चेहरा देखापर्यो । नजिकैको कफी सपमा मित्र विषम र म कफी पिइरहेका थियौ । अलि पर उनी लीन भई मूर्तिसामु वर मागिरहेका थिए । वर माग्ने शैली गज्जब थियो उनको ।
पछि बागबजारमा भेट हुँदा उनले फेरि त्यही पुरानो फोटोको प्रसङ्ग झिके । प्रगतिशील रूपान्तरको गफ गरे । तर मैले उनको त्यो तिर्थस्थल र वरबारे केही भनिनँ। कतिपय कुरा नभनी छोडिदिँदा नै हुन्छ भन्ने लाग्यो ।
दृश्य नम्बर २
एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन भइरहेको थियो, म आबद्ध दल पनि त्यसको एउटा शक्ति । बानेश्वर अस्तव्यस्त थियो, प्रहरीले अश्रुग्यास फ्याँकिरहेको थियो । पुष्पलाल दाइसँग संगत गरेका पुराना कमरेडहरूसहितको एउटा टोलीमा मिसिएर म पनि बुद्धनगरतिरको एउटा भव्य क्याफेमा छिरे । अश्रुग्यासको प्रहारले सबैका आँखा रसाएका थिए ।
कमरेडहरूका हातमा भने आइफोनलगायत महँगा मोबाइल टल्किरहेका थिए। दुई जना कमरेडले वाइफाइको पासवर्ड मागे । सामाजिक संजालमा व्यस्त भए ।
उनीहरूका छोराछोरी त एमसीसीकै कार्यालय रहेको मुलुकमा पो रहेछन् ! चिया पिउदै उनीहरूले सन्तानलाई अझै राम्रो कमाइ गर्न, राम्रो घरगाडी किन्न फोनमै अनुरोध गरे। नसुने जस्तो गरे अर्को सोफामा बसे म ।
अलिबेरमा मतिर फर्केर एकजनाले भने- 'स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्छ, कमसेकम आफ्ना छोराछोरीलाई सरकारी स्कुलमा पढाउने हिम्मत त हुनुपर्छ । कमरेड, तपाईं जवान हुनुहुन्छ, आन्दोलनमा भिड्नुपर्छ है ।'
दृश्य नम्बर ३
एकपटक रामेछापमा एकजना पुराना नेताले तामाकोसीमा नुहाएर मात्र भात खाने ढिपी कसे। नौ बजिसकेको थियो, बेला घर्किसकेको थियो । हामी तामाकोसीमा झर्यौं, उनी खोलामा मुख धुन थाले । एउटा ढुङ्गा बसेरमा मन्त्र जप्न थाले । थाहा लाग्यो उनी गायत्री मन्त्र नजपी भोजन नै गर्दारहेन्छ्न । यो उनको अर्को अनुहार थियो, जुन बाहिरबाट कहिल्यै देखिँदैनथ्यो। प्राय: उनी बागबजारको बहसमा प्रगतिशील लेखक र साँस्कृतिक रूपान्तरका योद्धा गनिएका थियो । आजकाल उनको फुर्ति कम भएको छ।
यी दृश्य केवल व्यक्तिगत र वैचारिक कमजोरीका मात्र होइनन् । यो त बौद्धिक चेतना र व्यबहारबीचको अन्तरबिरोध हो । हर युगका आफ्नै खालका बिशिस्ट अन्तरबिरोध हुन्छन् ।
साधारण मानिसको बेग्लै वैचारिक चेतना हुन्छ । एलिटहरूको बेग्लै वैचारिक चेतना हुन्छ । उदेकलाग्दो दृश्य आवरण ओढ्नेहरूमा देखिन्छ ।विचारधारामा वर्गविहीन समाज र समान वितरणको सपना बोकेकाहरूमा पनि समस्या देखिन्छ । प्रगतिशील विचारधारामा प्रतिबद्ध छु भन्ने एउटा तप्काको व्यक्तिगत जीवन भने पुँजीवादी उपभोगको प्रतीक मानिने महँगा मोबाइल ,कम्युटर ,टेलिभिजनतिर लालायित हुनतिर मोडिएको छ । सन्तान विदेशिएका छन् । बिदेशमा सन्तानले राम्रो गाडी चढुन र सुविधाको जिन्दगी बाचुन भन्ने हुटहुटी बोकेर हिँडेका छन् यी भद्रजन ।
यो वैचारिक संरचनाभित्रकै एउटा संरचनागत विरोधाभास हो । यस्ले बिस्तारै सामुहिक चेतना बन्ने बाटो बनाएको छ । जान्नेलाई छान्ने भनेको यस्तै होला ।
नयाँ संरचनाको कुरा गरिरहेकाहरू, वर्गको कुरा गरिरहेकाहरू पनि पारिवारिक सुरक्षाको चौतारीमा बसेर पुराना सांस्कृतिक चेतनामा नयाँ जलप लगाइरहेका छन् । यो विचारधाराको सांस्कृतिक स्रोत भनेको सामन्तवाद नै हो । पुजीवादमा सांस्कृतिक चेतना सामान्तवादबाट नै आएको हुन्छ ।
एउटा मान्छेभित्र समानान्तर रूपमा अर्को मान्छे पनि बाँचिरहेको छ । एउटा मान्छे सार्वजनिक मञ्चमा एउटा रूपमा देखिन्छ , घरभित्र र मनभित्र अर्को स्वरुपमा देखिन्छ । रूपमा एउटा देखिन्छ सारमा अर्को देखिन्छ । कस्तो बिरोधाभाष बोक्छ मान्छे पनि ।
पुस्तौंदेखि सञ्चित सांस्कृतिक अवचेतनको चेतनामार्फत बनेको मानिसमा पुरातनवादको उत्थान हुनु नौलो कुरा होइन रहेछ । यो आन्दोलनले बाटो बिराउदा दृश्यमा देखापर्दो रहेछ । आर्थिक-साँस्कृतिक र राजनीतिक रूपमा सारमा सहि हुनु आजको युगको भव्य रूपान्तरणकारी चेतना रहेछ ।
वैचारिक रूपमा रुपान्तरणलाई स्वीकार गर्नु एउटा कुरा । मानिस संकटको घडीमा बेग्लै सोच्दोरहेछ ।
थुप्रै मान्छेहरूभित्र बिरोधाभाष पनि सँगसँगै बाचिरहेको हुदोरहेछ ।
मान्छे भनेको एउटा अनौठो जीव रहेछ ।
आफूले बोलेको कुरा र गरेको कर्मबीचको खाडललाई नदेख्ने । हामी सबैले आफ्नो जीवनमा यस्ता क्षणहरू भोगेका हुन्छौं, जहाँ कसैको सार्वजनिक अनुहार र निजी व्यवहारबीच ठूलो अन्तर देखिन्छ । म आफैं पनि यस्ता दृश्यहरूको साक्षी बनेको छु, र ती दृश्यहरूले मलाई बारम्बार सोच्न बाध्य पारेका छन् ।
एमसीसीविरुद्धको आन्दोलनमा ती कमरेडद्वय पनि राष्ट्रिय स्वाधीनता र साम्राज्यवादविरोधी चेतनाबाट प्रेरित भएर सडकमा आएका थिए । तर उनीहरूमा व्यबहार र विचारमा बिरोधाभाष थियो । सन्तानहरू साम्राज्यवादी केन्द्रमा बसेर जीवन धानिरहेका थिए । बाहरू सडक थिए । सडकमा हुनु राम्रो हो तर बाहरूको इच्छा पनि उतैतिर मोडिएका जो थिए ।
सामूहिक चेतनाले साम्राज्यवादलाई अस्वीकार गर्छ । व्यक्तिगत रूपमा लाभान्वित हुन चाहनेहरू त्यही व्यवस्थाभित्र आफ्नो र आफ्ना सन्ततिको भविष्य खोज्छन् । उभिने कहाँ ? गर्ने के ? स्वयं व्यक्तिले सोच्नुपर्ने हो ।
यो कुनै नैतिक कमजोरीको कुरा मात्र होइन । विश्वव्यापी पुँजीवादी संरचनाभित्र बाँच्न बाध्य हरेक व्यक्तिको अवस्थाजन्य बाध्यता पनि छन् । समस्या प्रगतिशिल रूपान्तरका अगुवा भनिनेहरूमा देखापर्नु चाहिँ नितान्त सोचनिय बिषय हो ।
यसरी हेर्दा,दोगलापन भनेको व्यक्तिको चरित्रगत त्रुटि मात्रमा सिमित छैन । यो सामाजिक चरित्र बनिसकेको छ ।
सामाजिक-आर्थिक संरचना र व्यक्तिगत लाभहानीको सवाल बीच अनिवार्य द्वन्द्व हुन्छ । हरेक विचारधाराको आफ्नो गन्तव्य हुन्छ । चाहे त्यो धार्मिक होस् वा राजनीतिक व्यक्तिलाई विचारले एउटा आदर्श स्वरूप दिन खोजेको हुन्छ । आदर्श र वास्तविक जीवनको जटिलताबीच सधैं तनाव रहिरहन्छ । यही तनावले नै मान्छेलाई एकैसाथ धेरै अनुहार बोक्न बाध्य पार्छ । रुपमा मात्र होइन सारमा पनि सहि हुने कुरा निकै महत्त्व राख्ने बिषय बनेको छ ।
यी सबै दृश्यहरू केवल अरूकै कथा हुन् तरु म आफैलाई पनि कहिलेकाहीं त्यस्तै दोबाटोमा उभिएको भेट्छु, जहाँ भनेको र गरेको चिजमा मेल खाँदैन। शायद फरक यत्ति हो ।अरूको दोगलापन देख्दा हामी सजिलै न्यायाधीश बन्छौं, तर आफूलाई रूपान्तर गर्न चुक्छौ ।
अगुवामा नै दोगलापन
सबैभन्दा चिन्ताजनक कुरा यो हो कि यो दोगलापन आन्दोलनका साधारण अनुयायीभन्दा बढी त्यसका अगुवाहरूमै गडेको देखिन्छ। जो नेतृत्वको रूपमा उभिन्छन्, विचारधाराको शुद्धताको परिभाषा दिन्छन् , अरूको आचरणमाथि प्रश्न उठाउँछन्, कमरेडलाई 'आन्दोलनमा भिड्नुस ' भनेर उर्दी दिन्छन् उनीहरू नै आफ्नै जीवनमा त्यही विचारधाराभन्दा उल्टो बाटो हिँडिरहेका हुन्छन् । उदेक पनि यही उदेकलाग्दो बन्छ ।
अगुवाले आफूले बोकेको विचारधाराको बाटो अरूभन्दा बढी इमानदारीसाथ हिँड्नुपर्ने हो । अगुवामा नै अगुवाई देखिएन ।
जब अगुवा नै दोहोरो अनुहार बोकेर हिँड्छ, तब त्यो दोगलापन साधारण व्यक्तिगत कमजोरी मात्र बन्दैन । त्यो संस्थागत कमजोरी बन्छ, दोगलापन सामान्यकृत हुन्छ, र दोगलापन नै क्रमश: सिङ्गो आन्दोलनको संस्कार नै बन्न सक्ने खतरा हुन्छ ।
दोगलाहरू जता पनि छन्...
प्रतिकृया लेख्नुहोस्: