रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छन् । निर्माण कम्पनी राजनीतिक रूपमा प्रभावशाली व्यक्तिसँग जोडिएको भए पनि समयमा काम नगर्नेलाई कुनै छुट नदिने भन्दै मन्त्री लम्सालले कडा रूपमा प्रस्तुत भएका हुन् ।
गुल्मी अस्पतालको स्थलगत अनुगमनपछि मन्त्री लम्सालले सम्बन्धित निकायलाई काम गरेको रकम भुक्तानी गरी ठेक्का रद्द गरेर नयाँ प्रक्रियामा जान निर्देशन दिएका हुन् ।
‘आजै ठेक्का तोडौँ । काम गरेको भुक्तानी दिएर आजै टुङ्गो लगाउनुस्,’ मन्त्री लम्सालले निर्देशन दिँदै भने ।
त्यस क्रममा पत्रकारले उक्त भवन निर्माणको ठेक्का बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँसँग जोडिएको स्वच्छन्द–बानियाँ संयुक्त उपक्रमले लिएको विषय उठाएपछि मन्त्री लम्सालले ठेकेदारको राजनीतिक पहुँचले आफूलाई फरक नपार्ने जवाफ दिए ।
‘मुख्यमन्त्री होस् कि जोसुकै होस्, पाँच वर्षसम्म अलपत्र पार्नेलाई अब कुर्न सकिँदैन । आजै तोडेर नयाँ प्रक्रियामा लैजानुस्,’ उनले भने ।
मन्त्री लम्सालले आफूलाई ठेकेदार को हो भन्ने विषयमा कुनै सरोकार नरहेको भन्दै राज्यले सम्झौता गरेको काम तोकिएको समयमै सम्पन्न हुनुपर्नेमा आफू स्पष्ट रहेको बताए ।
गुल्मी अस्पतालको पाँचतले नयाँ भवन निर्माणका लागि २०७८ असार १८ गते सम्झौता भएको थियो । २५ करोड ९५ लाख ६४ हजार २०३ रुपैयाँ लागतमा निर्माण हुने भवन २०८० असार १७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर पटक–पटक म्याद थप्दा पनि भवन निर्माण पूरा हुन सकेको छैन ।
हाल भवनको भौतिक प्रगति ९२ प्रतिशतभन्दा केही बढी पुगेको बताइएको छ । करिब ६ करोड रुपैयाँ बराबरको काम अझै बाँकी छ । भवनमा पेन्टिङ, तार जडान, आल्मुनियम जडानलगायतका काम भइरहेको छ ।
निर्माणमा भएको ढिलाइका कारण गुल्मी अस्पताल अझै पुरानै साँघुरो भवनबाट सेवा दिन बाध्य छ । सीमित शय्या, साँघुरा वार्ड र आवश्यक पूर्वाधारको अभावका कारण बिरामी तथा स्वास्थ्यकर्मीले समस्या भोग्दै आएका छन् ।
नयाँ भवन सञ्चालनमा आएपछि अस्पतालमा बहिरङ्ग सेवा, आकस्मिक सेवा, प्रसूति, शल्यक्रिया, प्रयोगशाला, एक्सरे तथा विशेषज्ञ उपचार सेवा विस्तार गर्ने योजना छ । थप शय्याका साथै सघन उपचार कक्ष, शल्य उपचार तथा बाल उपचारका लागि छुट्टाछुट्टै कक्ष सञ्चालन गर्ने तयारीसमेत गरिएको छ । तर भवन निर्माणमा भएको ढिलाइले यी सेवा विस्तारका योजना रोकिएका छन् ।
गुल्मी अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालका अनुसार जिल्लाका विभिन्न स्थानीय तहसँगै छिमेकी जिल्लाबाट समेत दैनिक ठूलो सङ्ख्यामा बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । पुरानो भवन साँघुरो हुनुका साथै आवश्यक सेवा सञ्चालनका लागि पर्याप्त स्थान नहुँदा उपचार सेवा प्रभावकारी बनाउन कठिन भइरहेको उनले बताए ।
अस्पताल विकास समिति अध्यक्ष राजेन्द्र पाण्डेले जिल्लावासीले लामो समयदेखि सुविधासम्पन्न अस्पताल भवनको प्रतीक्षा गरिरहेको भन्दै अब निर्माणमा थप ढिलाइ स्वीकार्य नहुने बताए ।
उनका अनुसार भवन निर्माणमा ढिलाइ हुँदा राज्यको ठूलो लगानी अलपत्र परेको मात्र नभई नागरिकले पाउनुपर्ने स्वास्थ्य सेवा पनि प्रभावित भएको छ । गुल्मी अस्पताल २०७१ सालमै ५० शय्यामा स्तरोन्नति भए पनि आवश्यक भौतिक पूर्वाधार नहुँदा त्यसअनुसार सेवा विस्तार पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन ।
नयाँ भवन भारत सरकारको आर्थिक सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत आयोजना कार्यान्वयन इकाईमार्फत निर्माण सुरु गरिएको हो ।
अब मन्त्रीको निर्देशनअनुसार निर्माण कम्पनीसँगको ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढ्छ वा बाँकी काम सोही कम्पनीलाई पूरा गर्न दिने विकल्प रोजिन्छ भन्ने विषय चासोको बनेको छ । पाँच वर्षदेखि अलपत्र रहेको भवनबारे मन्त्रीको कडा निर्देशनपछि भने निर्माणले नयाँ मोड लिने देखिएको छ ।
प्रतिकृया लेख्नुहोस्: