काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा बढ्दै गएको विभाजन, असहमति र विद्वेष अन्त्य गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउन सबै पक्षलाई आह्वान गरेका छन्।
सिंगापुरमा उपचार गराएर बिहीबार स्वदेश फर्किएका देउवाले प्रतिशोधको राजनीति त्यागेर मेलमिलापको बाटो रोज्नुपर्ने बताएका हुन्। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले विगतका विभाजन र विद्वेषका घाउलाई निको पार्दै सबै पक्ष मिलेर अघि बढ्नुपर्ने धारणा राखे।
‘आउनुहोस्, विगतका विभाजन र विद्वेषका घाउहरू निको पारौं। प्रतिशोध होइन, मेलमिलापको मार्ग रोजौं,’ देउवाले भने, ‘यस्तो नेपाल निर्माण गरौं, जहाँ प्रत्येक बालकले निर्भीक सपना देख्न सकोस्, प्रत्येक ज्येष्ठ नागरिकले सम्मानपूर्वक विश्राम गर्न पाओस् र प्रत्येक समुदायले समृद्धि तथा अवसरका साथ फस्टाउन सकोस्।’
सार्वजनिक पदमा रहेर काम गर्दा आलोचना र प्रत्यालोचना स्वाभाविक हुने उल्लेख गर्दै देउवाले आफूले जीवनभर राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानेर काम गरेको दाबी गरे।
‘मैले जीवनमा राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानी काम गरेको छु। कानुन र नीतिविपरीत कुनै काम गरेको छैन। मेरो जीवन खुला किताब हो,’ उनले भने।
देउवाले बाँकी जीवन पनि राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तम हितका लागि समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरे। संविधान, कानुन तथा नैतिक मूल्य–मान्यताविपरीत आफू कुनै सम्झौता नगर्ने उनको भनाइ थियो।
‘जीवन रहँदासम्म राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तम हित, संविधान, कानुन र नैतिक मूल्य–मान्यताअनुसार काम गर्नेछु। यी विषयमा कसैसँग मेरो सम्झौता हुन सक्दैन,’ देउवाले भने।
आफू शक्ति प्राप्त गर्ने उद्देश्यले नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको पनि उनले बताए। ‘म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु—विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर छु,’ उनले भने।
देउवाले २०३३ सालमा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गरेको प्रसंगसमेत स्मरण गरे।
त्यही प्रसंगसँग जोड्दै अहिले पनि मुलुकमा सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको उनले बताए। ‘मलाई लाग्छ, फेरि ४७ वर्षपछि हाम्रो समाजमा राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको छ,’ देउवाले भने।
उनले नेपाली कांग्रेसलाई आन्तरिक असहमति र निराशाबाट बाहिर निकाल्दै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। कांग्रेसले देशमा क्रियाशील अन्य राजनीतिक दलहरूसँग समेत सहमति र सहकार्य गर्दै अघि बढ्नुपर्ने उनको धारणा छ।
कांग्रेसभित्र देखिएको असहमति र निराशाको अवस्था तत्काल समाधान गर्नुपर्ने बताउँदै देउवाले पार्टी कुनै व्यक्तिको अहं वा स्वार्थमा नभई जनताको सर्वोत्तम हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताए।
सिंगापुरमा थप उपचारपछि बिहीबार स्वदेश फर्किएका देउवाको विमानस्थलमा कांग्रेसका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए। स्वदेश फर्किएसँगै उनले पार्टीको आन्तरिक एकता र राष्ट्रिय राजनीतिक सहमतिको आवश्यकतामा जोड दिएका छन्।
प्रतिकृया लेख्नुहोस्: