Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

खबरडबली संवाददाता

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै बुन्दाबुन्दै छाडिएका बोराका झुत्रा, त कतै क्वाइल निकालेर अलपत्र पारिएका मोटर।

यो कुनै पुरानो गोदामको दृश्य होइन, नेपालकै पहिलो उद्योगका रूपमा स्थापित विराटनगर जुट मिल्सको वर्तमान अवस्था हो।

कुनै समय यही उद्योगमा करिब ८ हजार मजदुरले तीन सिफ्टमा काम गर्थे। मिल्सको रातो भित्तामा अहिले पनि सेता अक्षरमा लेखिएका नारा देखिन्छन्–‘उत्पादन बढाऔँ, मिल जोगाऔँ, वेस्टेज घटाऔँ, नोक्सानी बचाऔँ।’ विडम्बना, अहिले न उत्पादन छ, न मिल नै जोगिएको अवस्थामा छ।

मिल्सका पर्खाल ठाउँठाउँमा चिरिएका छन्। दक्षिण–पश्चिमतर्फको पर्खाल भत्किएको छ। छानोबाट पानी चुहिन्छ। उद्योगमा जडान गरिएका बहुमूल्य पार्टपुर्जा हराइसकेका छन् भने कतिपय मेसिन वर्षौंदेखि प्रयोगविहीन अवस्थामा छन्।

फेरि सञ्चालनको चर्चा

१९९३ सालमा स्थापना भएको विराटनगर जुट मिल्स लामो समयदेखि बन्द छ। अहिले भने उद्योग पुनः सञ्चालन गर्न सरकारले अध्ययनका लागि कार्यदल गठन गरेपछि मिल्स ब्युँतिने आशा पलाएको छ।

तर जीर्ण भौतिक संरचना, पुराना मेसिन, प्रविधिको अभाव र बजारमा बढेको प्रतिस्पर्धाका कारण उद्योग सञ्चालन त्यति सहज भने देखिँदैन।

सरकार आफैँले उद्योग सञ्चालन गर्ने कि निजी क्षेत्रलाई जिम्मा दिने भन्ने विषयमा पनि बहस भइरहेको छ।

मिल्सका पूर्वसञ्चालक फूलकुमार लालवानी भने जुट मिल्स सञ्चालन गर्न ठूलो लगानी आवश्यक नपर्ने बताउँछन्।

‘सञ्चालन गर्न गाह्रो छ भन्ने बाहिरी हल्ला मात्रै हो। त्यहाँका मेसिनहरू काम लाग्छन्। सानो लगानीमा सञ्चालन गर्न सकिन्छ,’ उनले भने, ‘तर राज्य आफैँले चलाउनेभन्दा लिजमा दिँदा राम्रो हुन्छ।’

मिल्स सञ्चालक समिति अध्यक्ष नन्दलाल देवकोटा पनि उद्योग तत्काल सञ्चालन गर्न सकिने सम्भावना रहेको दाबी गर्छन्। सरकारको अध्ययन समिति गठन भएपछि पुनः सञ्चालनको सम्भावना बढेको उनको भनाइ छ।

उनका अनुसार करिब ५० देखि ६० करोड रुपैयाँ लगानी गरे उद्योग सञ्चालन गर्न सकिन्छ।

‘सरकारले उद्योग सञ्चालन गर्नेभन्दा सहजीकरण गर्ने हो। एउटा टिमलाई जिम्मा दिनु उपयुक्त हुन्छ,’ देवकोटाले भने।

जुट उत्पादनको प्रविधिमा आधारभूत परिवर्तन नभएकाले पुराना मेसिन प्रयोग गर्न सकिने उनको तर्क छ। तर उत्पादनलाई आधुनिक र प्रविधिमैत्री बनाएर बजारको मागअनुसार नयाँ सामग्री उत्पादन गर्नुपर्ने उनले बताए।

पुरानो मेसिनले बजार धान्दैन

मिल्सका विषयमा जानकार धर्मानन्द सञ्जेल भने परम्परागत शैलीमा उद्योग सञ्चालन गरेर मात्रै अब प्रतिस्पर्धा गर्न नसकिने बताउँछन्।

उनका अनुसार जुट मिल्समा रहेका पुराना मेसिनले अहिलेको बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय सामग्री उत्पादन गर्न कठिन हुन्छ।

जुट मिल्सका उत्पादनलाई आधुनिक प्रविधिसँग जोड्न नसके उद्योग पुनः सञ्चालन गर्नुको अर्थ नहुने उनको भनाइ छ।

देवकोटा भने प्रविधि सुधार गर्न सके बजारको सम्भावना पर्याप्त रहेको बताउँछन्।

‘अहिले अरू जुट मिल्सको अवस्था पनि राम्रो छैन। बङ्गलादेशबाट पटुवा निकासी भएको छैन,’ उनले भने, ‘विराटनगरका अरू जुट उद्योग नयाँ प्रविधिमा चलिरहेका छन्। नयाँ प्रविधि ल्याउने हो भने उद्योग चल्ने सम्भावना छ।’

उनका अनुसार वातावरणमैत्री जुटका झोला, ब्यागलगायत नयाँ उत्पादनमा जोड दिन सके भारतीय बजारको समेत उपयोग गर्न सकिन्छ।

‘भारतीय बजार छेउमै छ। जुटका झोला र अरू सामग्री उत्पादन गर्न सकिन्छ,’ देवकोटाले भने, ‘क्षेत्रफल ठूलो छ, अन्य उद्योग पनि सञ्चालन गर्न सकिन्छ।’

मेसिन हराए, घण्टी अझै बज्छ

उद्योगको संरचना जीर्ण हुँदै गए पनि त्यसको विशाल परिसरमा कुनै समयको औद्योगिक चहलपहलको अवशेष अझै देखिन्छ।

मिल्सभित्रका सबै मेसिन अहिले छैनन्। साना मेसिन चोरी भइसकेका छन्। ठूला मेसिन भने उद्योगका जीर्ण संरचनाभित्र अलपत्र अवस्थामा छन्। पछिल्लो पटक उद्योग सञ्चालन गर्ने भन्दै ल्याइएका साना मेसिनरी सामग्रीसमेत चोरी भएका छन्।  तर उद्योग परिसरमा रहेको घण्टी भने अझै बज्छ।

कुनै समय तीन सिफ्टमा काम गर्ने हजारौँ मजदुरलाई समयको सूचना दिने घण्टी अहिले पनि प्रत्येक घण्टा बज्ने गर्छ। फरक यति हो, त्यो घण्टी बजाउने मजदुर छैनन्।

अहिले मिल्समा जम्मा नौ जना कर्मचारी बाँकी छन्। तीमध्ये पाँच जना सुरक्षा गार्ड छन्। पालैपालो सुरक्षा गार्डले घण्टी बजाउँदै आएका छन्।

आकाशबाट पानी पर्दा छानोले थेग्न सक्दैन। भित्रका संरचनामा ओस र पानीको असर देखिन्छ। तर उद्योगमा कार्यरत कर्मचारीहरूमा मिल्स फेरि सञ्चालन हुने आशा भने मरेको छैन।

सुपरभाइजर मनोज खड्का संरचना मर्मत गरेर उद्योग सञ्चालन गर्न सकिने बताउँछन्। उनका अनुसार मिल्सभित्रका केही मुख्य संरचना अझै बलियो छन्।

पटक–पटक सञ्चालनको प्रयास, पटक–पटक असफल

विराटनगर जुट मिल्स नेपालको औद्योगिक इतिहाससँग मात्र जोडिएको उद्योग होइन, राजनीतिक इतिहाससँग पनि जोडिएको उद्योग हो।

मिल्स स्थापना भएपछि मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा मात्र होइन, देशभर उद्योग स्थापना हुने क्रम बढेको थियो। नेपालमा औद्योगिक विकाससँगै प्रजातान्त्रिक आन्दोलनको सुरुआतसँग पनि विराटनगर जुट मिल्सको इतिहास जोडिएको छ।

यो उद्योग लामो समय सरकारकै स्वामित्व र सञ्चालनमा रह्यो। पछि निजीकरण गर्ने भन्दै गोल्छा अर्गनाइजेसनलाई सञ्चालनको जिम्मेवारी दिइए पनि उद्योग सञ्चालनमा आउन सकेन।

२०५८ सालमा सरकारले करिब दुई हजार कर्मचारीलाई ५५ करोड रुपैयाँ भुक्तानी गरेर उद्योग बन्द गरेको थियो।

त्यसपछि २०६९ सालमा विनसोम इन्टरनेसनल, कोलकातालाई उद्योग सञ्चालनको जिम्मेवारी दिइयो। कम्पनीले २५ वर्षका लागि लिजमा उद्योग लिएको थियो।

त्यसबेला छ महिनाभित्र ३३ केभीए विद्युत् उपलब्ध गराउने सहमति भएको थियो। तर डेढ वर्षसम्म विद्युत् उपलब्ध नभएपछि कम्पनीले उद्योग सञ्चालन गर्न नसकेको भन्दै लिज सम्झौता त्याग्यो।

त्यसपछि २०७५ सालमा वसन्त वन सञ्चालक समितिको अध्यक्ष बनेपछि केही समय उद्योग सञ्चालनको प्रयास भयो। सुत्री उत्पादनसमेत सुरु गरिएको थियो। तर केही समयपछि त्यो प्रयास पनि रोकियो।

सुत्री उत्पादनका लागि जडान गरिएका साना मेसिन अहिले उद्योग परिसरमा छैनन्। ती मेसिनसमेत चोरी भइसकेका छन्।

खण्डहरबाट उद्योग कि नयाँ सुरुआत ?

जुट मिल्सको भविष्यबारे जानकारहरूबीच एउटै मत छैन। कतिपयले पुराना संरचना र मेसिनलाई आधार बनाएर सामान्य मर्मत तथा लगानीबाट उद्योग सञ्चालन गर्न सकिने बताइरहेका छन्। अर्कोतर्फ पुरानो प्रविधिमा उद्योग सञ्चालन गर्नु आर्थिक रूपमा व्यवहारिक नहुने तर्क पनि छ।

जुट मिल्सबारे लामो समयदेखि अध्ययन गर्दै आएका पत्रकार अनन्तराज न्यौपाने पुरानै शैलीमा उद्योग सञ्चालन गर्ने प्रयास गलत हुने बताउँछन्।

‘मेसिन पुराना छन्। अहिले नयाँ प्रविधि आइसकेको छ। पुरानै शैलीमा चलाउन खोज्नु मूर्खता हुन्छ,’ उनले भने, ‘जुटका झोला, ब्यागलगायत सामग्री उत्पादन गर्दा चल्न सक्छ, तर राज्यले चलाउनु हुँदैन। निजी क्षेत्रलाई जिम्मा दिनुपर्छ।’

यसले विराटनगर जुट मिल्स पुनः सञ्चालन गर्ने हो भने केवल पुराना मेसिन चलाउने कि नयाँ प्रविधि र नयाँ उत्पादनसहित उद्योगको स्वरूप नै परिवर्तन गर्ने भन्ने प्रश्न खडा गरेको छ।

सरकारले गठन गरेको अध्ययन कार्यदलले अब यही प्रश्नको उत्तर खोज्नुपर्नेछ।

एकातिर नेपालको औद्योगिक इतिहास बोकेको उद्योग खण्डहरमा परिणत हुँदै गएको छ भने अर्कोतिर त्यही उद्योगभित्र पुनः उत्पादनको सम्भावना खोजिँदैछ। करोडौँ मूल्यका संरचना र मेसिन संरक्षण गर्न नसक्दा वर्षौंदेखि खेर गइरहेका छन्।

अबको चुनौती उद्योग सञ्चालन गर्ने निर्णय मात्र होइन, बजारमा टिक्न सक्ने, आधुनिक प्रविधिमा आधारित र निजी क्षेत्रको लगानी आकर्षित गर्ने गरी विराटनगर जुट मिल्सलाई नयाँ स्वरूपमा ब्युँताउने हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

कालीमाटीमा आज कुन तरकारी कति ? यस्तो छ कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरे...

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। समितिहरूले मानव अधिकार, परराष्ट्र मामिला तथा राष्ट्रिय सरोकारका विषयमा छलफल गर्...

जाजरकोटमा बाढीको वितण्डा : चार घर र झोलुङ्गे पुल बगायो, भेरी करिडोर जोखिममा

जाजरकोट । अविरल वर्षापछि आएको बाढीले जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ठूलो क्षति पुर्‍याएको छ । ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एउटा झोलु...

वर्षाले कास्कीको वीरेठाँटी क्षेत्र क्षतविक्षत, सडकदेखि मन्दिर र पुलसम्म बगायो

पोखरा । बिहीबार रातिदेखि परेको अविरल वर्षाले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। विशेषगरी वडा नम्बर ८ को वीरेठा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending