सुनसरी । सुनसरीको कोशीटप्पु क्षेत्रमा पाइने निगुरो स्थानीय बासिन्दाका लागि आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ। जङ्गल तथा खुला क्षेत्रमा पाइने निगुरो सङ्कलन गरेर बिक्री गर्ने स्थानीयले दैनिक हजारौँ रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। यहाँ सङ्कलन भएको निगुरो सुनसरीमै खपत हुने मात्र होइन, काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारसम्म पुग्ने गरेको छ।
कोशी गाउँपालिका–८ भन्टाबारीकी मीरा मेहता विगत सात वर्षदेखि निगुरो सङ्कलन तथा बिक्री गर्दै आएकी छन्। लगानी नचाहिने भएकाले निगुरो सङ्कलनबाट हुने आम्दानी घरखर्च चलाउन महत्वपूर्ण बनेको उनको भनाइ छ।
मीरा र उनका श्रीमान् बिहानै उठेर कोशीटप्पु क्षेत्रमा निगुरो खोज्न जाने गर्छन्। उनीहरू करिब छ–सात घण्टा लगाएर निगुरो सङ्कलन गरी भन्टाबारी फर्किन्छन्। त्यसपछि निगुरोलाई केलाउने, मुठा पार्ने र व्यापारीलाई बिक्री गर्ने गर्छन्।
उनका अनुसार दैनिक दुई हजारदेखि तीन हजार रुपैयाँसम्मको निगुरो बिक्री हुने गरेको छ। आम्दानी भने सिजन र सङ्कलनको परिमाणअनुसार घटबढ हुने गर्छ।
‘बिहान ३ बजेतिर उठेर निगुरो खोज्न कोशीटप्पु जान्छौँ। छ–सात घण्टापछि फर्किएर निगुरो केलाउने र मुठा पारेर व्यापारीलाई बिक्री गर्छौँ,’ उनले भनिन्।
भन्टाबारीमा निगुरो प्रतिमुठा १० रुपैयाँका दरले थोकमा बिक्री हुने गरेको छ। निगुरोबाट हुने आम्दानीले बालबालिकाको खाजा, घरायसी खर्चलगायत दैनिक आवश्यकता पूरा गर्न सहयोग पुगेको स्थानीय बताउँछन्।
अर्की स्थानीय आशादेवी पनि १५ वर्षदेखि कोशीटप्पु क्षेत्रबाट निगुरो सङ्कलन गरेर बिक्री गर्दै आएकी छन्। उनले दैनिक एक हजारदेखि दुई हजार रुपैयाँसम्मको निगुरो बिक्री गर्ने गरेको बताइन्।
उनका अनुसार निगुरोको मौसममा करिब पाँचदेखि छ महिनासम्म नियमित रूपमा व्यापार हुन्छ। बिहान सबेरै कोशीटप्पु पुगेर निगुरो सङ्कलन गर्ने र भन्टाबारी ल्याएपछि व्यापारीले नै खरिद गरेर लैजाने भएकाले बजार खोज्दै हिँड्नुपर्ने बाध्यता छैन।
‘बिहान सबेरै उठेर निगुरो खोज्न जान्छु। यहाँ ल्याएपछि व्यापारीले नै खरिद गरेर लैजान्छन्,’ उनले भनिन्, ‘निगुरोको सिजनमा हुने आम्दानीले वर्षको केही समय घरखर्च चलाउन सहज हुन्छ।’
निगुरोको स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने काममा भन्टाबारीका व्यापारी पनि सक्रिय छन्। स्थानीय व्यापारी भरतप्रसाद गुप्ताका अनुसार कोशीटप्पु क्षेत्र तथा भारतबाट सङ्कलन गरेर ल्याइएको निगुरो भन्टाबारीमा जम्मा गरी दैनिक काठमाडौँ पठाउने गरिएको छ।
उनका अनुसार भन्टाबारीबाट मात्रै महिनामा १२ लाख रुपैयाँभन्दा बढी मूल्यको निगुरो काठमाडौँको कालीमाटी बजार पुग्ने गरेको छ। स्थानीय सङ्कलकबाट खरिद गरिएको निगुरो एकत्रित गरी व्यापारीले ठूलो परिमाणमा काठमाडौँ पठाउने गरेका छन्।
अर्का व्यापारी रामबहादुर गुप्ता पनि विगत चार–पाँच वर्षदेखि निगुरोको कारोबारमा संलग्न छन्। उनका अनुसार स्थानीयसँग प्रतिमुठा १० रुपैयाँमा खरिद गरिएको निगुरो काठमाडौँमा १८ देखि २० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।
‘स्थानीयले सङ्कलन गरेर ल्याएको निगुरो खरिद गरी काठमाडौँ पठाउने गरेका छौँ। काठमाडौँमा केही बढी मूल्यमा बिक्री हुन्छ। गाडी भाडालगायत खर्च कटाएपछि केही नाफा हुन्छ,’ उनले भने।
व्यापारीका अनुसार स्थानीयले सङ्कलन गरेको निगुरो सडकमा बसेर खुद्रा बिक्री गर्नुपर्ने अवस्था छैन। व्यापारीले नै एकमुस्ट खरिद गरेर लैजाने भएकाले सङ्कलकलाई बजारको समस्या कम छ।
भन्टाबारी बजारमा दैनिक हाटबजार लाग्ने गरे पनि निगुरोको मौसम सुरु भएपछि सडकको एक छेउमा निगुरोको छुट्टै कारोबार हुने गरेको छ। निगुरोको व्यापार हुने उक्त स्थानलाई स्थानीयले ‘निगुरो हाट’ का रूपमा समेत चिन्ने गरेका छन्।
कोशीटप्पु क्षेत्रको प्राकृतिक स्रोतका रूपमा रहेको निगुरो अहिले स्थानीयका लागि आम्दानीको माध्यम मात्र बनेको छैन, यसले गाउँदेखि काठमाडौँसम्मको बजारलाई समेत जोडेको छ। स्थानीयको श्रम, व्यापारीको सङ्कलन तथा ढुवानीमार्फत कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी बजारसम्म पुग्दै आएको छ।
प्रतिकृया लेख्नुहोस्: