काठमाडौँ । नागपञ्चमी पर्व आज देशभर नागको पूजा–आराधना गरी मनाइँदै छ। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा घरको मूलढोकामा विधिपूर्वक नागको तस्बिर टाँस्ने, दूध, दही, दुबो, धूप, दीप तथा नैवेद्य चढाएर नागदेवताको पूजा गर्ने परम्परा छ।
यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार नागपञ्चमी भदौ १ गते परेको हो। नागपञ्चमीका दिन नागको पूजा गर्दा वर्षभरि नाग, सर्प, बिच्छीलगायत जीवबाट हुने भय तथा दुःखबाट जोगिन सकिने र अग्नि, मेघ तथा चट्याङको जोखिमबाट समेत सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार नागपूजाको परम्परा वैदिक कालदेखि नै चलिआएको मानिन्छ। वैदिक मान्यतामा नागलाई सर्पको राजा मानिन्छ। नाग प्रसन्न भए वर्षा तथा पानीको अभाव नहुने विश्वासका कारण पनि नागको पूजा गर्ने परम्परा बसेको बताइन्छ।
वराहपुराणमा श्रावण शुक्ल पञ्चमीका दिन नागराज र ब्रह्माबीच संवाद भएको उल्लेख पाइन्छ। त्यसैले पनि यो दिन नागपूजाका लागि विशेष मानिँदै आएको धार्मिक मान्यता छ।
हिन्दु धार्मिक परम्परामा नागलाई भगवान् विष्णु र भगवान् शिवसँग समेत जोडेर हेर्ने गरिन्छ। भगवान् शिवले नागको माला धारण गर्ने तथा भगवान् विष्णु शेषनागको शय्यामा शयन गर्ने भएकाले नागलाई दुवै देवतासँग सम्बन्धित मानेर पूजा गर्ने परम्परा रहेको छ।
भगवान् गणेशको एक हातमा नाग रहने, रामका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई शेषनागकै अवतार मानिने तथा श्रीकृष्णले बाल्यकालमा कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ। बौद्ध तथा जैन परम्परामा समेत सर्पको आकृति र नागसम्बन्धी धार्मिक प्रतीकको प्रयोग पाइन्छ।
किसानकी छोरी र नागिनीको कथा
नागपञ्चमी कसरी मनाउन थालियो भन्ने विषयमा विभिन्न किंवदन्ती प्रचलित छन्। तीमध्ये एउटा कथाअनुसार एक किसानले खेत खनिरहेका बेला नागका तीनवटा बच्चा भेटेपछि मारिदिए।
आहारा खोजेर फर्किएकी नागिनीले आफ्ना बच्चा मरेको देखेपछि किसानसँग बदला लिने निर्णय गरिन्। उनले किसान र उनका परिवारका सदस्यलाई डसेर मारेको कथामा उल्लेख छ।
तर किसानकी छोरी घरबाहिर रहेकाले बाँच्न सफल भइन्। नागिनीले उनलाई समेत मार्न खोजेपछि किसानकी छोरीले आफूलाई नमार्न आग्रह गर्दै नागिनीको पूजा गर्ने र दूध चढाउने वाचा गरिन्।
उनको भक्तिबाट प्रसन्न भएकी नागिनीले वर माग्न भनेपछि किसानकी छोरीले आफ्ना मृत परिवारका सदस्यलाई पुनर्जीवन दिन आग्रह गरिन्। नागिनीले उनको माग स्वीकार गरेपछि किसानको परिवार पुनः जीवित भएको र यही घटनाको सम्झनामा श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गर्ने परम्परा सुरु भएको धार्मिक विश्वास छ।
नाग र वर्षासँग जोडिएको अर्को मान्यता
नागपञ्चमीसँग गुरु गोरखनाथ र मत्स्येन्द्रनाथसम्बन्धी अर्को धार्मिक प्रसङ्ग पनि जोडिएको छ। धार्मिक मान्यताअनुसार गुरु गोरखनाथले नौ नागलाई आसन बनाएर लामो समयसम्म तपस्या गरेका थिए। नागलाई नियन्त्रणमा राख्दा वर्षा रोकिएको र त्यसपछि गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई नेपाल बोलाइएको कथामा उल्लेख छ।
मत्स्येन्द्रनाथ नेपाल आएपछि गोरखनाथ उठ्दा नाग मुक्त भएर वर्षा भएको धार्मिक विश्वास छ। यस कथाले नाग, पानी र वर्षाबीचको सम्बन्धलाई धार्मिक रूपमा प्रस्तुत गर्छ।
अष्टनागको पूजा
नागका विभिन्न नाममध्ये अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई अष्टनागका रूपमा विशेष पूजा गर्ने परम्परा छ। नागपञ्चमीका दिन यी अष्टनागको पूजा गरी घरको मूलढोकामाथि नागको तस्बिर टाँसिन्छ।
नागको तस्बिरसँगै बिच्छी तथा अन्य जीवजन्तुको आकृति राख्ने चलनसमेत छ। नागपञ्चमीका दिन घरमा नागको तस्बिर टाँसेपछि खेतबारीमा खनजोत नगर्ने तथा नाग, सर्पलगायत घिस्रने जीवलाई नमार्ने धार्मिक मान्यता छ।
काठमाडौँको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड तथा नागस्थानमा आज विशेष पूजा गरिन्छ। श्रद्धालुले नागदेवतालाई दूध, अक्षता, दुबो, खीर, रोटी तथा विभिन्न परिकार चढाएर पूजा गर्ने गरेका छन्।
धार्मिक विश्वासमा नागलाई धन, वर्षा, उर्वरता र सुरक्षासँग जोडेर हेर्ने गरिन्छ। नागको पूजा गरिने घरमा लक्ष्मीको बास हुने विश्वाससमेत नेपाली समाजमा लामो समयदेखि रहँदै आएको छ।
नागपञ्चमी केवल धार्मिक आस्थासँग मात्र जोडिएको पर्व नभई प्रकृति र जीवजन्तुप्रतिको सम्मानसँग पनि सम्बन्धित रहेको मानिन्छ। सर्पले पारिस्थितिक प्रणालीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले नागपञ्चमीले यस्ता जीवको संरक्षण र सहअस्तित्वको सन्देशसमेत दिने गरेको छ।
नागपञ्चमीसँगै वैदिक सनातन धर्मावलम्बीका विभिन्न चाडपर्वको क्रमसमेत सुरु हुने मान्यता छ। त्यसैले नागपञ्चमीलाई धार्मिक आस्था, सांस्कृतिक परम्परा र प्रकृतिप्रतिको सम्मानको संगमका रूपमा मनाउने गरिएको छ।
प्रतिकृया लेख्नुहोस्: