काठमाडौँ । जेन–जी आन्दोलनपछि सत्ताबाट बाहिरिएको, निर्वाचनमा धक्का व्यहोरेको र पार्टीभित्रै नेतृत्वमाथि प्रश्न उठिरहेका बेला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि आक्रामक शैलीमा प्रस्तुत हुन थालेका छन्। नेतृत्वविरुद्ध उठिरहेका आवाजलाई सम्बोधन गर्नुभन्दा ओलीले आलोचकप्रति कडा प्रतिवाद थालेपछि एमालेभित्रको असन्तुष्टि थप चर्किने संकेत देखिएको छ।
पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको माग गर्दै आवाज उठाइरहेका नेता–कार्यकर्तालाई ओलीले शनिबार ‘आवारा’को संज्ञा दिएपछि एमालेभित्र नयाँ विवाद सतहमा आएको हो। ओलीको अभिव्यक्तिप्रति इतरपक्षका नेता–कार्यकर्ताले सार्वजनिक रूपमै असन्तुष्टि जनाउँदै प्रतिवाद गरेका छन्।
ओली पार्टीभित्र लामो समयदेखि अवसर र भूमिका पाएका केही नेता–कार्यकर्ताले संस्थागत विधि र कमिटीको प्रक्रियाभन्दा बाहिर गएर सामाजिक सञ्जाल तथा हस्ताक्षर अभियानमार्फत अध्यक्ष हटाउने प्रयास गरेको भन्दै आक्रोशित छन्।
झापामा आयोजित कार्यक्रममा ओलीले पार्टी कार्यालयको क्यान्टिनमा बसेर केही व्यक्तिले अध्यक्ष हटाउने कुरा गरेको भन्दै प्रश्न उठाएका थिए।
‘पार्टीमा अनुशासनहीनता र अराजकता बढेको छ। पार्टी अफिसको क्यान्टिनमा बसेर केही आवाराहरू अध्यक्ष हटाउने कुरा गर्छन्। अध्यक्ष हटाउने कुरा ठट्टा हो ?’ ओलीले भनेका थिए, ‘पार्टी सदस्य छ कि छैन ? उरन्ठेउलाहरू भेला भएका छन्।’
ओलीको उक्त अभिव्यक्तिपछि पार्टी पुनर्जागरण तथा पुनर्गठन अभियानमा लागेका नेता–कार्यकर्ताले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक प्रतिवाद गरेका छन्।
रमेश पौडेल, गजेन्द्र थपलियालगायत नेता–कार्यकर्ताले च्यासलस्थित पार्टी कार्यालयको क्यान्टिनमा चिया खाइरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। यसअघि थपलियाले ‘१२ बजे आवाराहरू चिया खान क्यान्टिनमा भेटौँ’ भन्दै निमन्त्रणासहितको सामग्री सार्वजनिक गरेका थिए। त्यसपछि उनले नौ जना नेता–कार्यकर्ता चिया खाँदै गरेको तस्बिर पोस्ट गर्दै ओलीको टिप्पणीप्रति सांकेतिक जवाफ दिएका हुन्।
ओलीसँग लामो समयदेखि निकट रहेका थपलिया नेपाल बुद्धिजीवी परिषद्का अध्यक्षसमेत हुन्। उनी ओली प्रधानमन्त्री हुँदा दुईपटक सल्लाहकार समूहमा सदस्यका रूपमा रहेका थिए।
‘असहमति राख्नेलाई आवारा भन्न मिल्दैन’
अखिलकी पूर्वअध्यक्ष नवीना लामाले ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै पार्टीका कार्यकर्तालाई अपमानजनक शब्द प्रयोग गर्नु उचित नभएको बताएकी छन्।
उनले जिम्मेवार पदमा रहेका व्यक्तिको अभिव्यक्ति मर्यादित र संयमित हुनुपर्ने भन्दै असहमतिको समाधान अपमानबाट नभई सम्मानपूर्वक बहसबाट खोजिनुपर्ने धारणा राखेकी छन्।
ओलीले भने पार्टी अध्यक्ष हटाउने विषयमा सामाजिक सञ्जाल वा हस्ताक्षर अभियान सञ्चालन गर्नु गलत भएको बताएका छन्। उनका अनुसार अध्यक्ष परिवर्तन वा नेतृत्वसम्बन्धी विषय पार्टीको आन्तरिक बैठक र विधिअनुसार उठाउनुपर्छ।
‘कति बेला के गर्ने भन्ने पार्टीको विधि, प्रक्रिया र समय हुन्छ। अस्ति भर्खर पार्टीको महाधिवेशन भएको छ,’ ओलीले भनेका थिए, ‘पार्टीमा बस्ने हो भने पार्टीको नीति, विधि र अनुशासन पालना गर्नुपर्छ।’
पोखरेल र रावलको प्रतिवाद
ओलीको पछिल्लो अभिव्यक्तिको नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले विरोध गरेका छन्। पार्टीभित्र आलोचना गर्ने सबैलाई ‘आवारा’, ‘हल्ला गर्ने समूह’ वा अवसरवादीका रूपमा चित्रित गर्ने प्रवृत्तिले समस्या समाधान नगर्ने उनको भनाइ छ।
उनले पुनर्गठनको माग पार्टीको केन्द्रीय सचिवालयमै उठेको र संस्थागत निर्णयकै आधारमा कार्यदल गठन भएर प्रतिवेदन तयार हुने अवस्थामा पुनर्गठनको माग गर्ने नेता–कार्यकर्तालाई ‘आवारा’ भन्न नमिल्ने तर्क गरेका छन्।
‘पुनर्गठनको प्रक्रिया पार्टीले आफैँ सुरु गरेको हो। पुनर्गठनको माग गर्ने र कार्यदलको प्रतिवेदन सार्वजनिक गर्न माग गर्ने पार्टीका नेता तथा सदस्यलाई पार्टीविरोधी वा ‘आवारा’ स्वयं अध्यक्षले कसरी भन्न सक्नुहुन्छ ?’ पोखरेलले प्रश्न गरेका छन्।
पूर्वकेन्द्रीय सदस्य झपट रावलले पनि नेतृत्व परिवर्तनको माग गर्ने कार्यकर्तालाई अराजक भनेर चित्रित गर्नु दोहोरो मापदण्ड भएको टिप्पणी गरेका छन्।
उनले विचार र नीतिमाथि बहस गर्ने कार्यकर्ता आवारा हुन् भने उनीहरूलाई नेतृत्व दिने संस्था र राजनीतिक चौतारीलाई के भन्ने भन्दै प्रश्न गरेका छन्। नेतृत्व परिवर्तनको माग आफूले गर्दा उचित र अरूले गर्दा अराजक हुने प्रवृत्तिमाथि पनि उनले प्रश्न उठाएका छन्।
‘छुद्र भाषाले वामपन्थी जनमत भड्कियो’
यसैबीच एमालेका नेता शंकर पोखरेलले पनि विगतको कम्युनिस्ट पार्टीभित्रको अन्तर्संघर्षमा नेताहरूले प्रयोग गर्ने भाषाप्रति टिप्पणी गरेका छन्।
उनका अनुसार नेकपा कालमा नेताहरूबीचको अन्तर्संघर्षका क्रममा एकले अर्कालाई आलोचना गर्न प्रयोग गरिएका छुद्र भाषाले वामपन्थी जनमत भड्काउने काम गरेको थियो।
‘मिल्दा अत्यन्त मित्रताको भाषा बोल्ने र विवाद हुन थालेपछि हदसम्मको शत्रुतापूर्ण भाषा प्रयोग गर्ने समस्या छ,’ पोखरेलले भनेका छन्, ‘भाषा यस्तो चिज हो, जसलाई तपाईंले सही ढंगले प्रयोग गर्न सक्नुहुन्न भने तपाईंले गरेको विरोध र असहमति पनि रचनात्मक हुन सक्दैन।’
भण्डारीको संकेत : फरक विचार सुन्न सक्नुपर्छ
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि लोकतन्त्रको शक्ति आफ्ना कुरा मात्र स्थापित गर्नुमा नभई फरक विचारलाई सम्मानपूर्वक सुन्ने संस्कारमा रहेको बताएकी छन्।
उनले तर्क र तथ्यका आधारमा आफ्नो दृष्टिकोण निर्माण गर्ने संस्कार नै लोकतान्त्रिक अभ्यासको आधार भएको धारणा राखेकी छन्।
एमालेमा २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनपछि पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण र संगठन सुधारको विषयमा बहस तीव्र हुँदै आएको छ। ओलीले भने नेतृत्वमाथि प्रश्न उठाउने गतिविधिलाई पार्टीको विधि र अनुशासनविपरीत भन्दै प्रतिवाद गरिरहेका छन्।
यसले एमालेभित्र नेतृत्वको निरन्तरता र पार्टी पुनर्गठनको बहसबीचको दूरी थप बढाउँदै लगेको देखिन्छ। ओलीको कडा अभिव्यक्ति र त्यसको प्रतिवादले एमालेभित्र लामो समयदेखि दबिएको असन्तुष्टि अब खुला बहसमा परिणत हुने संकेतसमेत गरेको छ।
प्रतिकृया लेख्नुहोस्: