प्रचण्डबारे बाबुराम भट्टराईको एउटा लेख –‘प्रचण्ड– सरल, संवेदनशील, मिलनसार र बहिर्मुखी’
कार्तिक २२ गते, २०७२ आइतवार 8th November, 2015 Sun१०:०३:२० मा प्रकाशित
केही समय अघिमात्रै एकिकृत नेकपा माओवादी परित्याग गरी नयाँ शक्ति निर्माण अभियानमा लागेका पूर्व एमाओवादी नेता बाबुराम भट्टराई र एमाओवादी अध्यक्ष पूस्पकमल दाहाल प्रचण्डको सम्बन्धको बारेमा बेलाबेलामा चर्चा भईरहन्छ । माओवादी जनयुद्धकालमा यि दुई नेताबिचको सम्बन्ध कस्तो थियो त ? हामीले जनादेश साप्ताहिक, वर्ष– ९, अंक– ३०, २०५७ जेठ ३१ गते भट्टराईले प्रचण्डबारे लेखेको एउटा लेख याँहा राखेका छौं । यसको उदेश्य तित्त हुँदै गरेको दूई नेताविचको सम्बन्धलाई इतिहास हेरेर मित्रतापूर्ण बन्न सहयोग होस् भन्ने हो –सम्पादक ।
क्रान्तिमा क्रान्तिकारी विचारको भूमिका प्रधान हुँदाहुँदै पनि विचारको संश्लेषण, अभिव्यक्ति र कार्यान्वयन अन्ततः संगठन र त्यसको नेतृत्वमार्फत हुने हुँदा व्यवहारमा क्रान्तिकारी नेतृत्वको भूमिका प्रधान हुन पुग्दोरहेछ । मानव इतिहासको विभिन्न चरणमा भएका सामाजिक क्रान्तिहरू यसका उदाहरण हुन् । त्यसैले शायद पहिले एङ्गेल्स र पछि प्लेखानोभले इतिहासमा व्यक्तिको भूमिका र महत्वको चर्चा गर्दै व्यक्तिलाई इतिहासको आवश्यकताले जन्माउने, कुनै खास देशमा, कुनै खास समयमा, खास व्यक्तिको जन्म विशुद्ध आकस्मिकता मात्र हुने तर त्यस्तो व्यक्तिको जन्म अनिवार्य हुने कुरा बताउनु भएको हो । यो कुरा इतिहासमा वर्ग र राज्यसत्ता रहुन्जेल प्रगतिशील र प्रतिक्रियावादी दुवै वर्गहरूका निम्ति सत्य हो । नेपालमा अहिले युगान्तकारी जनयुद्धको विकासको तीव्र गतिसँगसँगै दुई वर्ग र दुई सत्ताको नेतृत्वको विकास र त्यसबारेको सार्वजनिक चासो र चर्चाले पनि तीव्रता पाएको छ । यहाँ अहिले त्यो महत्वपूर्ण विषयका सबै पक्षमा विस्तृत चर्चा सम्भव छैन । त्यसैले अहिले यहाँ हामी हाम्रो पार्टीका सर्वोच्च नेता तथा महामन्त्री क. प्रचण्डबारे मूलतः अनुभूतिजन्य चर्चा नै गर्नेछौं । केही समयदेखि खासगरी मलाई उहाँको विरुद्धमा उभ्याउने प्रतिक्रियावादी र अवसरवादीहरूको नियोजित अभियान चलाइएकाले त्यसको खण्डन गर्ने क्रममा केही व्यक्तिगत प्रसङ्गहरू समेत जोडिन पुगेमा त्यसलाई अन्यथा अर्थमा नलिइदिनु हुनु सबैसँग विनम्र आग्रह गर्दछौं ।
आखिर क. प्रचण्ड र मलाई एक–अर्काका विरुद्ध उभ्याउने प्रयास किन भइरहेको छ ? अनि क. प्रचण्ड र मेरो बीचमा वास्तविक सम्बन्ध कस्तो छ त ? क. प्रचण्डलाई नै हाम्रो पार्टीले सर्वोच्च नेताका रूपमा स्वीकार्नु र स्थापित गर्नुको पछाडिका मुख्य कारणहरू केके हुन् ? साँच्चि नै क. प्रचण्ड वास्तविक जीवनमा कस्तो हुनुहुन्छ ? यिनै केही प्रश्नहरूबारे एक दशकभन्दा बढी समयसम्म ज्यादै निकट रहेको कमरेडका नाताले म आफ्ना अनुभूतिजन्य भनाइहरू सार्वजनिक गर्न चाहन्छु ।
सर्वप्रथम, अहिले हाम्रो पार्टीको शीर्षस्थ नेतृत्वपङ्क्तिमा फुट पार्ने अथवा नक्कली मतभिन्नता र हार र जीतको हौवा पिटाउने जुन नियोजित अभियान केही सञ्चारमाध्यमहरूले चलाइरहेछन्, त्यसबारे चर्चा गरौं । यसका मुख्यतः दुईवटा कोण छन्– पहिलो कोण हो, नेपाली कांग्रेसको सत्ताधारी फासिस्ट गिरिजागुटको । फासिष्ट र राष्ट्रघाती गिरिजागुट नेपाली राजनीतिमा यतिबेला यस्तो नराम्रोसँग एक्लिएको र नाङ्गिएको छ कि त्यसले स्वभाविक रूपमा नै आफ्नो काल माओवादी पार्टी र जनयुद्धमा देखेको छ । त्यसैले उसले अन्य विभिन्न फौजी र गैरफौजी हत्कण्डाका अतिरिक्त माओवादी पार्टीको नेतृत्वमा र त्यसमा पनि क. प्रचण्ड र मेरो बीचमा फुट पार्ने षड्यन्त्रको हतियार प्रयोग गरिरहेको छ । त्यसै क्रममा उसले एकातिर आफ्नो नजिकका सञ्चार माध्यमहरूमार्फत ग्वेबल्सको शैलीमा दुस्प्रचार अभियान चलाएर कार्यकर्ता र शुभचिन्तक जनसमुदायमा भ्रम छर्ने मनोवैज्ञानिक युद्ध छेडिरहेको छ भने अर्कोतिर पार्टीभित्र घुसपैठ गराएर सा“च्चिकै फुट पार्न समेत बीसौं करोड रूपैयाँ लगानी गरिरहेको छ । यो कुनै अनुमानको मात्र कुरा नभएर ठोस तथ्यमा आधारित कुरा हो र आवश्यक पर्दा यसको प्रमाण समेत हामी पेस गर्न सक्छौं । दोस्रो कोण, इमानदार अवसरवादीहरू र न्यून चेतना भएका मान्छेहरूको हो, जसले यतिबेला कांग्रेस, एमाले, राप्रपा, माले, मसाल, एकताकेन्द्र लगायत सबै प्रतिक्रियावादी र अवसरवादी पार्टीहरूको नेतृत्वमा फुट भएकाले माओवादी पार्टीको नेतृत्वमा पनि त्यस्तै फुट वा अनेकता होला भन्ने लाटो अनुमान गरेका छन् । उनीहरूलाई हाम्रो भनाइ के छ भने नेतृत्वको परिभाषा र भूमिका विषयमा क्रान्तिकारी कम्युनिस्टहरू र प्रतिक्रियावादी तथा अवसरवादीहरूका बीच आकाश र जमीनकोजस्तो फरक हुनाले त्यस्तो कोरा कल्पना र अनुमान विल्कुल असत्य र भ्रमपूर्ण हो । हामी क्रान्तिकारी मालेमावादी कम्युनिस्टहरूबीच हाम्रो साम्यवादी आदर्स अनुरूप नेतृत्वपङ्क्तिमा प्रतिस्पर्धात्मक (Competitive) होइन कि सहयोगात्मक (Co-operative) सम्बन्ध हुन्छ किनकि हाम्रा निम्ति पार्टी र सत्ता भनेको एक दिन वर्गविहीन समाजसँगसँगै विलोप भएर जाने वस्तु हुन् । व्यक्तिगत स्वार्थ र भौतिक मुनाफालाई नै साध्य बनाउने सामन्त र बुर्जुवाहरू त्यसैले पार्टी र सत्ताको नेतृत्व हत्याउन निषेधात्मक प्रतिस्पर्धा गर्छन् भने साम्यवादी आदर्स प्राप्त गर्न त्याग र बलिदानलाई सूत्रवाक्य मान्ने हामी क्रान्तिकारी कम्युनिस्टहरू सामूहिक हित निम्ति व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिनु गौरवको विषय मान्दछौं । निश्चित रूपमा वर्ग, पार्टी र सत्ता रहुन्जेल कम्युनिस्ट पार्टीभित्र पनि दुईलाइन सङ्घर्ष चलिरहन्छ तर त्यहाँ सङ्घर्षको प्रकृति निषेधात्मक नभएर रूपान्तरणात्मक हुन्छ अर्थात्, सङ्घर्ष गर्नुको उद्देश्य नयाँ आधारमा नयाँ एकता हासिल गर्नु हुन्छ । यिनै दुई भिन्न वर्गीय दृष्टिकोण र जीवन–दर्शनमा रहेका आधरभूत भिन्नताहरूलाई नबुझेर वा बुझ्न नचाहेर प्रतिक्रियावादी र अवसरवादीहरूले हामीलाई पनि आफूजस्तै पार्टी र सत्ताको नेतृत्व हत्याउन मरिहत्ते गर्ने जन्तुका रूपमा प्रस्तुत गर्ने जुन जमर्को गरेका छन्, त्यसको भ्रममा नपर्न हामी विनम्र अनुरोध गर्दछौं ।
जहाँसम्म मलाई नै क. प्रचण्डको विरुद्धमा उभ्याउने कसरत किन भइरहेको भन्ने प्रश्न छ, त्यसका पनि केही वस्तुगत र आत्मगत कारण छन् । पहिलो कुरा त फुट पार्ने प्रयास उनीहरूको बीचमा नै हुन्छ, जसको बीचमा सबभन्दा बढी एकता हुन्छ र जसलाई तोडेर क्रान्तिलाई सबभन्दा बढी नोक्सान पुर्याउन सकिन्छ । दोस्रो कुरा, क. प्रचण्ड र मेरो क्रान्तिमा संलग्नताको पृष्ठभूमि र जिम्मेवारी बहनको प्रकृति विगतमा केही फरक रहेको (उहाँको पूरै भूमिगत र मेरो लामो समयसम्म खुला र पछि भूमिगत) कारणले त्यसमा दुश्मनले चर खोजेर खेल्न खोज्नु स्वभाविकै हो । तेस्रो कुरा, पार्टीभित्रको अवसरवाद मुख्यतः हालै भण्डाफोर भएको ‘आलोक प्रवृत्ति’ ले क्रान्तिकारीहरूबीचको एकतालाई तोड्न कसरत गर्नु कुनै अनौठो होइन । खासगरी, क्रान्तिको बेगवान् प्रवाहस“गै आफूलाई रूपान्तरणमा छोटो अवधिका निम्ति छुट्टाछुट्टै समूहमा रहन पुगेका क. प्रचण्ड र मलाई अलग धुरीमा उभ्याउन खोज्नु स्वभाविक हो ।
क. प्रचण्ड नै हाम्रो पार्टीको सर्वोच्च नेतृत्वमा आसिन हुन कसरी पुग्नु भयो त ? अथवा यति महान् क्रान्तिको रथ हाँक्ने पार्टीको प्रमुख नेता हुने गुण उहाँमा केके होलान् त ? यसबारे मानिसहरूमा थुप्रै भ्रमहरू छन् । कतिपयले उहाँलाई भवितब्यले महामन्त्री हुन पुगेको, षड्यन्त्र गरेर नेतृत्व हत्याएको, वास्तविक नेता वा चिन्तक पार्टीभित्र अरु कोही भएको, फौजी तागतको भरमा नेता भएको, आदि–इत्यादि भनेर ठूलो भ्रमको खेती गर्न खाजेको देखिन्छ । टाढाबाट हेर्दा पार्टीभित्र उहाँभन्दा पाका, पुराना नेताहरू पनि भएको अथवा कुनै खास विषय वा क्षेत्रमा उहाँभन्दा विशिष्ट गुण भएकाहरू पनि पार्टीभित्र रहेको आदि कारणले एक हदसम्म त्यस्तो आशंका गर्ने ठाउँ भएजस्तो देखिन्छ । तर, वास्तविकता त्यस्तो विल्कुलै होइन । पहिलो कुरा त कम्युनिस्ट पार्टीभित्र नेतृत्व छनोटको तरिका ‘भवितब्य’ वा ‘षड्यन्त्र’ वा ‘फौजी तागत’ आदिको भरमा नभएर सर्वहारावादी विचार र क्षमताको आधारमा हुन्छ र त्यसको टुंगो ऐतिहासिक आवश्यकताले लगाउँछ । दोस्रो कुरा, क. प्रचण्डले आफ्नो नेतृत्वदायी क्षमता विगत एक दशकभन्दा बढीको समयमा व्यवहारद्वारा पुष्टि गरिसक्नु भएको छ । त्यसैले उहाँले महामन्त्री पद कसैको ‘दया’ द्वारा पाएको वा भवितब्यले भेट्टाएको भन्ने कुरा वाहियात र फट्याइँपूर्ण हो । त्यसो भए क. प्रचण्डका नेतृत्वदायी गुणहरू केके हुन् त ? क. माओले भन्नु भए झैं एउटा क्रान्तिकारी कम्युनिस्ट नेतामा मुख्यतः पा“चवटा गुणहरू हुनुपर्छ— पहिलो– क्रान्तिको विज्ञान माक्र्सवाद–लेनिनवाद (अब मालेमावाद) लाई आत्मसात्् गर्ने, दोस्रो– जनसमुदाय र सर्वहरावर्गको हितलाई आत्मसात् गर्ने, तेस्रो– हमेशा जनसमुदायसँग एकाकार हुन सक्ने, चौथो– जनवादी केन्द्रीयताको सही पालना गर्न सक्ने र पाँचौं– आत्मालोचना गर्न सधैं तत्पर रहने । क. प्रचण्डमा यी पा“चवटा गुणहरू यथेष्ट मात्रामा विद्यमान रहेकाले नै उहाँ पार्टीको सर्वोच्च नेतृत्वमा पुग्न सफल हुनु भएको हो । यसबारे कसैलाई कुनै भ्रम नरहे हुन्छ ।
अब क. प्रचण्डबारे मेरा आफ्नै व्यक्तिगत अनुभव र अनुभूतिका कुरा गरौं । एउटै उमेर, एउटै एसएलसी र आईएस्सी ब्याच, एउटै गाउ“ले किसान र ब्राáण परिवारिक पृष्ठभूमि, करिव समकालीन तर छुट्टाछुट्टै रूपमा राजनीतिक आन्दोलनमा प्रवेशजस्ता पृष्ठभूमि भएका हामी दुईको पहिलो देखादेख २०३७ सालमा बनारसमा सम्पन्न अखिल भारत नेपाली विद्यार्थी संघको चौथो सम्मेलनको बेला भएको थियो । तर, सही अर्थमा हाम्रो राजनीतिक भेट भने २०४० सालमा सम्पन्न तत्कालीन चौथो महाधिवेशनको राष्ट्रिय सम्मेलन (जसले निर्मल लामा पक्षलाई पार्टीबाट निष्काशन गरेको थियो) मा भएको थियो । त्यो पहिलो भेटमा नै क. प्रचण्ड र क. बादल नेपाली कम्युनिस्ट आन्दोलनका दुई उदीयमान तारा हुन् भन्ने विश्वास ममा जागेको थियो । तर, परिस्थितिको विडम्बनावश २०४२ सालपछि उही मोहनविक्रमको थोत्रो सारसंग्रहवादी राजनीतिका अगलअलग पाना च्यापेर हामी भिन्न समूहमा विभाजित हुन पुग्यौं । त्यस पछिको छोटो अवधि मूलतः पुरानो पिँढीको सामन्ती अहङ्कारवादी र सङ्कीर्णतावादी चिन्तन–कार्यशैलीको प्रदूषणका कारणले एक–अर्काप्रति भ्रम र आशङ्काको अवधि रह्रयाे । तर, छिट्टै नै तत्कालीन चौथो महाधिवेशन र स्कुलको नवसंशोधनवादी विरासतस“गको सम्बन्ध–विच्छेदको थालनी र अन्ततः एकताकेन्द्रको गठनपश्चात २०४८ देखि हामी पुनः एक ठाउँमा जम्मा हुन पुग्यौं । त्यस पछिको एक दशकको सहकार्य र सहजीवनले हाम्रो बीचमा वैचारिक, राजनीतिक, सांगठनिक र भावनात्मक एकताको असाध्यै मजबुत जग निर्माण गरेको छ । निश्चित रूपमा २०५५ भदौको चौथो विस्तारित बैठकपछिको छोटो अवधिमा मूलभूत विचार र राजनीतिमा एकमत रहँदारहँदै मूलतः विगतको गलत विरासतकै परिणामस्वरूप हामी एक–अर्का बीचमा केही आशङ्का पैदा भए वा पैदा गरिए । तर २०५६ साउनको पूर्ण बैठकमा एकता–सङ्घर्ष–रूपान्तरणको विधिद्वारा नया“ आधारमा नया“ एकता हासिल भएपश्चात हामीबीचको वैचारिक, राजनीतिक र भावनात्मक एकताले नयाँ उचाइ छोएको छ र त्यसलाई पचाउन नसकेका प्रतिक्रियावादी र अवसरवादीहरूले पुनः हामी बीचमा आशंका जन्माउने मिथ्या प्रयास गरिरहेछन्, जलाई धुलीसात् पार्न हामी कृतसङ्कल्पित छौं ।
यो लामो क्रान्तिको सहकार्यका क्रममा क. प्रचण्डका कुनकुन नेतृत्वदायी गुणहरूले मलाई बढी प्रभावित गरे त ? सर्वप्रथम, मालेमावादको विज्ञानलाई दह्रोसँग पक्रने, त्यसलाई नेपाली धर्तीमा सिर्जनशील ढङ्गले लागू गर्ने र नेपाली कम्युनिस्ट आन्दोलनको पुरानो संशोधनवादी, नवसंशोधनवादी, रुढीवादी र सङ्कीर्णतावादी विरासतलाई तोड्ने उहा“को दृढता नै उहा“को सबभन्दा ठूलो गुण र आन्दोलनमा योगदान हो भन्ने मलाई लाग्दछ । उहा“का तिनै गुणहरूको परिणामस्वरूप नै लामो समयदेखि छिन्नभिन्न भएको कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी कार्यदिशाका आधारमा एकताबद्ध गर्ने र महान् जनयुद्धको तयारी र थालनी गरेर विभिन्न योजनाहरू हुँदै विकासको यो उचाइसम्म पु¥याउने काम सम्पन्न हुन सकेको हो भन्ने कुरामा कुनै शङ्का छैन । त्यस हिसाबले नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा सुरु भएको मिश्रित ढङ्गको जग बसाल्ने श्रेय क. पुष्पलाललाई गए झैं पछिल्लो चरणको अवसरवादी धारको संश्लेषण गर्ने र जग बसाल्ने नकारात्मक श्रेय मदन भण्डारीलाई र क्रान्तिकारी धारको संश्लेषण गर्ने र जग बसाल्ने सकारात्मक श्रेय क. प्रचण्डलाई जाने निश्चित छ । दोस्रो, मलाई प्रभावित गरेको क. प्रचण्डको महŒवपूर्ण गुण भनेको सिद्धान्तमा दृढता र व्यवहारमा लचकता हो । यसलाई क्रान्तिकारी द्वन्द्ववादको बुझाइ र प्रयोगमा उहाँको निपूणता पनि भन्न सकिन्छ । खासगरी, पार्टीभित्र दुईलाइन सङ्घर्षको सञ्चालनको सन्दर्भमा तथा वर्गसङ्घर्षको क्षेत्रमा रणनीति र कार्यनीतिको उचित संयोजनको सन्दर्भमा उहाँको यो गुणले निर्णायक प्रभाव र महत्व राख्ने गरेको छ । तेस्रो क. प्रचण्डको महŒवपूर्ण गुण भनेको उहाँको चातुर्दिक क्षमता हो । झट्ट हेर्दा उहाँमा कुनै एउटा पक्षमा मात्र विलक्षण प्रतिभा देखिन सक्छ वा पार्टीभित्र अन्य कला होस् वा राजनीतिक संगठन होस् वा फौजी र गैरफौजी क्षेत्र होस् वा लेखन र वक्तृत्वकला होस्, सबै क्षेत्रमा लगभग सन्तुलित क्षमता भएको व्यक्ति पार्टीमा उहाँ मात्रै हुनुहुन्छ भन्दा अत्युक्ति हुने छैन । शायद यही गुणले नै उहाँलाई पार्टीको सर्वोच्च पदमा आसीन गराउन निर्णायक भूमिका खेलेको हो कि ? चौथो, क. प्रचण्डको विशेषता भनेको उहा“मा सन्निहित विवेक, इच्छाशक्ति र संवेगको उचित संगम हो । यिनै चारवटा मानवीय गुणहरूको संगम नै क. प्रचण्डको नेतृत्वदायी क्षमताको भण्डार हो भन्नु अन्यथा नहोला ।
क. प्रचण्डका यिनै गुण, क्षमता र योगदानहरूले नै मालेमावादी विज्ञानको नेपाली धर्तीमा प्रयोग र त्यसै सन्दर्भमा नेपाली क्रान्तिका कार्यनीतिक सिद्धान्तको प्रतिपादनको रूपमा हालै हाम्रो पार्टीको केन्द्रीय समितिले संश्लेषण गरेको पार्टीको विर्देशक विचार (Guiding thought of the party) को निर्माणलाई मूलतः सम्भव बनाएका हुन् र त्यस अर्थमा पार्टी र क्रान्तिमा उहाँको स्थान र भूमिका सर्वोच्च रहन गएको छ ।
यसको अर्थ क. प्रचण्डका कुनै कमजोरी छैनन् भन्ने होइन । निश्चित रूपमा एकको दुईमा विभाजनका सार्वभौम नियम उहा“मा पनि लागू हुन्छ । हाल पार्टीभित्र सञ्चालन भइरहेको शुद्धीकरण अभियानको सिलसिलामा उहाँले पनि आफ्नो लिखित आत्मालोचनापत्र केन्द्रीय समितिमा प्रस्तुत गर्नु भएको छ र त्यसमाथि सबै केन्द्रीय सदस्यहरूले टिप्पणी गर्नु भएको छ । परन्तु, दुश्मन र अवसरवादीहरूले उहाँका विरुद्ध अहिले जसरी क्रुर तानाशाह, फौजीवादी, षड्यन्त्रकारी, आलोक प्रवृत्तिको नाइके आदि आरोप लगाउँदै उहाँको कुरूप र विभत्स चित्र प्रस्तुत गर्ने कोशिस गरिरहेछन्, त्यो विल्कुल प्रायोजित, असत्य, भ्रमपूर्ण र दूराशयपूर्ण छ । त्यसको ठीक विपरीत बरु क. प्रचण्डको कमजोरी भनेको कहिलेकाहीं आवश्यकताभन्दा बढी भावुकता, लचकता र उदारता हो, जसको यदाकदा अनुचित फाइदा अवसरवादीहरूले उठाउने गर्दछन् । लामो समयसम्म भूमिगत रहेको र एउटा सशक्त छापामार युद्धको नेतृत्व गरिरहेको नेताबारे अक्सर एउटा भयंकर, डरलाग्दो जन्तुजस्तो कल्पना र चित्रण गरिनु स्वभाविक हुन्छ । त्यसमाथि प्रतिक्रियावादी र साम्राज्यवादीहरूले सधैं क्रान्तिकारी नेताहरूको त्यस्तै विभत्स र कुरूप चित्र प्रस्तुत गेरर जनसमुदायलाई दिग्भ्रमित गर्ने कोशिस गर्दछन् । क. प्रचण्डसँग प्रत्यक्ष भेटघाट गर्नेहरू र नजिकबाट उहाँसँग संगत गर्नेहरूलाई राम्ररी थाहा छ, उहा“ वास्तवमा कति सरल, संवेदनशील, मिलनसार र बहिर्मुखी प्रकृतिको मान्छे हुनुहुन्छ । इतिहासको कति ठूलो विडम्बना कि मनिसहरू मलाई उदार र नरम र क. प्रचण्डलाई सङ्कीर्ण र गरम भन्ने ठान्छन् वा त्यस्तो दुस्प्रचार गर्छन् । जबकि उहा“को बहिर्मुखी र मेरो अन्तर्मुखी स्वभाव बाहेक अरु कुरामा उहा“ र मेरो बीचमा खासै कुनै गुणात्मक अन्तर छँदै छैन । त्यही नै हामी बीचको वैचारिक र भावनात्मक एकताको आधारशिला हो ।
यो समग्र चित्रमा मेरो आफ्नो व्यक्तिगत स्थान कहाँनेर हो त ? मैले जति बेलादेखि जीवनको अर्थ र लक्ष्य खोज्दै जाने क्रममा काक्र्सवादलाई आत्मसात् गर्न पुगें, त्यतिबेलादेखि नै विश्व साम्यवादतर्फको मानवजातिको महान् तथा लामो यात्रामा मैले आफूलाई कहिल्यै पनि एक नम्बरमा बसेर नेतृत्व गर्ने हिसाबले सोचिँन । मैले सधैं आफूलाई एउटा सामूहिकता भित्रको सहयोगी पात्रको रूपमा मात्र सोचें । यो मेरो कमजोरी हो वा आफ्नो भूमिकाको यथार्थ मूल्याङ्कन हो, त्यसको टुंगो इतिहासले लगाउने छ । तर, मलाई विश्वास छ– मेरो आफ्नो क्षमता र भूमिकाको मूल्याङ्कन अरु कसैले भन्दा म आफैंंले राम्ररी गर्न सक्छु र त्यस अर्थमा अहिलेसम्म जे सोचेको छु, त्यो विल्कुल वस्तुसंगत ढङ्गले र सही सोचेको छु । हुन त नेपाली कम्युनिस्ट आन्दोलनका संशोधनवादी मठाधीशहरूले र ‘अँधेरा आलोकहरू’ ले आ–आफ्नै स्वार्थवश मेरो चित्र जनसमुदायसमक्ष यति विकृत र कुरूप ढङ्गले प्रस्तुत गरेका छन् कि त्यो चित्रलाई सच्याउँन मैले जिन्दगीभर मेहनत नै गर्नुपर्नेछ र अवश्य गर्ने पनि छु । तैपनि मेरो आफ्नै बारेको अनुभूति चाहिँ ग्रीक दार्शनिक सुकरातले आफ्नै विषयमा भनेको यो भनाइमा सटिक ढङ्गले अभिव्यक्त हुन्छ– \'I only know that I know nothing\'. अर्थात्, ‘मलाई खालि यति मात्र थाहा छ कि मलाई केही पनि थाहा छैन ।’
त्यसैले मेरा प्रिय कमरेड तथा नेता क. प्रचण्डका विरुद्धमा मलाई उभ्याउने निष्फल जमर्को गरिरहेका महानुभावहरूले एकपटक आफ्नो हावादारी रणनीतिबारे पुनर्विचार गर्ने हो कि ?
(जनादेश साप्ताहिक, वर्ष– ९, अंक– ३०, २०५७ जेठ ३१ गते)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: