विडम्बना त्यो अछुत वा शुद्र समुदाय सामाजिक उत्पीडनबाट मुक्त नभइ अर्को वर्ग वा जातीहरु हरिजन वा दलित समुदायमा परिणत भयो ।विडम्बना त्यो अछुत वा शुद्र समुदाय सामाजिक उत्पीडनबाट मुक्त नभइ अर्को वर्ग वा जातीहरु हरिजन वा दलित समुदायमा परिणत भयो । तत्कालिन शासकहरुले अछुतहरुको नाम परिवर्तनमा समस्याको समाधान देखेका शासकले अछुत वा शुद्रलाई हरिजन वा दलितको रुपमा परिभाषित गरेको हो । दलित भन्ने शब्द शुद्रको विकसित रुप र अछुतको सम्मानित रुप हो । अछुत वा शुद्र समुदायलाई यस्तो किसिमको व्यवहार गरेर तत्कालिन भारतीय शासकहरुले हिन्दु सभ्यतामा मौलाएको दलित समस्यालाई आधुनिक सामाजमा श्रृंगारित रुपमा विकास गरेको पाइन्छ । तत्पश्चात दलितहरुमाथिको उत्पीडनले निरन्तरता पायो । जुन परिवर्तनको परोक्ष वा प्रत्यक्ष प्रभाव सिङ्गो दक्षिण एसियाली दलित समुदाय र नेपालका दलित जातीलाई पनि पर्न गएको तथ्य यथार्थ हो । अछुतहरुको नाम परिवर्तन तत्कालिन शासकहरुले अछुत समस्याको जड, समाधान, सामाजिक भोगाइलाई भन्दा त्यसको रुपलाई नै परिवर्तन गरेर त्यसको समस्या हल गर्ने सोँचले अछुतहरुको नाम परिवर्तन गराएको पाइन्छ । नाम र रुप त परिवर्तन भयो तर त्यो समुदायमाथि समाजको व्यवहार परिवर्तन भएन । समाजमा दलितमाथिका विभेद, उत्पीडनहरु दोहोरिरह्यो । यस्तो किसिमको व्यवहार अहिलेको आधुनिक मानव समाजमा पनि जिवितै छ । सिङ्गो मानव जातीलाई नै तर्साइरहेको छ । राज्यले समाजमा रहेको यस्ता विभेदलाई दायित्वको रुपमा नभई राज्यको नेतृत्व गर्ने पार्टी र राजनीतिक दलहरुले राजनीतिक लाभको रुपमा प्रयोग गरेको पाइन्छ । राज्य दलित समस्याप्रति जिम्मेवार नभएको कारण यो समस्या हिन्दु सभ्यतामा निर्मित हाम्रो समाजमा मृत आत्मा सरी चहारिरहेको छ । त्यसो हो भने के अहिले सामाजिक सञ्जालमा आवद्ध दलित समुदायका पढेलेखेकाहरुले भनेजस्तो दलित भन्ने नाम वा रुप परिवर्तन गर्दा यो समस्या समाधान होला त ? के क्यान्सरको नाम परिवर्तन गरेर क्यान्सरबाट बच्न सकिन्छ होला ? वा कागलाई सेतो पेन्टिङ लगाएर परेवा बनाउन सकिन्छ होला ? वा विषमा चिनी मिसाएर अमृत नामाकरण गर्न सकिन्छ होला ? हो दलित शब्दमा अपमान छ विभेद छ हिनता छ, आत्माग्लानी छ यसलाई स्विकार्न सकिन्छ तर नामै परिवर्तन गरेर दलित समस्या समाधान हुन्छ भनि तर्क गर्नु सान्दर्भिक भएन जस्तो लाग्छ । दलित आन्दोलन र समस्याको सवालमा हाम्रो बुझाई यहिँनिर पुगेको हो भने हामीले दलित आन्दोलनको समीक्षा गर्नेबेला आएको छ ।
दलित शब्द सिङ्गो दलित समुदायको पहिचान पनि हो । पहिचान नै मेटेर हामी कस्तो किसिमको मुक्तिको कल्पना गर्दैछौं ? कस्तो न्यायको कुरा गदैछौं ?सामाजिक विभेदकाविरुद्ध लड्न छोडेर रुप परिवर्तनको बहस नगरौं । यो नेपाली दलित बौद्धिक समुदायमा देखिएको अपरिपक्वता हो । यस्ता किसिमको बहसले दलित समुदायमाथि भ्रम छर्ने कामबाहेक अरु केही हुन सक्दैन । यस्ता किसिमको बहसले दलित आन्दोलन र दलित समुदायका बौद्धिक जमातप्रतिको विश्वास कहाँ पुग्ला, यस्ता किसिमका बहसले नेपाली दलित आन्दोलनलाई कमजोर मात्र होइन दलित आन्दोलनमा विभाजन ल्याउने प्रयोजित षडयन्त्र लुकेको देखिन्छ । दलित समस्याको रुप र सार दलित समस्याको रुप अछुत विभेद र उत्पीडन हो भने सार दलितप्रतिको सामाजिक चिन्तन हो । सामाजिक चिन्तनको स्तरअनुसार दलित समुदायले विभेद भोगेको छ । त्यसैले अबको दलित समस्याको बहस रुपमा नभइ सारमा हुनु पर्छ । दलित समस्यासँग जोडिएको क्षेत्र र समाजकोे चिन्तनसँग हुनु पर्छ । तपाई हामीले भोगेको सामाजिक व्यवहारसँग हुनुपर्छ । दलित शब्दसँग बौद्धिक तथा पढेका मित्रहरुको असन्तुष्टि कहाँनिर हो, शब्द परिवर्तन गरेर दलित समुदायका ऐतिहासिक व्यत्तिहरु बिसे नगर्ची, मनिराम गाइने, जसबीर कामी, बाङ्गे सार्कीहरुको सम्मान गर्न सकिएला, के नाम परिवर्तन गरेर नेपाली समाजको उत्पीडनकाविरुद्ध लडेर शाहदत प्राप्त गर्ने शहीदहरुको उचित सम्मान गर्न सकिएला ? के सङ्गलो आत्माले दलितमुक्ति अभियानमा होमिएका अभियन्तामाथि न्याय होला । भावि सन्ततिले दलित इतिहासको बारेमा कस्तो ज्ञान पाउलान् ? भावनामा आएर दलित शब्दलाई नै परिवर्तन गर्ने बहस सान्दर्भिक होइन, महान इतिहास भावनाले निर्माण गर्न सकिँदैन । हामी वर्तमानमा बहस गर्दै गर्र्दा हाम्रा पुर्खाहरुले भोगेको तितो इतिहासलाई विर्सन सकिन्न । यदि दलित नाम मेटाउने अभियान हो, भने इतिहास पनि त मेटिन्छ । दलित समुदायले भोगेको तितो इतिहासलाई भत्काउने र सुन्दर अनि न्यायीक समाज निर्माणको दायित्व हाम्रै पुस्ताको होइन र ? बाँच्न त जनावर पनि बाँच्छ, तर उत्पीडित समुदायमा अरुको लागि पनि बाँच्ने र बचाउने इच्छा शक्ति हृदयभित्र राखेर बाँच्न सक्नु पर्छ । दलित आन्दोलनको आदर्श हामीले अकल्पनीय इतिहास पढेका छौं, काला अफ्रिकीहरु, काला अमेरिकीहरुको आन्दोलन जो दाम्लोमा बाँधेर बेचिन्थे । ती दलित आन्दोलनको आदर्श बन्न सक्दैनन् । भारतीय दलित आन्दोलनका पिता अम्बेडकर दलित आन्दोलनको आदर्श बन्न सक्दैनन्, काला अमेरिकीमाथिको विभेद कसरी अन्त्य भयो, काला अफ्रिकीहरुलाई नेल्सन मन्डेलाले कसरी मुक्त गराए, ब्ल्याक अफ्रिकीहरुको नाम ब्राउन अफ्रिकीमा रुपान्तरण गरेर सामाजिक विभेदबाट मुक्त भएका हुन् । श्वेत अमेरिकीहरुले कालाहरुलाई पनि मानवीय व्यवहार गर्न बाध्य भएनन् । मधेश आन्दोलन जनजाती आन्दोलन महिला आन्दोलन थारुसमुदायका आन्दोलनको नाम परिवर्तन गरेर हेरौं त के सम्भव छ ? दलित शब्द सिङ्गो दलित समुदायको पहिचान पनि हो । पहिचान नै मेटेर हामी कस्तो किसिमको मुक्तिको कल्पना गर्दैछौं ? कस्तो न्यायको कुरा गदैछौं ? कतै दलित बौद्धिकहरुमा ब्राहमण बन्ने भुत त चढेको होइन । यदि यस्तो किसिमको सोच हो भने दलित समुदायमा पनि उच्चजातीय चिन्तनले घेरेको प्रष्ट देख्न सकिन्छ । दलित आन्दोलनमा आबद्ध राजीतिक पार्टी, राजनीतिक पार्टीका भातृ संगठन, भगिनी संगठनहरु र सामाजिक अभियन्ताहरुले दलित आन्दोलन सशक्त र प्रभावकारी निर्णायक र सम्मानित नहुनुमा दलित शब्दलाई नै दोष देख्ने दृष्टिभ्रम बौद्धिक भनिएकाहरुले अहिले सामाजिक सञ्जालहरुका भित्ताहरु बडो प्रायोजित रुपमा नै रंगाइरहेका छन् । दलित समुदायलाई अल्मल्याउने प्रोपोगाण्डा दलित आन्दोलनलाई शब्द जालमा पारेर दलित समुदायलाई अल्मल्याउने किसिमको प्रोपोगाण्डा पढेलेखेका बौद्धिक दलितहरुले गर्न खोजेको पाइन्छ । दलित शब्दलाई समस्या देख्नेहरुले आफूसम्बद्ध संघ संस्थाको भूमिकाको बारेमा कहिल्यै बहस गरेका छैनन् । दलित समस्याको मुल त दलितको नाममा राजनीति गर्ने राजनैतिक भातृ संगठनहरु हुन् । दलितहरुलाई विभाजित गरेर सीमित जत्थाको स्वार्थपूर्ति गर्ने राजनीतिक चिन्तन र तिनिहरुले अंगिकार गर्ने सामान्तवादी सोंचले ओतप्रोत भएको राजनीतिक दर्शन हो, दलितको अधिकारका लागि लागि स्थापित सामाजिक संघ सस्थाहरु हुन् । मुख्य समस्या नेपाली समाजको मनोबैज्ञानिक चिन्तन हो । विभेदयुक्त चिन्तन हो । दलित आन्दोलनको मनोवादी चरित्र हामी सामाजिक सञ्जालमा बडो अगुवा बन्छांै । उत्पीडन विभेदका विरुद्धको आन्दोलनमा भने सडकमा देखिन नचाहनेहरुले दलित आन्दोलनका हिमायति ठानिरहेका छन् । दुई दिन सडकमा दलित अधिकारका लागि आउन तयार नहुने अनि दलित शब्द नै दलित समस्या हो भनि शब्दमा दोष देख्न थाल्ने, दलित शब्दलाई समस्या देख्न थाल्ने ? यस्तो किसिमको दलित आन्दोलनको मनोवादी चरित्रलाई सच्याउनु पर्छ । दलित समुदाय सच्चिनु पर्छ र दलित आन्दोलनका कार्यक्रमहरु सच्याउनु पर्छ । हामी नेता बन्न खोज्ने, बलिदान अरुले गरिदिनुपर्ने कसैको राजनीतिक स्वार्थपूर्तिका लागि, कसैको मृत्युमा कोही कसैलाई दोसल्ला ओढाएर सम्मानित गरिदिनु पर्ने । दलित आन्दोलन सामाजिक सञ्जालका भित्ताहरुमा कराएर सफल हुँदैन । यदि हामीले साँेचेको दलित अधिकार प्राप्त गर्ने हो भने नेपाली दलित आन्दोलनको चिन्तन र चरित्र परिवर्तन गर्नै पर्छ । सामाजिक सञ्जालमा बडो दार्शैनिक देखिने, बडो बौद्धिकता र साहित्यकार बन्न खोज्ने साथीहरुलाई एउटै प्रश्न राख्न चाहन्छु कि तपाई र तपाईको परिवार दलित हक अधिकारका लागि कति पटक सडकमा आउनु भएको छ ? उत्तर छ दलितहरुको नाममा राज्यको सेवा सुविधा प्रयोग गरिरहेका दलित अगुवा र राजनीतिकर्मीहरुलाई सोध्न चाहन्छौं तपाईको छोराछोरी र श्रीमतिहरु कुनै आन्दोलनमा टाउकोमा दलित शब्द लेखेको फेटा बाँधेर सडकमा हिडेका छन् ? नन्दबहादुर पुनलाई कसैले जनजातीको केटो भनेर उपराष्ट्रपति बनाइदिएको वा ओनसरी घर्तिलाई कसैले जनजाती महिला भनेर सभामुख बनाई दिएको हो । यदि सम्मानजनक राज्यमा हिस्सा खोजेको हो भने दलित आन्दोलनलाई पनि जनजाती आन्दोलन, मधेस आन्दोलन, महिला आन्दोलन जस्तै सशक्त र प्रभावकारी बनाउन लागौं, बौद्धिक साथीहरु जुटांै र पढेलेखेका दलित युवाहरु जुटौं । कम्फर्ट जुनमा बसेर दलित समस्या हल भएको देख्ने चाहना हो भने दलित शब्द परिवर्तन त के सिङ्गो देश र समाजकै नाम परिवर्तन गर्नुहोस यो समस्या जस्ताको तस्तै रहन्छ । तपाईको सन्तानका लागि कसैले सडकमा लडिदिओस् भन्ने चाहना छ भने माफीका साथ भन्न चाहन्छु, तपाई हाम्रा सन्तानले हाम्रो पुस्तालाई नै सराप्ने छ ।
दलितहरुको नाममा राज्यको सेवा सुविधा प्रयोग गरिरहेका दलित अगुवा र राजनीतिकर्मीहरुलाई सोध्न चाहन्छौं तपाईको छोराछोरी र श्रीमतीहरु कुनै आन्दोलनमा टाउकोमा दलित शब्द लेखेको फेटा बाँधेर सडकमा हिडेका छन् ?दलित अगुवाहरुको सुनियोजित प्रोपोगाण्डा दलित शब्दलाई शिल्पी बनाएर सम्मानित हुने कुरा अवैज्ञानिक मात्र होइन उच्चजाति बन्ने अहंकार भएका दलित बाठाहरुको सुनियोजित प्रोपोगाण्डा हो । बरु अपिल गर्न चाहान्छु, दलित समस्यालाई सिङ्गो दलितको मुद्दा, सिङ्गो मानव अधिकारको मुद्दा र सिङ्गो राष्ट्रको मुद्दा बनाउनतिर लागौं, तपाईँ हाम्रै समयमा दलित समुदायले भोगेको उत्पीडन र विभेदको अन्त्य गरौं । सिङ्गो बौद्धिक जगत, आन्दोलनसँग जोडिएका क्षेत्रको दयित्व बन्न आएको छ । विभेद र उत्पीडनविरुद्धको अभियान थालनी गर्ने उठान गर्ने समुदायलाई संगठित गर्ने दायित्व सचेत, शिक्षित र शहरी उत्पीडितहरुको हो, तर दलित आन्दोलनमा ठीक उल्टो दृश्य देखिएको छ । ग्रामीण र अशिक्षित दलित समुदायबाट दलित आन्दोलनको विकास होस् भन्ने अपेक्षा सहरिया र बौद्धिक पढेलेखेका दलित समुदायले राख्दछ । विश्व इतिहासमा विभेदमा परेका समुदायले कसरी सामाजिक न्याय प्राप्त गर्न सफल भए, दलित समुदायले पनि आफूले निर्माण गरेका विद्धमान सामाजिक राजनीतिक संरचनाको पुनर्गठन गर्न सक्ने कि नसक्ने दलित आन्दोलनको यक्ष प्रश्न बनेर आउँछ । अफ्रिकामा मण्डेलाको नेतृत्वमा निर्माण गरेका उत्पीडितहरुको राजनाीतिक संरचना हुन् वा अमेरिकी काला जातीका समुदायले निर्माण गरेका संगठन हुन् वा भारतीय भूमिमा अम्बेडकरको प्रयासलाई नेपाली दलित आन्दोलनले पुर्न अध्ययन गर्नैपर्छ । राजनीतिक दलका दलितहरु सिंगो दलित समुदाय विभिन्न बाहानामा विभाजित छ । एउटै घरमा दाई एमाले छ भाई काँगे्रस, बाउ राप्रपा, कोही पहाडिया दलित, कोही मधेशी त कोही नेवार दलित, कोही माओवादी दलित, कोही एमाले दलित, कोही कांग्रेस दलित त कोही नयाँ शक्तिका दलित बनेका छौं । यस्तै, कोही बैद्यका दलित, कोही चन्दका, कोही प्रचण्डका दलित तथा कोही शेरबहादुरका दलित, कोही बाबुरामका दलित कोही ज्ञानेन्द्रका दलित कोही लोकेन्द्र बहादुरका दलित कोही कमल थापाका दलित कोही केपी ओलीका दलित त कोही माधव, झलनाथका दलित अरु विभिन्न नाममा विभाजित दलित समुदायले अपेक्षित प्रतिफल प्राप्त गर्न कसरी सक्छ त ? जव दलितहरु अछुत र शुद्र थिए, हामीले भोग्ने पीडा र विभेदले सवैको मन पोल्थ्यो, जब त्यो समुदाय दलितमा रुपान्तरित हुदै गर्दा विभिन्न जातीमा विभाजित पनि भयो । हामी कामीको पीडालाई दमाईले टुलुटुलु हेरेर बस्ने, सार्कीको पीडालाई कामीले हेरेर बस्ने अनि दोष पुर्खा र धर्मलाई थोपर्दै गयौं भने हामी दलित दलितबीचको विभेदले दलितहरु झन कमजोर मात्र होइन निरिह समेत बन्नेछन् । दलित आन्दोलनको कमजोरी विभिन्न कालखण्डमा प्रमाणित भएका छन् । नेपाली राजनीतिले दलित समुदायलाई समाजको नजरबन्दबाट बाहिरसम्म ल्यायो तर सामाजिक उत्पीडनका विभिन्न जेलहरुमा दलित समुदायलाई राखिरहन नेपाली राजनीति सफल भयो । दलित समुदायले राजनीति पार्टीलाई कम्फर्ट जोनको रुपमा प्रयोग गर्दै दलित समुदाय भित्रको सिमित बर्गको राजनैति स्वार्थपुर्ति गर्ने माध्यम बनाई रह्यो । जसको असर अहिले पनि नेपाली दलित राजनीतिमा र प्रत्यक्ष दलित आन्दोलनमा देखिएको छ । त्यसैले यी नेपाली राजनीतिक पार्टीहरु दलित समुदायका सवालमा राजनीतिक बन्दिगृह हुन् । यी राजनैतिक बन्दिगृहमा बसेका दलित राजनीतिकर्र्मीहरु यी बन्दि गृहलाई नै सुरक्षित स्थान ठानिरहेका छन् । नेपालको दलित आन्दोलनमा प्रभावकारिता हराउदै जानुमा दलित शब्द होइन, बरु दलितको नाममा राजनीति गर्न खोज्ने राजनीतिकर्मीहरुले सिंगो दलित समुदायलाई विभिन्न पार्टीको मातहतमा लिई दलित समुदायका मुद्दाहरु राजनैतिक हिरासतमा पु्याएका छन् । दलित मुद्धाहरुलाई पार्टीको तामेलीमा राखेर राजनीतिक अवसरको पर्खाइमा रहेका छन । दलित राजनैतिकर्मीहरुले न दलित समस्या आफु आवद्ध पाटीको मुद्धा बनाउन सक्छन् न भातृ संगठनहरुले स्वायत्तरुपमा दलितका मुद्धाहरुका सवालमा निर्णय गर्न सक्छन् । त्यसैले नेपाली दलित आन्दोलनको प्रभावकारिताको पर्खाईमा रहेका सवै साथीहरुले पहिले सवै राजनैतिक पार्टीहरु सँगको राजनीतिक र बैचारिक विचारलाई विच्छेद गर्दै दलित समुदायको बैकल्पिक राजनीतिक संगठन बनाएर अगाडि बढ्दै, दलित आन्दोलनलाई उत्पीडितहरुको मौलिक आन्दोलनको रुपमा विकास गर्दै नयाँ प्रयोग गर्नु अहिलेको आवश्यकता बनेको छ । अनावश्यक रुपमा शब्द परिवर्तनको पछाडि लाग्नु भन्दा दलित समुदायमा रहेको राजनैतिक चिन्तन परिवर्तन गर्नतिर लाग्नु आवश्यक छ । हिन्दु धर्म परिवर्तनको बहस हिन्दु धर्म परिवर्तनको बहस पनि असशिान्दर्भिक छ । दलितप्रतिको व्यावहार समाजको र सामाजिक मुल्य मान्यतामा आधारित छ । यी सबै कुराहरु सामाजिक चिन्तन सँग जोडिएका छन् । त्यसैले, हामीले समाज परिवर्तन गर्न सक्छौ, धर्म परिवर्तन गर्न सक्छौ, नाम परिवर्तन गर्न सक्छौ, थर परिवर्तन गर्न सक्छौ तर समाज र राज्य र नागरिकको चिन्तनमा परिवर्तन आउदैन भने यी सवै परिवर्तनहरु फिक्का र अर्थहिन हुन्छन् । दलित समस्या दलित शब्दमा होइन नागरिक, समाज र राज्यको चिन्तनसँग जोडिएको समस्या हो । त्यसैले आफ्नो आफ्नो ठाउँबाट प्रभावकारी, सम्मानित र सिङ्गो दलित समुदायको आत्मसम्मानसहितको दलित आन्दोलनमा नै जोड दिउँ र यसैलाई निर्णयक आन्दोलनको रुपमा अगाडि बढाउँ । आन्दोलनकै माध्यमबाट दलित शब्दलाई वजनदार सम्मानित शब्दको रुपमा बिकास गर्ने अभियानमा लागौं । जसरी कालाहरु सम्मानित बने, उत्पिडितहरु संघर्षकै माध्यमबाट आत्म सम्मानित बने त्यसैगरि नेपाली माटोमा रहेको दलितप्रतिको सामाजिक घृणा, दलितप्रतिको राज्यको विभेदविरुद्ध एकीकृत दलित आन्दोलनको उदघोष गरौं । रुपान्तरणबाटै अधिकार प्राप्तिको आन्दोलनलाई प्रभावकारी र सशक्त बनाउने अठोटका साथ अगाडि बढौं । दलित भएकोमा आत्मग्लानीलाई, हिनतालाई आत्मसम्मान र आत्मविश्वासमा बदल्दै दलित अधिकार प्राप्तिको महान अभियान नयाँ शीराबाट सुरु गरौं ।
प्रतिकृया लेख्नुहोस्: