बरु नकारात्मक र भ्रम छिर्नेहरुको संगठन र सञ्जाल व्यवस्थित भयो । बोल्नेको पीठो बोक्ने नबोल्नेको चामल नबिक्ने जस्तो भयो ।भर्खर पार्टी एकता भएको थियो, त्यसलाई मिलाउन नपाउँदै म चाहिँ सरकारमा आएँ । सरकारकै काममा बढी केन्द्रीत भएँ । तर संगठन चाहिँ झण्डै झण्डै अस्तब्यस्त अवस्थामा रह्यो । गएको एक डेढ महिनामा मात्रै होला, यो निर्माण भएर अलि अलि चल्न थालेको । यसले जनतामा यथार्थ कुरा के हो भन्ने बुझाउन सकिएन । गरेका राम्रा कामको पनि जनतामा सही किसिमले बुझाउने, प्रचार गर्ने र संगठनको जालो जनतासम्म फिजाउने काम हुन सकेन । बरु नकारात्मक र भ्रम छिर्नेहरुको संगठन र सञ्जाल व्यवस्थित भयो । बोल्नेको पीठो बोक्ने नबोल्नेको चामल नबिक्ने जस्तो भयो । त्यसैले संगठनलाई बलियो बनाउने र जनतामा जाने कुरालाई व्यवस्थित गर्नुपर्ने कुरा अहिले पनि जरुरी छ । यो सकिएन भने जति राम्रो काम गरेपनि जनताले जे थाहा छ, त्यही अनुसार गर्नु स्वभाविकै रहेछ । तर काठमाडौंमा त जनताले सरकारका कामको प्रत्यक्ष अनुभूति नै गरे । तैपनि भोट आएन नि ? अब काठमाडौंमा जस्तो वर्ग समुदायको बढी अवस्थिति छ, त्यसले गर्दा यहाँको भोट असाध्यै फ्लोटिङ, अलि सेन्टिमेन्टल रहँदै आएको छ । विगत देखि नै यस्तो देखिन्छ । एउटालाई दोहोर्याएर जिताएको देखिँदैन काठमाडौंमा । दोहोर्याउन नै चाहँदैनन् । पार्टी पनि दोहोरिन्न, पात्र पनि दोहोर्याउन चाहन्न । यो विचित्रको ट्रेण्ड छ । मलाई त लागेको थियो, अहिले माओवादी नेतृत्वको सरकारका कारण लोडसेडिङ मुक्त भएको छ, बाटो फराकिलो भएर दुर्घटनाबाट जोगिएको छ । यसअघि माओवादीकै सरकारका पालामा यसरी बाटो फराकिलो नभएको भए भूकम्पको बेला झन बढीको मृत्यु हुन्थ्यो । त्यसबाट धेरै जोगायो । लोडसेडिङको अन्त्यले जनता र आर्थिक क्रियाकलापमा ठूलो फाइदा पुर्यायो । यी लगायत ट्राफिक व्यवस्थापन, लाइसेन्स, स्वास्थ्यसम्बन्धित कैयन् सुविधा यहाँकै जनताले पाएका छन् । यो हिसाबले यहाँका जनताको लहर माओवादीका पक्षमा आउनुपर्ने तर त्यता छोडेर जनता चाहिँ अर्कै अर्कै ढंगले गएको देखियो । यसलाई काठमाडौंको विशेषता भनौं । तर यसमा काठमाडौंका जनतालाई दोष दिनुभन्दा हाम्रो संगठनको पनि कमजोरी छ । हामीले बस्ती बस्ती टोल टोलमा पुगेर शुरुदेखि नै पार्टीलाई पुर्याइराख्ने, आफ्ना कुरा भनिराख्ने गर्न नसक्दा भ्रम छर्नेहरुले भ्रम छर्न सफल भए । माओवादीप्रति युद्धकालदेखिकै पूर्वाग्रहका कारण पनि कतिपय स्थानमा भोट पाएनन् भन्ने तर्क पनि छ । त्यो मलाई लाग्दैन । माओवादीप्रति फोबियाले नै काम गथ्र्यो भने त पहिलो संविधानसभाको चुनावमा त्यसको असर पर्नुपर्ने हो । काठमाडौंकै जनताले माओवादीलाई जिताएका हुन । कुरा के हो भने भ्रम छर्नेहरुले व्यवस्थित ढंगले भ्रम छरे, हामीले त्यसलाई चिर्न सकेनौं भन्ने मेरो निश्कर्ष हो ।
प्रतिकृया लेख्नुहोस्: