Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

माओवादीले सिंहदरबार घेर्दा सेना मार्चपास गर्दै थियो : नेपाल

\"\"तपार्ईंं प्रधानमन्त्री हुनुअघि कस्ता योजना लिएर सिंहदरबार र बालुवाटार जानुभएको थियो ? बल्खु पार्टी कार्यालयबाट हेर्दा र सिंहदरबारबाट हेर्दा देश कस्तो देख्नुभो ? मुलुकको कार्यकारी प्रमुखको हैसियतमा विकास गर्ने अन्तिम जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा हुन्छ । किनभने, एउटा प्रधानमन्त्रीले सिंगो देशको अनुहार फेर्न सक्छ । तर, ऊसँग प्रस्ट योजना र कार्यक्रमसँगै ‘डिटरमिनेसन’ हुनुपर्छ । अनुकूल वातावरण तयार गर्नका लागि वातावरण पनि हुनुपर्‍यो । प्रधानमन्त्री बन्यो, तर बहुमत छैन । आज कि भोलि सरकारबाट बाहिरिनुपर्ने मनस्थिति छ भने त्यस्तो अवस्थामा चाहेजति र गर्न सकिने काम पनि गर्न सकिँदैन । तर, हुने बिरुवाको चिल्लो पात भनेझैँ गर्न चाहने र नचाहनेमा धेरै फरक पर्छ । इच्छाशक्ति हुनेले काम सुरु गर्छ, बाटो देखाउँछ । जुन कदम चाल्छ, त्यो देश, जनता र समाजको हितमा हुन्छ । समाजको समग्र रूपान्तरणको हितमा हुन्छ । ०४७ सालमा संविधान सुझाब आयोगको सदस्य हुँदादेखि नै मैले सिंहदरबारबाट देशलाई हेर्ने र कस्तो मुलुक बनाउने भन्नेबारेमा बुद्धिजीवीसँग छलफलको शृंखला अगाडि बढाएको थिएँ । ‘भिजन नेपाल ट्वान्टी–ट्वान्टी’ भन्ने पुस्तक मेरै निर्देशनमा, मेरै संलग्नतामा पार्टीले प्रकाशन गर्‍यो । २० वर्षमा मुलुक कहाँ पुर्‍याउने, पुस्तकमा विस्तृत योजना अघि सारिएको थियो । तर, अन्य कुनै पनि दलले आजसम्म एमालेको यस्तो शैलीलाई पछ्याएका छैनन् । मुलुकलाई केन्द्रबिन्दुमा राखेर, बौद्धिक शक्तिलाई परिचालन गरेर देशमा केन्द्रित भएर छलफल गर्ने र मार्गचित्र तयार गर्ने पहल कसैले पनि गरेनन् । प्रधानमन्त्री हुँदा माओवादीले दुःख दिँदा मैले प्रस्ट सन्देशका साथ भनेको थिएँ– म अमरसिंह थापा बसेको कुर्सीमा बसेको छु । यो देश जोगाउने जिम्मेवारी प्रधानमन्त्रीको रूपमा मेरो काँधमा छ । यताउता कुनै सम्झौता हुन सक्दैन । राज्यलाई कमजोर ठान्ने काम नगर्नुस्, अन्यथा मैले कडा कदम चाल्नुपर्ने हुन्छ । प्रचण्डजीले माधवजी तपार्ईंंको मुखबाट पनि यस्तो तमासाको कुरा आउने ? भन्नुभो । तर, मैले प्रधानमन्त्री पदको कुनै अर्थ हुँदैन ? शक्ति प्रदर्शनको कुनै अर्थ हुँदैन ? भन्ने सोचेँ । त्यसैले हुने बिरुवाको चिल्लो पात भनेझैँ समय पाउनेले धेरै गर्न सक्छ भन्ने मलाई लाग्छ । कुनै दाग नलागी स्वच्छ ढंगले गर्न खोजेको काम गर्न सकियो र सबैकोे साथ रह्यो भने कुनै पनि प्रधानमन्त्री सफल हुन्छ । प्रधानमन्त्रीमा शपथ खाएकै दिनदेखि तपार्ईंंलाई माओवादीले अस्वीकार गर्‍यो, आन्दोलनलाई निरन्तरता दिँदै ६ दिनसम्म आमहडताल गर्‍यो । ताप्लेजुङदेखि दार्चुलासम्मको मान्छे काठमाडौंमा जम्मा भएका थिए । कतिखेर के हुन्छ भन्ने टुंगो थिएन । गोली चल्छ कि, दुई पक्षबीच झडप हुन्छ कि भन्ने संशय थियो । मन्त्री बिहान ४ बजे सिंहदरबार जानुपर्ने अवस्था थियो । यस्तो अवस्थामा पनि नागरिक अगुवाहरू वार्ताका लागि मध्यस्थता गर्न खोजिरहेका थिए । तर, सफल भएनन् । तपार्ईंंले त्यो अवस्थालाई कसरी अवलोकन गरिरहनुभएको थियो ? त्यतिवेला अवलोकन गरेको होइन । मैले निर्देशन दिएको हो । धेरै मुठभेडको अवस्था नआओेस् भनेर ‘एभोइड’ गरेँ । कुनै किसिमको आरोप हामीलाई लगाउने अवस्था नआओस् भन्नेमा म सचेत थिएँ । आन्दोलनमा बल प्रयोग नहोस् र कुनै क्षति नहोस् भन्नेमा म थिएँ । म प्रधानमन्त्री हुँदा हाम्रा केही साथीहरूले भन्नुभएको थियो–तपार्ईंंलाई माओवादीले प्रधानमन्त्रीका रूपमा स्वीकार नगर्ने भए भनेर । नोकरसँग होइन, मालिकसँग वार्ता गर्छु भन्छन् । अवैधानिक हो भन्छन् । यस्तो अवस्थामा प्रधानमन्त्रीको कुर्सीमा नबस्नुस्, छोड्दा नै फाइदा हुन्छ पनि भने । मैले हेर्दै जानुस्, प्रचण्ड र बाबुराम सँगसँगै बालुवाटार आउँछन् र मसँगै खाना खान्छन् भन्ने जवाफ फर्काएको थिएँ । उहाँहरूले फेरि भन्नुभयो–सिंहरदबार त नछिर्ने भनेका छन्, बालुवाटार कसरी छिर्लान् ? मैले फेरि भनेँ, यो हेर्दाहेर्दै हुन्छ । म देखाइदिन्छु भनेँ । आखिर देखाइदिएँ पनि । किनकि, प्रचण्डसँगको मेरो दोस्ती कतिसम्म छ भन्ने मलाई थाहा थियो । माओवादीलाई मैले धेरै पहिलेदेखि राम्रोसँग बुझेको थिएँ । अनमिन नेपालबाट गयो भने यहाँ रक्तपात हुन्छ भनिएको थियो । तर, मैले यहाँ अनमिन जाँदा केही हुँदैन भनेँ । अनमिन जाँदा यहाँ एक थोपा रगत पनि बग्दैन भनेको थिएँ । मैले अनमिनलाई भनेको थिएँ– तिमीहरू तीन वर्षदेखि माओवादीलाई जान्दछौ, तर म त ३० वर्षदेखि माओवादीलाई जान्दछु, चिन्दछु । नेपालको बारेमा मलाई जति जानकारी छ, तपार्ईंहरूलाई हुँदैन । तपार्ईंहरू आनन्दले जानुस् । नेपालमा एक थोपा रगत पनि बग्दैन भनेर पठाएँ । माओवादी लडाकुको पनि हल हुन्छ भनेर यस्तो अडान पटक–पटक दोहोर्‍याएको छु । माओवादीसँग भेट्दा, कमल थापाको चुनौती आएको वेला, राज्यविरुद्धको अपराधको मुद्दामा फसाउँछु भनेर गरिएको घोषणा हुँदा, दाङबाट हिम्मत छ भने मलाई समाएर हेर भन्ने चुनौतीका साथ गरिएको उद्घोषका सन्दर्भमा म निरन्तर आत्मविश्वासका साथ प्रस्तुत भएँ । तसर्थ, मैले जुन काममा हात हालेँ, त्यो काम सबै पक्षबाट पार लगाउन सकिन्छ, हिम्मत भयो भने राम्रोसँग अघि बढ्न सकिन्छ । सडकमा संशय थियो । नेतृत्वमा ‘ब्याकडोर’बाट सधैँजस्तो हुने संवाद त्यतिखेर थियो कि थिएन ? ६ दिनपछि माओवादीले आन्दोलन फिर्ता नलिएको भए त्यसपछिको तपार्ईंंको प्रबन्ध के थियो ? संवाद जारी राख्ने, आन्दोलनलाई तन्किन दिइरहने वा बल प्रयोग गर्ने ? मैले प्रचण्डलाई एउटा शब्द भनेको थिएँ । पुलिस छ, सशस्त्र प्रहरी छ, त्यति मात्र होइन, राज्यसँग सेना पनि छ । मलाई सेना परिचालनका लागि बाध्य नबनाउनुस् । प्रधानसेनापतिलाई सेना परिचालन गर्नुस् भनेँ । परिचालनको पहिलो कदमका रूपमा राष्ट्रपतिको भवनवरिपरि, प्रधानमन्त्रीको निवास, सिंहदरबारको वरिपरि सेनालाई मार्चपास गराउन निर्देशन दिएँ । सेनाले मार्चपास पनि गरे । यो के गरेको भन्ने आयो, मैले भनेँ, यो पहिलो ‘स्टेप’ हो । राज्य झुक्न थाल्ने हो भने, आठ लाख मान्छे ल्याएर प्रधानमन्त्री फाल्दिन्छु भन्ने हो भने त्यो कस्तो प्रधानमन्त्री हुन्छ ? यस्तो हिम्मतहारा प्रधानमन्त्रीले कुर्सीमा बस्न सुहाउँदैनथ्यो । मैले भनेको थिएँ– मुठभेड, रक्तपात सबैलाई ‘एभोइड’ अस्वीकार गर्नुपर्छ । मन्त्रीलाई राति ३ बजे, २ बजे, ४ बजे, १२ बजे जतिखेर पनि आउनुपर्छ । म पनि मूलबाटोबाट आउँदिनथेँ । तर, अर्को बाटो आउँथेँ । जतिखेर पनि सिंहरदबारमा प्रधानमन्त्री आउनुपर्छ भन्नेमा थिएँ । मलाई सम्झना छ । घेराउ भइरहेको वेलामा अमिक शेरचनले विवरण बताउनुभएको थियो । उहाँले दक्षिण ढोकाबाट घेराउको नेतृत्व गरिरहनुभएको थियो । उहाँसँग भएका चर्का कार्यकर्ता गेट तोड्नका लागि उद्यत् थिए । अचानक पुलिसलाई संयमित हुन भनिरहेको थिएँ, गृहमन्त्री भीम रावलजीलाई भनिरहेको थिएँ । त्यही वेलामा उहाँकै कार्यकर्ताले कमरेड पूर्वी ढोका तोडिसकियो, यो दक्षिण ढोका किन नतोड्ने भनेछन् । शेरचनजीलाई पनि धकेल्दैधकेल्दै गेटसम्म पुर्‍याइएछ । रोक्न खोज्दा पनि भीडले मानेनछन् । त्यो वेला प्रहरीलाई चार्ज गर्न निर्देशन दिनैपर्ने भयो । तर, चार्जमा शेरचनजी पर्नुभयो । उहाँको हातखुट्टा भाँचियो । मेरो मित्र पनि हो । सात दलीय गठबन्धनको एउटा नेता उहाँ हुनुहुन्थ्यो । म तुरुन्तै बालाजुको मैत्री अस्पताल पुगेँ । हातखुट्टा भाँचिएको थियो । उहाँले कमरेड म तपार्ईंंंलाई दोष दिन्नँ । सरकारले संयम अपनाएकै हो । हाम्रै कार्यकर्ताले ठेले, मै अगाडि हुँदा मैलाई हिर्काए भन्नुभयो र यस्तो हालत भयो भन्नुभयो । त्योभन्दा पहिलै गिरिजाबाबुको पालामा हतियारसहितको माओवादी सेना सिंहदरबार छिर्न खोज्दा इन्स्पेक्टरले समाउँदा उनीहरूलाई पुरस्कृत गरिएन । उल्टै कर्णालीमा सरुवा गरियो । यस्तो कदमलाई मैले गलत काम भएको छ भनेँ । मैले हतियारसहित माओवादी निस्कन्छन् भने समात्नुपर्छ । समात्ने प्रहरीलाई पुरस्कृत गर्नुपर्छ । कपिलवस्तुमा हतियार बोकेर ट्रकमा हाइवेमा हिँड्नेलाई सशस्त्र प्रहरी लगाएर समायो, थुनियो, हतियार खोसियो । लगत्तै अनमिनका मान्छे उनीहरूको कुनै दोष छैन, किन समातियो भनेर पुगे । मैले अनमिनको कुरा सुनिनँ । उनीहरूलाई थुनिराख्न भनेँ । प्रचण्डजीले फोन गर्दै– ‘माधवजी ठूलो गल्ती भयो, हाम्रा साथीहरूले बुझेनन् । म जहाजबाट भैरहवामा आउँदा स्वागत गर्न उनीहरू खाली हात आएका भए हुने, हतियारसहित आएछन् । एकचोटिको गल्तीलाई माफ गर्दिनुस् ।’ तर, अनमिनले भन्छ– उनीहरूको कुनै गल्ती छैन । त्यहीवेलादेखि अनमिनप्रति मेरो विश्वास रहेन र बिदा गर्नैपर्छ भन्ने सोचेँ । प्रचण्डजीले ११ पटक फोन गर्नुभयो । दोस्रोपटकदेखि यसरी भेटिए जे सजाय दिए पनि हुन्छ, यसपटक साथीहरूले गल्ती गरे भन्नुभयो । भीम रावल गृहमन्त्री हुनुहुन्थ्यो । राति ११ बजे अनमिनको मान्छेले हतियार हेर्छु भनेछ । हतियार देखाउन टेबलमा राख्दा, माओवादीका सेना हाम्फाल्दै हतियार समाएर पोजिसन देखाउन थाले । तुरुन्तै जनपद प्रहरीको त्यो चौकीलाई सशस्त्रले घेरा गर्न निर्देशन दिइयो । आर्मी चिफलाई पनि तयार हुनुस् भनेँ, केही घटना त्यहाँ भयो भने त्यहाँ कसरी जाने भनेर । तसर्थ, राज्य चलाउने भन्ने कुरा छिटो निर्णय गर्नुपर्छ । के गर्दा प्रभावकारी हुन्छ, के गर्दा तरिका पनि पुग्छ । लचकता र कडाइ राज्य चलाउँदा आवश्यक हुन्छ । संवाद पनि थियो । सम्बन्ध र विश्वास पनि थियो, यस्तो अवस्थामा यस्ता पक्षले पनि गर्दोरहेछ । जेठ १४ को अन्तिम घडीमा संविधानसभाको म्याद थपिने-नथपिने संशयबीच तपार्ईंले एउटा सहमतिपछि राजीनामा दिनुभयोे र म्याद पनि थपिएको हो भन्ने चर्चा छ । खासमा त्यसभित्रको सहमति के थियो ? प्रस्ट पारिदिनुस् न । हेर्नुस्, त्यो मान्यतासँग म अहिले पनि असहमत छु । हाम्रा साथीहरूले त्यसवेला खुट्टा कमाउनुभो । स्मरण गराउँ, मलाई बोलाएको बोलायै गर्दा पनि म त्यतिवेला सिंहदरबारबाट संविधानसभा भवन बानेश्वर जाँदै गइनँ । म आफ्नै अडानमा बसेँ र भनेँ, ‘प्रचण्डजी, आउने हो भने यहीँ (सिंहदरबार) आउनुपर्छ । संविधानसभाको म्याद थप्ने हो भने पनि मैले होइन, उहाँले पहिला आग्रह गर्नुपर्छ ।’ तर, हाम्रा साथीहरू संविधानसभा जान्छ कि, भंग हुन्छ कि भनेर आत्तिनुभएछ । त्यस्तो आन्तरिक दबाबका कारणले गर्दा संविधानसभाको म्याद थप्न सहमत भएको हुँ । राजीनामा गर्ने कागजमा सही नगर्ने अडानका लागि कडा मान्छे पठाएँ, तर त्यहाँ (वार्ता)मा त उहाँ लुलो भइदिनुभएछ । अरू त लुला छँदै थिए, तर दरा भनेर पठाएको, ती आफैँ लुला भइदिएछन् । म रिसाएँ, तर हस्ताक्षर गरिसकेपछि गर्ने के ? गरिसक्या छ । प्रचण्डजीले तपार्ईंंं राजीनामा गर्नुहुन्छ भन्नुभएको थियो, तर वास्तवमा परिस्थिति त्यस्तो (राजीनामाको) थिएन । खासमा म पार्टीभित्रको आन्तरिक कारणले दिक्क भइसकेको थिएँ । भित्रै स्थिति राम्रो छैन भने किन बस्ने ? संसद्का २५ मध्ये ३ पार्टी मात्रै त्यतिवेला मेरो विरोधमा थियो । बाँकी २२ पार्टी समर्थनमा थिए । उनीहरू कोही पनि राजीनामाको पक्षमा थिएनन् । विजय गच्छदार, सुजाता कोइरालालगायतलाई बोलाएर कुरा गरेँ, तर राजीनामाका लागि कसैले मानेनन् । तर, पछि पार्टीभित्रै पनि आरोप लाग्यो– छाड्ने वेला हामीलाई सोध्नुभो ? अनि के म सोध्छु ? छोड्ने मान्छेले सोध्दै सोध्दैन । ०६४ को निर्वाचन परिणामपछि महासचिव पद छाड्दा पनि मैले कसैलाई सोधेको होइन । प्रधानमन्त्रीबाट राजीनामा दिने वेला पनि मैले त्यही दिनको दिउँसोको स्थायी समिति बैठकमा मात्रै जानकारी दिएँ – म छाड्दै छु, आज ४ बजे । कसैले निर्णय गरेपछि अब छोड्नुस् या छाड्ने भए तपार्ईंंहरूको सुझाब के छ ? भन्दै राय लिएर छोडेको होइन । जब त्यहाँ (सरकार) भित्र बसेर काम गर्ने वातावरण छैन, भित्रैबाट खुट्टा तानातान भइरहेको छ भने बसेर मात्रै के चाहिँ गर्न सकिन्थ्यो र ? प्रतिपक्षले प्रधानमन्त्रीको विरोध गर्ने त संस्कारै छ । तर, प्रधानमन्त्री हुँदा पार्टीभित्रैबाट सहयोग नहुने गरेको कांग्रेस, एमाले, माओवादीभित्रैबाट गुनासो आउँछन् । प्रधानमन्त्रीलाई आफ्नै दलभित्रको असहयोग कतिको चुनौती हो जस्तो लाग्छ ? यो राष्ट्रिय रोग हो । प्रधानमन्त्रीबाट हटिसकेपछि मैले जोसुकै प्रधानमन्त्री भए पनि काम गर्ने वातावरण निर्माण गर्नका लागि मुलुकको नेतृत्व गरिसकेका पूर्वप्रधानमन्त्रीहरूको एउटा छुट्टै क्लब निर्माणको पहल थालेँ । किनभने, मुलुक अघि बढे मात्रै हामी सबैको इज्जत र सम्मान हुने हो । मैले प्रस्ताव राखेँ– विकास निर्माण र राज्य सञ्चालनमा रहेका त्रुटि खोजौँ, जोसुकै प्रधानमन्त्री भए पनि सहयोग गर्ने नीति अवलम्बन गरौँ । क्लब निर्माणका लागि तयार पारिएको लिखित प्रस्तावमा मैले ६ वटा कुरालाई प्राथमिकतामा राखेको थिएँ । आर्थिक, सुशासन र सामाजिक पक्षलगायतका विषय समेटिएको थियो त्यसमा । पहिलो, भ्रष्टाचारविरुद्धको एकता । दोस्रो, विकास निर्माणमा विवाद नगर्ने, अघि बढ्न सहयोग गर्ने । तेस्रो, महिला हिंसाप्रति शून्य सहनशीलता राख्ने । चौथो, छुवाछुत प्रथा समाप्त पार्न एकजुट भएर अघि बढ्ने । पाँचौँ, वातावरण संरक्षणका लागि वृक्षरोपण अभियान चलाउने । छैटौँ, परराष्ट्र नीति र सुरक्षा नीतिमा एउटै राय बनाउने । यी सबै विषयमा जोसुकै प्रधानमन्त्री हुँदा पनि सहयोग गर्न सकियो भने देश विकास सम्भव छ । त्यही सिलसिलामा पहिलो बैठक मैले मेरै घरमा बोलाएँ । प्रचण्ड, शेरबहादुर, सूर्यबहादुर, लोकेन्द्रजी, झलनाथजी सबै आउनुभो । त्यतिवेला बाबुरामजी प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले मलाई पनि बोलाउनुस् भन्नुभएको थियो तर, बहालवाला प्रधानमन्त्री भएका कारण बोलाइएन । मैले सुझाब लिनका लागि सबैलाई लिखित प्रस्ताव दिएँ । पहिलो बैठक निकै सौहार्दपूर्ण रूपमा सम्पन्न भयो । त्यसपछि प्रत्येक प्रधानमन्त्रीको घरमा पालैपालो बैठक बस्ने नियम बनाइयो । सबैको घरमा पालैपालो बस्दा हिस्सेदारी पनि महसुस हुनेभो । मैले नै त्यसपछिको बैठक शेरबहादुरजीकोमा राख्ने प्रस्ताव राखेँ । उहाँ तात्ने खालको मान्छे त होइन, मेरै पहलमा अर्को बैठक उहाँको निवासमा बस्यो । तर, त्यो बैठकमा सबै आए पनि प्रचण्डजी आउनुभएन । तेस्रो बैठकको पालो सूर्यबहादुरजीको घरमा थियो । तर, त्यो बैठकमा पनि प्रचण्डजी आउनुभएन । लोकेन्द्रजीको निवासको बैठकमा पनि उहाँ आउनुभएन । खासमा त्यो योजना प्रचण्डजीले नै असफल पार्नुभएकोमा उहाँप्रति मेरो गम्भीर गुनासो छ । अर्को बैठक झलनाथजीकोमा बस्ने भन्ने थियो । त्यसपछि मेरो पालो आउँथ्यो । मेरो चाहिँ कडा स्वभाव छ, मैले बोलाउँदा कोही आएन भने म पनि उसकोमा जाँदै जान्नँ । तर, सबैको हालत देखेपछि मलाई पनि जाँगर लागेन, उत्साह घट्यो । पछि म पाकिस्तान भ्रमणमा जाँदा अनुभव साटासाट गर्ने क्रममा यो प्रसंगले प्राथमिकता पायो । पूर्वप्रधानमन्त्रीहरूबीच अनुभव आदान–प्रदान गर्दै गर्दा सबै सहभागी उत्साही भए । तपार्ईंंले त राष्ट्रियस्तरमै सोच्नुभएछ, त्यसैले यसलाई दक्षिण एसियालीस्तरकै क्लब किन नबनाउने भन्ने प्रस्ताव आयो । भारत, पाकिस्तान, नेपाल, बंगलादेश र भुटानका पूर्वप्रधानमन्त्रीहरूको त्यो बैठकले दक्षिण एसियालीस्तरकै पूर्वप्रधानमन्त्रीहरूको क्लब बनाउने योजना बनायो । पाकिस्तानले मलाई बैठकको संयोजन गर्ने जिम्मेवारी दियो । संयोजकका रूपमा मैले पहल पनि सुरु गरेँ । सुरुवात नै भारतबाट गर्नुपर्ने भयो । भारत नै उपस्थित नहुँदा त्यो बैठक औचित्यपूर्ण हुने पनि भएन । त्यसक्रममा मनमोहन सिंहलाई इमेलमार्फत पत्राचार गरेँ, तर जवाफ आएन । एचडी देवगौडासँग सम्पर्क हुन सकेन । त्यसपछि उहाँलाई फोन गरेर योजनाबारे बताएँ । तर, उहाँले विपक्षमा भएकाले सत्तारुढ पार्टीलाई विपक्षी गठबन्धन बनाएको गलत बुझाइ हुने भएकाले मोदीजीसँग कुरा गर्नुस्, तपार्ईंंंले ग्रिन सिग्नल पाउनुभयो भने सम्भव हुने बताउनुभयो । तर, यसबारेमा कुरा गर्न न मोदीजीसँग भेट भयो, न टेलिफोनमा कुरा नै भयो । यही कामका लागि उहाँलाई भेट्न जाऊँ भने माधव नेपाल प्रधानमन्त्रीका लागि मोदीलाई भेट्न गयो भन्ने गलत प्रचार हुने भो । त्यसैले अहिले यो प्रस्ताव त्यतिकै थाती रहेको छ । वर्तमान प्रधानमन्त्री देउवाले ४९ दिनपछि विस्तार गर्दा पनि मन्त्रिपरिषद् अपूरो छ । तपार्ईंंले पनि २२ वटा दलका ४८ जनालाई मन्त्री बनाएर सरकार चलाउनुभो ? कति गाह्रो छ गठबन्धन चलाउन ? –पार्टी केन्द्रीय कमिटीले तपार्ईंं प्रधानमन्त्रीको उम्मेदवार भएर जानुपर्छ भनेर छलफल गरेर करिब निर्णय गर्‍यो । तर, माइन्युटमै निर्णय लेखिसकेको थिएन । त्यतिवेला मलाई भनियो, तपार्ईंं सरकार बनाउन लाग्नुस् । तर, कांग्रेस र एमालेसँग सरकार गठन गर्न संख्या पुग्ने थिएन । माओवादीको संख्या ठूलो थियो । उपेन्द्र यादवको सहयोगविना संख्या पुग्ने स्थिति थिएन । मैले साना पार्टीहरूलाई ग्रुपिङ गरेँ । त्यहाँ एउटा विधि प्रयोग गरेँ । साना पार्टीहरू, जो १० भन्दा बढी सांसद जुटाएर आउँछ, त्यसको नेतृत्वलाई एउटा मन्त्री । २० वटा सांसदलाई मिलाएर ल्याउनेलाई २ मन्त्री । जो १० वा त्योभन्दा बढी साना दलको सांसद संख्या जुटाएर आउँछ, उनीहरूलाई १० जनाबराबर एकजना मन्त्री भन्दिएँ । त्यसरी मैले साना दलहरूलाई समेटेँ । सबै मिल्यो, तर उपेन्द्रजीसँग सहमति हुनै सकेन । उहाँसँग कुरा गर्‍यो, एक हप्ता, अर्को हप्ता भन्दै समय माग्दै पछि मात्र हट्ने । उपेन्द्रजी माओवादीसँग भित्रभित्र मिलिरहनुभएको थियो । त्यहीवेला विजयकुमार गच्छदारजीले उपप्रधानमन्त्री दिने हो भने आउने भनेपछि बाँकी के चाहियो र, सरकार गठन हुने संख्या पुग्यो । त्यसपछि सरकार बनाएर चलाए । त्यसक्रममा सत्ता घटकले राम्रो सहयोग पनि गर्नुभयो । पार्टीमा पनि तपार्ईंं कसैसँग सम्झौता नगर्ने कठोर प्रशासकको रूपमा चिनिनुहुन्छ । गठबन्धन सरकारको बाध्यता पनि होला, तपार्ईंंका मन्त्रीहरूले गाडी बन्द भयो भनेर आफैँ चढेको गाडी फुटाए, पर्सामा सिडिओ कुट्नेसम्मको काम पनि गरे नि ? त्यसैलाई भन्छन्, गठबन्धनको कति ठूलो बाध्यता हुन्छ । त्यतिवेला मैले जब करिमा बेगमलाई कारबाही प्रक्रिया अगाडि बढाएँ, विजयजीले भन्नुभयो, करिमालाई कारबाही भयो भने सरकार ढल्छ । अब मेरो अगाडि के गर्नु बुद्धिमानी हुन्छ भन्ने प्रश्न उभियो । बुद्धिमान मानिस एक कदम पछाडि हट्छ र त्यसको बलमा दुई कदम अगाडि बढ्छ भन्ने गीताको सम्झना आयो । त्यसपछि मैले सर्त राखेँ, कोठामा बोलाएर करिमाले माफी माग्ने, मैले एकपटकलाई माफ दिने, अर्कोपटक भयो भने नछोड्ने । त्यो घटना भएको हो । त्यो राम्रो थिएन । ती मन्त्रीलाई तत्काल निकाल्नुपथ्र्यो । त्यो नसक्दा प्रशासकसँग माफी मगाउनुपथ्र्यो । त्यो सकिएन । त्यो मेरो दुःखद अनुभव हो । यसको निष्कर्ष भनेको हंग पार्लियामेन्टले ठूला समस्या सिर्जना गर्छ । एक–दुई सिट भएको पार्टीसँगको गठबन्धन सरकारले मुलुकलाई स्थिरता दिँदैन । हंग पार्लियामेन्टले स्थिर सरकार दिँदैन, अस्थिर सरकारले स्थिर विकासको नेतृत्व गर्न सक्दैन । तपार्ईंंको पार्टीको घोषणापत्रमा पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भन्ने थियो । अहिले पुनः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा बहस उठेको छ । के त्यसलाई आत्मसात् गरेर जान सकिँदैन ? फिलिपिन्स प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिबाट परेसानमा छ । त्यहाँ कसरी संसदीय प्रजातान्त्रिक प्रणालीमा जाने भन्नेबारे बहस भइरहेको छ । त्यहाँका सभामुखले मलाई फोन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय पद्धति नअपनाउनु भनेर फोन गर्नुभयो । उहाँले त्यहाँको दुःखको कथा सुनाउनुभएको थियो । श्रीलंकाको शासन प्रणालीबारे पनि बुझेँ, त्यहाँ प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्री दुवै पद्धति पालैपालो अपनाए, तर दुवै काम लागेन । फेरि हामीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय पद्धति अपनाउँदा ठीक हुन्छ कि भनेर छलफल गर्‍यौँ । त्यसका लागि राम्रो अनुभव इजरायलमा छ । इजरायल प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री व्यवस्थाबाट आफैँ परेसान रहेछ । प्रधानमन्त्रीको पक्षमा संसद्मा बहुमत नहुने, उसका एजेन्डा संसद्बाट स्वीकृत हुनै नसक्ने स्थिति देखियो । चुनावमा भाग लिने दलहरूको संख्या धेरै हुने र एउटै पार्टीको पक्षमा बहुमत नआउने हुँदा त्यस्तो समस्या देखियो । त्यसरी हामी संसदीय प्रणालीमा आइपुगेका हौँ । त्यसैले नयाँ–नयाँ पद्धतिबारेभन्दा अहिलेको संसदीय प्रणालीमा रहेको खराब पक्ष, अभ्यासहरूलाई सुधारेर जान जरुरी छ । यसैतर्फ बहस चलाउनुपर्ने देखिएको छ । संविधान बनाउँदा पनि यी पाटोलाई ध्यानमा राखेर बहस भएको हो । फेरि हामीले समानुपातिक प्रणालीलाई तलसम्म लागू गरेपछि थप जटिलतामा पुगेका छौँ । माओवादीले केपी ओली सरकारबाट बाहिर निस्कनुको मुख्य कारण तीन बुँदे सहमति पालना नहुनु भनेको छ । तीन बुँदे सहमति भएको थियो वा थिएन ? कार्यान्वयन हुनुपथ्र्यो वा पर्दैनथ्यो भनेर समीक्षा आवश्यक छ कि छैन ? समीक्षा आवश्यक छ । त्यो तीन बुँदामा जे–जे सहमति भएको थियो, त्यो पालना गर्नुपथ्र्यो । जे भयो, त्यो बेठीक भयो । प्रचण्डजीले पनि निकै हतार गर्नुभयो । हामीलाई पत्तै नदिई अविश्वासको प्रस्ताव राख्न पुग्नुभयो, त्यो गलत हो । मैले उहाँलाई भनेँ, हामीलाई भन्नुपर्दैनथ्यो ? हामी जिउँदै थियौँ त । हामीबाट पनि पार नलागेको भए पार लागेन भन्थ्यौँ । त्यसपछि त्यो निर्णय लिन सक्नुहुन्थ्यो । तर, त्यहाँ अलि हतार गर्नुभयो । प्रचण्डजीले सहमति पालना भएन, सहमति तोडियो भन्नुभयो । जे भए पनि सहमतिको पालना हुनुपथ्र्यो । नभएर गलत भयो । दिनकै हिसाब गर्नुपर्दा गणतन्त्रपछि सबैभन्दा लामो समय तपार्ईंं प्रधानमन्त्री हुनुभएको रहेछ । एमालेको महासचिवको हिसाबले पनि तपार्ईंंले धेरैपटक सरकारमा मन्त्री पठाउनुभयो । यसरी मन्त्री छान्दा तिनको सम्बन्धित मन्त्रालयसम्बन्धी विशेषज्ञता कत्तिको मापदण्ड बन्यो र पार्टीमा उनीहरूको स्थान कत्तिको मापदण्ड बन्यो ? यहाँ मूल्यांकनको पद्धति अझै व्यवस्थित छैन । कतिपय मुलुकमा मानिसको मूल्यांकन हुन्छ । सबै परीक्षामा पास भएपछि ऊ पदमा पुग्छ । चीनमा पहिलेदेखि मूल्यांकन हुन्छ । जो सफल हुन्छ, ऊ अघि बढ्छ । तर, जसले गर्न सक्दैन, ऊ हटाइन्छ । त्यसरी छानिदै गएकाले राम्रो काम गर्छन् । तर, हामीकहाँ पार्टीभित्र पनि, सरकारमा पठाउनको लागि पनि र कर्मचारीतन्त्रमा पनि त्यसरी मापदण्ड बनाएर मूल्यांकन गरेर अघि बढाउने पद्धति अझै छैन । यसरी मूल्यांकन गरेर पठाउनुपर्ने हो । तर, हामी कुरा गर्छौं, काम गर्दैनौँ । हामीले नियुक्ति गरेको मानिस अयोग्य हुन्छ । नियुक्ति गरेको मन्त्रीले दुःख दिन्छ । सबै नराम्रा होइनन्, राम्रा पनि होलान् । तर, आधी मात्र छन् । यतिले पुग्दैन । ७५ प्रतिशत राम्रा मान्छे हुनुपर्छ । त्यसका लागि एउटा सिस्टम राख्नुपर्छ । नयाँ पत्रिकाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy