निर्मला हत्या काण्डः प्रहरी यातना दिन सफल, अनुसन्धानमा पूर्णतः असफल, डिएनए रिपोर्ट अझै गोप्य
पौष ९ गते, २०७५ सोमवार 24th December, 2018 Mon१०:४२:१७ मा प्रकाशित
प्रहरी प्रमाणभन्दा बयानमुखी बन्दा १ सय ५० दिन बित्दासमेत निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेको पहिचान गर्न असफल छ । घटनामा संलग्न भएको आरोपमा पछिल्लोपटक पक्राउ गरिएका दुई किशोरका कारण प्रहरी थप विवादमा परेको छ ।यो खबर आजको नयाँपत्रिकामा छ – महेन्द्रनगरकै प्रदीप रावल र विशाल चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । रावल अझै थुनामा छन् भने विशाललाई शनिबार छाडिएको छ । प्रदीपलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले २० दिनदेखि सार्वजनिक अपराध मुद्दामा थुनामा राखेको छ ।
डिएनए रिपोर्ट अझै गोप्य
निर्मला घटनाको प्रमुख आधार भनेको डिएनए रिपोर्ट हो । स्रोतका अनुसार रावल र चौधरीको डिएनए रिपोर्ट कञ्चनपुर प्रहरीमा पुगिसकेको छ, तर खोलिएको छैन । स्रोतका अनुसार प्रदीप र विशाल दुवैको डिएनए म्याच भएको छैन । तर, दुवैले अपराध स्विकारेको र उनीहरूको भनाइ मिल्दोजुल्दो भएको प्रहरी दाबी छ । त्यही कारण प्रदीपलाई नछाडिएको एक प्रहरी अधिकारीले बताए । ‘प्रदीपले अपराध स्विकारेका छन् । उनीविरुद्ध थप प्रमाण संकलनमा प्रहरी लागेको छ । उनको बयानअनुसार डिएनए म्याच हुनुपर्छ भन्ने नै छैन,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘घटनामा उनीहरूसहित अन्य व्यक्तिहरू संलग्न हुन सक्छन् ।’प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले अनुसन्धानमा डिएनए एउटा माध्यम मात्र भएको बताए । सामूहिक बलात्कार भएको र नमुना राम्रोसँग संकलन नभएको अवस्थामा डिएनए नमिल्नसमेत सक्ने उनले बताए । हाल सैनिकसहित थप १६ जनाको डिएनए परीक्षण गरिएको छ ।
प्रहरी र सेनासहित तीन सयभन्दा बढीमाथि छानबिन
घटनाको अनुसन्धानमा कुनै कमी नगरिएको प्रहरी अधिकारीहरू बताउँछन् । शंकास्पद तीन सयभन्दा बढी व्यक्तिहरूसँग सोधपुछ गरिएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू बताउँछन् । बढी शंका भएका २४ जनाको डिएनए परीक्षणसमेत भएको छ । जसमा तत्कालीन एसपी दिल्लीराज विष्टदेखि स्थानीय ब्यारेकका सैनिकसमेत छन् । प्राविधक अनुसन्धानको क्रममा हजारौँ व्यक्तिको कल डिटेल र एसएमएससमेत हेरिएको छ ।
१८ प्रहरीमध्ये केहीलाई मुद्दा चल्ने
एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा केही प्रहरीलाई सेवाबाट बर्खास्त र केहीलाई फौजदारी मुद्दा दायर हुने भएको छ । सो समितिले १८ जना प्रहरीलाई दोषी औँल्याएको थियो । यसअघि नै सेवाबाट बर्खास्त गरिएका एसपी दिल्लीराज विष्ट, इन्स्पेक्टर जगदीश भट्टसहित डिएसपीहरू अंगुर जिसी, ज्ञानबहादुर सेटी, इन्स्पेक्टरहरू एकेन्द्र खड्का र गणेश सापकोटालाई कारबाही सिफारिस गरिएको छ । सईहरू रामसिंह धामी, वासुदेव अवस्थी, हरसिंह धामी र डिकरदेव पन्त तथा हवल्दारहरू धर्मसिंह भाट, धर्मेन्द्र सिंह विष्ट र दीपक विष्टमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । पाँच जवानलाई पनि कारबाही सिफारिस गरिएको छ । जवानहरू चाँदनी साउद, लालबहादुर विष्ट, माधव खत्री, सुरेन्द्रसिंह कुँवर र शुभराज महतरामाथि पनि कारबाही प्रक्रिया अघि बढाइएको छ । जसमध्ये प्रमाण नष्टमा संलग्न र दिलीपसिंह विष्टविरुद्ध नक्कली प्रमाण बनाउने प्रहरीविरुद्ध मुद्दा दायर हुन सक्ने स्रोत बताउँछ । प्रहरीविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता भइसकेको छ ।
अनुसन्धान टोली बनाउन गृहलाई चासो छैन
जटिल किसिमका घटनाको अनुसन्धानमा स्वतन्त्र अनुसन्धानकर्तासमेत राखेर विशेष अनुसन्धान टोली बनाउन सकिने प्रावधान संगठित अपराध ऐनमा छ । निर्मला प्रकरणमा प्रमाण नष्ट गरेकोदेखि नक्कली अभियुक्त खडा गर्न खोजेको प्रहरीकै छानबिनबाट खुलिसकेको छ । जसले गर्दा प्रहरीमाथि सर्वसाधारणको चरम असन्तुष्टि छ । यस्तो अवस्थामा सरकारले विभिन्न क्षेत्रका विज्ञ व्यक्तिहरूलाई राखेर अनुसन्धान गर्न सक्ने विकल्प छ । तर, यस विषयमा गृह मन्त्रालयले चासो दिन सकेको छैन ।
सुन तस्करी प्रकरणमा गृहले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा विशेष अनुसन्धान टोली बनाएको थियो । यस्तो टोलीलाई अनुसन्धान अधिकृतसरह अधिकार हुन्छ । प्रहरी विवादमा तानिएकाले निष्पक्ष अनुसन्धानकर्ताहरूसमेत हुने हुँदा त्यस्तो टोलीले गर्ने अनुसन्धानले सर्वसाधारणको समेत विश्वास जित्ने सम्भावना हुन्छ । गृहमा यसबारे एकपटक छलफल भए पनि अहिले चासो दिइएको छैन । विशेष अनुसन्धान टोली बनाउने गृहकार्य नभएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी बताउँछन् । सिआइबीलाई अनुसन्धानको जिम्मा दिइएको उनको भनाइ छ ।
विशाल चौधरी भन्छन्
आँखामा पट्टी लगाइदिएर लात्तैलात्ताले हाने, गोली ठोकेर मार्छौँ भने, बाँच्नलाई अपराध स्विकारेँ
मंसिर १९ गते प्रहरीले मलाई समात्यो । निर्मलालाई अपराध गरेको होस् कि होइनस् भनेर सोधे । मैले होइन भन्दा मेरो आँखामा पट्टी बाँधिदिएर लात्तैलात्ताले कुटे । झुट बोलिस् भने गोली ठोकेर मार्छौँ, सत्य बोलिस् भने प्रहरीमा जागिर लगाइदिन्छौँ भने । जागिर लगाइदिन्छन् भन्ने आस त थिएन, तर बाँच्न पाए हुन्थ्यो भन्ने लाग्यो । त्यसैले ‘हो, मैले गरेको हुँ’ भनिदिएँ । फेरि काठमाडौंमा पक्राउ परेको प्रदीप रावलले तेरो नाम लिएको छ, तिमीहरू मिलेर गरेका रहेछौ भनेर स्विकार्न दबाब दिइरहे । गालामा पटकपटक हानिरहेका थिए, त्यसैले मैले हो भनिदिएको हुँ ।
मैले हो भनेर बयान दिएपछि मंसिर २० गते जहाजबाट काठमाडौं लगे । बुबा पनि जहाजमै हुनुहुन्थ्यो, तर बोल्न दिएनन् । उहाँलाई अगाडि राखेका थिए, मलाई सबैभन्दा पछाडि । काठमाडौं पुगेपछि पिटेनन्, तर पिट्छन् भन्ने डर लागिरहेको थियो, त्यसैले उनीहरूले जे चाहेका छन्, त्यही भनिदिएँ । बुबाका सामुन्ने पनि हो भनिदिएँ । तर, अदालत गएपछि डरले हो भनेको हुँ, तर मलाई घटनाबारे केही थाहा छैन भनिदिएँ । डिएनए रिपोर्ट पनि मिलेनछ, त्यसैले छुटकारा पाएँ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: