अहिले पछिलो राजनैतिक घटनाक्रमलाई कसरी हेर्नु भएको छ?
निर्वाचनपछि राजनीतिले एउटा कोर्स पक्रेको छ। देशमा एउटा स्थिर सरकार बनेको छ। राजनीतिक अस्थिरताको एउटा प्रक्रियाको निर्वाचनपछि अन्त्य भएकै छ । अब हाम्रो (पार्टी र सरकारको) पार्टी र सरकारको ध्यान विकास निर्माण र समृद्धितिर बढी नै केन्द्रित छ र त्यसलाई कसरी प्रभावकारी बनाउने भन्ने कुरामा छ ।
सरकारको एक वर्ष पुगेको उपलक्षमा र पार्टी एकीकरणको घोषणा भएको झण्डै नौ महिना पूरा भएपछिको अवस्थामा हामी गम्भीर समीक्षामा छौं । स्थायी कमिटीको बैठकमा पनि लामो समय लिएर नै हामीले समीक्षा गऱ्यौं । पार्टी एकतालाई तलसम्म टुंग्याउने कुरा र जनसंगठनहरूलाई पनि एकताबद्ध गर्ने कुरामा अलिक विलम्व भयो भन्ने हाम्रो साझा निष्कर्ष नै हो । अब छिटोभन्दा छिटो यसलाई टुंग्याउनु पर्दछ र सरकारले गरेका कामहरूको समीक्षा गर्दै राम्रा कामहरूलाई संस्थागत गर्दै लानपनि तल्लो तहसम्म पार्टी एकतामा टुङ्गो लाग्नुपर्छ भन्ने निष्कर्षमा हामी पुग्यौं । र, कतिपय कामहरू जनभावना अनुरुप भैरहेका छैनन् भन्ने समेत गुनासो आइरहेको अवस्थामा त्यसलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे हाम्रो छलफल केन्द्रित हुने गरेको छ ।
यहाँले यो दशक समाजवादी क्रान्तिकाे तयारीको दशक भन्दै आउनु भएको छ र पार्टी एकताकोलागि यहाँले नै सबै भन्दा बढी पहल गर्दै हुनुहुन्छ । विकसित परिस्थितिहरू, सरकारको भूमिका, पार्टीभित्र एक खालको अवस्था लगायत सबै हेर्दा र हामीले खोजेको ‘चीज’को बीचमा तादात्म्यता नमिलेको जस्तो लाग्दैन?
अहिलेको प्रक्रिया आफैंमा धेरै ठुलो परिघटना हो । पार्टी एकता, कम्युनिस्ट पार्टीको झण्डै दुई तिहाईको बहुमतको सरकार गठनको स्थिति बनाउनु र जनतामा हामीले जेजस्ता कुराहरू पहिले सम्प्रेषित गरेका छौं ती कुराहरू प्राप्त गर्ने कुराहरू असाधारण एवं दूरगामी महत्वका ऐतिहासिक परिघटना हुन् । यो परिस्थिति सिर्जना गर्नेमा एउटा पार्टीको नेताको हैसियतले या यो परिवर्तनमा आफूले खेलेको भूमिकाको कारणले पनि मेरो अलि बढी नै पहलकदमी थियो । यो कुरा आम नेपाली जनता लगायत दुनियाँलाई थाहा भएकै कुरा हो । पार्टी एकता गराउने, राजनैतिक स्थिरता गराउने र देशलाई समाजवादतिर डोर्याउने आधार पार्ने कुरामा मेरो अलि बढी नै ध्यान थियो ।
मैले राष्ट्रको वृहद्तर उद्देश्यका निम्ति, कम्युनिस्ट आन्दोलनको दीर्घकालीन हितका निम्ति र जनताको विकास र समृद्धिको आकांक्षा सम्बोधन गर्नका निम्ति यो बाटो जानु अनिवार्य छ भन्ने महसुस गरेर नै पहल गरेको हुँ । मैले त्यसो गर्नका लागि व्यक्तिगत पद-प्रतिष्ठाका कुरा सबै छोडेर यो पहल गरेको हुँ। किनकि मैले चाहेको भए त्यति बेला मैले ५ वर्ष निरन्तर प्रधानमन्त्री हुने अवसरहरू धेरैतिरबाट आएका थिए । मैले त्यो यो राष्ट्रको आवश्यकता होइन भन्दै पार्टी एकता, राजनैतिक स्थिरता र बलियो सरकार गठन नै अहिलेको आवश्यकता हो भन्दै यो बाटो रोजेको हुँ । मैले जनतासँग जे वाचा गरिएको छ त्यसप्रति दृढ र इमानदार रहनु नै इतिहासको आवश्यकता हो भन्दै यो पहल गरेको हुँ । अब यसलाई मानिसहरूले बुझ्छन्, बुझ्दैनन्, यसबारे बहस हुन्छ या हुँदैन, बुद्धिजीवीहरू पत्रकारहरू सबैले यसलाई कुन रूपमा ग्रहण गर्छन् यो भोलिका दिनमा देखिंदै जानेछ । मेरो उद्देश्य त्यहि हो ।
असन्तुष्टि र आशंका त चुलिए नि हैन ?
अहिले पार्टी एकतामा भैराखेको ढिलाईले धेरै साथीहरूमा केही आशंकाहरू जन्मेका छन् । तर यसको अर्थ साथीहरू निराश नै भैसकेका छन् भन्ने होइन तर प्रक्रिया छिटो भैदिए हुन्थ्यो भन्ने सबैको चाहना हो भन्ने मैले बुझेको छु। विकास निर्माणका कामहरूले गति लिइदिए हुन्थ्यो भन्ने जनचाहना छ र म त्यसलाई नै सम्बोधन गर्न अगाडी बढेको हुँदा मैले अप्ठ्यारो महसुस गरेको छैन यद्यपि यसमा चुनौतीहरू ठुला छन् भन्ने महसुस मैले गररेको छु ।
सरकारले जसरी जनताको मागहरू सम्बोधन गर्नु पर्थ्यो त्यसरी नभैरहेको गुनासो एकातिर छ भने सरकार विभिन्न आलोचनामा पर्दै गैरहेको छ । पछिल्लो घटना स्वतन्त्र मधेश गठबन्धनसँग गरिएको सम्झौता नै हेर्ने हो भने पनि यो सम्झौता हतारमा गरिएको थियो या चर्चाकै लागि थियो भन्ने आरोप समेत लागिराखेको छ । यसलाई कसरी हेर्नुभएको छ ?
राजनीतिक रूपले हेर्दा देशमा पृथकतावादी गतिविधि संचालन गरिराखेको समूहले हामी देशको संविधान मान्दै देशको राष्ट्रिय एकता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनतालाई अक्षुण राख्न मूलधारको राजनीतिमा आउँछौं भन्नु नराम्रो होइन र सरकारले त्यस्तो प्रवृत्तिलाई पनि राष्ट्रको हितमा प्रयोग गर्न पहल गर्नु पनि सकारात्मक नै हो ।
तर सहमतिमा प्रयोग भएको भाषा, अहिले चर्चा भए अनुसार, त्यो दुई अर्थ राख्ने खालको छ भन्ने छ र अर्को कुरा यहाँबाट सहमति गरेर जाने समूहले पनि पुरानै नारा, पुरानै झण्डा प्रयोग गरी आफू सफल भएको र सरकारलाई झुकाएको भन्ने किसिमले प्रस्तुत भएको भन्ने कुराले केही विवाद त भएकै छ । तर यसलाई केही दिन हेर्नै पर्ने हुन्छ । अब उनीहरू साँच्चिकै मूलधारमा आएका हुन् या होइनन्, संविधान, राष्ट्रिय एकता र अखण्डतालाई स्वीकार गरेका हुन् कि होइनन् भन्ने बुझ्न केही दिन हेर्नु नै पर्ने हुन्छ ।
विशेषगरि यस मामिलामा उनीहरू ‘रणनैतिक तयारी’का साथ आए र सरकारले पर्याप्त तयारी गरेन, त्यसमा फस्यो भन्ने चर्चा समेत आइराखेको छ । यो के हो ?
यो विषयमा सचिवालयको बैठकमा छलफल भएको थियो । तर त्यसबेलासम्म सहमति भइसकेको थियो । त्यहाँ मैले भनेको थिएँ, “यो सरकारको काम भयो, यो राम्रो भए यसको जस सरकारमा जान्छ र नराम्रो भए अपजस पनि सरकारमै जान्छ । हाम्रो चाहना चाहिं राम्रो होस् भन्ने हो ।” अब अहिले नै हतार गरेर यो सबै खतम भयो भन्ने त होइन तर जसरी सरकारले भनेजस्तै राष्ट्रिय एकताको निम्ति, भौगोलिक अखण्डताको, संविधानको मर्म र भावनामा ल्यायौं भने अनुरुप नै यस सहमतिको ‘स्पिरिट’ हो र यदि उनीहरूले यो सहमति मानेनन् भने सरकारले जुनसुकै बेला पनि आफ्नो संयन्त्र प्रयोग गरेर जतिबेला कारवाही गर्न सक्छ ।
यसबारेमा यहाँसँग पनि छलफल गरिएन भन्ने कुरा पनि बाहिर आएको छ । कुरा के हो ?
यो विषयमा म अहिले केही चर्चा गर्न चाहन्न ।
यहाँसँग सिके राउतको तुलना गरिएकोमा पनि आम मान्छेमा निकै चासो छ । यहाँको के विचार छ ?
त्यस कार्यक्रममा म पनि उपस्थित थिएँ । प्रधानमन्त्रीले तुलना गर्नकै लागि तसो भनेको जस्तो मलाई लाग्दैन । बरु बोल्दै जाँदा वहाँले ‘प्रचण्डले जस्तै ठुल्ठुला निर्णय गर्नसक्ने क्षमता वहाँमा पनि भएको’ भनेर प्रसंगवश भन्नु भएको छ ।
तर अहिलेको बहस भनेको यो तुलना गर्नु ठीक थियो या थिएन भनेर हो । यस बहसले अन्ततोगत्वा यस विषयलाई बुझ्न मद्दत नै गर्छ । यसमा मेरो केही चित्त दुःखाइ छैन ।
यसो हेर्दा कतिपय महत्वपूर्ण निर्णयहरू यहाँसँगको सहमतिमा नहुने या यहाँसँग छलफल नै नहुने भन्ने कुरा समेत आउने गर्छ । यस्तो स्थितिमा यहाँले भनेजस्तो समृद्धिकै कुरा गर्ने हो भने यहाँको सोच र ‘भिजन’ अनुसार कुराहरू अगाडि नबढ्ने हो भने यसले त कतै न कतै निराशा बढाउने र अस्थिरता बढाउँछ जस्तो लाग्दैन ?
त्यसो होइन । हामी छलफल गरि नै राखेका छौं । सबै कुरा समझदारीबाटै टुंग्याउने भन्ने छ । अहिले यो विधि र प्रक्रियाको बारेमा बढी चर्चा गर्नु जरूरी छैन । अहिले दुवै अध्यक्ष र सचिवालयका सबै सदस्यहरूले समेत पार्टी एकता टुंग्याउने र सरकारलाई गति दिने ढङ्गले जाउँ भन्ने कुरामै केन्द्रित रहेकाले यसबारे बढी टिप्पणी गर्नुले खासै फाइदा हुन्छ जस्तो मलाई लाग्दैन ।
विप्लवको बारेमा जसरी सरकार अगाडि बढी रहेको छ या उनीहरूको जस्तो व्यवहार या गतिविधि देखिएका छन् त्यसले भोलि गएर दुर्घटना निम्त्याउन सक्छ भन्ने आवाज सदनमै उठिसक्यो । यहाँले विप्लवलाई नजिकबाट हेर्नु भएको छ । यहाँकै स्कुलिङमा हुर्केको हो वहाँहरू । यसलाई कसरी हेर्नु भएको छ ?
वहाँहरूले अहिलेको राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिलाई राम्रोसँग बुझ्नुपर्ने हुन्छ । हामीले सबैको सहमतिमा शान्तिप्रक्रियामा अगाडि बढेको ऐतिहासिक तथ्यलाई राम्रोसँग बुझ्नुपर्ने हुन्छ । हिजो जनयुद्ध र जनआन्दोलनको संयोजनको बलमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको कुरालाई एउटा ठुलो राजनैतिक उपलब्धिको रूपमा आत्मसात गर्नुपर्ने हुन्छ र यो प्रक्रियाबाट नै आफ्ना कुरा राख्ने अहिले त ठाउँ छ भन्ने मेरो वहाँहरूलाई सुझाव छ र यसो गरिएन भने राम्रो चाहिं हुँदैन ।
हिजो मैले जसरी रणनीति, कार्यनीति या स्कूलिङ भनौं न गर्याथ्ये त्यही कुरालाई विप्लवहरुले पछ्याउन खोजेको बाहेक अरु केही म देख्दिन । त्यो हिजोको कुरालाई फलो अहिले गर्ने होइन, हिजोको एउटा भिन्न परिस्थिती थियो । जस्तोः राजतन्त्र विद्ध्यमान थियाे । राज्यमा कहीँ कतै पनि उत्पीडित जाति, क्षेत्र, लिंगको प्रतिनिधित्व नहुने गरेको अवस्था थियाे, विभेद चौरैतिर थियाे, त्यो स्थिती अहिले होइन ।
कम्युनिस्ट पार्टीकै नामबाट कम्युनिस्ट पार्टीकै नेतृत्वबाट अहिले कामहरु भइराखेको हुनाले यो त विप्लवजीहरुको लागि चाहिँ एउटा राम्रो अवसर हो । एउटा सकारात्मक संवादद्वारा देशलाई र राजनीतिलाई अगाडि बढाउने अहिले त विप्लवजीहरुलाई ऐतिहासिक अवसर हो । तर, उहाँहरुले किन नबुझ्नु भएको हो? अनि हिजोको २०—२२ वर्ष अगाडिको परिस्थितमामा अपनाइएका कुराहरुलाई नक्कल गरेर कहीँ पनि पुगिदैन । यो कुरा उहाँहरुले बुझ्न जरुरी छ । यो कुरा नबुझेर जबरजस्ती गर्न खोजे भने त राज्यले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ । त्यो स्थिती नआओस् भन्ने चाहन्छु म ।
विप्लवजीहरुको लागि यो राम्रो अवसर हो । उहाँहरुले यो अवसरलाई सदुपयोग गर्न अगाडि आउनु पर्छ, यसले गर्दा उनीहरुलाई फाइदा हुन्छ । यो कुरा नबुझेर बेकारमा फेरि खुनखराबा गरेर केहीमान्छे मर्नेमार्ने गरेर केही हुनेवाला छैन । फेरि जनताको त्यो साथ हिजो हामीले जे प्राप्त गरेका थियौं, त्यो पनि हुने स्थिती अहिले होइन । किनभने त्यस्तो परिस्थिति अहिले छैन । जहाँसम्म प्रधानमन्त्रीजीले अस्ति शब्द प्रयोग गर्नुभयो । कतिपय शब्दहरु प्रयोग नगरेको भए राम्रो हुन्थ्यो, प्रधानमन्त्रीको हैसियत तथा तहबाट त्यस्ता शब्द प्रयोग नगर्दा राम्रो हुन्थ्यो भन्ने टिप्पणी त ठिकै छ । तर, प्रधानमन्त्रीजीले पनि यो विषयमा संवाद, सहकार्य भए त राम्रै हुन्छ भन्ने चाहना राख्नु भएको छ ।
याे समग्र घटनाक्रममा बाह्य शक्तिकाे चलखेल के देख्नुहुन्छ ?
जहिले पनिविभिन्न राजनीतिक पार्टीहरुले पनि आफ्नो राजीनितक वर्चस्व कायम गर्नका लागि अनेक चलखेल गरिराखेकै हुन्छन् । कम्युनिस्ट पार्टीले गर्छ, नेपाली कांग्रेसले गर्छ, अरु सबै पार्टीले गर्छन् । पार्टी भनेकै आफ्नो राजनीतिक स्वार्थ पूरा गर्नको लागि अनेक पहल गर्छन् । त्यस्तै, अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुले पनि आआफ्नो इच्छाअनुसार, आआफ्नो राष्ट्रिय स्वार्थ र हितअनुसार हाम्रो जस्तो सानो, कमजोर देशलाई कुैन कुनै रुपमा त्यहाँभित्र चलखेल त गर्छन् नै । तर, मुख्य कुरा त आफैं हो । आन्तरिक नै मुख्य हो । शक्तिहरु त हिजो पनि धेरै गर्दागर्दै पनि संविधान बन्यो, गर्दागर्दा पनि चुनाव—परिर्वतन भयो ।
के लाग्दो रहेछ भने आन्तरिक शक्तिहरु ठिक ठाउँमा उभिएपछि त जित अगाडि बढ्दो रहेछ । अहिले पनि मुख्य कुरा चाहिँ आन्तरिक राजनीतिक शक्तिहरुको बीचमा समझदारी नै हो । त्यसाे भएमा कसैले चलखेल गर्दैमा केही हुँदैन । चलखेल त चलिरहेकै छ । यो कुरा चाहिँ पक्का हाे ।
एभरेष्ट दैनिकका लागी गोकर्ण भट्ट र लोकेश धामीले लिएको अन्तर्वार्ता
प्रतिकृया लेख्नुहोस्: