काठमाडौं । पछिल्लो समय सत्तारुढ नेकपाभित्र विभाग बाँडफाँडको विषयले निकै विवाद उब्जाएको छ । विभाग वाँडफाँडको सन्दर्भमा उत्पन्न विवादले नेकपा सचिवालय वैठकसमेत अनिश्चित बन्न पुगेको छ ।
विभागमध्ये स्कुल विभागको विषय अलि बढि चर्चामा छ । स्कुल विभागको जिम्मेवारी लिनको लागि धेरै नेताहरुले हानथाप गरेका छन् । स्कुल विभागमा नेताहरु ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, राम कार्की, घनश्याम भुसाल र डा. बेदुराम भुसालको दाबेदारी चर्चामा छ । कतिपय नेताहरुले आफ्ना दाबी खुलेआम रुपमा प्रस्तुत गरिरहेका छन् भने कतिपयले पार्टी भित्र–भित्रै लबिङ्ग गरिरहेका छन् ।
नेकपा भित्र बौद्धिक नेताका रुपमा परिचित राम कार्कीले पनि स्कुल विभागमा नेतृत्व दाबी प्रस्तुत गरेका छन् । स्कुल विभागको नेतृत्वमा दाबी गरेका कार्कीसँग समग्र स्कुल विभागको दाबेदारीले निम्त्याएको विवाद र पार्टी एकता प्रक्रियाबारे खबर डबलीको तर्फबाट सन्देश अर्यालले कुराकानी गरेका छन् । नेकपा नेता राम कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंश :
पार्टी एकताको यो चरणमा अलि बढि विवाद देखियो । विभागहरुको बाँडफाँड निकै नै पेचलो देखिएको छ । विभागको बाँडफाँडमा किन समस्या आयो ?
निश्चित रुपमा पार्टीको संस्थागत पद्धतिलाई कोमामा राखेर व्यक्तिहरु सक्रिय हुँदा त्यसले दुसपरिणाम ल्याउँछ नै । पार्टी एकताको विशेष स्थितिमा नेताहरुलाई केहि गर्ने छुट भएपनि त्यसैलाई व्यवस्था र त्यसैलाई आम प्रणाली बनाउन हुँदैन् । हामीमा एकमानावादी सोंच छ । कम्युनिष्टको भाषामा मोनोलिथिक्स भनिन्छ । आफ्नो कुरामा मात्र सहमत राख्ने मान्छेलाई अगाडि बढाइएको अवस्था छ । त्यसको स्वभाविक रुपमा दुसपरिणाम हामीले भोगीरहेका छौं ।
आज नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ कार्यदिशाको पनि जरुरत छ । नयाँ सिद्धान्तको पनि जरुरी छ । कस्तो प्रकारको संगठनात्मक सिद्धान्त बनाउने, कस्तो प्रकारको राजनीतिक कार्यदिशा बनाउने भन्ने प्रश्न छ । त्यहि कार्यदिशाको मातहत नै हामीले लिने सबै खालका नीतिहरु आउँछन् । त्यसैले यो असाध्यै महत्वपूर्ण गुण हो ।
वैचारिक हिसाबले कम्युनिष्ट पार्टीमा संघर्ष हुने कुरा महत्वपुर्ण हो । विभागको बाँडफाँडमा नेतृत्वको लागि देखिएको संघर्ष लाभको पद लिनको लागि नभएको कारण सामान्य मान्नु नै राम्रो हुन्छ ।
जसरी विषय पेचिलो बनेको छ, के पार्टी भित्रको वैचारिक अन्तरसंघर्ष स्कुल विभागमा प्रतिबिम्ब भएको मान्न सकिन्छ ?
पार्टीभित्र अहिले वैचारिक संघर्ष नै छैन् । वैचारिक संघर्ष त अब सुरु गराउनुपर्छ । पार्टीले वैचारिक संघर्षको चरण सुरु गर्नुपर्छ ।
अहिले पार्टीभित्र जे जति गुट या समुह देखा परेका छन् ति कुनै वैचारिक वा राजनीतिक आधारमा बनेका होइनन् । ति त विभिन्न लाभको लागि पनि बनेका छन् । वैचारिक राजनीतिक छलफलले नै पार्टीलाई दिगो दिन्छ । एउटा कम्युनिष्ट पार्टीलाई अधोगतिबाट जोगाउने भनेको वैचारिक संघर्ष नै हो । वैचारिक राजनीतिक कुरामा संघर्ष हुँदा त्यसले पार्टीलाई जीवन्त पनि दिन्छ ।
अहिलेको यो जुन गुटगत कचिन्गल छ त्यसलाई छोडेर वैचारिक राजनीतिक संघर्षमा यसलाई लैजानको निमित्त स्कुल विभागले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
स्कुल विभागको विषय पेचिलो बन्दै गर्दा प्रश्न कता–कता पूर्वाग्रह साँधिएको त होइन् भन्ने पनि छ । यसलाई कसरी हेर्नुहुन्छ ?
यसका विभिन्न कारण होलान् । यसको नेतृत्व लिन गरिएको दाबा कुनै अनैतिक कुरा होइन् भन्ने लाग्छ । कुनै नाफाको कुरा खोज्न थालियो भने पो त्यो गलत हुन् जान्छ । स्कुल विभाग जसले वैचारिक राजनीतिक कामहरु गर्छ । त्यसको नेतृत्वको निमित्त गरिएको दाबा राम्रो हो ।
पार्टीका विभिन्न महत्वपूर्ण जिम्मामा रहनुभएका नेताहरुले पनि स्कुल विभागमा दाबेदारी प्रस्तुत गर्नुभएको छ । यहाँ सतहमा स्कुल विभागको जिम्मेवारी असाध्यै गहन खालको भन्ने चर्चा पनि चलेको छ । के स्कुल विभागको नेतृत्व लिँदा आफ्नो अनुकुलता अनुसारको स्कुलिङ्गका कार्यक्रम चलाउन पाईन्छ ?
होइन् त्यस्तो हुँदैन् । पार्टी भित्र विभिन्न विचारहरु त आउने नै भए । विभिन्न विचारहरु, प्रवृत्तिहरुलाई फूल्न दिने खालको व्यक्ति भयो भने राम्रो हुन्छ । विभिन्न विचारहरुलाई कदर गर्ने, अलि उदार सोंच संस्कार भएको व्यक्तिलाई यसको जिम्मा दिँदा त्यसले एउटा राम्रो प्रतिफल ल्याउँछ ।
मुख्य कुरा, माक्र्सवाद, लेनिनवादका आधारभूत कुराहरु सँगसँगै पार्टी पंक्तीमा वैचारिक राजनीतिक छलफल चलाएर, पार्टी राजनीतिक कार्यदिशा हामीले अपनाउनु पर्नेछ । अहिले पार्टीसँग संगठनात्मक सिद्धान्त छैन् । सिद्धान्त हामीले अगिंकार गर्नुपर्ने छ । यस्तो बेलामा विभिन्न फुलहरुलाई फुल्न दिने मालीको जरुरी पर्छ ।
त्यहाँ आफ्नै मात्रै विचार लैजान मिल्ने भन्ने हुँदैन् । कसैले पनि यो सोंचेको छैन् । जतिपनि साथीहरुको चर्चा चलेको उहाँहरु त्यो विषयमा उदार नै हुनुहुन्छ ।
म विभागमा भएँ भने विभागमा मेरो विचार हाबी हुन्छ भन्ने होइन् । मुख्य कुरा, म विभिन्न विचारहरुलाई प्रस्तुत हुने मौका दिन्छु । विभिन्न प्रकारका राजनीतिक लाईन, सोंचहरु अगाडि आउँछन् भनेर नै यो कुरा भएको हो ।
तपाईंले यसो भन्दै गर्दा यहाँ पूर्वएमालेबाट दाबेदारी गर्दा पूर्वमाओवादीबाट विरोध हुने अनि पुर्वमाओवादीबाट दाबेदारी गर्दा पुर्वएमालेबाट विरोध हुने अवस्था त बनेको छ त ।
दाबेदारीमा नाम आएका ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ माथिल्लो तहका नेताहरु पर्नुभयो । उहाँहरुको टेस्ट पनि भईसकेको हुनाले विभिन्न खालको प्रतिक्रिया आएको होला । तर, टेस्ट नभएका अरु नेता पनि छन् । वैचारिक राजनीतिक ल्याकत भएका तर शीर्षस्थ नेताहरुको धेरै नजिक नभएका, अथवा शीर्ष ठाउँमा नपुगेका छन् । उहाँहरुलाई जिम्मेवारी दिए भैगो नि । विवाद पनि नहोला ।
पार्टीको वैचारिक राजनीतिक क्षेत्रमा काम गर्ने केन्द्रमा जति साथी हुनुहुन्छ उहाँहरुको बीचमा छलफल चलाएर नेतृत्व छानिदिए सबैभन्दा राम्रो हुने थियो । अहिले पार्टी भित्र वैचारिक राजनीतिक क्षेत्रमा चाख दिने साथीहरु एकदमै कम छन् ।
अरु मन्त्री बन्ने, के बन्ने, के गर्ने, दिनरात धाउने त धेरै छन् । तर, वैचारिक राजनीतिक काममा चाख दिएर बसेका साथीहरु थोरै छन् । ती थोरै साथीहरुलाई जम्मा गरेर नेतृत्व चयन गरेको भए सबैभन्दा सजिलो हुन्थ्यो । माथीबाट सिधै छनौट गर्दा खेरि त्यस्तै हुन्छ ।
स्कुल विभागको दाबेदारी प्रस्तुत गर्ने एक जना उपप्रधानमन्त्री अनि एक जना पार्टीका प्रवत्ता पनि हुनुहुन्छ । पार्टीको अन्तरिम विधानमा महत्वपूर्ण दोहोरो जिम्मेवारी लिन नपाईने भन्ने पनि छ । यो विषय किन पार्टीभित्र उठ्दैन् ?
यो विचार त उठ्छ । अरु धेरै गन्जागोल भएको हुनाले, अरु धेरै कुरा अव्यवस्थित भएको हुनाले यो विषय ओझेलमा परेको हो ।
यहाँ त केन्द्रिय समितिको वैठक नै नबोलाउने, स्थायी समितिको वैठक नै नहुने अनि सिंगो पार्टी नै प्यारालाईज जस्तो हुने स्थिति बनेको कारण यस्तो अवस्था आएको हो ।
हिजो प्रधानमन्त्री बनेका, उप्रधानमन्त्री बनेका अनि अहिले पनि पार्टीभित्र महत्वपूर्ण जिम्मेवारी लिएका पनि विभाग तिर हानथाप गरे जस्तो पनि देखियो । पूर्वप्रधानमन्त्री माधव नेपाल, झलनाथ खनालले पनि निकै हानथाप गरेको देखियो । यसलाई कसरी हेर्नुहुन्छ ?
कम्युनिष्टहरुले विभिन्न खालका संघर्षलाई संगठित गर्नुपर्ने हो । पार्टीको महत्वपुर्ण हिस्सा त संघर्षमा केन्द्रित हुनुपर्ने हो । जनताको बीचमा, कार्यकर्ताको बीचमा काम गरेर अगाडि आउनु पर्ने हो । यहाँ चुनाव प्रक्रियामा भाग लिने । चुनाव जित्ने । मन्त्री हुने विषय अलि बढि प्राथमिकता परेको छ । जसको कारण कम्युनिष्ट पार्टी यो अवस्थामा पुगेको हो ।
नेताहरुले संघर्षमा जान चाख दिनुभयो भने यो त राम्रै कुरा हो । सांसद, मन्त्री बन्ने विषयमा हानथाप गर्ने प्रवृत्तिभन्दा त यो धेरै राम्रो कुरा हो ।
स्कुल विभागको दाबेदारीमा तपाईंको नाम पनि आएको छ । के तपाईंले पनि दाबेदारी गर्नुभएको हो ?
यो कुनै लुकाउने वा गलत कुरा पनि होइन् । पार्टीको महाधिवेशन भयो भने हाम्रा विचारहरु लागु होस्, हाम्रो विचारहरुलाई प्रयोग गरियोस्, देश र जनताको हितमा लागु होस् भन्ने आंकाक्षा राख्नु या चाहना राख्नु त गलत कुरा होइन् ।
त्यो मानेमा अहिले देखिएको गतिविधि हेर्दा कुन पद हामीले चलाउन नसकिने त केहि देखिंदैन् । यहि तालले चलाउने हो भने त यो देशको कुनैपनि कार्यकारी पद सञ्चालन गर्न सकिन्छ भन्ने लाग्छ ।
विभागमा उठेको विवादले सचिवालय वैठक नै बस्न नसक्ने अवस्था पनि आएको छ । यसले पार्टी एकता प्रक्रियालाई कत्तिको प्रभाव पार्ने देख्नुहुन्छ ?
यो पार्टी भित्रको वैचारिक संघर्ष हो । यसले पार्टी एकतालाई झन् बलियो बनाउँछ । देख्दाखेरि बडो कचिन्गल खालको देखिएपनि, माओत्सेतुङ्गले भन्नु भएको नै छ, एकदमै ¥याङ्गेलिङ्ग गर्नुपर्छ, कचिन्गल गर्नुपर्छ ।
फाईदा लिने पदका निमित्त झगडा गर्ने कुराले गलत हुन्छ तर वैचारिक राजनीतिक कुराहरु गर्नुले त स्वभाविक रुपमा पार्टीलाई बल नै प्रदान हुन्छ ।
अन्त्यमा, यो विवाद कसरी सुल्झ्याउन सकिन्छ ?
पार्टीभित्र जुन वैचारिक राजनीतिक क्षेत्रमा काम गर्ने र चाहने साथीहरु हुनुहुन्छ उहाँहरुलाई समेटेर उहाँहरुबाट नै नेतृत्व चयन गराउनुपर्छ । त्यसबाटै संयोजक या अन्य जिम्मेवारी दिंदा हुन्छ ।
यतिबेला नेता रिजाउने, व्यक्ति रिजाउने भन्दा पनि माक्र्सवादसँग संगती राख्ने, बहुसंख्यक जनताको हित गर्ने खालकाको नीति लागु गर्न निर्मम बन्नु पर्दछ । निर्मम नबनेर ढल्कु ढल्कु प्रवृत्ति देखिनुले अहिले काम गर्दैन् ।
प्रतिकृया लेख्नुहोस्: