कार्ल मार्क्स ५ मे, १८१८ मा ट्रियर सहरमा जन्मिएका थिए । त्यो सहर सन् १७९४ देखि १८१४ सम्म फ्रान्सेली प्रशासनको अधीनस्थ थियो र त्यसबेलासम्म पनि १७८९ मा भएको फ्रान्सेली राज्य क्रान्तिको सम्झना बलियो थियो । मार्क्स त्यो समयमा जन्मिएका थिए जुनबेला सारा युरोपमा नयाँ खालको जागरण आइरहेको थियो । बेलायतमा सम्पन्न पहिलो औद्योगिक क्रान्तिको विस्तार पश्चिम युरोप हुँदै पूर्वी युरोपतिर फैलिरहेको थियो । बेलायत, स्पेन, फ्रान्स, पोर्चुगल आदि आफ्ना-आफ्ना साम्राज्यहरू विस्तार गर्न जोरसोरले लागिपरेका थिए र एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका थिए ।
पर्याप्त मात्रामा उत्पादन गर्ने र बेच्ने अनि नाफा आर्जन गर्ने धन्दा चलिरहेको थियो । यो कमाउधन्दा बढिरहँदा फ्रान्सेली क्रान्तिताका लागेका नारा ‘मुक्त’, ‘समानता’ र ‘ऐक्यबद्धता’ क्रमशः ओझेलमा पर्दै गइरहेका थिए । कृषिबाट उद्योगमा रूपान्तरण गर्ने प्रक्रिया तीव्र हुँदै जाँदा बहुसंख्यक मानिसको जीवन कठिन बन्दै गएको थियो । त्यो विषम परिस्थितिले मार्क्सलाई आमूल परिवर्तनकारी लोकतान्त्रिक व्यवस्था हुँदै साम्यवादतर्फ आकर्षित हुने वातावरण बन्यो ।
मार्क्स राम्रै आर्थिक अवस्था भएको यहुदी परिवारमा जन्मिएका थिए । उनका पिताजी वकिल थिए । उनी स्थानीय तहको शिक्षा सकेपछि सर्वप्रथम बोन विश्वविद्यालयमा कानुनको विद्यार्थी बने, त्यसपछि सांस्कृतिक केन्द्रका रूपमा रहेको बर्लिन विश्वविद्यालय गएपछि दार्शनिक जर्ग विल्हिम फ्रेडरिक हेगलका युवा अनुयायीहरूको संगतमा परेपछि इतिहास र दर्शन पढे ।
सन् १८४२ मा ब्रुनो बुयरसँग मिलेर ‘रेन्चे जाइतुङ’ नामक पत्रिका निकाले । पत्रिकामा किसानमाथि गरिएको विभेदविरूद्ध लेखिएपछि सरकारले प्रतिबन्ध लगायो र उनलाई देश निकाला गरियो । त्यसपछि उनले राजनीतिक अर्थशास्त्र पढ्न थाले । खासगरी फ्रेडरिक एंगेल्स लिखित तथा जर्मन-फ्रेन्च एनल्समा प्रकाशित ‘आउटलाइन्स अफ द क्रिटिक अफ पोलिटिकल इकोनोमी’ पढे । त्यो एनल्समा मार्क्सका दुई निबन्ध छापिएका थिए ।
पहिलो ‘कन्ट्रिब्युसन टु दी क्रिटिक अफ हेगल्स फिलोसोफी अफ ल’ र ‘अन दी जिउइस क्वेस्चन’ । सन् १८४४ मा मार्क्स र एंगेल्सले १० दिनसंगै बसेर ब्रुनो बुयरको ‘सेपरेसन अफ फिलोसोफिकल क्रिटिक’ को विपक्षमा ‘दी होली फामेली’ लेखे । त्यहीँदेखि दुईजनाबीच जीवनपर्यन्त सहकार्य सुरु भयो ।
पर्सियन सरकार (हालको जर्मन) सरकारले बबाब दिएपछि मार्क्सलाई पेरिस बस्न पनि प्रतिबन्ध लाग्यो र उनी ब्रसेल्समा पुगे । त्यही वर्ष एंगेल्सको ‘कन्डिसन्स अफ दी वर्किङ क्लास इन इंग्लैन्ड’ छापियो जुन बृहत अध्ययन तथा वस्तुगत अनुसन्धानका आधारमा आधारित थियो । त्यसपछि एंगेल्ससँगै मार्क्स इंग्लेन्ड पुगे र राजनीतिक अर्थशास्त्र, इंग्लिस समाजवाद पढ्न थाले, श्रमजीवि संगठनका नेताकार्यकर्तासंग उठबस गर्न थाले । दुईजना मिलेर १८४५ मै ‘जर्मन आइडोलोजी’ नामक पुस्तक लेखे, तर त्यो पुस्तक भने १९३२ मा मात्र प्रकाशित भयो ।
१८४८ मा प्रुधाँको आलोचना गर्दै लेखिएको पुस्तक ‘दी पोभर्टी अफ फिलोसोफी’ प्रकशित भयो । ब्रसेल्समा बस्दा मार्क्स संगठन निर्माणको काममा पनि संलग्न भए । त्यही विचार आदानप्रदानका लागि आदा अन्तराष्ट्रिय सञ्जाल निर्माण गरे । त्यही सञ्जाल पछि गएर श्रमजीवी जनताको पहिलो अन्तर्राष्ट्रिय आन्दोलनका रूपमा स्थापित भयो । ९ जुन अफ १८४७ मा पहिलो सम्मेलन गरेर ‘वर्किङ म्यान आफ दी अल कन्ट्रिज युनाइट’ घोषणा गरियो । त्यही वर्ष गरिएको दोस्रो सम्मेलनले मार्क्स र एंगेल्सलाई राजनीतिक तथा सैद्धान्तिक कार्यक्रम तयार पार्ने जिम्मा दियो । उनीहरूले सन् १८४८ मा कम्युनिस्ट पार्टीको घोषणापत्र तयार पारे ।
घोषणापत्र प्रकाशित भएपछि युरोपमा ठूलो हल्लीखल्ली हुन पुग्यो । ब्रसेल्सबाट निस्कासनमा परेपछि मार्क्स पुन: पेरिस फर्किए । त्यसपछि कोलोन पुगे । त्यहाँ उनले ‘क्लास स्ट्रगल इन फ्रान्स’, ‘दी एटिन्थ ब्रुमेअर अफ लुइ बोनापार्ट’, ‘रिभ्योलुसन एण्ड काउन्टर रिभ्योलुसन इन फ्रान्स’ लेखे । जर्मनी र फ्रान्सबाट पुनः लखेटिएपछि १८४९ मा लन्डनमा बस्न थाले र जीवनभर त्यहीं रहे ।
इतिहास र सिद्धान्त
मार्क्सवाद अन्य सैद्धान्तिक अवधारणाभन्दा ऐतिहासिक उत्खननका कारण भिन्न छ । जसलाई हामी मार्क्सवाद भन्छौं , त्यो कल्पनामा होइन , ऐतिहासिक सत्यतथ्यमा आधारित छ । मार्क्स भन्छन् , “मान्छेले आफनो इतिहास आफै बनाउँछ कसैलाई खुसी पार्न कसैले पनि इतिहास बनाउँदैन ( हेर्नुहोस् , ‘दी एटिन्थ व्रुमेएर अफ लुई बोनापार्ट’ को पहिलो अध्याय ) त्यो ‘इतिहास बर्गीय शोषण कुन चरणबाट गुज्रिने छ भन्ने कुरामा भर पर्छ । साधारणतया ‘उत्पादन पद्धति ‘ , आर्थिक शक्ति र सम्बन्ध तथा उनीहरूबीचको अन्तरविरोध आदिले निर्माण गर्ने बर्ग र समाजमा कसको कस्तो निर्णायक भूमिका रहन्छ भन्ने निर्धारण गर्छ । ऐतिहासिक निर्धारण आर्थिक तथा प्राविधिक बिषयले ऐतिहासिक रूपान्तरण गर्नमा तिनको भूमिका , राजनीतिले निर्धारण गर्ने आर्थिक नीति र संस्थागत परिचालनले शोषणका ऐतिहासिकता कस्तो भन्ने तय गर्छ । इतिहासका सबै मोडहरूलाई हेरेर नै मार्क्स र , एंगेल्सले कम्युनिस्ट घोषणापत्रमा ‘ अहिले अस्तित्वमा रहेको समाज इतिहासमा भएका अनेक वर्गसंघर्षको उपज भने ।
यो वाक्यले नै मार्क्सले खिचेको क्रान्तिकारी राजनीतिक कार्यक्रमको बिचारको खाका प्रस्तुत हुन्छ । यही सोचले श्रमजीवी मानिसहरूको आत्म स्वाभिमान जगाउने संघर्ष मात्र होइन, सबै प्रकारका शोषण र उत्पीडनबाट मुक्त हुनका लागि संघर्ष गर्न उक्साउँछ । पूंजीवादी आर्थिक तथा सामाजिक विकासमा उत्पादन सम्बन्ध र उत्पादन प्रकृयाको ऐतिहासिकताका आधारमा समाजलाई हेर्ने बुझ्ने क्रममा मार्क्सले शास्त्रीय अर्थशास्त्रको चिरफार गरे । त्यो चिरफार र आलोचनाको ऐतिहासिक विवेचनाको सैद्धान्तिक जग मार्क्सकै ‘ ग्रुन्डरिसे ‘ मा उल्लेख गरिएको पाइन्छ, जो सन् १९७० को दशकममा मात्र अंग्रेजीमा प्रकाशित भयो । मार्क्सले एउटा बुद्धिजीवीले गर्ने विश्व व्यवस्थाको ऐतिहासिकताको व्याख्या मात्र पस्किएनन् यसलाई कसरी बदल्न सकिन्छ भन्ने कुरामा आफ्नो ध्यान बढी केन्द्रित गरे ।
बुर्जुवा क्रान्तिका पक्षधरले यो ऐतिहासिकताका आधारमा हेर्ने दृष्टिकोणको ठूलो विरोध गरेका छन् । उत्पादनका साधनमाथिको स्वामित्व र उत्पादन प्रक्रिया तथा उत्पादन सम्बन्धको आधारको समाजको व्याख्याको विकल्पमा म्याक्स वैबरले ‘ पुंजीवादी समाज र त्यसका क्रियाकलाप बुझ्न सीमान्त उपयोगिताको सिद्धान्त’लाई प्रारम्भिक औजारका रूपमा प्रयोग गरे । बर्गको व्याख्यालाई उनले राजनीतिक मुद्दाबाट बिशुद्ध ‘आर्थिक श्रेणी’मा ओराले । अहिलेसम्मका पूंजीवादी समाजशास्त्रीहरू वैबरकै धरातलमा उभिएर मार्क्सवादको विरोध गर्ने गर्छन् ।
मार्क्सको ‘हिस्टोरिकल म्याटेरियालिज्म ‘ मार्क्सवाद मान्ने र नमान्ने दुवैथरी गम्भीर अध्येयताहरूले राम्ररी बुझेका छन् र समर्थन र विरोधमा व्याख्या पस्किएका छन् । जस्तो लेनिन, रोजा , ग्राम्सी र चे ग्वेभारा आदि तीमध्ये प्रमुख हुन् । तर, कतिपय व्याख्या अधुरा र अपुरा रहेका भनाइहरू पनि आइरहेका छन् । क्यापिटलको पहिलो भोलुम छापिएपछि मार्क्सको देहान्त हुन पुग्यो । उनका नोटबुक र तत्काल उपलब्ध सामग्रीका आधारमा एंगेल्सले ‘ क्यापिटल ‘ को भाग २ र ३ प्रकाशमा ल्याए ।यतिबेलासम्म पूंजीका ६ वटा भाग खासगरी जमिन ( ल्यान्डेड प्रोपर्टी , ज्यालादारी मजदुरी , बैदेशिक व्यापार , विश्व बजार र संकटमा आधारित ६ भाग प्रकाशित छन् ।
पछिल्लो एक दशकयता मार्क्स – एंगेल्स संकलनमाला ( मेगा ) ‘ गठन गरेर सबै सामग्री खोज्दा राजनीतिक अर्थशास्त्रका १५ वटा भोलुम तयार हुने कुरा प्रकाशमा आएको छ । मेगाले विश्व इतिहासको क्रोनोलोजी मात्रै १५ सय पृष्ठ भेटिएको जनाइएको त्यतिबेलाका मार्क्सका साथीभाइ इष्टमित्र र सामग्रीको तीव्रतासाथ खोजी भइरहेको छ । झन्डै २ सयको हाराहारीमा रहेका डायरी जुन समाज विज्ञान, इतिहास मानवशास्त्र, प्रकृति विज्ञान र म्याथम्याटिक्ससँग जोडिएका भेटिएको दाबी गरिएको छ । यिनले विगतमा अधुराअपुरा रहेका कृति पुरा गर्न, कम व्याख्या भएका र अस्पष्टतालाई प्रस्ट बनाउन र व्यवस्थित गर्न सजिलो हुने जनाइएको छ । (हेर्नुहोस् , जोन वेलामी फोस्टरद्वारा लिखित ‘मार्क्स ओपेन इन्डिड क्रिटिक’ मन्थ्ली रिभ्यू , १ मे २०१८) यसको अर्थ मार्क्सवाद अपूरो थियो, अब पूरा हुने भन्ने अर्थ कदापि होइन । मार्क्सले आफ्नो जमानाको आर्थिक सामाजिक धरातलमा उभिएर गरेका खोज तथा अनुसन्धानले उनका त्यसवेला गरेका तर्कहरूलाई पुष्टि गर्न थप मद्दत पुग्नेछ ।
मार्क्सवादीमा आएको उतार चढाव
मार्क्सवाद ऐतिहासिक वर्ग संघर्षलाई अध्ययन गर्ने विधि हो । विज्ञानप्रविधिको विकासले ल्याउने परिवर्तन अकों अर्थमा हरेक औद्योगिक क्रान्तिले ल्याउने परिवर्तन , हरेक परिवर्तनभित्र विकसित हुने कामदार शक्ति कसरी निर्माण हुन्छ, त्यो कामदार शक्ति कसरी प्रशिक्षित हुन्छ र कस्ता वाहक वा सङ्गठकले तिनलाई डोर्याउँछन् भन्ने कुराले कस्तो वर्ग बन्छ र कस्तो संघर्ष हुन्छ वा हुने सम्भावना रहन्छ भन्ने निर्धारण गर्छ । आर्थिक – सामाजिक परिस्थिति, श्रमजीवि शक्तिको प्रशिक्षण, राज्यको नीतिले निर्धारण गर्ने वर्ग संघर्ष र क्रान्तिपछिको रूपान्तरण प्रक्रिया यो अध्ययनसँग जोडिने महत्त्वपूर्ण कडी हुन् । त्यसैले सिद्धान्ततः मार्क्सवाद वादविवाद वा बहस ( डाइलेक्टिक), भौतिकवाद (म्याटेरियालिज्म), र इतिहास ( हिस्ट्री )को सम्मिश्रण हो । त्यसैले ठीकठीक विश्लेषण गर्न र एक्सनमा उत्रन त्यति सजिलो छैन । त्यसैले मार्क्सको एउटा प्रसिद्ध भनाइ छ, ‘विज्ञानसम्म पुग्न बनिबनाउ राजमार्ग हुँदैन’ ।
‘मार्क्सवाद, बाइबल, कुरान, वा गीता होइन, जसलाई कण्ठस्थ गरेर कथित ‘ मुक्ति प्राप्त होस् । आजसम्म जेजति समाजवादी क्रान्ति सम्पन्न भए मार्क्सवादी विधिअनुरूप आफ्नो वर्गसंघर्षको इतिहास , तत्कालीन समाजको आर्थिक सामाजिक संरचना, तत्कालीन राज्यको प्रकृति र प्रवृत्ति , समाजमा विद्यमान वर्गसंघर्ष आदिलाई गहिरोसँग केलाएर बहुमत मानिसलाई संगठित संघर्षमा होम्दै सफलता चुमे । मार्क्सवादी अध्ययन विधिकै कारण पछिल्ला मार्क्सवादीहरू ठोस परिस्थितिको ठोस विश्लेषण गरेर क्रान्तिलाई डोर्याए । रुसको अक्टोबर क्रान्ति, चिनियाँ जनक्रान्ति वा क्युबाली क्रान्ति सबै आ – आफ्ना परिवेशमा आ – आफ्ना व्याख्या विश्लेषणका आधारमा सम्पन्न भएका थिए । ती सबैको संघर्षको प्रकृति भिन्नाभिन्नै थियो । परिस्थिति र श्रमजीवी सर्वहारा वर्गको सामाजिक र सांस्कृतिक अवस्था भिन्नाभिन्नै थियो ।
समाजवाद कसरी लागु गर्ने भन्ने विषय कार्यक्रम पनि स्वाभाविक रुपमा फरकफरक थिए । किनकि पूर्णरूपमा विकसित पूंजीवादी समाजको रूपान्तरण र अर्को पछौटे कृषि प्रधान देशको रूपान्तरण कपी गर्न मिल्दैनथ्यो । ज – जसले नीति निर्माण , कार्यक्रम र विचार हुबहु सार्ने कोसिस गरे ती नराम्रोसँग पछारिए । जसले आफ्नो समाज विश्लेषण धरातलीय यथार्थमा रहेर राम्ररी केलाएर अगाडि बढे तिनीहरू सफल भए ।
केही नवउदारवावी पूंजीवादी पक्षधर विद्वानहरूले सोभियत संघ तथा पूर्वी युरोपको विघटनपछि इतिहासको समाप्तिको घोषणा गरे । यसको अर्थ पूंजीवादको विकल्पमा रहेको समाजवादको अन्त्य र सँगसँगै मार्क्सवादको अन्त्य भएको घोषणा गर्ने कसरत थियो त्यो । कसैकसैले मार्क्सवाद विज्ञान प्रविधिमैत्री नभएको घोषणा पनि गरिदिए । कसैकसैले पूंजीमैत्री नभएकाले विकासमै नभएको आरोप लगाउन पनि चुकेनन् । तर , तिनले समग्रतामा के बुझेनन् भने यदि समाजवादले खोजेजस्तो सम्पत्तिको वितरण र पुनर्वितरण अवरुद्ध भयो भने आममानिस उत्पादन र उत्पादनका साधनबाट वञ्चित हुन्छन्, त्यसको अर्थ पूंजी सञ्चिति तथा पूंजी निर्माणसमेत अवरुद्ध हुन्छ ।
यसको अर्थ सम्पूर्ण बस्तु तथा सेवाको उत्पादन र पुनर्त्पादनमा नकारात्मक असर पर्छ । त्यसले सम्पूर्ण अर्थतन्त्रमा मात्र होइन, सामाजिक संकट खडा हुन पुग्छ । दोस्रो विज्ञान र प्रविधिको विकास भनेको केही मुठ्ठीभर व्यक्तिको धन सञ्चयका लागि कि आमजनताको सन्तुष्टिका लागि ? मानव निर्मित वैज्ञानिक सिर्जना र प्रविधि विकास उपलब्धि मानव विकासका लागि धन आर्जन गर्ने साधन मात्र ? पूंजीवादीहरू मानवतावादलाई नकार्दै विज्ञान र विकासको निजत्वकरणमा लिप्त हुन्छन् । मार्क्सवाद निजत्वकरणको खिलाप थियो र छ । सम्पूर्ण उपलब्धि समाजका सम्पूर्ण मानिसको जीवन पद्धतिमा सुधार गर्न, सहज बनाउन लक्षित हुनुपर्छ भन्ने थियो ।आजसम्मका सबै वैज्ञानिक आविष्कार र विकास व्यक्तिगत निजी सम्पत्ति आर्जनका लागि नभएर समाज कल्याणका खातिर भएका हुन् भन्ने बुझ्न पूंजीवादीहरूले चाहेनन् ( हेर्नुहोस् अल्बर्ट आइन्स्टाइन लिखित ‘ह्वाई सोसलिज्म’ । अझै पनि मन्थ्ली रिभ्यू अनलाइनमा पढ्न सकिन्छ )
मार्क्सवाद अल्पकालीन, मध्यकालीन वा दीर्घकालीन योजनाको पोको थिएन भन्ने पनि पूंजीवादीसँगै कथित मार्क्सवादीहरूले पनि बुझेनन् वा बुझ्न चाहेनन् । त्यसैले केही मार्क्सवादीहरूले शासनसत्ता हुँदा गरेका सतही घोषणा, सतही क्रियाकलाप तथा विकृत रूपान्तरणलाई मार्क्सवादसँग जोडेर हेरे । वास्तवमा ती केही मार्क्सलाई बदनाम गर्न चाहने पूंजीवादी र तिनका हिमायतीहरूको औजारजस्तै बन्न पुगे । पूंजीवादीहरूलाई एक प्रकारले औडाहा भएको थियों । मार्क्सवादप्रति तिनको ईर्ष्या चुलिंदै गएको थियो । मार्क्सवादलाई सिराने हालेर गरिएका २०औ शताब्दीभरिका क्रान्तिले गरिब, सर्वहारालाई सशक्तीकरण गरेर जमिन तथा फ्याक्ट्रीको मालिक बनाएको थियो । राष्ट्रिय राज्यको निर्माण गर्दै स्वतन्त्र सार्वभौम सत्तासम्पन्न जनताका अधिकारका लागि साम्राज्यवादविरुद्ध स्वाधीन संघर्ष सञ्चालन गर्न हौस्याएको थियो ।
शिक्षा , स्वास्थ्य रोजगारीमा आमजनताको पहुँच पुर्याउन र राज्यको दायित्वको पहिचान बढाउन मार्क्सवाद औजार बन्न पुगेको थियो । दासका रूपमा भित्र्याएका काला जाति र सम्पूर्ण महिलाहरूलाई मतदान दिने आधार मार्क्सवादको आधारमा भएका क्रान्तिको अगुवाइमा भएका थिए । त्यसले मुट्ठीभर सामन्त तथा पूंजीवादीहरूमा खुम्चिएको राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकार आमजनताको पहुँचमा पुर्यावन अहम् भूमिका खेलेको थियो । पूंजीवादीहरू समाजवादको नामबाट तर्सिनुपर्ने, झाँक्किनुपर्ने, यिनै कारण थिए । समाजवाद समापन हेर्न पूंजीवादीहरू सधै मौकाको खोजीमा थिए, छन् र भोलि पनि रहनेछन् ।
मार्क्सवाद माथि उल्लेख गरिएझैँ बहस, वादविवाद, भौतिकवाद र बर्ग संघर्षको समष्टि हो । क्रान्तिपछि जानी – नजानी राज्य पुँजीवादमा लैजानेहरूले बहस र बावविवादलाई प्रतिबन्ध लगाए । यसले भौतिक वस्तु उत्पादनको विकास त सम्भव भयो, तर समाजको सामाजिक रूपान्तरण प्रक्रिया अवरुद्ध हुन पुग्यो । डाइलेक्टिकको अभावमा राज्यमा ब्युरोक्रेसी हाबी हुन पुग्यो । डाइलेक्टिक (वादविवाद – बहस) को अभावमा जनवाद मलिन हुन पुग्यो र वर्ग संघर्ष झन् भुत्ते हुन पुग्यो । यसरी समाजवादका नाममा हुर्किएको राज्य पूंजीवादमा ढल्नुथ्यो , ढल्यो । त्यों शासन पद्धति जनताको पक्षमा नभएकाले जनताले काँध थापेनन् र अवसान भयो । पूंजीवादीहरूले मार्क्सवाद मरेको प्रचार गरे ।
पूर्वी युरोप र सोभियत संघको विघटनपछि पूंजीवादमा एकपछि अर्को संकट देखा परे । सन् १९९७ / ९८ को पूर्वी एसियाली वित्तीय संकट, १९९८ / ९९ को रुस तथा मेक्सिको संकट, सन् २००२ को अर्जेन्टिनी संकट , यी श्रृंखलाबद्ध संकटहरू एक अर्कामा गाँसिदै गाँसिदै आइनै रहेका बेला संयुक्त राज्य अमेरिकाका बैंकहरूले वित्तीय संकट निम्त्याए र त्यसले निम्त्याय संसारव्यापी मन्दी । पूंजीवादी अर्थशास्त्री तथा नीतिनिर्माताहरू एक दशकदेखि छताछुल्ल हुन पुगेको पूंजीवादका अवयवहरू बटुलेर टालटुल गर्नमा व्यस्त छन् , तर समाजवादी अर्थशास्त्रीहरू भनिरहेछन् , (पूंजीवादमा प्रणालीगत संकट सिस्टमिक क्राइसिस ) आइसकेकोले अब प्रणाली नै फेर्नुपर्छ र विकल्प भनेको समाजवाद नै हो । तर समाजवादले पुराना गल्तीहरू दोहोर्याउनुहुन्न ।
अघिल्लै शताब्दीको अन्तिम वर्षहरूमा नवउदारवादी पूंजीवादविरुद्ध कुल्ठूला संघर्षहरू भए । समग्र ल्याटिन अमेरिका समाजवादमय बन्न पुग्यो । बोलिभारान क्रान्तिको आधारमा हयुगो चाभेजले दर्शनिक स्तेभान मेजारोसको भिजनमा आधारित रहेर २१ औं शताब्दीको समाजवादी कार्यक्रमलाई अगाडि सारे । अमेरिकी साम्राज्यवादको नाकैमुनि बोलेभिया , इक्वेडर , अर्जेन्टिना, ब्राजिल उरुग्वेका श्रमजीवी कामदारहरुको जीवनस्तर ठूलो फड्को मार्ने गरी समाजवादी पार्टीहरु निर्वाचनमार्फत सत्तामा पुगे । कोही सफल देखिए कोही असफल । यद्यपि यो पुनर्जागरणले ल्याटिन अमेरिकामा सशक्त विकल्प प्रस्तुत गरेको छ ।
सन् २००७ देखि २०१० को अवधिमा पूर्वी र पश्चिमी यूरोपमा समाजवादको नयाँ जागरण सुरु भएको छ । मार्क्सवादको गम्भीर अध्ययन सुरु भएको छ । पूंजीवादका स्वरूप र बिस्तारका बारेमा लेनिन ( इम्पेरियालिज्म अ हाइअर स्टेज अफ क्यापिटालिज्म ), रोजा लक्जेम्बर्ग ( क्यापिटल एकुमुलैसन थ्यौरी ) , माइकल कोलेस्की ( जेनरल थ्यौरी र थ्यौरी अफ ग्रोथ एन्ड इम्प्ल्वाइमेन्ट ), जुबान रॉबिन्सन (थ्यौरी अफ इम्यर्फेक्ट कम्पिटिसन ), पौल बरान, पौल स्विजी, हारी म्यागडफ ( मोनोपोली क्यापिटालिज्म एन्ड स्ट्यागनेसन ) आदि माथि गम्भीर बहस र छलफल चल्न थालेका कुरा हिजोआज प्रकाशित पुस्तक, जर्नल आर्टिकल तथा अखबारी लेखनहरूमा पाइन थालेकाले पुष्टि हुन्छ ।
ग्रिसेली अर्थशास्त्री कोस्तास लापाभिताससको ‘प्रोफिट विथआउट प्रोड्यूसिङ ‘ नामक किताबले हामीकहाँ चलेको दलाल पूंजीवादको बहसकों झल्को दिन्छ । उनले विस्तारमा त्यसको पछाडिको सैद्धान्तिक जरा केलाएका छन् । डेभिड हार्वे, फ्रेड मोस्ले, माइकल हेनरिचलगायत सयौं समाजशास्त्री, अर्थशास्त्री तथा राजनीतिशास्त्रीहरू मार्क्सवादको बिकासमा भिडेर लागिपरेका देखिन्छन् ।
हिजोआज पूँजीवादभित्रै दक्षिणपन्थी लोकप्रियतावाद झाङ्गिरहेको छ । पुरानो उदारवादलाई नवउदारवादले खायो र नवउदारवादलाई दक्षिणपन्थी लोकप्रियताबादले । नवलोकप्रिय राष्ट्रवादीहरू पूंजीवादी भूमण्डलीकरणका विरुद्ध राष्ट्रवादी पूंजीवादको वकालत गरिरहेका छन् । र, त्यसका आडमा नश्लवाद, धर्मवाद, जातिवादलाई आड लिने गरेका छन् । तिनले फैलाउन सक्ने नरहिंसा, अन्याय, अत्याचार आततायी युद्धका विरुद्ध मार्क्सवादमा आधारित राजनीतिक संगठनको निर्माणको विकल्पमा अरू केही देखिएको छैन । यस अर्थमा मार्क्सवाद अहिलेको संकटबाट माथि उठ्ने ठूलो वैचारिक विधि बन्ने सम्भावना प्रवल देखिएको छ ।
मार्क्सवादलाई माथि भनिएझैँ धर्मशास्त्र बनाउने होइन । विधिसंगत ढंगले अध्ययनलाई अगाडि बढाउने हो । मार्क्सले भनेझैँ राष्ट्रभित्र रहेका स्रोतसाधनहरू (जमिन, श्रमशक्ति , उद्योगधन्दा , पूँजी , वित्त) कसरी परिचालित भएका छन् ? कसरी कसले कसका हितमा उपयोग र दोहन गरिरहेका छन् यसको विधिवत् अध्ययन आवश्यक छ । विगतमा ‘डाइलेक्टिक्स’को जसरी हत्या हुन पुग्यो अबका दिनमा त्यसो हुन नदिन पुनर्जीवन कसरी दिने ? बहस छलफललाई कसरी सङ्गठनको जीवन बनाउने ? कसरी वर्गसंघर्षलाई क्रान्तिपछि पनि जीवन्त तुल्याउने ? यसको खोजी हुन जरुरी छ ।
नेपालमा मात्रै होइन, संसारभर , संघर्षको कसरी पहिचान गर्ने ? भन्ने समस्या देखिएको छ । अमेरिका र युरोपमा काला जातिमाथि गरिएको भेदभाव र घृणा , मुस्लिममाथि फैलाइएका द्वेष, नेपाल भारतजस्ता देशमा दलित , जनजातिमाथि गरिएका आर्थिक, सामाजिक साँस्कृतिक , राजनीतिक भेद र अन्य सीमान्तकृत जनसमुदायलाई गरिएका हिजोदेखिका भेदभावलाई कसरी हटाउने ? कस्तो अभियानमार्फत कस्तो आर्थिक तथा सामाजिक रूपान्तरणमार्फत ? यी गम्भीर विषय हुन् । गफ र भाषणले मात्र समाजवाद आउँदैन ।
ठोस परिस्थितिको ठोस विश्लेषण, , परिवर्तनका लागि ठोस योजना, योजना कार्यान्वयनका लागि नयाँ क्रियाशील र कामकाजी संस्थाहरूको व्यवस्थापन आवश्यक हुन्छ । नेपालमा वामपन्थीहरुलाई जनताले लहलहैमा लागेर त्यत्तिकै भोट दिएका होइनन्, आमूल परिवर्तनको आसमा दिएका हुन् । यदि उनीहरूलाई यो नाम मात्रका मार्क्सवादी हुन् , यिनले सुधार गर्दैनन् भन्ने लाग्यो भने काँधबाट तल खसालिदिन्छन् जसरी सोभियत सरकारको लास बोक्न कोही सडकमा ओर्लिएनन् ।
प्रतिकृया लेख्नुहोस्: