काठमाडौं । ‘प्राणको बाजी लगाई रगत पसिना बगाई आफैले जोडेको मुलुक आफ्नै हातले दुई टुक्रा बनाई कालान्तरममा नेपाललाई फिरंगीहरुको शिकार बनाउनुभन्दा शेरिएर मर्न तयार छु ।’
उक्त भनाई नेपालका पहिलो प्रधानमन्त्री अर्थात् मूलकाजी दामोदर पाँडेले वि.सं १८६० साल चैत ३ गते मारिनु अगाडि उनीसँगै पक्राउ परेका प्रवल रानाले भाग्ने सल्लाह दिदा व्यक्त गरेका विचार हुन् ।
तत्कालिन राजा रणबहादुर शाहाको आदेशमा छलकपटपूर्ण तरिकाले राजनीतिक षड्यन्त्रमा पारी ५२ बर्षको उमेरमा उहाँलाई काठमाडौंको लुमडिमा गिडेका थिए । प्रवल राना भागेर ज्यान बचाएका थिए ।
उनका कलिला सन्तानलाई पानीमा डुवाएर र झुण्डाएर मारिएका थिए । दाई बंशराज पाण्डेलाई काटिएको थियो । तत्कालिन दरबारिया षड्यन्त्रमा परी नेपाल–तिब्बत युद्धका एक वीर योद्धाको निर्ममतापूर्ण तरिकाबाट अवसान भयो । तत्कालिन दरबारीया षड्यन्त्रको शिकार बन्ने उनी एक प्रतिनिधि पात्र होइनन् । राजा पृथ्वीनारायण शाहाको अवसानपछि नेपालको इतिहाँसमा दरबारीया षड्यन्त्र, भाइभारदारको खिचातानि र शक्ति संघर्षको कोभाजनमा धेरै वीर योद्धाहरुको कत्लेआम भयो ।
नेपाल एकीकरणमा महत्पूर्ण भूमिका खेलेका पृथ्वीनारायण शाहका विश्वासिला पात्र काजी कालु पाँडे किर्तिपुर युद्धमा मारिएका थिए । शाहका कान्छा छोरा बहादुर शाहलाई नुवाकोटमा लगि थुनियो । रणबहादुर शाहलाई उनकै भाइ शेरबहादुर शाहले काटेका थिए । शेरबहादुरलाई तत्काल रणबहादुर शाहकाे अंगरक्षकले हत्या गरेका थिए । बलभद्र कुँवरलाई नेपालबाट लखेटियो । अम्बरसिंह थापाले रसुवाको गोसाई कुण्डमा प्राण त्यागे ।
इतिहाँसकारका अनुसार तत्कालिन राजा पृथ्वीनारायणको मृत्युपछि त्यसपछिका राजाहरु भोगबिलासमा लिप्त हुनु । नेपालमाथि अंग्रेजको कुदृष्टि पर्नु, राज्य संचालनमा राजा भन्दा रानी र भारदारहरु शक्तिशाली देखिनुनै दरबारीया षड्यन्त्रको श्रीबृद्धिको मूल कारण ठान्छन् ।
यसै शिलशिलामा इतिहाँसको कुनकुन कालखण्डमा दरबारीया षड्यन्त्रको माखेसाङ्लोमा वीर योद्धाहरुको कसरी कत्लेआम भएको थियो भन्ने विषयमा विभिन्न सन्दर्भ सामाग्रीको सहयोगमा छोटोरुपमा हत्याश्रृंखलालाई खबरडबलीले प्रस्तुत गरेको छ ।
भीमसेन थापा
वि.सं १८३२मा गोरखाको बोर्लाङमा जन्मेका भीमसेन थापा नेपालको प्रथम प्रधानमन्त्री अर्थात मुख्तियारी हुन् । ३१ बर्ष लामो नेपालको एकछत्र शासन व्यवस्था सम्हालेका थापा अंग्रेजको कट्टर विरोधी थिए ।
एशियाको बाघको उपमा पाएका थापा अंग्रेजलाई नेपालबाट नभइ एसियाबाटै लखेट्ने दाउमा थिए । तर, १८७२ मा अंग्रेजसँग असमान सन्धी भएपछि उनको महत्वकांक्षामा ठेस लाग्न पुग्यो । राज्यसत्तामा उनको पतनको दिनगन्ती सुरु भयो ।
थापाको पतनको मूख्य कारण रानी ललिता त्रिपुरासुन्दरीको वि.सं १८८८ मा मृत्यु हुनु । अंग्रेज रेजिडेण्टमा उनका कट्टर विरोधी हड्सन नियुक्त हुनु, दरबारमा राजेन्द्रकी जेठी रानी सामराज्यलक्ष्मी, पाँडेहरुबीच बलियो गुट बन्नु र वि.सं १८९४ सालमा राजकुमार देवेन्द्रको असमाहिक मृत्यु हुनु इतिहाँसकारले बताएका छन् ।
राजकुमार देवेन्द्रलाई बिष खुवाएर मारेको झुटा मुद्दा लगाइ भीमसेन थापालाई थुनामा राखियो । थुनामा रहेको बखत श्रीमती भक्तकुमारीलाई नांगै शहर घुमाउने र त्यो दृष्य थापाले हेर्नुपर्ने हल्ला चलाईयो । सो हल्ला उनको कानसम्म पुग्यो । सो कुरा सहन नसकि वि.सं. १८९६ सालमा थुनाभित्रै शेरिए । तर, मरेनन् । उनलाई बिष्णुमतिको बगरमा लगेर राखियो । ९ दिनपछि उनले प्राण त्यागे । उनको लाशलाई टुक्राटुक्रा पारी गिद्धलाई खान दिइयो । लामो समय शासन सम्मालेका एक वीर योद्धाको अपमानजनक तरिकाबाट अवसान भयो ।
रणजङग पाण्डे
भीमसेन थापाको पतन पछि शक्तिमा आएका पाण्डे १८९६ मा नेपालको मुख्तियारी भए । थापाहरुको पतनपछि शक्तिशाली भएका पाण्डसँग तत्कालिन राजा राजेन्द्र र अंग्रेजसमेतको मुटु हल्लीएको थियो । उनको नेतृत्वकालमा अर्थतन्त्र नाजुक थियो । सैनिकहरुले तलब पाएका थिएन । यस्तो अवस्थामा उनले नयाँ सैनिक भर्ना गरेका थिए । उनकै शासनकालमा नेपालको इतिहाँसमा पहिलो पटक सैनिक विद्रोह भएको थियो ।
राजा राजेन्द्रले यहि मौका छोपी पाण्डेलाई पदमुक्त गरेका थिए । १९०० सालमा भारत निर्वासनमा रहेका माथबरसिंह थापालाई झिकाइ मुख्तियारको जिम्मेवारी दिइयो । आफ्ना काका भीसेन थापाको हत्याको मिठो बदला लिने अवसरमा रहेका थापाले सत्तामा आए लगत्तै काजी रणबम पाण्डे,करवीर पाण्डे, कुलराज पाण्डे लगायत सम्पूर्ण पाण्डेहरुलाई कटाए । रोगले थल्लिएर बसेका रणजङग पाण्डेलाई भाइ छोराहरुको लाश देखाउन लगियो । सो दृष्य सहन नसकी उनले प्राण त्यागे ।
माथबरसिंह थापा
वि.सं १८५५मा जन्मेका थापा कान्छि रानी राज्यलक्ष्मीका विश्वासिला पात्र थिए । कान्छि रानी सुरेन्द्रको ठाउँमा अफ्ना छोरा रणेन्द्रलाई राजा बनाउन चाहन्थिन् । रानीले आफ्ना छोरालाई राजा बनाउन सहयोग गर्ने उपयुक्त पात्रको खोजिमा थिइन् । राजकाजको सम्पूर्ण शक्ति हत्याउने, मुख्तियारीमा आफ्ना विश्वासिलो पात्रलाई जिम्मेवारी दिने दाउमा उनी लागिन् । रानीको यहि स्वार्थ पुरा गर्नकोलागि उनकै आग्रहमा राजा राजेन्द्रले मुख्तियारीमा माथबरसिंह थापालाई ल्याइएको थियो । तर, माथविरसिंह थापा नुनको सोझो भन्दा पनि थापाविरोधी पाण्डेहरुको बंश नाश गर्नतिर लागे । आफ्ना विरोधीलाई छानिछानि कत्लेआम गरे ।
थापाको कार्यकालमा राजा, रानी र युवराज तीनै गुट सन्तुष्ट हुन सकेनन् । दरबारका तीनै शक्ति चिडिएपछि थापाले सन् १८४४मा पदबाट राजिनामा दिए । यसै समयमा युवराज सुरेन्द्र राज्यगद्दि नपाएसम्म काठमाडौं नर्फकने अडान लिएपछि शासनको सम्पूर्ण अधिकार सुरेन्द्रलाई सुम्पेका थिए । यस निर्णयबाट क्रुद्ध भएका कान्छि रानी, भाइभारदारसमेत थापा विरुद्ध षड्यन्त्र गर्न थाले । रानीने आफ्ना विश्वास पात्र गगनसिंहसँग मिलेर थापालाई मार्ने योजना बनाइन् । वि.सं १९०२ साल जेठ ६ गते राति थापाका भान्जा जंगबहादुरकोसमेत सहयोगमा गोलि हानि उनको हत्या गरियो ।
जंगबहादुर राणा
नेपालको इतिहाँसमा धुर्त र चतुर शासककोरुपमा जंगबहादुर राणालाई लिइन्छ । वि.सं १८७४ साल असार ७ गते गोरखा मामाघरमा जन्मेका थिए । दरबारिया षड्यन्त्र, जालझेललाई नजिकबाट बुझेका राणालाई थापाहरुको पतनसँगै उनीहरुको परिवार पनि भारत गएका थिए ।
वि.सं १८९७ मा राजा राजेन्द्र शिकार खेल्न गएकाबेला दरबार ल्याएका राणालाई त्यसपछि कहिल्यै पछाडि फर्किनु परेन । वि.सं १८९८ मा जेठी रानी साम्राज्यलक्ष्मीको निधन भएपछि दरबारमा राज्यलक्ष्मीको शक्ति बढ्न थाल्यो । तत्कालिन अवस्थामा दरबारको चरम गुटबन्धीको फाइदा उठाउँदै जंगबहादुरले कान्छि रानीको विश्वस पात्र गंगनसिंहको हत्या गरिदिए । सो घटनापछि क्रुद्ध बनेकी रानीले हत्याको बदला लिन सम्पूर्ण भाइभारदारलाई कोतमा जम्मा हुन उर्दी जारी गरिन् ।
साम, दाम, दण्ड, भेद सबै कुराको बन्दोबस्ती गरेर बसेका जंगबहादुरले आफ्ना सात भाइको पल्टन सहित उनी कोतमा हाजिर भएका थिए । सोहि मौका छोपी कोतमा जम्मा भएका आफ्ना विरोधीहरुलाई छानिछानि हत्या गरे । बचेखुचेकोलाई भण्डारखाल र औलमा खतम पारिदिए ।
कोतको परिदृष्यप्रति शंका लागेर राजा राजेन्द्र ज्यान जोगाउन ब्रिटिस राजदुताबास गएका थिए । तर, शरण पाएनन् । १९०३ को कोत पर्वले चिनिने यस घटनालाई नेपालको इतिहाँसमा सबैभन्दा ठूलो रक्तपापूर्ण घटना मानिन्छ । सोही हत्याकाण्डबाट शासनसत्ता हत्याउन सफल भएका जंगबहादुर अंग्रेजका विश्वासिला पात्र रहेको इतिहाँसकार बताउँछन् । यहि हत्याकाण्डबाट नेपालमा एक सय चार बर्ष लामो जहानियाँ राणा शासनको उदय भयो ।
रणोदीप सिंह
जंगबहादुरले बसालेको शासनव्यवस्था अनुसार प्रधानमन्त्री भएका रणोदीप सिंहको जन्म वि.सं १८८२ साल बैशाख २९ गत भएको थियो । १९०३ सालको कोतपर्वमा सेनाका कप्तान रहेका उनी राणाशासनका तेस्रा प्रधानमन्त्री हुन् ।
तत्कालिन युवराज त्रैलोक्य जंगबहादुका जेठा छोरा जगत्जङ्गलाई प्रधानमन्त्री बनाएर शासनसत्ता हातमा लिने दाउमा थिए । तर, धुर्त धीरशमशेरले जंगबहादुरको मृत्युलाई ढाकछोप गरी राजा सुरेन्द्रलाई प्रभावमा पारी रणोदीपलाई प्रधानमन्त्रीमा नियुत्ति दिन लगाए । रणोदिप प्रधानमन्त्री भएको केहि समयमा युवराज त्रैलोक्यको निधन भयो । त्यसको तीन बर्षपछि राजा सुरेन्द्रको पनि निधन भयो । राजगद्दिमा ५ बर्षिया नावालक पृथ्वीविक्रमलाई राखियो ।
रणोदीपको पालामा दुई घटनालाई महत्वपूर्ण घटनाकोरुपमा लिइन्छ । वि.सं ०३८ सालमा युवराज त्रैलोक्यले प्रधानमन्त्री रणोदिप र धीरशमशेरलाई मार्ने षड्यन्त्र गरेका थिए । ०४२ सालमा धीर शमशेरका छोराहरुले आफ्नै काका रणोदीपलाई हत्या गरेका थिए । सन् १८८५ सालमा राति गोडामा तेल लगाएर बसिरहेको अवस्थामा धीर शमशेरका चारभाई छोराहरु ‘पेटीकोटबाट शासन गर्नेको यस्तै हालत हुन्छ’ भन्दै टाउकोमा गोली प्रहार गरेका थिए । रणोदीपको कोठामै प्राण गएपछि घिसार्दै भर्याङबाट बाहिर फालिएको थियो ।
राजदरबार हत्याकाण्ड
नेपालको इतिहाँसमा सबैभन्दा ठूलो रहस्यमय हत्याकाण्डकोरुपमा दरबार हत्याकाण्डलाई लिइन्छ । वि.स. २०५८ साल जेठ १९ गते राति नाराहिटी राजदरबारमा पारिवारीक भेटघाटको समारोह भइरहेको अवस्थामा भएको गोलिकाण्डले राजा वीरेन्द्रको बंश नाश भएको थियो । सो काण्डमा राजपरिवारका अन्य ५ सदस्यलेसमेत ज्यान गुमाएका थिए । हत्याकाण्डको दोष युवराज दिपेन्द्रलाई लगाएपनि नेपाली जनताले अहिलेसम्म पत्याउन सकेका छैन । सो घटनापछि राजा भएका ज्ञानेन्द्र शाहको शासनकालमा तत्कालिन विद्रोही माओवादी र सात राजनीतिक दलको १९ दिने संयुक्त आन्दोलनबाट २ सय ४० बर्षलामो राजसंस्थाको अन्त्य भायो ।
आधुनिक युगमा सैनिकका उच्च कमाण्डो फोर्सले घेरिएर बसेका राजा, रानीसहित १० जनाको सामुहिक कत्लेआम हुँदासमेत राजपरिवारलाई बचाउन सकेन् वा चाहेनन् यो त रहस्यको गर्भमै रहेको छ ।
यस घटनालाई लिएर विभिन्न अड्कलबाजी, व्याख्या, विस्लेषण गरेपनि घटनाको यथार्थ विवरण बाहिर आउन सकेको छैन । इतिहाँसको विभिन्न कालखण्डमा भएको रक्तपातपूर्ण घटनाले दरबारीया पड्न्त्र, तत्कालिन राजनीतिक अवस्था, पद र प्रतिष्ठाकोलागि शासकले देखाउने चरित्रकोबारेमा स्पष्ट चित्रण भएपनि भविष्यमा यस्ता घटना हुन नदिन इतिहाँसबाट हाम्रा शासकले पाठ सिक्ने पो हो की ?
प्रतिकृया लेख्नुहोस्: