प्रिय मित्र केपी जी, तपाईँ अहिले शक्तिशाली कम्युनिष्ट पार्टीको नेतृत्वमा झण्डै दुईतिहाइको शक्तिशाली सरकारको प्रधानमन्त्री हुनुहुन्छ । संसारबाट कम्युनिष्ट व्यवस्था धुमिल हुँदै गएको अवस्थामा नेपालमा जनताको अत्याधिक लोकप्रिय भोटले कम्युनिष्ट पार्टीलाई अनुमोदन गरेको छ ।
जनताकै बलमा आज तपाईँ त्यो स्थानमा हुनुहुन्छ । इतिहाँसमै कम्युनिष्ट पार्टी र तपाईँको लागि यो अतभुतपूर्व अवसर हो । यो अवसरलाई सदुपयोग गरी सर्वहारा वर्ग, पीडित, असहाय र सामाजिक बहिस्करणमा परेका जनताहरुको सेवा गरी उनीहरुको आर्थिक, सांस्कृतिक, राजनीति र सामाजिक जीवनशैली श्रीबृद्धि गरी वास्तविक राजनेता बन्ने कि, रछानमा फालिएको बस्तु बन्ने त्यो तपार्इँको हातमा छ ।
तपाईँलाई अहिले पनि सम्झना ताजै होला, जतिबेला सामन्ती राज्यव्यवस्था र उसबाट पालित पोषित फटाहाहरुलाई गाउँबाटै नलखेटेसम्म वास्तविक सर्वहारा वर्गको राज्य स्थापना हुन सक्दैन भन्दै ०२८ सालमा हामीले झापा विद्रोह गरेको थियौं । आज त्यहि हजारौं शहिदहरुको त्याग, तपस्या र रगत पसिनाले स्थापना भएको गणतन्त्र नेपालको शक्तिशाली प्रधानमन्त्रीको कुर्शीमा तपाईँ आसिन हुनुभएको छ । सामन्ती राज्यव्यवस्थाको विरुद्ध साथ दिने ति तमाम शहिद र वेपत्ता वीर योद्धाहरुको आत्मालाई शान्ति मिल्ने गरी मुलुकको मुहार फेर्ने मुख्य जिम्मेवारी तपार्इँको काँधमा आएको छ । त्यो कसरी पुरा गर्नुहुन्छ, हामीले बाहिर बसेर हेरिरहेका छौं ।
तपाईँले चुनाव अघि व्यक्त गर्नुभएको वाचा पुरा गर्नुभयो वा भएन त्यो जनताले भोलि अवश्य मुल्यांकन गर्नेछन् तर पनि म तपाईँको पूर्व एक हितैसी मित्रको नाताले पछिल्लो समय नेकपाभित्र जुन बिग्रह शुरु भएको छ, त्यो एकदमै गलत छ । तपाईँ पहिले जुन स्प्रिडमा पार्टी एकता गर्नुभएको थियो, पछिल्लो समय त्यो कदमबाट पर हट्न खोज्नुभएको छ । तपाईँ पार्टी बनाउनभन्दा पनि सत्तामा जाने मोर्चा बनाउनुभयो । सत्तामा जाने मोर्चा बनाउन ६/७ जानाबीच स्वार्थको बाँडफाँड गर्नुभयो । पार्टीलाई सत्तामा जाने भर्याङ बनाउनुभयो । ओली जी तपाई दुईतिहाइको शक्तिशाली प्रधानमन्त्री भइहाल्नुभयो, अब कसले भ्याउने ।
प्रचण्ड जी आफैँ कोहीभन्दा कम हुनुहुन्न, माधव जि पनि त्यस्तै, झलनाथ र बामदेवसहितको टिमको त झन कुरै भएन । यसरी नै तपाईँहरु सत्तामा टिकिराख्नको लागि एकले अर्कालाई छिड्के दाउ लगाएर अगाडि जाने प्रयत्नमा हुनुहुन्छ । अहिले पार्टीमा एकताको सिद्धान्त र आदर्शको कुनै गुञ्जायस छैन । आदर्शबिहिन गठबन्धनले नेकपाभित्र तनाबको स्थिति पैदा भएको छ । त्यसैको परिणती अहिले तपाईँ भोगि रहनुभएको छ ।
मेरो विचारमा पछिल्लो समय नेकपा पार्टी नै भएन । स्वार्थी गुटहरुको खेल मैदान भयो । विभिन्न गुटहरुको मोर्चा भयो, त्यहाँ कम्युनिष्ट पार्टीको आदर्श सिद्धान्त, नीति, निर्माणबारे बहस हुन छाडेको छ । तपाईँहरुको एउटै ध्याउन्न भनेको कसरी सत्तामा टिक्ने ? सत्तामा जाने भर्याङ कसरी बनाउने भन्नेमा बढि समय खर्चिनुभयो । देश र जनताको विकासमा ध्यान दिनुभन्दा धोकाधडी राजनीति हावी हुँदै गयो ।
हाम्रा आदर्श नेता मनमोहनको नेतृत्वको नौ महिने लोकप्रिय सरकारको साक्षीँ तपाईँ पनि हुनुहुन्छ । त्यतिबेला पनि नेताहरुको आ–आफ्नै भित्री इन्ट्रेस्ट थिए तर गुटहरु थिएनन् । अहिले पार्टीभित्र ५/६ जनाको एउटा मोर्चा छ । ओली जी तपाईँ त पहिलेदेखि नै गुट चलाउनुभएको मान्छे । प्रचण्ड जीको त झन भन्नै परेन । माधब जी, झलनाथ र बामदेव जीको त्यस्तै छ । गुट नबनाउने त नेकपाभि नेता नै नरहने स्थिति छ । हो आज, यस्ता गुटैगुटको खेलको चक्रब्यूमा पार्टी फसेको छ ।
हिजो मनमोहनको पालामा एउटै नेतृत्वले पार्टी चल्थ्योे । व्यक्तिले माने पनि नमाने पनि भित्र एउटा आदर्श थियो । अनुशासन थियो । केही गरौं भन्ने अभिलाशा थियो । मनमोहनको नेतृत्वको सारकाले ल्याएको दुईवाटा कार्यक्रम ‘आफ्नो गाउँ आफै बनाउँ’ र बृद्धअसाहयको लागि भत्ताको व्यवस्था अहिले सम्मपनि लोक प्रिय रहेको छ । नीतिगत योजना बनाउने र त्यसलाई कार्यन्वयन गर्ने एउटा भिजन थियो ।
अहिले तपाईँ कुरा ठुला–ठुला गर्ने तर काम फिटिक्क केही गर्नुभएको छैन् । गाउँका आम मानिसलाई समेट्ने तपाईँसँग कुनै नयाँ योजना छैन । दुई तिहाइको सरकार, बलवान सरकार, लोकप्रिय सरकारको नारा त तपार्इँले दिनुभयो तर कार्यान्वन गर्नुभएन । भ्रष्टचारविरुद्ध समृद्धिको लागि तपाईँले जति नारा दिनुभयो, त्यसको गति ठिक उल्टो छ । भलै कतै–कतै सडहरु बनेका छन् । बाटो घाटो थुरै सुधारिएका छन् । तर त्यतिकै भरमा समृद्ध नेपालको सपना साकार हुँदैन ।
ओली जी तपाईसँग समृद्ध नेपाल बनाउने डिजाइन के छ ? समृद्ध नेपाल निर्माण गर्न पहिले गरिबी निवारण गर्नुपर्छ कि पर्दैन ? यसतर्फ तपाईँको सरकारको कुनै भिजन नै छैन । योजनै छैन । अनि कसरी समृद्ध नेपाल निर्माण हुन्छ ? अहिलेको तपाईँको परिणाम भनेको सिद्धान्तहिनताको परिणाम हो ।
नेकपाभित्रको कलह उत्कर्ष पुग्नुमा मुख्य दोषि तपाईँ हो । राम्रो नीति योजना बनाएर पार्टीलाई सुब्यवस्थित गर्दै आदर्शवान नेताको छबि बनाएको भए आज यो स्थिति आउने थिएन । तपार्इँले पार्टी एकता भएको डेढ बर्षसम्म पार्टीको केन्द्रीय समिति बैठकको मिटिङ राख्नु भएन । बैठकको निर्णय लागु गर्नु भएन । सचिवालयले जे निर्णय गर्यो, त्यहि लागु गर्ने तरिकाबाट तपाईँ अगाडि बढ्नुभयो । हो, सचिवालयले गरेको निर्णय ठिक थियो वा थिएन त्यसबारे पछि अवश्य छलफल र बहस होला । पार्टीले गरेको निर्णयलाई सिधै चुनौति दिने काम पार्टीको प्रमुख नेताको हैसियतले तपाईँले गरेपछि कसरी पार्टी चल्छ ? अध्यक्षले पार्टीको अनुशासन नमानेपछी कार्यकर्ताले किन मान्छन् ? त्यसैले पार्टी बिग्रह आउनुमा एक नम्बरको जिम्मेवार नेता तपाईँ नै हो । पार्टीअध्यक्ष र प्रधानमन्त्री भएको हैसियतले अस्तव्यस्थताको सारा जिम्मेवारी तपाईँले लिनुपर्छ ।
यसो भन्दैमा मैँले पार्टीभित्र अन्य नेताहरुको कुनै जिम्मेवारी छैन् भन्न खोजेको होइन् । तर मुख्य जिम्मेवारी तपाईँले लिनुपर्छ । तपार्इँको गलत कार्यशैली, सिद्धान्तबिहिन चिन्तन, स्वार्थपरक ब्यवहार र राजर्षी जीवनशैलीको कारण पार्टी नै बिघटनको स्थितिमा पुगेको छ । तपाईँले ६ हजार मानिसलाई भेला पारेर किन जन्म दिवस मनाउनु भयो ? तपाईँको जीवनशैली, व्यवहार र दृष्टिकोण जनताले मुल्यांकन गरिरहेका छन् ।
जनताको समस्यामा मलमपट्टी लगाउन चाहिँ तपाईँ गाउँमा नजाने अनि ६ हजार मानिस भेला पारेर राजर्षी ठाँटमा जयजयकार गर्दै केक काटेर जन्मउत्सव मनाउन मिल्छ ? यही हो कम्युनिष्ट आदर्श ? यही हो कम्युनिष्ट जीवन शैली ? यही हो कम्युनिष्टको नीति र सिद्धान्त ? त्यो पैसाले गाउँमा स्कुल वा अस्पताल बनाइदिएको भए जनताले कति आर्शिवाद दिन्थे ? त्यतातिर तपार्इँको बुद्धि छैन । तपाईँले अहंकार, दम्भ देखाउनु भनेको आफ्नो महत्वकाँक्षाको पराकाष्ठा नाग्नु हो । तपाईँको यही चिन्तनशैलीको कारण पार्टीमा बिग्रह परेको हो । मेरो नजरमा पार्टी बिग्रहको एक नम्बरको जिम्मेवार दोषि तपाईँ हो ।
अहिले तपाईँले जे बोल्नु भएको छ, त्यो गर्नुभएको छैन । भ्रष्टाचारविरुद्ध तपार्इँ सबैभन्दा चर्का भाषण गर्नुहुन्छ । तपार्इँकै नेतृत्वको सरकारमा सबैभन्दा बढि भ्रष्टाचार बढेको छ । ठुला भ्रष्टाचारीलाई तपाईँले नै संरक्षण दिनुभएको छ । तपार्इँकै संरक्षणमा भ्रष्टाचार बढिरहेको छ । वाइडबडि, सुनकाण्ड, यति काण्ड, ललिता निवास जग्गा प्रकरणदेखि बाँस्कोटा प्रकरणसम्म तपाईँको संरक्षण रहेको छ । पुराना सेलाउँदै जाने र नयाँ उजागर हुँदै जाने क्रम बढेको छ । एक से एक भ्रष्टाचार तथ्यांक बाहिर आउनुले माथिबाटै भ्रष्टाचारलाई संस्थागत हुँदै गएको मेरो बुझाई छ ।
राज्यको तल्लो तहमा पनि भ्रष्टाचार नबढेका होइन । राज्यलाई नै हल्लाउने अर्बौका भ्रष्टाचार तपाईँकै लेबलबाट आइरहेको छ । भ्रष्टाचारविरुद्ध तपाईँले केही गर्नुभएको छैन । तपाईँ यही गलत चिन्तनशैली, एकांकी साेँच, गुटगत स्वार्थकेन्द्रीत राजनीतिको कारण नेकपा संकटको भूमरीमा फसेको छ । अहिले चुनावमै जानुभयो भने पनि हिजोको जस्तो सानदार भोट तपाईँलाई आउँदैन । तपाईँको कार्यशैली हेर्दा दुईतीन वर्ष कोर्ष करेक्सन गरेर जाने सम्भावना पनि कमै देख्छु । अहिले नेकपा अग्रगतिभन्दा पनि अधोगति दिशामा पार्टी चलेकोले भविष्यमा पार्टीमा ठुलो संकट आउँदै छ, भन्ने मलाईँ लागेको ।
सबैभन्दा पहिले तपाईँले आफ्नो अहमलाई त्याग्नुपर्छ । तपाईँसँगै ५/७ जनाको जुन टिम छ, त्यो बराबरीकै म हुँ ठान्नोस । त्यो रियलाइज गरेर अगाडि बढ्नुभयो भने तपाईँलाई पनि फाइदा हुन्छ र पार्टीलाई पनि हित गर्छ । तपाईँलाई अहिले के दम्भ छ भने म जस्तो ब्रम्हाज्ञानि कोहि छैन भन्ने परेको छ । कोर टिममा सबैले सबै थोक जानेका छैनन् । नजान्नेबीचमा पनि बुद्धि निकाल्न सकिन्छ नि ! आफुँलाईँ ब्रम्हाज्ञानि भएको अहमताले सर्वनाक हारको स्थिति ल्याउँछ । तपाईँलाई म जीउँदो छँदै शालिक बनाउनु पर्छ भन्ने लागेको छ, त्यो मानसिकता त्यागेर देश बनाउने काममा लाग्नोस् । यसमै तपाईँको भलाई छ । शालिक त मरेपछि, अरु हजारौं मानिसले बनाइदिन्छन् । म देश बनाउने होइन, अहिले नै शालिक र म्युजियम बनाउन तिर लाग्छु भन्नुभयो भने तपाईँले म्युजियम र शालिक बनाउन भ्याउनु हुन्न । प्रस्तुती : गणेश पाण्डे
प्रतिकृया लेख्नुहोस्: