कोरोनाको राजनीतिकरण र ध्रवीकरण
वास्तवमा कोरोना महामारी आजको मानव जातीको साझा समस्या हो । तर यो महामारीविरुद्व कसरी लड्ने भन्ने विषयमा राजनीतिक आग्रह र पूर्वाग्रह जारी छ । कोरोनाविरुद्वको लडाईंमा पूँजीवाद र समाजवादको गन्ध आउनु मुर्खता र सकिंर्णता शिवाय केही थिएन । यो विश्व मानव जातीको अस्तित्वकै साझा समस्या थियो र यसले सबै राष्ट्रको एकताबद्व पहल र बुझाईमा एकरुपताको माग गर्दथ्यो । तर बिडम्बनाको कुरा यो समस्यालाई सुरुमै राजनीतिकरण गरियो ।
निःशन्देह यो भाइरसको प्रकोपको शुरुवात चीनको बुहानबाट भएको थियो । चीनमा भएको महामारीप्रति अमेरिकी र पश्चिमी देशहरुले खुसीयाली मनाउनु वास्तवमै अमानवीय र घृणित कार्य थियो । त्यति मात्र हैन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो भाइरसलाई चिनियाँ भाइरस भनि सार्वजनिक टिप्पणी गर्नु र यसको नामाकरण नै ‘चाईनीज भाइरस’ राख्नुपर्छ भनेर प्रस्ताव राख्नु अमेरिकाको विवेकहीन र मुर्खतापूर्ण कदम थियो । आज आएर चित्र बदलीएको छ । कोरोना भाइरसको महामारी विश्वव्यापी बनेको छ र त्यसले यूरोप र अमेरिकामा सबैभन्दा बढि उत्पात मच्चाउँदै गएको छ ।
कोरोना भाइरस (कोभिड–१९) पत्ता लागेको करिब तीन महिनाकै अवधिमा संसारभरि आठ लाखभन्दा मानिस संक्रमित भएका छन् भने ४२ हजारभन्दा बढिको मृत्यु भईसकेको छ । आज अमेरिकामा कोरोना संक्रमितहरुको संख्या सबैभन्दा उच्च बनेको छ । अमेरिकाको न्यूर्योक शहरमा कोरोना महामारीले तबाहा मच्चाउँदै गएको छ । अमेरिकी स्वास्थ्यविज्ञहरुले महामारी फैलीनुपूर्व नै न्यूयोर्कलाई लकडाउन वा बन्द गर्न दबाब दिईरहेका थिए । तर यो सझावलाई न्यूयोर्कका गभर्नर एन्ड्र क्योमोले सिधै इन्कार गर्दै सिएनएनसँग भनेका छन्, –“न्यूयोर्क त पहिलेदेखि नै क्वारेन्टाइनमा छ । यहाँ न भिड हुन्छ न त सार्वजनिक कार्यक्रम । यदि मानिसहरुलाई घरबाट बाहिर निस्कन नदिए त्यो लकडाउन हुनेछ, त्यसपछि हामी चीनको बुहानमा जस्तै हुनेछौं । जसको कुनै अर्थ छैन ।” क्योमोले अगाडि भनेका छन्, “लकडाउनको विचार अमेरिकी विरोधी छ र अर्थव्यवस्थाका लागि खतरा छ । लकडाउन गर्न युद्वको घोषणा गर्नु सरह हुनेछ ।”
एकातर्फ अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले गत स्थानीयबासीलाई अत्यावश्यक बाहेक अन्य परिस्थितिमा बाहिर ननिस्कन सुझाव दिएको छ भने अर्कोतर्फ न्यूयोर्कसँग सीमा जोडिएका राज्यहरुले आवतजावत बन्द गर्नुपर्ने दबाब दिईरहेका छन् । उता राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भनेका छन्, “न्यूयोर्कमा क्वारेन्टाईन र लकडाउनको जरुरत छैन ।” उनले यसैलाई जोड दिँदै अघि भनेका छन्, “अमेरिका बन्द हुनका लागि होइन ।” न्यूयोर्कका गर्भनर एन्ड्र क्योमोले थपेका छन्– “कोरोनाका कारण न्यूयोर्क बन्द हुन सक्दैन ।” अमेरिकाको यो विचारलाई पछ्याउँदै ब्राजीलका राष्ट्रपति जायरो वोल्सोनारोले भनेका छन्, “मलाई माफ गर्नुहोला, अझै केहि मानिसहरुको मृत्यु हुनेछ, यही जीवन हो ।” उनले अगाडि थपेका छन्, “सवारी दुर्घटनाका कारण मृत्यु हुँदा कार बनाउन त रोक्न सकिन्न नी ! ब्राजील रोकीन वा बन्द हुन सक्दैन ।” स्मरणीय छ, ब्राजीलमा करिब ५ हजारभन्दा बढि कोरोना संक्रमीत छन् । जहाँ दुई सयभन्दा बढिको मृत्यु भईसकेको छ ।
केहि विश्लेषकहरुले के विचार राखेका छन् भने कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण नगरी फैलीन दिनु नै सही र प्राकृतिक रोकथाम हो । यदि नियन्त्रणको सट्टा फैलिने दिशामा यसलाई छोडियो भने यसको प्रतिरोध क्षमता विकास हुनेछ र भाइरस आफैं परास्त हुनेछ । यो विचारले परोक्ष रुपमा यसको आक्रमणको निशाना बनेका ज्येष्ठ नागरिक, दिर्घरोगी र कमजोर अपाङ्ग व्यक्तिहरुको मृत्युलाई स्वभाविक वा प्राकृतिक भन्ने ठान्दछ । एकजना अमेरिकी विश्लेषक जेफरे साच्सले सिएनएनसँग कुरा गर्दै भनेका छन्, “यतिबेला अमेरिकीहरु जीवित रहनका लागि लड्दैछन्, त्यति नै बेला राष्ट्रपति ट्रम्प अर्थतन्त्र संरक्षणमा धेरै नै केन्द्रित भए जस्तो व्यवहार गर्दैछन् ।” उता डब्लू एचओका स्वास्थ्य विज्ञ माइक रायनले चेतावनी दिँदै भनेका छन्, कोरोनाका कारण विश्वकै भविष्य अनिश्चित बनेको छ । उनले भनेका छन्, “विश्वका धेरै देशमा यो महामारी चक्रको सुरुवात मात्र देखिँदैछ, केहि देश (चीन, सिंगापुर) यो महामारीको चक्रबाट गुज्रीएका छन् र यी देशमा रोग पुनः नफैलियोस भन्ने हाम्रो चाहना छ ।
उता कोरोना भाइरसका सन्दर्भमा चीनका विरुद्व अफवाह फैलाउने अमेरिकी आरोपलाई खण्डन गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लू एच ओले चीनको पक्ष लिएको भन्नेजस्तो गम्भिर आरोप लगाएका छन् । आजका दिनसम्म पनि कोरोनाको वितण्डा कहिलेसम्म जारी रहला भन्ने विषयमा अन्यौल बाँकी नै छ र यस सन्दर्भमा नोबेल पुरस्कार विजेता तथा स्टयाण्डफोर्ड वायोफिजिस्ट माइकल विटले भनेका छन्, “अहिले पनि भनिएजस्तै भयाभह छैन, हरेक क्षेत्रमा डर त्रास, चिन्ताको वातावरण छ । उच्चतम अवस्थामा कोरोना भाइरसको असर पुगिसकेको छ र अब यो विस्तारै कम हुँदै जान्छ ।” वास्तवमा चीन, सिंगापुर र दक्षिण कोरियाको सन्दर्भमा यो मिलेपनि बाँकी विश्वका सन्दर्भमा त्यसो देखिएको छैन ।
कोरोनाले छुट्टायो पुँजीवाद र समाजवादलाई
वास्तवमा आजको बदलीँदो विश्वमा पुँजीवादी धुव्रको नेतृत्व अमेरिकाले गरेको छ भने समाजवादी धु्रवको नेतृत्व चीनले गरीरहेको छ । चीन पूर्णंरुपमा समाजवादी देश हो वा होइन बहशको विषय छ तर पनि उ अमेरिका र पूँजीवादी देशहरु विरुद्व आक्रामक रुपमा लागेको छ । कोरोना भाइरसको संक्रमणले चीनलाई ठप्प पर्दा अनि ठूलो जनधनको क्षति हुँदा पश्चिमाहरु खुसीयाली मनाए । त्यसका बाबजुत चीनले कोरोना भाइरसविरुद्व सिघ्र विजय गरिछाड्यो र अहिले त्यो महामारीको केन्द्र सम्पूर्ण युरोप अमेरिका बनेको छ । आज चीन ८९ भन्दा बढि देशमा कोरोनाविरुद्व सहयोग गर्दै खाद्यान्न, औषधी, मास्क, स्वास्थ्यकर्मी र अन्य आवश्यक सामाग्रीको सहयोग गर्दै विश्वमै अभिभावकत्व ग्रहण गर्दैछ । चीनका राष्ट्रपति सिजिङपिङले जी–२० राष्ट्रको भिडियो कन्फ्रेन्स बैठक सम्बोधन गर्दै भनेका छन्, “हामी सम्पूर्ण विश्वकै मानव जातीको रक्षाका लागि लडीरहेका छौं र हामी विजयी भएरै छाड्नै छौं ।” उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकामा भएको महामारीका विरुद्व चीनको विशुद्व मानवीय सहयोगलाई स्वीकार गर्न अनुरोध गरेका छन् । उता राष्ट्रपति ट्रम्पले अन्त्यमा आएर चीनको भूमिको प्रशंसा गर्न वाध्य भएका छन् । हालै आएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा मात्र एक लाख मानिसको मृत्यु हुनसक्ने बताइसकेका छन् ।
जबसम्म डोनाल्ड ट्रम्पहरु आफ्नै जीवनको सुरक्षामा चुनौती वा संकटको महशुस गर्दैनन्, तबसम्म सर्वसाधारण नागरिकको मृत्यु वा संक्रमणको भयले उनीहरुलाई कत्ति पनि प्रभावित गर्नेछैन् । भनिदैंछ, संयुक्तराज्य अमेरिकामा जम्मा जम्मी दश हजार मात्र भेन्टीलेटर छन् । शायद त्यो पूँजीपतिहरुका लागि पनि अपुग हुन्छ भने सर्वसाधारणका लागि त ढोका बन्द नै हुन्छ । राष्ट्रपति ट्रम्पहरुले आजका दिनसम्म पनि आफ्ना हजारौं जनताको जीवनभन्दा पनि अर्थतन्त्र प्रधान हो भन्ने तर्क गरिरहेका छन् । अहिले पनि थुप्रै पुँजीवादी शासकहरुले लकडाउनलाई चाईनीज विधि भनेका छन् र त्यसलाई निरंकुश वा अधिनायवादी मोडेलका रुपमा चित्रित गर्न खोजीरहेका छन् । अझैसम्म पनि डोनाल्ड ट्रम्पहरु कोरोना भाइरसलाई चिनियाँ भाइरस भनेर चित्रित गर्न खोजीरहेका छन् । अझैसम्म पनि डोनाल्ड ट्रम्पहरु कोरोना भाइरसलाई चिनियाँ भाइरस भनेर चित्रित गर्दै मनोवैज्ञानिक रुपमा विश्व भरि नै खासगरि चिनियाँ र एशीयन नागरिकहरु प्रति घृणा फैलाउन खोज्दै छन् । हुन त उनले आफुँ एशियन नागरिकहरु प्रति फैलाइएको घृणाप्रति दुःखीत भएको उल्लेख गरिसकेका छन् ।
वास्तवमा जसले लकडाउनलाई राजनीतिक विचारधारासँग जोड्ने मनशाय राखेका छन्, या त तिनीहरुले कोरोना भाइरसलाई बुझेका छैनन् यात बुझेर पनि भ्रम छर्दै वा षडयन्त्र गर्दैछन् । स्पष्टै छ, आजसम्म न त कोरोना भाइरसविरुद्ध कुनै औषधी वा भ्याक्सीन नै बनेको छ न त त्यसको बारेमा पूर्व अध्ययनको कोर्स नै पुरा भैसकेको अवस्था छ । यस्तो अवस्थामा त्यसको संक्रमण रोक्नु नै एकमात्र सही विकल्प हुनेछ । संक्रमण रोक्ने एउटा महत्वपूर्णं र प्रभावकारी विधि लकडाउन बनेको छ । अर्को शब्दमा भन्दा व्यक्ति व्यक्तिबीचको सम्बन्धमा दुरी कायम गर्ने । दुरी कायम गर्नका लागि राज्य र जनता दुवै मिलेमा मात्र फलदायी बन्न सक्छ । यहाँनेर चाहेर वा नचाहेर राज्यको अनुदार भूमिकाको माग गर्दछ ।
केही पुँजीवादी विश्लेषकले भनेका छन्, “लकडाउन कुनै स्थायी विधि हैन् वा यो नै अन्तिम विधि हैन ।” उनीहरुले भनेका छन्, “लकडाउन विधि कोरोनाविरुद्वको कुनै समाधान नै हैन ।” वास्तवमा यो तर्क पनि सही छ र तर आजको दिनमा गर्ने के ? के हजारौं, लाखौं मान्छेहरुलाई मर्न दिएर राज्यहरु टुलुटुलु हेरीरहने ? के शासकहरु यतिविघ्न संवेदना हिन बन्न मिल्छ ? आज अमेरिका र युरोपमा नै कोरोनाको संक्रमण भयाभह बनिरहेको परिदृश्य छ । के हामी यसको पछाडिको कारण केलाउन सामथ्र्य छौं त ? मुख्य कारण एउटै छ, चीनले अभ्यास गरेको लकडाउन विधिलाई अपनाउन उनीहरु आजका दिनसम्म पनि आनाकानी गरिरहेका छन् । निश्चित छ, जीवनको मुल्यसँग पैसाको मुल्यको तुलना हुँदैन । चिनियाँ राष्ट्रपति सिजिङपिङले भनेका थिए, “अर्थतन्त्रभन्दा पहिला हाम्रो जीवनको महत्व हुन्छ । जीवन रहे नै अर्थतन्त्रको महत्व रहन्छ ।” त्यसकारण पहिला जीवन रोजौं, त्यसपछि अर्थतन्त्र ।
आज विश्वभर कोरोनाको महामारी फैलिँदा निश्चितै रुपमा धनी र गरिबबीचको खाडल भयाभह हुँदैछ । गरिब, विपन्न तथा मध्यम वर्गले रोजगारी गुमाउने, खान नपाउने, बस्न नपाउने, अस्पतालमा भर्ना हुन नपाउने अवस्था बन्दैछ । चीनमा आम जनतालाई उपचारको समान व्यवस्था गरियो र धनी गरिबबीच विभेद गरिएन । सम्पूर्णं खर्चको जिम्मा सरकारले लियो, त्यतिमात्र हैन खाद्यान्न, औषधी र अत्यावश्यक समानहरुको घरघरमा डेलीभरी गर्ने काम सरकारले गर्यो । सरकार, कम्युनिष्ट पार्टी, जनता, जनमुक्ति सेना र स्वास्थ्यकर्मीहरुको एकीकृत प्रयत्नबाट रोगविरुद्वको जनयुद्व विजयी भयो ।
मानवताको प्रश्न उच्च बनेको छ
कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारीको रुप लिँदा सबैका सामु मानवताको प्रश्न मुख्य बनेको छ । आज इटली, स्पने र ईरानमा हजारौं मान्छेहरु मर्दा र त्यहाँका नागरिकहरुको चीत्कार सुन्दा पुँजीवाद प्रति आक्रोश उत्पन्न हुन्छ । उनीहरुको विकास, समृद्धि कसका लागि र केका लागि थियो भनेर प्रश्न उठेको छ । आज सहयोगको भिख मागीएको छ तर कोही सहयोगका लागि तयार भएको छैन् । यो विपद् र महामारीको बेलामा साथ दिने राज्य चीन र क्यूबा शशक्त बनेका छन् । सहयोग र मानवताको प्रश्नमा राजनीतिक ढंगले हेर्नु जरुरी छैन् । वास्तवमा डब्यूएचओका एकजना विश्लेषकले भनेजस्तै कोरोना भाइरसको महामारीले विश्वकै भविष्य अनिश्चित बनाइदिएको छ ।
आज बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, स्वास्थ्यमन्त्री र महारानीलाई समेत कोरोना संक्रमण देखिएको समाचार बाहिर आएका छन् । जर्मनीको एउटा राज्यको अर्थमन्त्रीले कोरोनाका कारण आएको आर्थिक संकटलाई हेर्दै आत्महत्या गरेको दुःखद खबर आईसकेको छ । आज विश्वभर लाखौं मान्छेहरु दैनिक काम गर्न नपाएर भोकै बस्नुपर्ने अवस्था सिर्जना हुँदैछ । विश्वभरका मजदुरहरु र श्रमीकहरुको जीवन दैनिक धरापमा परेको छ । कोरोना भाइरसको संक्रमणका कारण मानव जीवनमाथि नै संकट, अनिश्चय र भय पैदा भएको छ । आज कोरोना भाइरसको महामारीलाई रोक्न सकिएन भने त्यसले सबैभन्दा बढि ज्येष्ठ नागरिक, दीर्घरोगी, कमजोर, अपाङ्ग र बालबालिकाको बाँच्न पाउने अधिकार खोस्नेछ । यसको अर्थ युवा पिँढी र स्वस्थ मान्छेहरु सुरक्षित हुनेछन् भन्ने ठान्नु अर्को भुल हुनेछ । यो कहाली लाग्दो दृश्यलाई मध्यनजर गर्दै चीनका राष्ट्रपति सिजिङपिङले जी–२० को भिडियो कन्फ्रेन्समार्फत गरिएको बैठकलाई सम्बोधन गर्दै भनेका छन्, “चीन विश्वकै मानव जाति बचाउन नलड्नेछ । हामी यस प्रकोपमाथि विजयी हुनेछौं र मानवजातिको उज्जल भविष्यलाई अंगाल्नेछौं ।”
आज कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्ने अभ्यासमा केही वैचारिक प्रश्नहरु पनि तेर्सीएका छन्, ती प्रश्नहरु हुन् :
क) मानवता प्रधान कि अर्थतन्त्र
ख) नागरिकको जीवनरक्षा प्रधान कि व्यक्तिगत स्वतन्त्रता
ग) जनताको जीवन रोज्ने कि पुँजीपतिहरुको नाफा
घ) राज्यको भुमिका के हुने
राज्यको वा सरकारको भूमिकामाथि प्रश्न
आज जहाँ–जहाँ कोरोना भाइरसको महामारी फैलिएको छ, त्यहाँ ठुलो आर्थिक मन्दी र संकट देखा परीसकेको छ । आज गरीब र धनीहरु बीचको खाडल विस्फोटक बन्दैछ । काम नगरी खान नपाउने ठूलो संख्या छ । आज धेरैका रोजगार गुमेका छन् । विश्वभरका मजदुर, श्रमिक वर्ग र मध्यम वर्गको विचल्ली हुने खतरा बढ्दैछ । कोरोनाका कारणले भन्दा पनि गरिबीका कारण वा खान नपाएर भोकै मर्नेहरुको संख्या धेरै छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भनेजस्तै विकासोन्मुख देशका लाखौं जनताहरु खान नपाएर मर्नुपर्ने अवस्था छ । आज विश्वभर कति मान्छेहरु भाडामा बस्छन् होला ? आज विश्वभर कति मान्छेहरु दैनिक ज्यालादारीमा काम गरेर बाँच्छन् होला ? आज संसारभरका गरिब तथा विपन्नहरुको हालत के हुन्छ होला ? यदि यो महामारीलाई समयमै नियन्त्रण गरिएन भने विश्वव्यापी उथलपुथलहरु आउन सक्छ ।
विश्व पुँजीवादले धनी र गरिबका बीचमा ठूलो खाडल सिर्जना गरेको छ । शोषण उत्पीडन र असमानतालाई पुँजीवादले संरक्षण र वैधानकिता प्रदान गरेको छ । काम गर्नेहरु भोकै मर्ने र काम नगर्नेहरु धनी, समृद्ध र मालिक बन्ने वर्तमान पूँजीवादी व्यवस्थामा ठूलो हलचल पैदा भईरहेको छ । त्यसकारण आज संकटको बेलामा जनताले सरकार र राज्यहरुको प्रभावकारी भूमिकाको प्रतिक्षा गरीरहेका छन् । राज्य वा सरकारद्वारा ल्याइने राहतका प्याकेज वा कार्यहरुको प्राथमिकता माथि आम नागरिकले परीक्षण गरिरहेका छन् । यो संकटको बेलामा प्राथमिकता निर्धारण गर्दा विवेक नपुर्याउने शासकका विरुद्व जनआक्रोश बढ्ने खतरा बढेको छ ।
आज विश्वकै धनाड्य व्यक्तिहरुको भूमिकामाथि पनि प्रश्नचिन्ह उठाईँदैछ । यो महासंकटको बेलामा उनीहरुको भूमिका के हुने भन्ने प्रश्नहरु उठेका छन् । कतिपय धनाड्य व्यक्तिहरु जस्तै विल गेट्स, ज्यामाजस्ता व्यक्तिहरुले कोरोना भाइरसको महामारी नियन्त्रणका लािग ठूलो सहयोगको घोषणा गरीसकेका छन् । भर्खरै मात्र अमेरिकी उच्चसंक्रामक रोग विशेषज्ञ एन्थोनी फाउकीले कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण अमेरिकामा एकदेखि दुई लाख मानिसहरुको मृत्यु हुने चेतावनी दिएका छन् । शायद यस्तो भयाभह र डरलाग्दो भविष्य मानव जातीले कल्पना गरेको विषय थिएन । हामीले भर्खरै सुनेका छौं, भारतमा सरकारले घोषणा गरेको लकडाउन र फर्काइएका कारण घर जान नपाएर अलपत्र परेका हजारौं मजदुरहरु सडकमा निस्किएर आक्रोश पोखेका छन् र जसका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माफी मागिसकेका छन् । त्यसकारण विश्व बजारमा ठूलो असन्तुलन आउँदै छ र यस्तो अवस्थामा सरकार राज्यको भूमिका निष्पक्ष, जिम्मेवार र न्यायोचित भएन भने राज्यहरु विघटन तीरसमेत जान सक्नेछन् ।
विश्वव्यापी उथलपुथल र असन्तुलनको सम्भावना
आज स्थिति भयाभह र विस्फोट तिर गईसकेको छ । पछिल्ला दुई दिनमा अमेरिका आफैं कहाली लाग्दो अवस्थामा पुगीसकेको छ । अब उसको स्थिति नियन्त्रण बाहिर जाने खतरा पनि प्रबल छ । हालै मात्र त्यहाँका सरुवा रोग विशेषज्ञ एन्थोनी फाउकीले भनेका छन्– यो महामारीका कारण अमेरिकामा मात्र एकदेखि दुई लाख मान्छेहरुको मृत्यु हुनेछ । आज कोरोना भाइरसको महामारीका कारण हुने नरसंहारबाट सम्पूर्ण विश्व आक्रान्त र विस्फोटक हुने खतरा बढेको छ । शायद यो महामारीले सम्पूर्णं मानवजातीकै अस्वित्वमाथि संकट उत्पन्न गराउनेछ । यसले ठूलो आर्थिक र सामाजिक संकट अनि असन्तुलन ल्याउने कुरामा हामीले बढि चिन्ता गर्नुपर्दछ । आजसम्म विश्वमा आएका ठूला संकटहरुले विश्वभर ठूला–ठूला उथल–पुथलहरु ल्याएका छन् । आज पनि अमेरिकालाई एउटै त्रास छ, कतै कोरोना संकटले अमेरिकाको शक्ति ध्वस्त नहोस् र महाशक्ति राष्ट्रमा अरु नै राष्ट्रको उदय नहोस् ।
राजनीतिक रुपमा भन्ने हो भने विश्वपुँजीवाद गम्भिर संकटमा छ । उसले विकास गरेका युद्वरणनीति, साम्राज्यवादी रणनीतिबाट पुरै विश्व आक्रान्त छ । अर्कोतर्फ पुँजीवादले केवल धनीवर्गलाई संरक्षण गर्ने भएकाले श्रमजीवी वर्ग र मध्यम वर्ग टिक्नै नसक्ने अवस्थामा छन् । अमेरिकामा एक प्रतिशतका विरुद्व ९९ प्रतिशतको आन्दोलन जारी छ । जस्तो कि वरिष्ठ अमेरिकी लेखक जेरेमी रिफिकनले धेरै पहिला घोषणा गरेका थिए, ‘पूँजीवादी युगको अन्त्य अपरिहार्य छ ।’ त्यसैगरि विश्व प्रसिद्ध ईतिहारसकार तथा दार्शनिक युभलनोह हरारीले भनेजस्तै प्रविधिको विकासले समाप्त हुनसक्छ मानव जाति । उनका अनुसार तीनवटा खतराले मानव जातिको अस्तित्व समाप्त पार्न सक्छन् । ती हुन्– आणविक युद्व, पर्यावरणको विनाश र प्रविधिले निम्त्याउने विनाश ।
मानव जातिकै अस्तित्वका लागि एक भएर लडौं
आज हाम्रो चेतनाले सम्भावित मानव जातिकै अस्तित्वलाई संकटमा पुर्याउने आंकलन गर्ने ठाउँमा पुगेका छौं, जुन दुर्भाग्यपूर्णं छ । आज सबै स्वार्थ र संकिर्णताहरु अनि पूर्वाग्रहहरु भुलेर साझा मानव जातीको विकासका लागि एक हुनुपर्ने भएको छ । चीनका राष्ट्रपति सि जिङपिङले भनेजस्तै हामी यस प्रकोपमाथि विजयी हुनेछौं र मानवजातिको उज्जल भविष्यलाई अंगाल्ने छौं । आज हामीले ज्येष्ठ नागरिक, दिर्घरोगी, अपाङ्ग, असाहय, गरिब सबैले बाँच्न पाउने मानव सभ्यताको विकास गरौं । मानिसबीचका असमानता, उत्पीडन, शोषण र अन्यायलाई अन्त्य गरी साझा स्वार्थका लागि अगाडि बढौं ।
प्रतिकृया लेख्नुहोस्: