प्युठान । प्युठान नगरपालिका–२ मा र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) रिपोर्ट पोजेटिभ देखिएका दुई जनासहित ३९ जनाको स्वाब परीक्षण रिपोर्ट (पिसिआर) नेगेटिभ आएको छ ।
यही वैशाख १६ गते काठमाडौँबाट आएका २१ वर्षीय र म्याग्दीबाट आएका ४३ वर्षीय पुरुषसहितको आरडिटी गर्दा पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएका उनीहरुसहितको स्वाब संकलन गरी आइतबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएकामा आज नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।
सङ्क्रमितको सम्पर्कमा आएकाको स्वाब सङ्कलन
राँझा– नेपालगञ्जमा कोरोना सङ्क्रमित व्यक्तिको पहिलो सम्पर्कमा आएका सबैको खोजतलास गरी परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका –८, जोलहनपुर्वाका २४ सङ्क्रमित सबैको पहिलो सम्पर्कमा आएका व्यक्तिको परीक्षणका लागि नमूना सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत एवम् कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पहिलो सङ्क्रमितको सम्पर्कमाआएका व्यक्ति र त्यसपछि सङ्क्रमित भएका व्यक्तिको सम्पर्कमा आएकाको ट्रेसिङ गरी स्वाब सङ्कलन गर्ने काम सकिएको छ । अब स्वाब परीक्षणको रिपोर्ट आउन बाँकीे छ । सङ्क्रमितको सम्पर्कमा आएका अधिकांश जोलहनपुर्वा टोलका छन् । कोरोना सङ्क्रमण पोजेटिभ देखिएका व्यक्तिले किनमेल गर्ने पसल, सब्जीमण्डी, पान पसल र आसपासका वडाका व्यक्तिको खोजी गरेर स्वाब सङ्कलन गरिएको हो ।
सङ्क्रमितको सूचनाका आधारमा उनीहरूको सम्पर्कमा आएका ३७२ जनाको अहिलेसम्म खोजी गरी स्वाब सङ्कलन गरिसकिएको श्रेष्ठको भनाइ छ । कोरोना सङ्क्रमित वडा नं ८ र छिमेकी ११ नं वडाका १६२ जनाको स्वाब परीक्षणका लागि काठमाडौंँ पठाइएको छ । जामा मस्जिद क्षेत्रका ७५ जनाको स्वाब भेरी अस्पतालको प्रयोगशालामा जाँच भइरहेको छ । तीमध्ये ६१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । चौध जनाको रिपोर्ट आउन बाँकी छ । कोरोना भाइरस परीक्षणका लागि आज बाँकेका विभिन्न स्थानबाट १०८ जनाको स्वाब नमूना सङ्कलन गरिएको हो ।
तीन स्थानीय तहले खरीद गरे किट
गुलरिया– बर्दियामा कोरोना परीक्षणका लागि किट अभाव भएपछि तीन स्थानीय तहले खरीद गरेका छन् । संघ र प्रदेश सरकारले पठाएको किट सकिएर अभाव भएपछि तीन स्थानीय तहले र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किट खरिद गरेका हुन् । यहाँ संघीय सरकारले आरडिटी एक हजार दुई सय र प्रदेश सरकारले एक हजार १४० किट उपलब्ध गराएका थिए ।
क्वारेन्टाइनमा बसेका नागरिकको कोरोना भाइरस परीक्षणलाई निरन्तरता दिन मधुवन, बारबर्दिया र राजापुर स्थानीय तहले आरडिटी किट र चाहिने औषधि खरीद गरेका हुन् । बारबर्दियाले करीब ५५० र राजापुरले दुई सय आरडिटी किट खरीद गरी परीक्षणलाई निरन्तरता दिएका छन् । बारबर्दियाले आरडिटी किट, पिपिई, थर्मल गन, सर्जिकल मास्क, सर्जिकल ग्लोब्स, एन नाइन्टिन मास्क र स्यानिटाइजरसहित अन्य आवश्यक औषधि गरी रु १२ लाख बराबरको सामग्री खरिद गरेको प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले बताउनुभयो । अन्य स्थानीय तहमा भने किट सकिएपछि परीक्षण रोकिएको छ ।
प्रतिकृया लेख्नुहोस्: