काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा। मेघनाथ धिमाल भन्छन्, ‘नेपालमा धेरै संक्रमितमा कोरोनाको लक्षण देखिएको छैन ।’
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - अन्य मुलुकको तुलनामा नेपालमा बेग्लै प्रकारको संक्रमण भएको अनुमान गरिएको छ । अन्य देशभन्दा नेपालमा के कारणले फरक पर्न गयो भन्नेबारे बोल्न अध्ययन नै गर्नुपर्ने भएकाले छलफल सुरु गरिएको हो ।
नेपालमा पनि कोरोना भाइरसको ‘स्ट्रक्चर’ अध्ययन हुँदैछ । नेपाल प्रवेश गर्दा कोरोना भाइरसले स्वरूप परिवर्तन गरेको अनुमानसहित स्वास्थ्य मन्त्रालयले अध्ययन–अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मा दिएको छ । अनुसन्धानमा कोरोना भाइरसको प्रकार, बनावट र संरचना हेरिने छ ।
देशभर अहिले देखिएका संक्रमितमध्ये अधिकांशमा लक्षण नदेखिनु र कुनै पनि संक्रमित आइसियूमा बस्नुपर्ने अवस्था नआएकाले यसले नेपालमा रूप परिवर्तन गरेको हुन सक्ने अनुमान गरिएको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
विश्वव्यापी रूपमा देखिएको ‘ट्रेन्ड’अनुसार सय संक्रमितमध्ये ८० जनामा सामान्य लक्षण देखिने, संक्रमितको १५ प्रतिशत आइसियू र पाँच प्रतिशतलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ । यो अनुपात नेपालमा भने मिलेको छैन । अहिलेसम्म कुनै पनि संक्रमितलाई आइसियू र भेन्टिलेटरमा बस्नुपरेन । स्वास्थ्य मन्त्रालयका अनुसार अधिकांश संक्रमितमा लक्षण समेत देखिएको थिएन ।
त्यस्तै, संसारभरको अध्ययनले ६० वर्षमाथिको उमेर समूहलाई कोरोना संक्रमणको उच्च जोखिम हुने देखाएको छ । तर, नेपालमा यो समूहका संक्रमितमा पनि लक्षण देखिएको छैन ।
अध्ययन–अनुसन्धान गर्ने जिम्मा पाएका परिषद्ले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, प्राज्ञिक संस्था, अस्पताल, वैज्ञानिक, नास्ट, काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत अनुसन्धानमा संलग्न संस्था र व्यक्तिलाई अनुसन्धानमा सामेल गराएको छ । परिषद्ले उनीहरूसँग बृहत् छलफल पनि गरेको छ ।
परिषद्का अनुसन्धानकर्ता डा। मेघनाथ धिमालका अनुसार नेपालमा धेरै संक्रमितमा कोरोनाको लक्षण देखिएको छैन । अन्य मुलुकको तुलनामा नेपालमा बेग्लै प्रकारको संक्रमण भएको अनुमान गरिएको छ ।
अन्य देशभन्दा नेपालमा के कारणले फरक पर्न गयो भन्नेबारे अहिले नै केही भन्न सकिँदैन । ‘अध्ययनपछि मात्रै बाल्न सकिन्छ, तयसका लागि छलफल सुरु गरिएको छ,’ डा।धिमालले भने ।
नेपालमा देखिएको कोरोना भाइरसको प्रजातिबारे पनि विज्ञ र अनुसन्धानकर्ता माझ बहस चलिरहेको छ । त्यस्तै, नेपालीमा रोग प्रतिरोधात्मक क्षमता अरू देशभन्दा भिन्न छ कि छैन भन्ने विषयमा पनि फरक–फरक मत छन् ।
केहीले कोरोना भाइरस नेपालमा कमजोर देखिनुमा हावापानी र खानेकुराको पनि प्रभाव हुन सक्ने अड्कल गरेका छन् । त्यस्तै, भाइरस कमजोर भएर भित्रिएको अनुमान पनि छ । भाइरोलोजिस्टहरूका अनुसार एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस प्रवेश गर्दा साबिकभन्दा कडा वा नरम रूप लिन सक्छ ।
चीनदेखि युरोपसम्म पुग्दा कोरोना भाइरस फरक–फरक रूपमा पुगेको डा। धिमालले बताए । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार नेपालमा संक्रमित व्यक्तिको ट्राभल हिस्ट्री हेर्दा युरोप र भारतबाट आएकाहरू बढी छन् ।
युरोपबाट आएका संक्रमितमा कडा भाइरस र भारतबाट आएकामा सामान्य देखिएको छ । ‘यस्तो के कारणले भयो वा योभन्दा बाहिर अरू केही कारण छ कि भनेर खोज्ने प्रयास भइरहेको छ,’ डा।धिमालले भने ।
विज्ञहरूका अनुसार कोरोना भाइरसका सात प्रजाति छन् । तिनैमध्ये कोभिड–१९ रोग पनि एक हो । अन्य देशमा देखिएको भाइरससँग नेपालको तुलना पनि गरिनेछ ।
प्रतिकृया लेख्नुहोस्: