काठमाडौं। सरकारको नेतृत्व गरिरहेको नेकपाभित्र विवादले उग्र रुप लिँदै गएको छ। पार्टी निर्णय मान्ने कि नमान्ने भन्ने विवादले नेकपा फुटको संघारमा पुगेको छ। पार्टीकै शीर्ष नेताहरु नेकपा जुनसुकै बेला फुट्नसक्ने भन्दै ‘अलर्ट पोजिसन’मा बसिरहेका छन्।
नेकपाको केन्द्रमा तीन तहका कमिटी छन्। पार्टीको सचिवालयमा केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोख्रेल, रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल छन्। त्यस्तै नेकपाको स्थायी समिति ४५ र केन्द्रीय समिति ४४५ सदस्यीय छ।
फुटको संघारमा रहेको नेकपामा नेताहरु को–कता लाग्लान् भन्ने विश्लेषण हुन थालेको छ। नेकपाको सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र पार्टीका सबै कमिटीमा प्रचण्ड–नेपाल समूह प्रष्ट बहुमतमा छ। ९ सदस्यीय स्थायी समितिमा पाँच जना नेताहरु खुलेर प्रचण्ड–नेपाल समूहमा लागेका छन्। गृहमन्त्री रामबहादुर थापा ‘बादल’समेत अन्तिममा प्रचण्डलाई नै समर्थन गर्ने मुडमा रहेको नेताहरु बताउँछन्। बादलपक्षीय नेताहरु प्रचण्ड–नेपाल समूहमा खुलेर लाग्नुले पनि त्यही कुरा संकेत गर्दछ।
नेकपाका महासचिव विष्णु पौडेलसमेत अन्तिममा ओलीसँग नरहने विश्लेषण गर्न थालिएको छ। लुम्बिनी प्रदेशको राजधानीको विषयमा गम्भीर असहमति राखेका पौडेल आफूसँग चिढिनसक्ने खतरा देखेरै ओलीले हतारहतार अर्थमन्त्री बनाएको धेरैको विश्लेषण छन्। मध्यमार्गी धारमा रहेका पौडेलले कुनै पनि बेला ‘ओली क्याम्प’ छोड्न सक्ने भन्दै धेरै ‘स्पेस’ नदिन आफ्नै नेताहरुले प्रधानमन्त्रीलाई सुझाउने गरेका छन्।
उपप्रधानमन्त्री ईश्वर पोखरेल खुलेरै ओलीको पक्षमा देखिए पनि भविष्यमा उनीसमेत कता उभिएलान् भन्ने जिज्ञासा कायमै छ। तत्कालीन एमालेको आठौं महाधिवेशनसम्म झलनाथको कित्तामा रहेका पोखरेलले ‘क्याम्प चेञ्ज’ गरी नहाले पनि राजनीतिक नाफाघाटाको हिसाब भने गर्ने उनलाई नजिकबाट चिन्नेहरुको तर्क छ।
नेकपाको ४५ सदस्यीय स्थायी समितिमा यसअघि नै ३२ जना नेताहरु प्रचण्ड–नेपाल समूहमा उभिइसकेका छन्। अघिल्लोपटक मध्यमार्गी धार लिएका उपाध्यक्ष वामदेव गौतम पनि आफूमाथि पटकपटक धोका भएको भन्दै ओलीसँग आक्रोशित छन्। मध्यमार्गी धारमा रहँदा गौतमपक्षीय नेताहरु खुलेर ओलीको पक्षमा लागेका थिए। तर, वामदेवले निश्चित धार समातेपछि कतिपय नेताहरु बहुमत क्याम्पतिरै फर्किइसकेका छन् भने कतिपय फर्किने क्रममा छन्।
२५ सदस्यीय मन्त्रीमण्डलमा धेरैजसो नेताहरु ओलीपक्षीय मानिन्छन्। तर, विभाजनको परिस्थितिमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कानुनमन्त्री शिवमाया तुम्बाहाम्फे, सञ्चारमन्त्री पार्वत गुरुङ, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङबाहेकका मन्त्रीहरु कता लाग्छन् भन्ने ठोकुवा गर्नसक्ने अवस्था छैन। सरकार ‘तलमाथि’ हुनेबित्तिकै अधिकांश नेताहरुले क्याम्प फेर्ने आंकलन गरिएको छ।
नवौं महाधिवेशनमा उपाध्यक्ष वामदेव गौतमले ओलीलाई साथ दिएका थिए। तर, ओलीलाई साथ दिनु उनका लागि राजनीतिक दृष्टिले मात्र नभएर सांगठानिक रुपमा पनि घातक भएको उनीपक्षीय नेताहरुको विश्लेषण छ। महाधिवेशनपछि ओलीले गौतमलाई विश्वासमा लिनुभन्दा उनीपक्षीय नेताहरु ‘चोर्नतिर’ लागे। त्यसकारण वामदेवका कतिपय मन्त्री, सांसद र नेताहरु अहिले ओली क्याम्पमा देखिएको र विभाजनको परिस्थितिमा उनीहरु ओलीसँग नरहने गौतमपक्षीय नेताहरुको विश्लेषण छ।
नेकपा फुट्ने परिस्थितिमा प्रचण्ड–नेपाल समूह संस्थापन र ओली समूह विभाजित समूहको रुपमा रहने प्रष्टै छ, किनकि केन्द्रीय समितिमा ओलीको ३० देखि ३५ प्रतिशत उपस्थिति देखिन्छ। केही प्रदेशमा ओलीको उपस्थिति बलियो देखिए पनि कुनै पनि प्रदेश र जिल्लामा पनि बहुमतको अवस्था छैन।
अहिले ओलीको पक्षमा जति नेताहरु छन्, फुटेको परिस्थितिमा ती सबैले ओलीलाई साथ दिने अवस्था छैन। ओलीपछि उत्तराधिकारी नभएका कारण पनि यो समूह रक्षात्मक बन्दै जाने विश्लेषण गरिएको छ। राजनीतिक र वैचारिक आधारभन्दा साधन स्रोतको पहुँचको भरमा नेतृत्वमा आएका कारण ओली समूहको जग नै कमजोर देखिएको छ।
गत वैशाख ८ को विवादपछि ओलीले पूर्वमाओवादी समूहका धेरै नेताहरुलाई आफूतिर तान्ने कोशिश गरिरहेका छन्। तर, उद्योगमन्त्री लेखराज भट्टबाहेक कसैले पनि खुलेर ओलीको समर्थन गरेका थिएनन्। पछिल्लोसमय ओलीले उद्योग मन्त्रालयमा भट्टलाई ‘बाइपास’ भन्दै व्यापारिक पृष्ठभूमिका राज्यमन्त्री मोतीलाल दुगडलाई सर्वेसर्वा बनाएपछि भट्ट ओलीसँग चिढिएका छन्।
ओलीले आफ्नो क्याम्पमा रहेको प्रचार गरिरहेका पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, मणि थापा पनि लगातार प्रचण्डसँग सम्वादमा छन्। उनीहरुले आफूहरुको प्रयास विभाजन रोक्ने भए पनि पार्टी फुटेको परिस्थितिमा जनयुद्धका एजेण्डाकै पक्षमा उभिने विश्वास प्रचण्डलाई दिलाएका छन्।
ओलीको पक्षमा रहेका नेताहरु पनि उनको कार्यशैलीबाट ‘दिक्दार’ भएका छन्। प्रधानमन्त्रीले लगाएको ‘गुन तिर्न’ सँगै रहे पनि आफूहरुका कुरा ओलीले सुन्दै नसुन्ने गरेको भन्दै उनीहरुले दुखेसो पोख्ने गरेका छन्। प्रचण्डसँग छलफल गरेर फर्किएका आफूपक्षीय नेताहरुलाई समेत ओलीले ‘हकार्ने’ गरेका छन्। विचार मिल्ने तर कार्यशैली नमिल्ने कारण पनि उनीपक्षीय नेताहरु खुलेर सरकारको बचाउमा लाग्न सकेका छैनन्।
ओलीनिकट नेताहरु एकपछि अर्को विवादमा तानिँदा पनि पार्टीभित्र उनी क्रमशः कमजोर बन्दै गएका छन्। वाइडबडी प्रकरण, यती प्रकरण, ओम्नी प्रकरण, सेक्युरिटी मेसिन खरिद प्रकरण, मेडिकल सामान खरिद प्रकरणजस्ता दर्जनौं प्रकरणमा जोडिएका कारण पनि प्रधानमन्त्रीको छवि कमजोर बन्दै गएको छ। पछिल्लोसमय शुभकामना सन्देशमा लिम्पियाधुरासहितको नक्शा हटाएको र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँगको गोप्य भेटले प्रधानमन्त्री र नेपालकै छवि गिरेको आम बुझाइ छ।
प्रधानमन्त्रीलाई कमजोर बनाउने अर्को कडी हो उनको निजी सचिवालय। सचिवालयका सदस्यहरुले ओलीलाई बलियोभन्दा कमजोर बनाउने भूमिका खेलिरहेका छन्। यसै कारण उनकै समूहका शीर्ष नेताहरु पनि सचिवालयसँग चिढिएका छन्। यी सबै परिदृश्यले नेकपा फुटेमा आफूहरुले ‘सीपी मैनालीको दुर्दशा भोग्नुपर्ने’ भन्दै ओलीपक्षीय केही नेताहरु एकताको पक्षमा देखिएका छन्।
प्रतिकृया लेख्नुहोस्: