काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि आज (सोमबार) बाट मतदान सुरु हुँदैछ । काँग्रेसको मतदान प्रक्रीया केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि सुरु गर्ने तयारी रहेको छ ।
प्रहरीले कुकुर सहित मतदान स्थल राष्ट्रिय सभा गृहमा सुरक्षा चेकजाँच गरिरहेको छ । केही समय पछि प्रधानमन्त्रि सहित देशका शिर्ष नेताहरु उपस्थिती रहने हुँदा सुरक्षाकर्मीहरूले भृकुटीमण्डपमा सुरक्षा व्यवस्था कडा पारेका छन् ।
आज हुने कांग्रेसको निर्वाचनमा सभापतितर्फबाट मात्रै ५ जनाबीच प्रतिस्पर्धा हुँदैछ । जसमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ रहेका छन् । कुल १३४ पदका लागि मनोनयन दर्ता भएकोमा प्रदेश २ खुला केन्द्रीय सदस्य पदमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेका छन् । अब १३२ पदका लागि मतदान हुनेछ । आजको मतदानबाट सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।
सबै पदका लागि मतदान सकिए लगत्तै सभापति पदको मतगणना सुरु हुने छ । काँग्रेसको विधानअनुसार सभापति पदका उम्मेदवारले विजयी हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने उल्लेख छ । यदि कुनै उम्मेदवारले खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेकामा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुन: प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएका छन् ।
त्यसै गरी महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान नगर्ने जनाएका छन् । नेतृत्व चयनका लागि सोमबार हुने मतदानमा पौडेल सहभागी नहुने उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जनाएका छन्
रामचन्द्र पौडेल यस पटक सभापति पदका लागि आकांक्षी रहेका थिए । पौडेलले आफ्नै समूहमा सहमति नजुटेपछि प्रतिस्पर्धाबाट अलग हुने निर्णय गरेका थिए । आफ्नै समूहबाट शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिने निर्णय गरेपछि आफू प्रतिस्पर्धाबाट अलग रहेको पौडेलले घोषणा गरेका थिए ।
प्रतिकृया लेख्नुहोस्: