Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

यसरी मनाइन्छ भक्तपुरमा बिस्का जात्रा

रासस

भक्तपुर । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजबाट सुरुआत हुँदैछ । नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज साँझ तमारीस्थित पाँचतले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पु¥याएर भैरवनाथको रथ तानातान गर्दै सुरु गरिन्छ । 

जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ । जात्रामा रौनकमा झुम्नेसँगै सुरक्षाको चिन्ता पनि उत्तिकै बढ्न थालेको छ ।

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ । 

रथ तान्नुअघि भैरवनाथको विधिवत पूजा गरी रथमा खड्ग, तरबार, निशान राख्ने गरिन्छ । रथको अगाडि भागमा पाँच र पछाडि चारवटा लामो डोरी राखिएको हुन्छ । जात्रालुले सोही डोरीको माध्यमबाट रथलाई तानेर आ–आफ्नो टोलमा लैजाने गर्दछन् । जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो । रथलाई तानेर तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ ।

जात्राको पहिलो दिन भैरवनाथको रथ तानेर क्वने (तल्लो)  टोलको तमारी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वशंगोपाल, तेखापुखु र थने (माथिल्लो) टोलको क्वाछेँ, साकोठा, सुकुलढोका, गोमारी, सोङ्गलो, दत्तात्रयसम्म रथ तानेर पुनः गःहिटीमा पु¥याई जात्रा सम्पन्न गरिन्छ । रथ तानेर लैजाँदा दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिर र बेतालको मुख जुधाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ ।

जात्राको दोस्र्रो दिन शून्य भनिन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपूजाको मासु प्रसादका रूपमा लाकुलाछेवासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ ।

बिस्काको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिङ्गो उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ल्योसिङख्योमा ५५ हात लामो लिङ्गो उभ्याइन्छ । लिङ्गो उभ्याउने जात्रा बिस्काको अर्को आकर्षण रहेको छ । पुरानो वर्ष बिदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्षे उभ्याउने गरिन्छ । भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्षभाग र हात नीलो कपडाले बेरिएको हुन्छ ।

लिङ्गोको कोखामा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एक जोडी ध्वजा फुकाएपछि एउटा संवत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न नमिल्ने धार्मिक मान्यता छ । लिङ्गो उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छन् भन्ने मान्यता छ । 

लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको तान्त्रिक विधिपूर्वक पूजा गरी जात्रा गरिने परम्परा छ । त्यसपछि न्हेसटो (सात सय टोल)मा अवस्थित बाराहीको तिंप्वाः जात्रा र खौमाको इन्द्रायणी देवीको त्वारीवा जात्रा गरी शक्तिपीठमा लाने परम्परा छ ।

बिस्का जात्रा हेर्नाले शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि लिङ्गो उभ्याउने स्थानमा पु¥याइन्छ । बिस्का जात्राको पाँचौँं दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन साँझ अघिल्लो दिन उभ्याएको ५५ हाते लिङ्गो ढालिन्छ । 

लिङ्गो ढाल्नुभन्दा पहिला भैरव र बेतालको विधिवतरूपमा पूजा गरिन्छ । ढालिसकेपछि भैरवनाथ र भद्रकालीको रथलाई गाहिटी पु¥याई एकाापसमा जुधाइन्छ । जसलाई स्थानीय भाषमा खःल्वाकिगु जात्रा भनिन्छ । यसै दिन राति तलेजुमा तान्त्रिक विधिपूर्वक दुमाजु देवीको पूजा गरी जात्रा गरिन्छ ।

बिस्काको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ भने सातौँ दिन  ब्रम्हायणी र महेश्वरी देवीको चिराग बालेर मुस्याप्वा जात्रा मनाइन्छ । खलाँमा परदेशी भीमसेनको जात्रा गरिन्छ । यसै दिन बुलुचा टोलको बटुक भैरव र कुम्हाले टोलको ज्याठा गणेशको जात्रासमेत गरिन्छ । 

आठौँ दिनमा नगरका सबै देवीदेवतालाई बाहिर राखेर क्षमासहितको पूजा गरी सगुन जात्रा मनाइन्छ । जसलाई स्थानीय भाषामा द्यःस्वगं वियगु जात्रा भनिन्छ । यस दिन साँझ चोछेंमा छुमा गणेशको जात्रा गरिन्छ ।

जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाबाट तानातान गरी रथलाई तमारीस्थित भैरवनाथको प्राङ्गणमा पु¥याई जात्रा सम्पन्न गरिन्छ । 

सूर्यमासका आधारमा चल्ने बिस्का जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए । 

“भक्तपुर तमारीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलोपल्ट जात्रालाई सम्बोधन गर्दा विश्व जात्रा भनी उल्लेख गरिएको छ । त्यसैगरी भक्तपुरको राजदरबारमा नेपाल संवत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख छ । तलेजुमा अहिलेसम्म चल्ने बिस्का जात्राको सङ्कल्प पूजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिन्छ ।” उनले भने, “यी प्रमाणका आधारमा विश्व केतु भनेको संस्कृत शब्द हो । पछिल्लो कालखण्डमा नेवारी नामाकरणअनुसार विसिक, बिस्क, बिस्का हुन पुगेको हो । त्यसैको अपभ्रंस भएर बिस्केट हुन पुगेको हो । नेवारीमा अहिले पनि बिस्का जात्रा भन्ने गरिन्छ ।”

प्रा डा श्रेष्ठले बिस्का जात्राको प्रचलित किंवदन्तीसमेत गलत भएको दाबीसमेत गर्नुभएको छ ।  बिस्का जात्रा नितान्त भैरवनाथ र भद्रकालीसँग मात्र सम्बन्धित रहेको र यसको प्रचलित सर्प मारेको र नाग–नागिनीसँग जोडिएको किंदन्ती भ्रम मात्र रहेको उनको भनाइ छ । 

“यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको पनि हो । विश्व भैरवनाथको प्रतीक लिङ्गोमा फहराइने एकजोडी हलिपत (ध्वजा) साक्षात भैरव र भद्रकालीको हो । यसलाई जबर्जस्ती बि को अर्थ सर्प र स्यातको अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केत चल्दै आएको भम्र मानसिकता व्याप्त रहेको छ । 

उनले भने,“नाम, प्रमाण र भाषा विज्ञानकै साहारा लिएर भन्ने हो भन्ने बि को अर्थ हो पुरानो । नवदुर्गा गणलाई वि त्वंकेगु भन्दा तान्त्रिक विधि पुर्वक पुरानो रगत खुवाउने प्रचलन अहिलेसम्म चलिआएको छ । स्यातको अर्थ मारियो हो तर बिस्क, बिस्कामा कहाँ क हरायो त भन्ने मेरो प्रश्न हो ?  

स्यातबाट कसरी स्का हुन गयो ? यो जात्राको विषयमा अहिलेसम्म चलेका प्रमाण, अभिलेखक र मल्लकालीन राजा जगत्प्रकाश मल्लदेखि शाहवंशीय राजा त्रिभुवन, ज्ञानेन्द्र र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले फेरेका हलिपतमा हेर्न हो भन्ने विश्व केतु, वीर ध्वजा लेखिएको छ । यस मानेमा विश्वनाथको ध्वजा विश्वध्वजा हो । वीर ध्वजा हो भन्ने कुरा स्पष्ट छ । यसमा वीर भनेर भैरवको वाहन वीर बेताललाई भनिएको हो । त्यस मानेमा पनि यो ध्वाजा विश्व ध्वाजा र वीर ध्वाजा मान्न सकिन्छ । तर जनमानसमा यो नाग–नागिनी भनेर प्रचलित छ, यो गलत हो ।”

जात्रामा पहिलो र अन्तिम दिन रथ तान्ने क्रममा र लिङ्गो उठाउने बेलामा झडप हुने गरेको छ । त्यसैले सम्भावित झडप रोक्न र जात्रालाई व्यवस्थितरूपमा सम्पन्न गर्न यस वर्ष दिउँसो नै भैरवको रथ तान्ने तयारी भएको छ । रातको समयमा जात्रा सञ्चालन हुँदा रथले किचेर मानिसको मृत्यु हुने र जात्रा सञ्चालन हुने स्थानका संरचनामा क्षति पुग्ने भएकाले दिउँसो जात्रा सुरु गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए । 

उनले जात्रालाई मर्यादित र समयमै शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न चरणबद्धरूपमा सरोकारवालासँग छलफल गरेर रणनीति तयार गरेको बताए । 

नौ दिनसम्म चल्ने जात्राका लागि आवश्यकताअनुसार सुरक्षाकर्मी परिचान गर्ने पूरा तयारी भइसकेको महानगरीय प्रहरी प्र्रमुख  शिवकुमार श्रेष्ठले जानकारी दिए । उहाँका अनुसार जात्राका लागि ९५० नेपाल प्रहरी,  ४०० सशस्त्र प्रहरी परिचालन गरिने छ  । 

आवश्यकता परे थप सुरक्षाकर्मी परिचालन गर्ने गरी तयारीसहित जात्रामा उच्श्रृृङ्खल गतिविधि गर्ने र हुलदङ्गा मच्चाउन खोज्नेको पहिचान गर्न व्यापकरूपमा सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गर्ने उनको भनाइ छ ।

रथमा अनियन्त्रित तरिकाले अत्यधिक मानिस चढ्ने र त्यसले गर्दा रथबाट खसेर घाइते हुनुका साथै रथले किचेर ज्यानसमेत जाने गरेकाले त्यसलाई नियन्त्रण गर्न रथमा भैरव नाइके, गुथी र आवश्यक पदाधिकारी मात्र चढ्ने व्यवस्था गरिएको प्रमुख श्रेष्ठले बताए । 

जात्रामा हुलदङ्गा गर्नेको पहिचानका लागि चोक–चोकमा सिसी क्यामेरा जडान गरिएको जानकारी दिँदै उहाँले सो क्यामेराको फुटेजका आधारमा जात्रापछि पनि प्रमाणका आधारमा नियन्त्रणमा लिई कारबाही गरिने बताए । जात्रामा हुलदङ्गा गरी सुरक्षा व्यवस्थामा खलल पु¥याउनेलाई पक्राउ गरी कानुनअनुसार कारबाही गरिने उनको भनाइ छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending