बैतडी । यहाँ २८ जनामा स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएको छ । चालु आर्थिक वर्षको हालसम्म २८ जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सङ्क्रमण देखिनेमा जिल्लाका सबै स्थानीय तहका बिरामी रहेका कार्यालयले जनाएको छ । यहाँ पछिल्लो समयमा स्क्रबटाइफसका बिरामीको सङ्ख्या बढ्दै गएको छ । बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिको परीक्षण गर्दा स्क्रबटाइफस देखापर्ने गरेको हो । परीक्षण नगराएका व्यक्तिमा समेत स्क्रबटाइफसको सङ्क्रमण हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।
जिल्ला अस्पतालमा हाल दैनिकरुपमा ‘स्क्रबटाइफस’का बिरामी फेला पर्न थालेका जिल्ला अस्पतालका प्रमुख डा दिपेश श्रेष्ठले जानकारी दिए । स्क्रबटाइफसमा पनि टाइफाइड ज्वरो जस्तै लक्षण देखिने भएकाले समयमा नै अस्पतालमा जाँच गर्नुपर्ने र स्वास्थ्य संस्थामा जाँच गरेपछि मात्रै स्क्रबटाइफस भए नभएका बारेमा जानकारी हुने डाक्टर श्रेष्ठको भनाइ छ ।
अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा स्क्रबटाइफसको परीक्षण गरिरहेको छ । उनले भने, “केही स्क्रबटाइफसका बिरामीलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था रहेको छ, दैनिकरुपमा नै देखिनुले यसको जोखिम निकै बढी देखिएको छ, यसबाट बच्न जरुरी छ ।”
पछिल्लो समय ंदिनप्रतिदिन यहाँ ‘स्क्रबटाइफस’का बिरामी देखिन थालेपछि यस रोगको जोखिम पनि बढ्दै गएको छ । अहिले गाउँगाउँमा ज्वरोका बिरामी रहेकाले तीमध्ये कसैलाई स्क्रबटाइफससमेत हुनक्ने भएकाले परीक्षण गर्न भनिएको छ ।
वर्षात्मा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । यो समयमा किर्नालगायतका किराले टोक्ने भएकाले स्क्रबटाइफसका बिरामी पनि देखिने गरेका हुन् । पशुचौपाया घुलमिल हुँदा किर्नाले टोक्ने त्यसपछि स्क्रबटाइफस देखिने गरेको र स्क्रबटाइफसले ज्यानै लिन सक्छ ।
‘माइट’ नामक किर्ना र भुसुनाको टोकाइबाट स्क्रबटाइफस हुने भएकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । स्क्रबटाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, बान्ता, पेट दुखाइ र पखालाले सताउनु, श्वास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ ।
स्क्रबटाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो । स्क्रवटाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायतमा सङ्क्रमण र कहिलेकाहीँ बहुअङ्ग विकार (मल्टी अर्गन डिल्फसन)को अवस्था पनि सिर्जना हुनसक्नेछ । यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क राख्नसमेत स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने तथा शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।
प्रतिकृया लेख्नुहोस्: