Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

युक्रेन-रुस युद्धका दुई वर्ष पूराः लडाइँले उठाएका पाँच महत्त्वपूर्ण प्रश्न र तिनका उत्तर

खबरडबली संवाददाता

काठमाडौं । रुस-युक्रेन युद्ध सुरु भएको दुई वर्ष पुगेको छ। तर लडाइँ सकिने कुनै लक्षण देखिएको छैन। युक्रेन वा रुस वा तिनका सहयोगीहरूले शान्ति सम्झौताको लागि कुनै आधार फेला पारेका छैनन्।

किएभले आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनर्स्थापित हुनुपर्ने माग राख्दै रुसी सेनालाई जुनसुकै हालतमा बाहिर निकाल्ने बताउँदै आएको छ। मस्को चाहिँ युक्रेन पूर्ण रूपमा राष्ट्र नभएको र आफ्नो लक्ष्य प्राप्त नभएसम्म पछि नहट्ने अडानमा छ। यस अवस्थामा अहिले के भइरहेको छ र भविष्यमा यो युद्धले कस्तो रूप लिन सक्छ भनेर हामीले विवेचना गरेका छौँ।

कसले जित्दै छ?

दुवै पक्षतर्फ धेरै जनाको ज्यान जाने गरी हिउँदभरि युद्ध चल्यो। युद्ध १,००० किलोमिटर लामो मोर्चामा लडिँदै छ र सन् २०२२ को शरद् ऋतुदेखि दुवै पक्षले खासै प्रगति गर्न सकेका छैनन्।

आफ्नो सीमाभित्र प्रवेश गरेको केही महिनामा नै युक्रेनी सेनाले रूसलाई देशको उत्तरी भाग तथा राजधानी किएभ वरिपरिका क्षेत्रबाट पछाडि धकेलिसकेको थियो।आक्रमणको एक वर्ष नबित्दै युक्रेनले देशको पूर्व र दक्षिणमा पनि ठूलो क्षेत्र फिर्ता लिइसकेको थियो।

तर अब भने रुसी पक्षले आफ्नो पकड बलियो बनाएको छ र युक्रेनी पक्षले आफूसँग हातहतियार कम हुन थालेको बताएका छन्। हालै बर्खास्त गरिएका युक्रेनी सेनापति भालेरी जालुज्नी र केही रुसबाट समर्थन प्राप्त सैन्य ब्लगरसहित धेरैले गतिरोधको अवस्था रहेको मानेका छन्।

फेब्रुअरीको मध्यतिर युक्रेनी सैनिकहरू पूर्वको आभ्दियिभ्का सहर छाडेर आए। लामो समय लडाइँ भइरहेको यस रणनीतिक महत्त्वको सहरबाट सैनिकहरूको ज्यान जोगाउन पलायन हुनुपरेको किएभले बतायो। उसले यहाँ आफ्नो सेना सङ्ख्या र शक्ति दुवैमा कमजोर रहेको कुरा पनि लुकाएन।

यता रूसले यसलाई ठूलै जितको रूपमा लिएको छ र यसको अवस्थितिका कारणले आभ्दियिभ्काबाट अन्य स्थानमा आक्रमण गर्न सजिलो हुने मानिएको छ। यो रुसको लागि गत मे महिनामा बख्मुट कब्जा गरेपछिको सबैभन्दा ठूलो जित हो।

आभ्दियिभ्का सन् २०१४ देखि रुसको कब्जामा रहेको युक्रेनी सहर डोनेट्स्कबाट केवल २० किलोमिटरको दूरीमा छ। यो फेब्रुअरी २०२२ मा युद्ध सुरु हुँदा रुस सरकार र उसका समर्थकहरूले "तीन दिनमा किएभमाथि विजय हासिल गर्ने" प्रचारबाजीभन्दा निकै कम प्रगति हो।

रुसले हालसम्म युक्रेनको करिब १८ प्रतिशत भूभागमा मात्र नियन्त्रण कायम गर्न सकेको छ। यसमध्ये क्राइमिया प्रायःद्वीपलाई उसले २०१४ मा आफ्नो देशमा गाभेको थियो र डोनेट्स्क र लुहान्स्कलाई पनि त्यही साल कब्जा गरेको थियो।

के युक्रेनले पाउने सहयोग घटेको हो?

विगत दुई वर्षमा युक्रेनले ठूलो मात्रामा सैन्य, आर्थिक तथा मानवीय सहयोग प्राप्त गरेको छ। कील इन्स्टिट्यूट फर दि वर्ल्ड इकनमी नामक संस्थाका अनुसार ज्यानुअरी २०२४ सम्म युक्रेनले युरोपेली सङ्घका निकायहरूबाट ९२ अर्ब अमेरिकी डलर र अमेरिकी सरकारबाट ७३ अर्ब अमेरिकी डलर बराबरको सहायता प्राप्त गरिसकेको थियो।

पश्चिमले दिएका ट्याङ्क, हवाई सुरक्षा उपकरण तथा लामो दूरीसम्म प्रहार गर्न सक्ने तोपहरूले युद्धमा युक्रेनलाई धेरै सघाएका छन्। तर व्यावहारिक रूपमा कहिलेसम्म सहयोग गर्न सकिन्छ भन्ने विवादका बीच युक्रेनलाई मित्रराष्ट्रहरूबाट प्राप्त हुने सहयोग घट्न थालेको छ।

अमेरिकामा आन्तरिक असहमतिका कारणले ६० अर्ब डलर बराबरको सहायता प्याकेज संसद्‌मा रोकिएको छ। फेरि आसन्न राष्ट्रपतीय निर्वाचनमा डोनल्ड ट्रम्प विजय भए अमेरिकी सहयोग पूर्ण रूपमा सुक्ने चिन्ता पनि छ।

धेरै छलफल र वादविवाद पश्चात् युरोपेली सङ्घले ५४ अर्ब डलरको प्याकेज फेब्रुअरीमा पारित गर्न सक्यो। विशेष गरी सङ्घलाई खुला रूपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको समर्थन र युक्रेनको विरोध गर्दै आएका हङ्गेरीका प्रधानमन्त्री भिक्टोर ओर्बानलाई सहमत गराउन निकै सकस पर्‍यो।

त्यसबाहेक युरोपेली सङ्घले मार्च २०२४ को अन्त्यसम्ममा युक्रेनलाई दिने लक्ष्य राखेको तोपका १० लाखवटा गोला (आर्टिलरी शेल) को आधा सङ्ख्या मात्र दिन सक्ने देखिएको छ।

रुसलाई कसकसले सहयोग गर्दै छन्?

रुसलाई छिमेकी बेलारुसले आफ्नो भूमि तथा हवाई क्षेत्र प्रयोग गर्न दिई समर्थन गरिरहेको छ। अमेरिका र युरोपेली सङ्घका अनुसार इरानले पनि रुसलाई शाहेद नामका ड्रोन दिइरहेको छ। तर इरानले रुसलाई युद्धअघि केही ड्रोन दिएको मात्र स्वीकारेको छ।

हवाई सुरक्षा संयन्त्र छल्न सक्ने क्षमताका कारण दुवैतर्फ उच्च मागमा रहेका यस्ता मानवरहित वायुयान (यूएभी) रुसका लागि युक्रेनमा प्रहार गर्ने प्रभावकारी साधन प्रमाणित भएका छन्।

रुसले आफ्नो तेलका क्रेता र सैनिक उद्योगहरूका लागि चाहिएको उपकरण र यन्त्र बेच्ने विक्रेता दुवै पाइरहेकोले पश्चिमी राष्ट्रहरूले लगाएका प्रतिबन्धले सोचे जस्तो असर गरेको छैन।

चीनले कुनै पनि पक्षलाई हतियार आपूर्ति गरेको छैन भन्ने बुझाइ छ। उसले हालसम्म सावधानीपूर्वक कूटनीतिक सन्तुलन कायम राख्दै युक्रेनमाथि रूसको आक्रमणको निन्दा गरेको छैन तर रूसलाई सैन्य समर्थन पनि गरेको छैन। तर चीन र भारतले रुसबाट तेल भने किनिरहेका छन्।

रुस र युक्रेन दुवैले विकासशील राष्ट्रहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयास पनि गरिरहेका छन् र अफ्रिका र ल्याटिन अमेरिकामा कूटनीतिक भ्रमणहरू तीव्र बनाएका छन्।

के रुसका उद्देश्य फेरिएका हुन्?

रुसी राष्ट्रपति पुटिनले अझै पनि पूरा युक्रेन लिन खोजेको ठानिन्छ। अमेरिकी टकशो प्रस्तोता टकर कार्ल्सननलाई हालै दिएको अन्तर्वार्तामा पुटिनले एक पटक फेरि इतिहासलाई बङ्ग्याएर आफूअनुकूल युक्रेन युद्धको व्याख्या गरेका थिए।

उनले लामो समयदेखि कुनै बलिया प्रमाणबिना युक्रेन र विशेष गरी डोन्बास क्षेत्रका जनतालाई रुसी संरक्षण आवश्यक रहेको बताउँदै आएका छन्। युद्धअगाडि एउटा लामो निबन्धमा उनले युक्रेनको सार्वभौम राष्ट्रको अस्तित्वलाई अस्वीकार गर्दै रुसी र युक्रेनी जनता "एक" रहेको तर्क गरेका थिए।

डिसेम्बर २०२३ मा उनले रुसले आफ्नो "विशेष सैन्य अभियान" भन्दै आएको यस युद्धका उद्देश्य परिवर्तन नभएको बताएका थिए। उनले रूसले युक्रेनमा उग्र दक्षिणपन्थीहरू (नाजी) को प्रभाव अन्त्य गर्न चाहेको बताएका थिए। यद्यपि युक्रेनमा नाजीवादीहरू भएको कुनै प्रमाण छैन।

उनले रुसले एक "सेनाविहीन" र "तटस्थ" युक्रेन चाहेको पनि बताउँदै आएका छन् र नेटोले पूर्वतर्फ प्रभाव विस्तार गर्दै लागेकोमा असन्तुष्टि पनि प्रकट गरेका छन्।

एउटा स्वतन्त्र राष्ट्रका हैसियतले युक्रेन कहिले कुनै सैन्य गठबन्धनमा सहभागी भएको छैन। राजनीतिक रूपमा उसले युरोपेली सङ्घको सदस्यता र नेटोसँग विस्तारित सम्बन्ध खोजेको थियो। यी दुवै कुरा युद्धअघि भन्दा अहिले बढी सम्भव देखिन्छ।

युक्रेनले राष्ट्रियता सुदृढ पार्न र पुरानो सोभियत सङ्घलाई कुनै रूप वा आकारमा बिउँताउने भूराजनीतिक आकाङ्क्षाबाट बच्न चाहेको थियो।

युद्ध कसरी अन्त्य हुन सक्ला?

कुनै पक्षले आत्मसमर्पण गर्ने सम्भावना नरहेको र पुटिन सत्ताबाट हट्ने लक्षण पनि नदेखिएकाले विश्लेषकहरूले यो युद्ध लामो समय जारी रहने मानेका छन्। सुरक्षाका मामिला अध्ययन गर्ने अन्तर्राष्ट्रिय थिङ्कट्याङ्क 'ग्लोबसेक'ले युद्ध कसरी अगाडि बढ्न सक्ला भनेर दर्जनौँ विज्ञको धारणा सङ्कलन गरेको थियो।

यसबाट युद्ध २०२५ भन्दा पछिसम्म जारी रहने, दुवै पक्षले ठूलो मानवीय क्षति बेहोर्ने र युक्रेनको बाहिरबाट दिइएका हातहतियारमा निर्भरता कायम रहने सम्भावना सबैभन्दा बढी रहेको देखिएको थियो।

दोस्रोमा रुसले तनाव बढाउने र मध्यपूर्व, चीन-ताइवान र बाल्कन आदि क्षेत्रमा पनि युद्ध सुरु हुने सम्भावना देखिएको थियो। तेस्रोमा युक्रेनले केही प्रगति हासिल गरे पनि युद्ध अन्त्य गर्न कुनै सम्झौता नहुने वा युक्रेनका लागि बाह्य सहयोग घट्दै जाने र उसलाई उसका सहयोगीहरूले वार्तामार्फत् समाधान खोज्न दबाव दिने सम्भावना बुझिएको थियो।

यद्यपि अमेरिकी राष्ट्रपति निर्वाचनको परिणाम र इजरेल-हमास द्वन्द्वलगायत अन्य युद्धले युक्रेन र रुसका समर्थकहरूको प्राथमिकता र आवश्यकता परिवर्तन गर्ने हो कि भन्ने अन्योल कायम छ।

के यो युद्ध फैलिन सक्छ?

यही फेब्रुअरीमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशलाई "हतियारको कृत्रिम अभावमा" राखे रुसलाई फाइदा पुग्ने बताएका थिए।

उनले म्युनिखमा आयोजित एउटा सुरक्षा सम्मेलनमा पश्चिमा देशहरू पुटिनको विपक्षमा नउभिए उनले अन्य धेरै राष्ट्रहरूका लागि आगामी वर्षहरू "विनाशकारी" हुने चेतावनी दिएका थिए।

रोयल यूनाइटेड सर्भिसेस इन्स्टिट्यूट (आरयूएसआई) थिङ्कट्याङ्कले रुसले सैन्य उत्पादन बढाई आफ्नो अर्थतन्त्र र रक्षा उद्योगलाई सफलतापूर्वक सम्हालिसकेको र लामो युद्धको तयारी गरिरहेको बतायो।

इन्स्टिट्यूटले युरोपले समान रूपमा तयारी नगरेको पनि औँल्यायो। युरोपको तयारी अवस्थाबारे पोल्यान्डका परराष्ट्रमन्त्रीले पनि चिन्ता व्यक्त गरेका छन्।

युरोपेली देशहरूले रुसले एक दशकभित्र नेटो राष्ट्रमा आक्रमण गर्न सक्ने पनि आशङ्का व्यक्त गरेका छन्। यसले नेटो र युरोपेली सङ्घलाई सैन्य क्षमता बढाउन र आफ्ना समाजलाई एउटा भिन्न वैश्विक परिवेशका लागि तयार गर्न झकझकाएको छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending