Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

युक्रेन-रुस युद्धका दुई वर्ष पूराः लडाइँले उठाएका पाँच महत्त्वपूर्ण प्रश्न र तिनका उत्तर

खबरडबली संवाददाता

काठमाडौं । रुस-युक्रेन युद्ध सुरु भएको दुई वर्ष पुगेको छ। तर लडाइँ सकिने कुनै लक्षण देखिएको छैन। युक्रेन वा रुस वा तिनका सहयोगीहरूले शान्ति सम्झौताको लागि कुनै आधार फेला पारेका छैनन्।

किएभले आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनर्स्थापित हुनुपर्ने माग राख्दै रुसी सेनालाई जुनसुकै हालतमा बाहिर निकाल्ने बताउँदै आएको छ। मस्को चाहिँ युक्रेन पूर्ण रूपमा राष्ट्र नभएको र आफ्नो लक्ष्य प्राप्त नभएसम्म पछि नहट्ने अडानमा छ। यस अवस्थामा अहिले के भइरहेको छ र भविष्यमा यो युद्धले कस्तो रूप लिन सक्छ भनेर हामीले विवेचना गरेका छौँ।

कसले जित्दै छ?

दुवै पक्षतर्फ धेरै जनाको ज्यान जाने गरी हिउँदभरि युद्ध चल्यो। युद्ध १,००० किलोमिटर लामो मोर्चामा लडिँदै छ र सन् २०२२ को शरद् ऋतुदेखि दुवै पक्षले खासै प्रगति गर्न सकेका छैनन्।

आफ्नो सीमाभित्र प्रवेश गरेको केही महिनामा नै युक्रेनी सेनाले रूसलाई देशको उत्तरी भाग तथा राजधानी किएभ वरिपरिका क्षेत्रबाट पछाडि धकेलिसकेको थियो।आक्रमणको एक वर्ष नबित्दै युक्रेनले देशको पूर्व र दक्षिणमा पनि ठूलो क्षेत्र फिर्ता लिइसकेको थियो।

तर अब भने रुसी पक्षले आफ्नो पकड बलियो बनाएको छ र युक्रेनी पक्षले आफूसँग हातहतियार कम हुन थालेको बताएका छन्। हालै बर्खास्त गरिएका युक्रेनी सेनापति भालेरी जालुज्नी र केही रुसबाट समर्थन प्राप्त सैन्य ब्लगरसहित धेरैले गतिरोधको अवस्था रहेको मानेका छन्।

फेब्रुअरीको मध्यतिर युक्रेनी सैनिकहरू पूर्वको आभ्दियिभ्का सहर छाडेर आए। लामो समय लडाइँ भइरहेको यस रणनीतिक महत्त्वको सहरबाट सैनिकहरूको ज्यान जोगाउन पलायन हुनुपरेको किएभले बतायो। उसले यहाँ आफ्नो सेना सङ्ख्या र शक्ति दुवैमा कमजोर रहेको कुरा पनि लुकाएन।

यता रूसले यसलाई ठूलै जितको रूपमा लिएको छ र यसको अवस्थितिका कारणले आभ्दियिभ्काबाट अन्य स्थानमा आक्रमण गर्न सजिलो हुने मानिएको छ। यो रुसको लागि गत मे महिनामा बख्मुट कब्जा गरेपछिको सबैभन्दा ठूलो जित हो।

आभ्दियिभ्का सन् २०१४ देखि रुसको कब्जामा रहेको युक्रेनी सहर डोनेट्स्कबाट केवल २० किलोमिटरको दूरीमा छ। यो फेब्रुअरी २०२२ मा युद्ध सुरु हुँदा रुस सरकार र उसका समर्थकहरूले "तीन दिनमा किएभमाथि विजय हासिल गर्ने" प्रचारबाजीभन्दा निकै कम प्रगति हो।

रुसले हालसम्म युक्रेनको करिब १८ प्रतिशत भूभागमा मात्र नियन्त्रण कायम गर्न सकेको छ। यसमध्ये क्राइमिया प्रायःद्वीपलाई उसले २०१४ मा आफ्नो देशमा गाभेको थियो र डोनेट्स्क र लुहान्स्कलाई पनि त्यही साल कब्जा गरेको थियो।

के युक्रेनले पाउने सहयोग घटेको हो?

विगत दुई वर्षमा युक्रेनले ठूलो मात्रामा सैन्य, आर्थिक तथा मानवीय सहयोग प्राप्त गरेको छ। कील इन्स्टिट्यूट फर दि वर्ल्ड इकनमी नामक संस्थाका अनुसार ज्यानुअरी २०२४ सम्म युक्रेनले युरोपेली सङ्घका निकायहरूबाट ९२ अर्ब अमेरिकी डलर र अमेरिकी सरकारबाट ७३ अर्ब अमेरिकी डलर बराबरको सहायता प्राप्त गरिसकेको थियो।

पश्चिमले दिएका ट्याङ्क, हवाई सुरक्षा उपकरण तथा लामो दूरीसम्म प्रहार गर्न सक्ने तोपहरूले युद्धमा युक्रेनलाई धेरै सघाएका छन्। तर व्यावहारिक रूपमा कहिलेसम्म सहयोग गर्न सकिन्छ भन्ने विवादका बीच युक्रेनलाई मित्रराष्ट्रहरूबाट प्राप्त हुने सहयोग घट्न थालेको छ।

अमेरिकामा आन्तरिक असहमतिका कारणले ६० अर्ब डलर बराबरको सहायता प्याकेज संसद्‌मा रोकिएको छ। फेरि आसन्न राष्ट्रपतीय निर्वाचनमा डोनल्ड ट्रम्प विजय भए अमेरिकी सहयोग पूर्ण रूपमा सुक्ने चिन्ता पनि छ।

धेरै छलफल र वादविवाद पश्चात् युरोपेली सङ्घले ५४ अर्ब डलरको प्याकेज फेब्रुअरीमा पारित गर्न सक्यो। विशेष गरी सङ्घलाई खुला रूपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको समर्थन र युक्रेनको विरोध गर्दै आएका हङ्गेरीका प्रधानमन्त्री भिक्टोर ओर्बानलाई सहमत गराउन निकै सकस पर्‍यो।

त्यसबाहेक युरोपेली सङ्घले मार्च २०२४ को अन्त्यसम्ममा युक्रेनलाई दिने लक्ष्य राखेको तोपका १० लाखवटा गोला (आर्टिलरी शेल) को आधा सङ्ख्या मात्र दिन सक्ने देखिएको छ।

रुसलाई कसकसले सहयोग गर्दै छन्?

रुसलाई छिमेकी बेलारुसले आफ्नो भूमि तथा हवाई क्षेत्र प्रयोग गर्न दिई समर्थन गरिरहेको छ। अमेरिका र युरोपेली सङ्घका अनुसार इरानले पनि रुसलाई शाहेद नामका ड्रोन दिइरहेको छ। तर इरानले रुसलाई युद्धअघि केही ड्रोन दिएको मात्र स्वीकारेको छ।

हवाई सुरक्षा संयन्त्र छल्न सक्ने क्षमताका कारण दुवैतर्फ उच्च मागमा रहेका यस्ता मानवरहित वायुयान (यूएभी) रुसका लागि युक्रेनमा प्रहार गर्ने प्रभावकारी साधन प्रमाणित भएका छन्।

रुसले आफ्नो तेलका क्रेता र सैनिक उद्योगहरूका लागि चाहिएको उपकरण र यन्त्र बेच्ने विक्रेता दुवै पाइरहेकोले पश्चिमी राष्ट्रहरूले लगाएका प्रतिबन्धले सोचे जस्तो असर गरेको छैन।

चीनले कुनै पनि पक्षलाई हतियार आपूर्ति गरेको छैन भन्ने बुझाइ छ। उसले हालसम्म सावधानीपूर्वक कूटनीतिक सन्तुलन कायम राख्दै युक्रेनमाथि रूसको आक्रमणको निन्दा गरेको छैन तर रूसलाई सैन्य समर्थन पनि गरेको छैन। तर चीन र भारतले रुसबाट तेल भने किनिरहेका छन्।

रुस र युक्रेन दुवैले विकासशील राष्ट्रहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयास पनि गरिरहेका छन् र अफ्रिका र ल्याटिन अमेरिकामा कूटनीतिक भ्रमणहरू तीव्र बनाएका छन्।

के रुसका उद्देश्य फेरिएका हुन्?

रुसी राष्ट्रपति पुटिनले अझै पनि पूरा युक्रेन लिन खोजेको ठानिन्छ। अमेरिकी टकशो प्रस्तोता टकर कार्ल्सननलाई हालै दिएको अन्तर्वार्तामा पुटिनले एक पटक फेरि इतिहासलाई बङ्ग्याएर आफूअनुकूल युक्रेन युद्धको व्याख्या गरेका थिए।

उनले लामो समयदेखि कुनै बलिया प्रमाणबिना युक्रेन र विशेष गरी डोन्बास क्षेत्रका जनतालाई रुसी संरक्षण आवश्यक रहेको बताउँदै आएका छन्। युद्धअगाडि एउटा लामो निबन्धमा उनले युक्रेनको सार्वभौम राष्ट्रको अस्तित्वलाई अस्वीकार गर्दै रुसी र युक्रेनी जनता "एक" रहेको तर्क गरेका थिए।

डिसेम्बर २०२३ मा उनले रुसले आफ्नो "विशेष सैन्य अभियान" भन्दै आएको यस युद्धका उद्देश्य परिवर्तन नभएको बताएका थिए। उनले रूसले युक्रेनमा उग्र दक्षिणपन्थीहरू (नाजी) को प्रभाव अन्त्य गर्न चाहेको बताएका थिए। यद्यपि युक्रेनमा नाजीवादीहरू भएको कुनै प्रमाण छैन।

उनले रुसले एक "सेनाविहीन" र "तटस्थ" युक्रेन चाहेको पनि बताउँदै आएका छन् र नेटोले पूर्वतर्फ प्रभाव विस्तार गर्दै लागेकोमा असन्तुष्टि पनि प्रकट गरेका छन्।

एउटा स्वतन्त्र राष्ट्रका हैसियतले युक्रेन कहिले कुनै सैन्य गठबन्धनमा सहभागी भएको छैन। राजनीतिक रूपमा उसले युरोपेली सङ्घको सदस्यता र नेटोसँग विस्तारित सम्बन्ध खोजेको थियो। यी दुवै कुरा युद्धअघि भन्दा अहिले बढी सम्भव देखिन्छ।

युक्रेनले राष्ट्रियता सुदृढ पार्न र पुरानो सोभियत सङ्घलाई कुनै रूप वा आकारमा बिउँताउने भूराजनीतिक आकाङ्क्षाबाट बच्न चाहेको थियो।

युद्ध कसरी अन्त्य हुन सक्ला?

कुनै पक्षले आत्मसमर्पण गर्ने सम्भावना नरहेको र पुटिन सत्ताबाट हट्ने लक्षण पनि नदेखिएकाले विश्लेषकहरूले यो युद्ध लामो समय जारी रहने मानेका छन्। सुरक्षाका मामिला अध्ययन गर्ने अन्तर्राष्ट्रिय थिङ्कट्याङ्क 'ग्लोबसेक'ले युद्ध कसरी अगाडि बढ्न सक्ला भनेर दर्जनौँ विज्ञको धारणा सङ्कलन गरेको थियो।

यसबाट युद्ध २०२५ भन्दा पछिसम्म जारी रहने, दुवै पक्षले ठूलो मानवीय क्षति बेहोर्ने र युक्रेनको बाहिरबाट दिइएका हातहतियारमा निर्भरता कायम रहने सम्भावना सबैभन्दा बढी रहेको देखिएको थियो।

दोस्रोमा रुसले तनाव बढाउने र मध्यपूर्व, चीन-ताइवान र बाल्कन आदि क्षेत्रमा पनि युद्ध सुरु हुने सम्भावना देखिएको थियो। तेस्रोमा युक्रेनले केही प्रगति हासिल गरे पनि युद्ध अन्त्य गर्न कुनै सम्झौता नहुने वा युक्रेनका लागि बाह्य सहयोग घट्दै जाने र उसलाई उसका सहयोगीहरूले वार्तामार्फत् समाधान खोज्न दबाव दिने सम्भावना बुझिएको थियो।

यद्यपि अमेरिकी राष्ट्रपति निर्वाचनको परिणाम र इजरेल-हमास द्वन्द्वलगायत अन्य युद्धले युक्रेन र रुसका समर्थकहरूको प्राथमिकता र आवश्यकता परिवर्तन गर्ने हो कि भन्ने अन्योल कायम छ।

के यो युद्ध फैलिन सक्छ?

यही फेब्रुअरीमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशलाई "हतियारको कृत्रिम अभावमा" राखे रुसलाई फाइदा पुग्ने बताएका थिए।

उनले म्युनिखमा आयोजित एउटा सुरक्षा सम्मेलनमा पश्चिमा देशहरू पुटिनको विपक्षमा नउभिए उनले अन्य धेरै राष्ट्रहरूका लागि आगामी वर्षहरू "विनाशकारी" हुने चेतावनी दिएका थिए।

रोयल यूनाइटेड सर्भिसेस इन्स्टिट्यूट (आरयूएसआई) थिङ्कट्याङ्कले रुसले सैन्य उत्पादन बढाई आफ्नो अर्थतन्त्र र रक्षा उद्योगलाई सफलतापूर्वक सम्हालिसकेको र लामो युद्धको तयारी गरिरहेको बतायो।

इन्स्टिट्यूटले युरोपले समान रूपमा तयारी नगरेको पनि औँल्यायो। युरोपको तयारी अवस्थाबारे पोल्यान्डका परराष्ट्रमन्त्रीले पनि चिन्ता व्यक्त गरेका छन्।

युरोपेली देशहरूले रुसले एक दशकभित्र नेटो राष्ट्रमा आक्रमण गर्न सक्ने पनि आशङ्का व्यक्त गरेका छन्। यसले नेटो र युरोपेली सङ्घलाई सैन्य क्षमता बढाउन र आफ्ना समाजलाई एउटा भिन्न वैश्विक परिवेशका लागि तयार गर्न झकझकाएको छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुपन्देहीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सिद्धार्थनगर । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देव...

निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक

पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन...

लेबननमा इजरायलको आक्रमण- अहिलेसम्म कम्तीमा ५२ जनाको मृत्यु, हजारौँ विस्थापित

काठमाडौं । लेबननको बेरुतमा इजरायलले आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हेजबुल्लाहसँग सम्बद्ध स्थानीय च्यानल अल-मनार टीभी स्टेसन रहेको भवनमा हमला गर...

पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

वीरगन्ज । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि  लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट...

मध्यपूर्वमा लडाइँ चर्किने डर, नेपाली कामदार कति सुरक्षित ?

काठमाडौं । यूएईको आबुधाबीमा कार्यरत बुटवलका आकाश खनालले सोमवार मध्याह्न बीबीसीसँग कुराकानी गर्दा आफूले दुई मिनेटअघि विस्फोटनको ठूलो आवाज सुनेको बताए। ...

पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बाग...

इजरायल–इरान युद्ध : दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षी...

आयल निगमले भन्यो- चुनावमा पनि इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नू

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक ...

प्रतिनिधिसभा निर्वाचन: तनहुँ, बागलुङ र म्याग्दीमा मतगणनास्थल तयार

तनहुँ ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणन...

प्रतिनिधिसभा निर्वाचन: विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

जुम्ला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE