Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

कालीगण्डकीको सभ्यता जोगाउने अभियान र सन्देश

खबरडबली संवाददाता

म्याग्दी । कालीगण्डकी नदी सभ्यता र त्यहाँका शालिग्राम शिलाको संरक्षणका लागि अभियन्ताहरूले नयाँ प्रयास सुरू गरेका छन्। श्रीकृष्ण मोहिनी एकादशी तिथि पारेर हालै यहाँ कालीगण्डकी नदीका शिलामा भगवान्का विभिन्न नाम अङ्कित गरे । 

कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलालाई संसारभरका हिन्दूमार्गीले विष्णु भगवान्का रूपमा पुज्ने गर्छन्। अवैज्ञानिक उत्खननले एकातिर नदीको पारिस्थितिकीय प्रणाली नै खल्बलिने र अर्कातिर दुर्लभ शालिग्राम शिला लोप हुने जोखिम बढेपछि संरक्षणप्रेमीहरू कालीगण्डकी जोगाउने अभियानमा जुटेका हुन् ।

‘कालीगण्डकी बचाऔँ अभियान’ र ‘प्रकृति, पर्यावरण र शालिग्राम संरक्षण समिति’मा आबद्ध अभियानीहरूले म्याग्दीको प्रसिद्ध गलेश्वरधामबाट बागलुङ हुँदै पर्वतको मोदीवेणीधाम सम्मको क्षेत्रमा अवस्थित प्रमुख धर्मघाटहरूमा शालिग्राम भगवान्का नाम शिलाङ्कित गरेका छन् । गण्डकी स्नान गरी हरिहर सङ्कृतनका साथ शिलाहरूमा भगवान्का नाम अङ्कित गरिएको ‘कालीगण्डकी बचाऔँ अभियान’का संयोजक आरके अदीप्त गिरीले बताए।

कालीगण्डकी नदीको पवित्रता एवम् चक्राङ्कित र निष्चक्राङ्कित शालिग्राम शिला र नदी संरक्षणको सन्देश दिन अभियान सुरू गरिएको उनको भनाइ छ । ‘धार्मिक तिथिमिति पारेर यो अभियानलाई निरन्तरता दिन्छौँ, श्रीकृष्ण मोहिनी एकादशीमा कालीगण्डकीका हजारौँ शिलामा शालिग्राम भगवान्का ९० अवतारका नाम शिलाङ्कित गरिसकेका छौँ’, उनले भने।

अभियन्ता, साधु, सन्त र पर्यावरणप्रेमीहरूको समूहले हरहर गङ्गे, मच्छेमूर्ति, महाकुर्ममूर्ति, बराहमूर्ति, लक्ष्मीनारायणलगायत देवीदेउताका नाम शिलामा कोरेका थिए।

‘अस्तित्व सङ्कटबाट गुज्रिरहेको कालीगण्डकी नदी संरक्षणमा सरोकार भएका पक्षको ध्यानाकर्षण होस्, जनस्तरमा सन्देश पुगोस् भनेर यो अभियान थालिएको हो’, संयोजक गिरीले भने, ‘सभ्यता बोकेको नदी मानवीय अतिक्रमणको चपेटमा छ, यसतर्फ बेलैमा सबैको ध्यान जानु जरुरी छ।’

नदी र खोलाका किनारैकिनार खनिएका सडक, अव्यवस्थित सहरीकरण र विकास गतिविधि, प्रकृतिदोहन आदि कारणले मानव र प्राणी जगत् जोखिममा परेको उनको भनाइ छ । पर्वत, बागलुङ र म्याग्दी आसपासमा पर्ने आनन्द बगर, फोर्से, सती बगर, राजा बगर, सहश्रधारालगायत क्षेत्रमा सञ्चालित दर्जनौँ क्रसर उद्योगले मनोमानी नदीजन्य पदार्थ उत्खनन गर्दै आएका छन् । अव्यवस्थित उत्खननका कारण नदी कुरुप बन्दै गएको मात्र छैन, ठाउँठाउँमा नदीको धार नै परिवर्तन भइरहेको छ।

रातारात कालीगण्डकीबाट ढुङ्गा, बालुवा र गिट्टी उत्खनन तथा ओसारपसार हुने गरेको स्थानीयवासीको गुनासो छ । कालीगण्डकीले झेलिरहेको समस्याप्रति जनप्रतिनिधि र स्थानीय प्रशासनले अनदेखा गरिरहँदा दोहनकर्ताले संरक्षण पाइरहेको पर्वतको जलजला गाउँपालिकाका यज्ञ थापाले बताए।

‘नदीजन्य सामग्री उपयोगका नाममा जथाभावी उत्खनन गर्दा नदी गहिरिने, धार परिवर्तन हुने भइरहेको छ’, उनले भने, ‘तटीय क्षेत्रमा बाढी र कटानको जोखिम बढ्दो छ ।’ कालीगण्डकी दोहनकै कारण यस क्षेत्रमा रहेका कतिपय ऐतिहासिक धर्मघाटहरू विस्थापित भएकामा उनले चिन्ता व्यक्त गरे । ‘संसारमै दुलर्भ मानिने शालिग्राम शिलाको अस्तित्व सङ्कटमा परिरहेको छ, भगवान् विष्णुको अवतारका रूपमा पुजिने शिला ढुङ्गा, गिट्टीका रूपमा बिक्री भइरहेको छ, यो दुःख्द विषय हो।’

कालीगण्डकी दोहनसँगै यस आसपासका खोल्साखोल्सी, वनजङ्गल, चौर, ढिस्काढिस्की, सम्पदा क्षेत्र साथै सार्वजनिक महत्वका ठाउँसमेत मानवीय अतिक्रमणमा परिरहेको उनले बताए।

बालुवा, गिट्टी र ढुङ्गालगायत निर्माण सामग्री नदी किनारमै सङ्कलन गर्ने र त्यहीँबाट उठाउने गरिएको छ । नदी ऐन÷नियम, वातावरणीय प्रभाव मूल्याङ्कनको समेत बेवास्ता गर्दै मनपरी ढङ्गले कालीगण्डकी दोहन गर्दा मानव बस्तीसँगै अन्य प्राकृतिक स्रोत÷पानीका मूल–मुहान, जलथल आदि सङ्कटमा परेका जानकारहरू बताउँछन्।

सर्वोच्च अदालतले विसं २०७८ असार २९ गते अन्तरिम आदेश जारी गर्दै कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन नगर्न/नगराउन र कालीगण्डकी नदीमाथिका सबै हस्तक्षेप बन्द गर्न आदेश दिएको ‘कालीगण्डकी बचाऔँ अभियानका’ संयोजक गिरीले बताए । सर्वोच्चको आदेशविपरीत अहिले पनि लुकीछिपी नदीजन्य पदार्थको उत्खनन भइरहेको उनले जानकारी भने । ‘कालीगण्डकीजस्तो जन्मदेखि मृत्युसम्मका सबै संस्कार र परम्पराको स्रोतस्थलमा भएको क्रुर दोहन हामीलाई कदापि स्वीकार्य छैन’, उनले भने।

कालीगण्डकीको अनियन्त्रित दोहन नरोकिने हो भने नदीको अस्तित्व नै नामेट हुने खतरा रहेको अधिवक्ता राम शर्माले बताए । उनले नदीजन्य पदार्थ उत्खननका लागि जोखिम नभएका ठाउँ पहिचान गर्ने, तोकिएको मात्रामा उत्खनन गर्ने, व्यवसायीलाई अनिवार्य करको दायरामा ल्याउने आदि गरेमा उत्खनन केही व्यवस्थित हुनसक्ने धारणा राखे।

‘नदीबाट गिट्टी, बालुवा झिक्नै नपाउने कुरा व्यवहारिक नहुन सक्छ तर उत्खननलाई व्यवस्थित बनाउनुपर्यो, राज्यले कानुनी प्रबन्धहरू त्यहीअनुसार गर्नुपर्यो’, अधिवक्ता शर्माले भने, ‘पारिस्थितिक प्रणालीमै धक्का पुग्नेगरी मनपरी किसिमबाट नदी दोहन भइरहे मानवजाति र प्रकृतिमाथि नै सङ्कट निम्तन सक्छ।’

अभियन्ता गिरीले भने गिट्टी, बालुवाका लागि खानीको विकास गर्नुपर्ने र ‘ड्याम’ बनाएर सङ्कलित नदीजन्य पदार्थलाई प्राधिकरणमार्फत वितरण गर्न सकिने विचार राखे । उनी भन्छन् ‘ठूला यन्त्र, उपकरणको सहायतामा भइरहेको दोहनका कारण बर्र्सेनि नदी बिरुप बन्दै गएको छ, नदीको धार परिर्वतन हुँदा बाढीलगायतका विपद् निम्तिरहेका छन् । त्यसैले नदी किनारमा बसोबास गर्ने लाखौँ मानिसको थातथलो र जीविका सङ्कटमा पर्दै गएकाले त्यसलाई जोगाउन सबैको ध्यान जान आवश्यक छ।’

कालीगण्डकीको शिर मुक्तिनाथ र दामोदरकुण्डलाई हिन्दू र बौद्धमार्गी दुवैले पवित्र क्षेत्र मान्दछन् । कालीगण्डकीको जलाधार क्षेत्रमा आठ हजार मिटरभन्दा अग्ला तीनवटा हिमालय पर्वत श्रृङ्खला धवलागिरि, अन्नपूर्ण र मनाश्लु रहेका छन् भने आठ हजारदेखि छ हजार मिटरसम्मका दुई दर्जनभन्दा धेरै हिमशिखर रहेका छन् । कालीगण्डकीको जलाधार क्षेत्रमा मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा, गुल्मी, पाल्पा, तनहुँ, नवलपुर, नवलपरासी गरी १० जिल्ला रहेका छन् । नदीको अप्राकृतिक दोहनले मुक्तिनाथदेखि देवघाटसम्म कालीगण्डकी तटमा रहेका दर्जनौँ तीर्थस्थलसमेत सङ्कटमा छन्।

हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिण बग्ने कालीगण्डकीसँग आफ्नै प्राचिन सभ्यता छ । यससँग जोडिएको हिमालय सभ्यताको पौराणिक तथा धार्मिक साहित्यमा चर्चा गरिएको पाइन्छ । यस क्षेत्रका फाँटहरूमा प्राचीनकालदेखि नै सांस्कृतिक गतिविधि हुने गरेको विभिन्न धर्मग्रन्थहरूमा उल्लेख छ । चिनियाँहरूले रेशम व्यापारका क्रममा हिमालय भञ्ज्याङ पार गरी कालीगण्डकीको किनारैकिनार पोखरा, पाल्पा, तानसेन, लुम्बिनी हुँदै भारतसम्मको यात्रा गरेको इतिहासमा उल्लेख छ।

धवलागिरि क्षेत्रका पर्यावरणप्रेमी युवाहरू मिलेर चार वर्षअघि ‘कालीगण्डकी बचाऔँ अभियान’ सुरू गरेका थिए । नदी–सभ्यता जोगाउन लागिपरेको अभियानले जागरण गीतका रुपमा दुई वर्षअघि ‘ए कालीगण्डकी‘हे आमा गण्डकी’ सार्वजनिक गरेको थियो । अभियानले कालीगण्डकी संरक्षणका पक्षमा ‘नदी सप्तक’ कविता श्रृङ्खला पनि चलाएको थियो।

कालीगण्डकीको महिमागानदेखि मानवीय अतिक्रमण झेलिरहेको नदीको चित्कारसम्मलाई कवि–लेखकहरूले आफ्ना रचनामा मुखरित गरेका थिए। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको हो?

काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थ...

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ...

कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुरको विज्ञप्तिले झन्झन् पेचिलो हुँदै कांग्रेस विवाद

काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जे...

औपचारिक माफी माग्ने सरकारको प्रतिबद्धताप्रति दलित समुदायद्वारा स्वागत

काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...

पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य: नेपाल उद्योग परिसंघ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ...

लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनास...

यस्तो छ कृषि उपजको आजका लागि थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बी...

एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ

काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।  सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे। ...

स्पा सेन्टरमा बालिकालाई काममा लगाएको आरोपमा लेकसाइडका आठ सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending