Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

शीतल निवासको गरिमा बिरानो, पार्टी राजनीतिको विरासत नै न्यानो

ओलीसँग ‘चिढिएका’ र ओलीको ‘विश्वास गुमाएका’ नेताहरूसँग भण्डारीको बाक्लो भेटघाट

खबरडबली संवाददाता

काठमाडौं । दुई पटक मुलुकको राष्ट्रपति भइसकेकी विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्कने बताएकी छन् । विद्यार्थीकालमा राजनीतिक जीवनको थालनी गरेको स्थान विराटनगर पुगेर उनले सक्रिय राजनीतिमा फर्कने प्रस्ट पारेकी हुन् ।

‘राष्ट्रपति पद गैरराजनीतिक होइन, त्यसैले म राष्ट्रिय राजनीतिमा सक्रिय नै छु,’ भण्डारीले पत्रकार सम्मेलनमा भनिन्, ‘मैले सुरुमा माले र त्यसपछि बनेको एमालेमा लामो समय बिताएकाले आवश्यक परेमा पुनः एमालेको राजनीतिबाट सक्रिय हुनुपर्ने अवस्था आउन सक्छ ।’ उनले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा आउन लागेकोमा खुसी व्यक्त गर्दै शुभकामनासमेत दिइन् ।

पहिलोपल्ट २०७२ कात्तिकमा र त्यसपछि २०७४ फागुनमा राष्ट्रपति बनेकी भण्डारी नियमित दुई कार्यकाल सकेर २०७९ फागुनमा शीतल निवासबाट बिदा भएकी थिइन् । त्यसको केही समयपछि उनी पुनः सक्रिय राजनीतिमा फर्कने संकेतले एमालेभित्र तरंग पैदा गरेको थियो ।

भण्डारी सक्रिय राजनीतिमा फर्कने सम्भावना रहेको र नरहेको दुई थरी धारणा एमाले नेताहरूले व्यक्त गर्दै आएका थिए । तर त्यो अस्पष्ट स्थितिलाई चिर्दै सोमबार उनले विराटनगरमा पत्रकार सम्मेलनमार्फत दलीय राजनीतिमा आफ्नो पुनरागमन हुने स्पष्ट पारेकी हुन् ।

भण्डारीले २०४० मा महेन्द्र–मोरङ क्याम्पसमा स्ववियु कोषाध्यक्ष भएर सुरु गरेको राजनीतिक यात्रा, उनका स्वर्गीय पति मदन भण्डारीसँगको सम्बन्ध तथा त्यसपछि राष्ट्रपतिको भूमिकाबाट आर्जन गरेको शक्ति र अनुभवलाई सक्रिय राजनीतिमा प्रयोग गर्न चाहेको एमाले नेताहरूको भनाइ छ ।

केही दिन बस्ने गरी आफ्नो राजनीतिक उद्गमथलो मोरङ आएकी भण्डारीले नयाँ र पुराना एमालेजनसँग भेटघाट तीव्र पारेकी छन् । साथ, सहयोग र सुझावका लागि परामर्श बढाएकी छन् । उनको यो सक्रियताले पार्टी नेतृत्वका लागि उनी अघि बढ्ने सम्भावना चुलिएको एमाले नेताहरू बताउँछन् ।

इटहरी र सुनसरीका नयाँ–पुराना एमाले कार्यकर्तासँग पनि भेटघाट गर्ने कार्यक्रम बनाएकी पूर्वराष्ट्रपति भण्डारी माघ १८ मा काठमाडौं फर्कने कार्यतालिका रहेको सुरक्षा निकायको भनाइ छ । एमाले मोरङका पूर्वअध्यक्ष विनोद ढकाललगायत नेताहरू उनको भेटघाटमा सक्रिय भएर लागेका छन् । खासगरी अध्यक्ष ओलीसँग ‘चिढिएका’ र ओलीको ‘विश्वास गुमाएका’ नेताहरूलाई भण्डारीले प्राथमिकता दिएर भेटिरहेको स्रोतको दाबी छ ।

एमाले स्थायी कमिटी सदस्य कर्ण थापालगायतका नेताले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन सार्वजनिक रूपमै आग्रह गरेका छन् । ‘विगतदेखि नै उहाँ आवश्यकताले राजनीतिमा सक्रिय हुनुभएको हो, पार्टीकै निर्णयबाट राष्ट्रपति बन्नुभएको हो,’ थापाले कान्तिपुरसँग भने, ‘फेरि मुलुक र पार्टीको आवश्यकताले सक्रिय हुनुपर्ने अवस्था आएको छ । एमालेभित्रको ठूलो पंक्तिले उहाँलाई सक्रिय राजनीतिमा आउन आग्रह गरिरहेको छ, सकारात्मक वातावरण पनि बन्दै छ ।’

थापाले पार्टी अध्यक्ष ओलीले नै पूर्वराष्ट्रपतिलाई सक्रिय हुन प्रस्ताव गर्नु उचित हुने बताए । ‘पूर्वराष्ट्रपति भण्डारीको अझै उमेर छ, पार्टी अध्यक्षले नै सक्रिय हुन प्रस्ताव गर्नु उचित हुन्छ,’ उनले भने । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउनेबारे औपचारिक छलफल नभएको बताए । ‘सक्रिय राजनीतिमा आउने वा नआउने भन्ने अधिकार पूर्वराष्ट्रपतिसँग छ,’ उनले भने ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवका तत्कालीन राजनीतिक सल्लाहकार एवं राजनीतिक विश्लेषक हरि शर्मा राष्ट्रपति पदको उच्च गरिमा हुने भएकाले पुनः सक्रिय राजनीतिमा आउने/नआउनेबारे आफैंले विवेक पुर्‍याउनुपर्ने बताउँछन् । ‘राष्ट्रपति मुलुकको उच्च गरिमामय पद हो, त्यो जिम्मेवारी सम्हालिसकेको व्यक्तिले फेरि सक्रिय राजनीति थाल्ने वा नथाल्ने विवेक पुर्‍याउनुपर्छ,’ उनले भने ।

भण्डारी मंगलबार उद्घाटनलगायतका कार्यक्रममा सहभागी भइन् । इटहरीस्थित जनता माविको नवनिर्मित भवनको उद्घाटन गरिन् । बुधबार धरान इन्जिनियरिङ क्याम्पस र बुढीगंगा गाउँपालिकामा चुडाकवि फाउन्डेसनले आयोजना गर्ने जिल्लास्तरीय वादविवाद प्रतियोगिताको प्रमुख अतिथि बन्दै छिन् । बुधबारै बुढीगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालयको अवलोकन गर्ने कार्यक्रम छ ।

भण्डारी माघ १८ मा विराटनगर महानगर नजिकैको ग्रामथान गाउँपालिकास्थित सरस्वती माविको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । उनका स्वकीय सचिव राजकुमार राईले पूर्वराष्ट्रपति भण्डारी गैरराजनीतिक कार्यक्रममा सहभागी हुन विराटनगर गएको बताए । ‘विश्वविद्यालयका भेटघाट, विद्यालयको वार्षिकोत्सवलगायत कार्यक्रममा सहभागी हुन जानुभएको हो,’ उनले भने, ‘त्यहीक्रममा अरू पनि भेटघाट भए होलान् ।’

पछिल्लो समय भण्डारीले आफ्नो सक्रियता निकै बढाएकी छन् । विराटनगरबाट फर्केको केही समयपछि उनी लुम्बिनी जाने कार्यक्रम छ । त्यहाँ उनले औपचारिक र अनौपचारिक भेटघाट गर्ने सम्भावना रहेको सचिवालयले जनाएको छ । यसअघि उनी पुस १८ मा पोखरा विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालयको संयुक्त आयोजनामा भएको ‘फेवा डाइलग’ को उद्घाटन गर्न पोखरा गएकी थिइन् । पोखरामा ६ दिन बस्दा उनी एमाले नेता–कार्यकर्तासँगको भेटघाटमा सक्रिय भएकी थिइन् ।

भण्डारी मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको दोस्रो राष्ट्रपति र नेपालको संविधान घोषणापछि निर्वाचित हुने पहिलो राष्ट्रपति हुन् । उनी मुलुकको सर्वोच्च पदमा निर्वाचित हुने पहिलो नेपाली महिला पनि हुन् । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending