Ntc summer Offer
Khabar Dabali २३ चैत्र २०८१ शनिबार | 5th April, 2025 Sat
Investment bank

जनयुद्धका साक्षीको बयानः जो मृत्युको मुखबाट बाँचे

गाेकु्ल पराजु्ली
गाेकु्ल पराजु्ली

राजमार्गमा शाही नेपाली सेनाका बख्तरबन्द गाडीहरू दौडिरहन्थे । प्रहरीका ट्रक र साना पिकअप भ्यानहरूको छतमा ‘लङ रेन्ज’ राइफलहरू निसाना लगाएर तैयारी अवस्थामा राखिएका हुन्थे । राजमार्गमा त्यस्ता गाडी दौडिएको देख्दा जो– कसैलाई देशमा विपत्ति कायमै रहेको  महसुस हुन्थ्यो ।

सोझो राजमार्गमा गाडी घुमाउँदै दौडाउनु पर्ने बाध्यता थियो । ठाउँठाउँमा सुरक्षाकर्मीको संयुक्त टोलीले ब्यारियर ९ढाट० बनाएका हुन्थे । सुरक्षा पोष्ट पुग्नु केही किलोमिटर दुरीमा ड्रमहरूमा माटो भरेर राजमार्गमा राखिएका हुन्थे । गाडीको गति नियन्त्रण गरेर केही परका पोष्टको सुरक्षाका लागि त्यस्ता ब्यारियर बनाइएका हुन्थे । दश वर्षसम्म नेपालमा चलेको जनयुद्धले उचाइ लिएको बेला गाउँघरमा सुरक्षाकर्मी बिरलै पुग्थे तर राष्ट्रिय राजमार्ग भने उनीहरूकै नियन्त्रणमा थियो ।

गाउँघरमा निस्फिक्री पार्टीका गतिविधि हुन्थे । संगठन गर्ने, बैठक बस्ने, सांस्कृतिक कार्यक्रमदेखि धेरै राजनीतिक कार्यक्रमहरू गाउँमा सजिलै चल्थे । पार्टीका  सैन्य गतिविधिहरू पनि प्रशस्त हुन्थे तर जब राजमार्ग र सहरतिर जानु पर्दथ्यो, त्यतिबेला तात्कालीन नेकपा माओवादीका कार्यकर्ताहरूलाई सुरक्षा चुनौती बढ्थ्यो । त्यस्तै चुनौतीको सामना गर्नुपरेको थियो जनमुक्ति सेनाका पूर्वप्लाटुन कमाण्डर मोरङ, गोविन्दपुरका श्रवण ऋषिदेवले  पनि ।

पार्टीको कामको सिलसिलामा ऋषिदेव जनमुक्ति सेनाको १९ औँ बटालियन ‘डी’ कम्पनीका कमाण्डर जितेन चेम्जोङ्ग (कुमार)सँग मोरङको लेटाङ जानुपर्ने थियो । ‘२०५९ साल कार्तिक महिनाको तिहारको बेला थियो,’ घटना सम्झँदै श्रवण भन्छन्, ‘सायद हली तिहारको दिन हुनुपर्छ, जुन दिन हामी दुई जना पथरी शनिश्चरेको सिरिसेडाँडाबाट मोटरसाइकलमा लेटाङतर्फ बढेका थियौँ ।’

उनीहरूमा आँट, साहस र युद्ध कौशल त थियो नै, परिस्थितिको आकलन गर्ने राजनीतिक क्षमता पनि थियो । बैठक सकेर दुवै जना राष्ट्रिय राजमार्ग पथरीबाट कानेपोखरीतर्फ गइरहेका थिए तर भूमिगत अवस्थाका उनीहरू राजमार्गमा घुम्दै गरेको सूचना सुरक्षाकर्मीलाई भइसकेको रहेछ । जब ऋषिदेवसहितको मोटरसाइकल पथरीबाट पश्चिम जङ्गल हुँदै अघि बढ्यो, सादा पोसाकका सुरक्षाकर्मी चढेको एउटा टाटासुमोले पछ्याउन थाल्यो । केही किलोमिटर यात्रा गर्दासम्म उनीहरूले त्यसबारेमा चाल पाएका थिएनन् । मोटरसाइकल पछिपछि एउटा मालवाहक ट्रक  पनि गुडिरहेको थियो । त्यो ट्रकको कभर लिएर निजी गाडीमा सुरक्षाकर्मी चढेको टाटासुमोले उनीहरूलाई पछ्याइरहेको रहेछ । ट्रकले गर्दा मोटरसाइकलको पछाडि बस्ने व्यक्तिले पनि सुरक्षाकर्मीको गाडी देख्न सक्दैनथे । राज्यका सुरक्षाकर्मीहरू उपयुक्त मौकाको खोजीमा थिए । मौका मिल्ने बित्तिकै ट्रकलाई ओभरटेक गरेर मोटरसाइकलमाथि आक्रमण गर्ने योजना उनीहरूले बनाएका रहेछन् । 

राजमार्गमा रहेको घुम्ती पारगर्ने क्रममा मोटरसाइकलको ‘लुकिङ ग्लास’बाट ट्रकको पछाडि सुरक्षाकर्मीले पछ्याइरहेको ऋषिदेवले देखे । टाटासुमोको झ्यालबाट मेसिनगनको नाल निकाल्दै गरेको देखेपछि सुरक्षाकर्मीले पछ्याएको उनीहरूले चाल पाए  । मौका पाउनासाथ आक्रमण हुनसक्ने अनुमान श्रवणले गरिहाले । आफ्ना कमाण्डर कुमारलाई अवस्थाबारेमा जानकारी पनि  गराए । कुमारले मोटरसाइकलको गतिलाई ट्रकसँग संयोजन गर्दै अगाडि बढाइरहे । जङ्गलको बिचमा कानेपोखरी बजार आइपुग्नै लागेको थियो । त्यहाँबाट लेटाङ र रमाइलो दुवैतर्फ जाने बाटो थियो तर त्यहाँसम्म पुग्नसक्ने अवस्था थिएन । किनभने सुरक्षाकर्मीहरू आक्रमणको अन्तिम तयारीमा थिए । प्लाटुन कमाण्डर ऋषिदेवको अनुमान अनुसार  गाडीले ठक्कर दिएर हत्या गर्ने  वा  ठक्करबाट घाइते बनाएपछि हत्या गर्ने योजना सुरक्षाकर्मीको थियो । 

कानेपोखरी नजिकै पुग्न लागेपछि कुमारले सचेततापूर्वक मोटरसाइकल चारकोशे झाडीतर्फ मोडे । ऋषिदेव सडक किनारमै लडे, कुमार जङ्गलको छेउमा पछारिए । ‘लडेर उठ्न खोज्दाखोज्दै सुरक्षाकर्मीले मेसिनगनबाट परररर्र गोली बर्साउन थाले,’ योद्धा ऋषिदेवले त्यो बर्बर घटना सम्झिँदै भने, ‘तिहारमा पड्केको पटकाजस्तो आवाज लगातार आइरह्यो, त्यतिबेलै यसो आँखा खोलेर हेरेँ, कुमार दाइको शरीरमाथि गोलीको वर्षा भइरहेको थियो, अलि पर पुगेर उहाँ ढल्नुभो ।’

‘अब गोली ममाथि बर्सिने निश्चित थियो, दुई राउण्ड गोलीसहितको पेस्तोल मेरो कम्मरमा थियो,’ ऋषिदेव भन्छन्, ‘त्यहाँबाट उम्किनु नै उचित सम्झेर कुहिना टेकेर घिस्रिँदै जङ्गलसम्म पुगेँ । त्यतिबेलै उनीहरूले देखिहाले र फायर खोले ।’

रुख र झाडीको सहारा लिँदै कुहिना टेकेरै ऋषिदेव जङ्गलभित्र जाँदै थिए । त्यही बेला एउटा गोली दाहिने हातको नाडीमै लाग्यो । ‘गोलीले हात चुँडायो भन्ने उनले  ठानेँ तर फर्केर हेरेनन्, अघि बढिरहे । उनी भन्छन्, ‘सयौँ गोली वर्षिरहेका थिए, त्यही क्रममा एउटा गोली तिघ्रामा पनि लागेछ । मैले त्यतिबेला थाहा नै पाइनँ । रुखहरूको कभर लिँदै अघि बढेँ ।’

निकै बेरपछि गोली पड्किन बन्द भयो । हातबाट रगतको धारा बगिरहेको थियो । उनी सर्पजस्तो बाङ्गोटिङ्गो बाटो हिँड्दै अघि बढिरहे । उनी चाहन्थे, दुस्मनले उनी कता गए भन्ने ठिक अनुमान गर्न नसकुन् । त्यति बेलासम्म रगत बग्न थामिएन । देब्रे हातले दाहिने हातलाई साहारा दिँदै टाउकोमाथि उठाएर उनी घण्टौँ घना जङ्गलमा घस्रेर हिँडिरहे ।

टाउकोमा चुहिएको रगतले पूरै शरीर भिजिसकेको थियो । उनी साँझ परेपछि रमाइलोको पिङ्डाँडा बस्ती छेउमा पुगे । बाटोको डिलमुनि लमतन्न सुते । ‘त्यहाँ पुगेपछि बाँच्छु भन्ने आश मर्न थालिसकेको थियो,’ उनी भन्छन्, ‘यतिधेरै रगत बगेको थियो कि म हल्लिन पनि नसक्ने अवस्थामा थिएँ ।’

उनका लागि दिन बलियो भएर देखापर्‍यो । उनी सुतेकै ठाउँ नजिक एक जना रक्सीले मातेको मतुवा उभिएर पिसाब फेर्न थाल्यो ।

गाउँसम्म खबर पुर्‍याउन पाए साथीहरू उद्धारका लागि आउन सक्ने श्रवणमा आश पलायो । उनले रक्सीले मातेको मान्छेलाई बोलाए । मातेको व्यक्ति नजिक आएर श्रवणलाई हेरेपछि अक्क न बक्क बने । रगतले भिजेको शरीर, गोलीले हात झण्डै छिनेको मान्छे देखेपछि केही नबोली मातेको मान्छे भाग्न खोजे । उपाय खेर जान नदिने घाइते अवस्थाका श्रवणले कम्मरबाट पेस्तोल निकालेर मातेको मान्छेलाई भने, ‘म माओवादी हुँ र सेनाको गोलीबाट घाइते भएको छु, मैले तपाईंलाई चिनिसकेको छु । बिहीबारेको टेलिफोन बुथमा पुगेर सुमन बस्नेत वा उहाँको आमालाई म घाइते भएर लडिरहेको छु भनेर खबर गर्नु ।’

दिन बलियो भएकैले होला, मतुवाले खबर पुर्‍याइदिएछन् । साथीहरू खोज्न आएछन् तर भेटेनछन् ।

‘निकैबेर पछि त्यही बाटो भएर १०–१२ वर्ष उमेरका एक  बालक हिँडेर आउँदै गरेको देखेपछि श्रवणले बोलाएर दिवाकर पोखरेलसम्म खबर गरिदिन आग्रह गरे । नभन्दै ती बालकले दिवाकरहरूलाई चिन्दारहेछन् । केहीबेर अघि दिवाकरहरू जङ्गलतिर घुम्दै गरेको उनले देखेका रहेछन् । उनले हतारिँदै एकछिनपछि उनीहरूलाई  खोेजेर ल्याइदिए । साथीहरूले त्यहँँबाट उद्धारकालागि नजिकैको सेल्टरमा पुर्‍याए । लगत्तै दिवाकरले शनिश्चरेमा क्लिनिक सञ्चालन गर्दै आएका केवल अधिकारीलाई सेल्टरसम्म ल्याएर श्रवणको उपचार गराए । झण्डै एक महिना शनिश्चरे र रमाइलोका बस्तीहरूमा सेल्टर सार्दै उपचार गरेपछि श्रवण ठिक हुँदै गए । त्यतिबेलै उनलाई बचाउन हरसम्भव सहयोग गरिरहेका दिवाकर, हिमाल र गिरी सरलाई सुरक्षाकर्मीले पक्राउ गरेर हत्या गरिदियो । ‘हत्या गर्नुअघि श्रवण ऋषिदेवलाई देखाए छोडिदिने आश्वासन दिँदासमेत उहाँहरूले सेल्टर भन्नुभएनछ, बरु आफैँ सहिद हुनुभएछ,’ श्रवणले साथीहरूको बलिदान सम्झदै भने ।

श्रवणको दाहिने नाडीदेखि हत्केलासम्मको हड्डी गोलीले कच्याककुचुक नै बनाएको थियो । उपचारपछि ठिक भयो तर त्यो हातले काममा खास भर दिँदैन । खुट्टाको गोली त अहिलेसम्म पनि झिकिएको छैन । ‘त्यो गोली झिक्न सक्ने अवस्था नै छैन,’ ऋषिदेव भन्छन्, ‘म बीएण्डबी अस्पतालका केही डाक्टरहरूको सम्पर्कमा नै छु, बेलाबेलामा त्यसले दुःख दिन्छ ।  त्यतिबेला डाक्टरहरूसँग परामर्श गर्ने र सल्लाह अनुसार औषधि सेवन गर्ने गरिरहेको छु ।’

थुप्रै लडाइँका मोर्चाहरूमा भाग लिएका जनमुक्ति सेनाका प्लाटुन कमाण्डर श्रवण ‘अर्जुन’का नामले चिनिन्छन् । घाइते भएपछि उनी जनमुक्ति सेनाको नियमित टिमका लागि फिट भएनन् । उनको जिम्मेवारी फेरियो र मोरङ जिल्ला जनसरकार प्रमुखको जिम्मेवारी पाए । मुसहर समुदायबाट राजनीतिमा प्रवेश गरेको एउटा जोसिलो, हिम्मत भएको र राजनीतिक चेतसमेत भएको युवा मोरङ जिल्लाको जनसरकार प्रमुख भए । कक्षा ८ सम्मको औपचारिक शिक्षा हासिल गरेका उनी राजनीतिक विचारमा निकै प्रस्ट थिए । सामाजिक विभेद, छुवाछुत, धनी र गरिबका बिचमा हुने वर्गीय विभेद आदि अन्त्य गर्न राजनीतिक परिवर्तन आवश्यक छ र त्यो काम उनकै वर्गको नेतृत्वमा हुनुपर्छ भन्ने विचारमा उनी दृढ थिए । त्यसैले उनी २०५७ सालमा पूर्णकालीन कार्यकर्ताको रूपमा पार्टीमा आवद्ध भएका थिए । दैनिक ज्याला मजदुरी गरेर खाने अति विपन्न समुदाय र परिवारको सदस्य यतिधेरै राजनीतिक चेतसहित पार्टीको पूर्णकालीन कार्यकर्ता बन्नु चानचुने कुरा पनि थिएन । त्यसमाथि पनि भूमिगत राजनीति, जसमा जीवनको कुनै भरोसा नै हुँदैनथ्यो ।

श्रवण र श्रवणजस्ता धेरैको संघर्षपूर्ण योगदानले देशमा गणतन्त्र आयो । गणतन्त्रको घोषणा हुनु अघि गणतन्त्रको नारा लगाउने आफ्ना प्रतिनिधिलाई संविधान सभा भवनसम्म पुर्‍याउन श्रवणले पनि निकै मेहनत गरे । त्यसबिचमा युवाहरूको नेतृत्व गर्दै जिल्लामा निरन्तर सक्रिय भइरहे । इमानदारितापूर्वक राजनीति गर्ने भएकाले सम्पति कमाउनेतर्फ श्रवणले कहिल्यै सोचेनन् । त्यतिबेलासम्म उनले आदर्शको रूपमा हेर्ने गरेका केही नेताहरूको आर्थिक हैसियत फेरिन थालिसकेको थियो । उनी त्यसको पक्षमा थिएनन् । सोचेजस्तो परिवर्तन नआए पनि लडेर ल्याएको गणतन्त्रको सुरक्षा गर्दै समाजवाद स्थापना गर्ने अभियानमा निरन्तर लागिरहने उनी बताउँछन्  । उनी भन्छन्, ‘पार्टी र संघर्षको मैदान छोडेर कतै जान्नँ, राजनीतिको बाटो सोझो हुँदैन भन्ने बुझेको छु तर पार्टी यथास्थितिमा अल्मलिने हैन, गतिशील भएर अगाडि बढिरहनु पर्छ ।’

तिघ्रामा गढेको गोलीको बदलामा समृद्ध र समुन्नत समाजवादी नेपाल बनाउने उनको चाहना छ । ‘म अहिले पनि विपन्न वर्गको जीवन नै बाँचिरहेको छु र आदर्श राजनीतिलाई नै जीवनको लक्ष्य बनाएको छु,’ श्रवण भन्छन्, ‘अहिले गणतन्त्र आए पनि त्यो गरिबको घर र बस्तीसम्म पुगेको छैन । यो गणतन्त्रलाई म गरिबको घरसम्म पुर्‍याउने अभियानमा छु ।’

पहिलेकोे तुलनामा श्रवणको आर्थिक जीवनमा केही फरक भने आएको छ तर पारिवारिक संघर्षले । अर्जुनको औपचारिक शिक्षा थोरै भए पनि राजनीतिमा गरेको योगदान र सामाजिक सक्रियताले असल व्यक्तिको परिचय बनेको थियो । सोही परिचयले नर्सिङ शिक्षा हासिल गरेको शिक्षित महिलासँग विवाह गर्ने वातावरण बन्यो । त्यो पनि अन्तरजातीय विवाह । मधेसी र पिछडिएको समाजमा अहिले पनि यस्तो विवाह झगडाको ठुलो मुद्दाको रूपमा लिइन्छ । राजनीतिक चेतनाले सामाजिक कुरीति चिर्न उनी सफल देखिन्छन् ।

श्रवणकी श्रीमती सरकारी सेवामा प्रवेश गरेकी छन् । प्राविधिक शिक्षा लिएकै कारण श्रीमती सरकारी सेवामा जागिरे भइन् । त्यसले श्रवणको राजनीतिक यात्रामा सहयोग पुर्‍याएको छ । श्रीमती तेह्रथुम जिल्लाको दुर्गम गाउँको स्वास्थ्य चौकीमा कार्यरत छन् भने श्रवण छोरी हुर्काउँदै र पढाउँदै घरमै बसेर सामाजिक काममा सक्रिय छन् । जीवन पहिलेको तुलनामा सहज छ । बुबाआमा खेती किसानी गरिरहनुभएको छ । घरको काममा श्रवणले राम्रो सहयोग गरिरहेका छन् । उनी आफ्नो क्षेत्रमा वर्गीय प्रतिनिधिको रूपमा चिनिएका छन् भने समुदायमा मुसहरका अगुवाको रुपमा स्थापित छन् ।

राष्ट्रिय मुसहर संघका केन्द्रीय अध्यक्ष चन्देश्वर सदाका अनुसार नेपालमा विभेदमा परेका अर्थात् अमानवीय जीवन व्यतीत गर्दै आईरहेका समुदायहरूमध्ये मुसहर जाति सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, सामाजिक न्याय अनुभूतिबाट समेत बाहिर छन् ।

नेपालमा मुसहरको जनसंख्या २ लाख ७० हजारको हाराहारीमा भएको तथ्यांक छ । मुसहरहरूको बसोबास नेपालको ३२ जिल्लामा रहेको दाबी गरिए पनि नेपाल सरकारको तथ्यांकले भने २२ जिल्लामा मात्र मुसहर जातीको बसोबास गरेको पुष्टि गरेको छ । जनसंख्याको ९५ प्रतिशत मुसहरहरू सुकुमबासी र अतिविपन्न छन् । तीमध्ये ३ प्रतिशतमात्र साक्षर छन् । तीमध्ये महिलाको साक्षरता दर भने एक प्रतिशतभन्दा कम छ । अहिलेसम्म सरकारी सेवाको स्थायी अधिकृतमा एक जनाले मात्र प्रवेश पाएका छन्  । मुसहर समुदायबाट दुई जना एमबीबीएस डाक्टर छन् भने चार जना स्टाफ नर्स छन् । स्नातकोत्तर उत्तीर्ण गर्नेको संख्या पनि चार जनामात्र छ । यही चेतनास्तर र आर्थिक धरातलबाट देश परिवर्तनको चेतसहित राजनीतिमा उदाएका आशलाग्दा युवा नेता हुन् श्रवण ऋषिदेव ।

तात्कालीन नेकपा माओवादीको राज्य समिति सदस्यको जिम्मेवारी निर्वाह गरिसकेका उनी पार्टी एकतापछि भर्खरै मोरङ जिल्ला कमिटीको सदस्य भएका छन् । जस्तोसुकै परिस्थितिमा पनि आफू पार्टीप्रति प्रतिवद्ध रहिरहने योद्धा श्रवणलाई आवाजविहीन भूइँ मान्छेहरूकालागि पक्कै समाजबाद आउनेछ भन्ने विश्वास छ । भन्छन्, ‘म जनयुद्धमा गोली खाएर पनि बाँचेकोले होला अझै समाजवादको आश मरेको छैन ।’

– नमेटिने घाउहरू पुस्तकबाट साभार

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्राधिकरणबाट हटाइएपछि राजनीतिमा आउने कुलमानको संकेत

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङले आफू अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन् । सरकारले प्राधिकरणबाट घिसिङलाई हटाएपछि उन...

माओवादीलाई सत्तामा जान हतार छैनः अध्यक्ष प्रचण्ड

जनताको भावना बुझ्न जागरण अभियान सुरु भएको हो’

घरबाटै पक्राउ परे रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन्। उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संय...

चितवनको माडीमा बस दुर्घटना हुँदा १२ यात्रु घाइते

चितवन । जिल्लाको माडीमा बस दुर्घटना हुँदा बाह्र जना घाइते भएका छन् ।  भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना६ख ९३६६ नम्बरको बस आज दिउँसो माडी नगरपालिका–१ व...

‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’ रसुवामा,२ दर्जन बढी सिनेमा देखाइने

काठमाडौं । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को चौथो संस्करण रसुवा जिल्लाको गोसाईकुण्ड गाउँ पालिकामा हुने भएको छ। आयोजक सेलिब्रेटी नेपालले बिहि...

रविलाई पक्राउ गर्न पुग्यो प्रहरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी घरमै पुगेको छ । संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्...

विभागको अनुगमन तीब्र, ७ फर्मलाइ कागजातसहित उपस्थित हुन निर्देशन 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मङ्गलवार विभिन्न उद्योग तथा फर्महरूको अनुगमन...

प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने प्रहरी समक्ष आफैँ गिरफ्तारी दिने भएका छन्। उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय ...

खुशीबुमा खुल्यो जिन्जर लिली

काठमाडौं । राजधानीको नयाँबजारस्थित खुशीबुमा जिन्जर लिली नामक फ्लावर सप संचालनमा आएको छ ।  नेपालमा उत्पादित कट फ्लावरलाइ प्राथमिकता दिने लक्षका साथ ...

जाजरकोटकेन्द्र बिन्दु भएर तीन मिनेटमै गए दुई भूकम्प

काठमाडौं । जाजरकोट केन्द्र बिन्दु भएर शुक्रबार राति तीनमिनेटकै अन्तरमा दुई भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy