सुनसरी । सुनसरीको देवानगन्जमा सोमबार साँझ गोली चलेको छ । गोली लागेर १ जना गम्भीर घाइते भएका छन् ।
देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता घाइते भएको प्रहरीले जनाएको छ । पिन्टु मेहताले चलाएको मोटरसाइकको पछाडि सवार रहेका शिवकुमारलाई देवानगन्ज–७ का कामेश्वर यादवले गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
शिवकुमारमाथि के कारणले गोली प्रहार गरिएको हो भनेर यकिन भइसकेको छैन । गोली प्रहारपछि फरार रहेका कामेश्वरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उनले कुन हतियारबाट गोली प्रहार गरेका हुन् भनेर यकिन भइसकेको छैन । पिन्टुले चलाएको मोटरसाइकलको पछाडि सवार रहेका शिवकुमारमाथि देवानगन्ज बजार पुग्नसाथ साँझ ६ः३० बजेतिर गोली प्रहार भएको प्रहरीको भनाइ छ ।
शिवकुमारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको ढाडदेखि तल दायाँतर्फ र बायाँ कम्मरको भागमा गोली लागेको छ । गम्भीर अवस्थाका उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले घटनाको पुष्टि गर्दै घटनाका विषयमा थप बुझ्ने काम भइरहेको जानकारी दिए ।
प्रतिकृया लेख्नुहोस्: