Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

दुर्गा थापा
दुर्गा थापा

प्रजातन्त्र : अमर रहोस्!

यो जित कसको : जनताको!

इन्कलाब : जिन्दाबाद!

त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर कुन बेला मैले नारा लगाएँ, कुन बेला विजयको हर्षमा दुवै हात माथि उठाएँ, याद रहेन। त्यस दिन मेरो आवाज र भावभंगीमा मिसिएका थिए– २२ वर्षे जोसिलो उमेरको ऊर्जा, अन्यायविरुद्धको आगो र विजय प्राप्तिको उत्साह। त्यो मेरो मात्र अभिव्यक्ति थिएन, समग्र नेपाली जनताको भावनाको प्रतिविम्ब थियो।

संयुक्त वाममोर्चा र नेपाली कांग्रेसको नेतृत्वमा भएको जनआन्दोलनको विजयोत्सव मनाउन २७ चैतमा खुलामञ्चमा भएको भेला थियो त्यो; लामो संघर्ष र बलिदानपछि निरंकुश पञ्चायती व्यवस्थालाई घुँडा टेकाउन सफल भएको हर्षोल्लासको प्रस्फुटन थियो त्यो।

नेपाली जनताको ऐतिहासिक खुसियालीको माहोल कैद गर्न फोटोग्राफर खटिनु स्वाभाविक थियो। कुनै फोटोग्राफरको आँखामा म परुँली वा उनीहरूको क्यामेरामा म पनि कैद हुँली भन्ने सोचेकी थिइनँ। त्यस उत्सवको माहोलमा म पनि क्यामेरामा कैद भएछु। जुन तस्बिर पछिल्ला वर्षमा मिडियामा अझ बढी छायो, त्यसलाई मैले नै खिचिएको तीन वर्षपछि देखेकी हुँ।

२०५० सालतिर होला, राष्ट्रिय सभागृहमा फोटो प्रदर्शनी भएको थियो। त्यहाँको भित्तामा आफ्नै तस्बिर टाँगिएको देख्दा मलाई अप्ठेरो महसुस भएको थियो, लाज नै लाग्यो। मेरो तस्बिर त्यहाँ किन र कसरी पुग्यो भन्ने भयो। त्यहाँ कसैले भन्यो, ‘फोटोमा देखिएकी केटीलाई यहीँ देखेँ।’

त्यसपछि फोटोग्राफर मीनरत्न बज्राचार्य मलाई खोज्दै आउनुभयो। टुँडिखेल आमसभाको मेरो तस्बिर उहाँले नै खिच्नुभएको रहेछ। प्रदर्शनीमै राखिएपछि तस्बिरको चर्चा बिस्तारै बढ्न थाल्यो।

जनआन्दोलनकै प्रतीक बनेको त्यस तस्बिरमा आमजनताको शक्ति देखिएको छ। मेरो तस्बिरमा सायद परिवर्तित नेपाली समाजकी एक निर्धक्क र स्वतन्त्र महिलाको छवि पनि भेटियो। त्यसले पनि धेरैलाई आकर्षित गर्‍यो होला। त्यस तस्बिरले मलाई चिनाएजस्तै फोटोग्राफर (फोटो पत्रकार) मीनरत्न बज्राचार्यलाई समेत स्थापित गरिदियो।

त्यस तस्बिरले बहुदल आउँदा जनतामा देखिएको खुसीलाई व्यक्त गरेको छ। मेरा वरपरका मानिसका अनुहारमा छाएको खुसी नियाल्ने हो भने त्यो हर्ष र उल्लास जोकोहीलाई महसुस हुन्छ। त्यतिबेला म जति खुसी थिएँ, त्यसले समग्र जनताको उमंग र ऐक्यबद्धताको अभिव्यक्तिलाई समेत समेटेको रहेछ।

२०४६ सालको जनआन्दोलनको सफलता, त्यस आमसभामा छाएको खुसी र त्यसबेलाका राजनीतिक परिवर्तनको महत्त्व बुझ्न पञ्चायती व्यवस्थाको दमनलाई बुझ्नुपर्छ। त्यसविरुद्ध भएका निरन्तर संघर्षलाई महसुस गर्नुपर्छ।

२६ चैतको त्यो दिन ल्याउन हामीले धेरै संघर्ष गरेका थियौँ, धेरै दुःख भोग्यौँ। त्यतिबेला पद्मकन्या कलेजकी विद्यार्थी म नेपाल विद्यार्थी संघमा जोडिएकी थिएँ। २०४५ सालदेखि नै आन्दोलनमा सहभागी हुँदै आएकी थिएँ। ५ फागुन २०४६ मा नेपाली कांग्रेसका नेता गणेशमान सिंहको घरमा भेला हुने कुरा आयो। त्यहाँ फोहोर थियो, हामी विद्यार्थीले सफा गर्‍यौँ।

त्यही दिनबाट आन्दोलनको घोषणा भयो। त्यसपछि राति राति ब्ल्याकआउट गर्दै, पर्चा बाँड्दै नारा-जुलुसमा सहभागी हुन थालेँ। प्रहरी दमन, गिरफ्तारी र त्यसको प्रतिकारको सिलसिला लामै चल्यो। बिस्तारै आन्दोलन देशभरि फैलियो। मान्छेहरूको सहभागिता पनि बढ्न थाल्यो।

२४ चैतको दिन ठूलो संख्यामा जनता सडकमा उत्रिए। दरबारमार्गमा राजा महेन्द्रको सालिकमा पार्टीका झन्डा गाड्ने योजना थियो। घन्टाघरबाट त्यो सालिक नजिक पुग्दानपुग्दै अचानक गोली चल्यो। कति लडे, कति मरे– थाहा छैन। आफू संयोगले मात्र बाँचियो।

त्यसपछि घाइतेलाई वीर अस्पताल लग्यौँ। भाग्दैभाग्दै कमलादीको एउटा नचिनेको घरमा लुकेर बस्यौँ। भर्‍याङमुनि लुकेरै दिनरात काट्यौँ। २५ चैतमा कर्फ्यु लाग्यो। २५ गते पनि लुकेरै हिँड्यौँ, २६ गते बेलुका गल्लीगल्ली हुँदै भेष बदल्दै बानेश्वरको घर पुगेँ।

मध्यरातमा राजासँग वार्ता हुने खबर आयो। राजा वीरेन्द्रले गिरिजाप्रसाद कोइराला, सहाना प्रधान, मनमोहन अधिकारी जस्ता नेतालाई बोलाएर निर्णायक वार्ता गरे। त्यसपछि देशवासीका नाममा घोषणा गर्दै पञ्चायती व्यवस्थाले घुँडा टेक्यो र प्रजातन्त्रको घोषणा भयो। राति नै जनताले सडकमा विजय जुलुस निकाले।

२७ चैतको दिन म बानेश्वरबाट निस्केको र्‍यालीमा सहभागी भई खुलामञ्च पुगेँ। जता हेरे पनि मान्छे नै मान्छे। बिरामी भएका गणेशमान सिंहलाई वीर अस्पतालमा राखिएको थियो। त्यहाँबाट उहाँलाई खुलामञ्च ल्याउने खबरले जनता उत्साहित थिए।

गिरिजाप्रसाद कोइरालाले आफ्नो भाषणमा ‘यो जित माले, मसाल, मण्डले सबैको हो’ भन्नुभयो। त्यसपछि ढुंगामुढा भयो। त्यतिबेला मलाई पनि रिस उठेको थियो। यत्रो दुःख गर्ने हामी, जित चाहिँ सबैको? तर अहिले सोच्दा लाग्छ, जित साँच्चै सबैको रहेछ।

जनआन्दोलन सफल भएको खुसियाली समेटिएको मेरो तस्बिरको चर्चा र प्रयोग बारम्बार हुने गरेको छ। मिडिया, किताब, म्युजिक भिडियोदेखि फिल्ममा त्यस तस्बिरले स्थान पाएको छ। विदेशीले समेत त्यसलाई धेरै ठाउँ प्रयोग गरेका छन्।

त्यसपछि धेरैले मलाई भन्न थाले, ‘२०४६ सालको आइकोनिक तस्बिरकी दुर्गा थापा।’ यो उपमा पाउँदा सुरुमा लाज लागेको थियो, बिस्तारै खुसी हुन थालेँ। अचेल यो तस्बिर हेरेर खुसीभन्दा बढी दुःख लाग्छ। यो तस्बिर मेरा लागि गौरव मात्र होइन, पीडा पनि हो।

तस्बिरमा अरूले मलाई देख्छन्। म भने यसमा २४ चैतमा राज्यका तर्फबाट चलेको गोलीको आवाज सुन्छु। जति चोटि तस्बिर हेर्छु, लडेका घाइते मान्छे र घण्टाघरको सडकभरि जुत्ता छरपस्ट भएको दृश्य सम्झन्छु। तस्बिर हेर्दै गर्दा देशको वर्तमान अवस्था सम्झेर पनि दुःख लाग्छ।  नेपालन्युजबाट साभार

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नसरीमा कर्फ्यु हट्यो, संवेदनशील क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन रोक

इनरुवा । सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ८:३० बजेदेखि कर्फ्...

धनुषा–सिरहामा कर्फ्यु जारी, बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक सामग्री किन्न छुट

जनकपुरधाम । धनुषा र सिरहाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् राखिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्...

११ महिनादेखि अमेरिका, प्रदेशसभा अनुपस्थित; तलब–सुविधा भने नियमित बुझ्दै प्रकाश देउवा

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...

देशभर ८५ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि

काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...

तराईमा सामाजिक सद्भाव बिथोल्ने आरोपमा ३९ जना पक्राउ, धनुषामा सबैभन्दा बढी

काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका ...

मृतक गणेश यादवका परिवारसँग सरकारको ८ बुँदे सहमति, सहिद घोषणा प्रक्रिया अघि बढाइने

 सिराहा । सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबी...

पहिरो–बाढीले देशभर सडक सञ्जाल प्रभावित, बीपी र कान्तिलोकपथमा राति सवारी सञ्चालन रोक

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल...

तराई–मधेश हिंसाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी, सिरहालगायत तराई–मधेशका विभिन्न जिल्लामा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय...

हिंसा भड्काउने शंकामा करिब एक हजार सदस्य रहेको ह्वाट्सएप समूह अनुसन्धानको घेरामा

काठमाडौं ।  सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जबाट गत आइतबार सुरु भएको दुई समुदायबीचको हिंसात्मक झडपको प्रभाव मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र पर्सास...

चार प्रदेशका पहाडमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्ने

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शनिबार) पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending