Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

ओली मन्त्रिपरिषद्को अन्तिम बैठकको तस्बिर : १९ युवाको सहादत हुँदासमेत उस्तै थियो ओलीको हठ

खबरडबली संवाददाता

काठमाडौं । जेन–जी आन्दोलनको पहिलो दिन (२३ भदौ)मै सरकारको बर्बर दमनमा १९ युवा मारिएपछि पनि प्रधानमन्त्री केपी ओलीले देखाएको हठका कारण ठुलो जनधनको क्षति भएको उनकै सरकारका मन्त्रीहरूले बताएका छन् । १९ निहत्था युवा मारिएपछि बसेको मन्त्रिपरिषद् बैठकमा केही मन्त्रीले घटनाप्रति माफी माग्नुपर्ने, तत्काल सामाजिक सञ्जाल खुलाउनुपर्नेजस्ता प्रस्ताव गरेका थिए । 

तर, मन्त्रीहरूका अनुसार ओलीले ‘सिनामंगलबाट आएका प्रदर्शनकारीसँग बन्दुक रहेको र प्रहरीले नभई उनीहरूले नै गोली हानेको’ ब्रिफिङ गर्दै ती प्रस्तावलाई ठाडै इन्कार गरेका कारण २४ भदौको आन्दोलनले ठुलो क्षतिसहित भयावह अवस्था निम्त्याएको हो । 

ओलीले दिनभरको अवस्थाबारे सुरक्षा निकायसँग ब्रिफिङ लिएपछि साँझ ७ बजे मन्त्रिपरिषद् बैठक सुरु भएको थियो । बैठकमा गृहमन्त्री रमेश लेखक थिएनन् । उनी राजीनामा दिने मनस्थितिसहित कांग्रेस सभापति शेरबहादुर देउवानिवास पार्टी पदाधिकारी बैठकमा छलफलमा थिए । गृहमन्त्रीविना नै चलेको मन्त्रिपरिषद् बैठकमा सुरुमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आफ्नो विश्लेषण राखेका थिए । 

पौडेलका अनुसार उनले ‘आन्दोलनको तयारीका सन्दर्भमा सूचना नै नभएको, एभरेस्ट होटेलबाट बानेश्वर चोकतिर अगाडि बढ्दा दुई–तीनवटा ब्यारिकेड हुने गरेकामा एउटा मात्रै राखिएको, त्यही ब्यारिकेड पन्छाएर जाँदा पनि कुनै रोकतोक नभएको, प्रदर्शनकारीको छाती र टाउकोमै गोली हानेको’ प्रसंग उठाएका थिए । तर, प्रधानमन्त्रीले उल्टै प्रदर्शनकारीसँग नै बन्दुक रहेको र उनीहरूले नै गोली हानेको ब्रिफिङ गरेको पौडेलले बताए ।

‘सिनामंगलबाट आएका प्रदर्शकारीसँग बन्दुक थियो, प्रहरीले नभई उनीहरूले गोली हानेका थिए । एम्बुलेन्सभित्र पनि गोली हानेका छन्,’ बैठकमा ओलीको ब्रिफिङ उद्धृत गर्दै मन्त्री पौडेलले भने । त्यति धेरै युवा मारिँदा पनि प्रधानमन्त्रीमा संवेदनशीलता नदेखिएको महसुस आफूले गरेको पौडेलले बताए ।

युवा मारिएकाप्रति सरकारले माफी माग्नुपर्ने, मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने, घाइतेको नि:शुल्क उपचार गर्नुपर्ने र सामाजिक सञ्जाल तत्काल खोल्नुपर्ने प्रस्ताव पनि बैठकमा थियो । तर, प्रधानमन्त्रीले घटनाको छानबिन गर्नुपर्ने भन्ने प्रस्ताव मात्रै स्वीकार गरेर अरू सबैलाई इन्कार गरेका थिए ।

‘घटनाप्रति माफी माग्नुपर्छ, छानबिन समिति बनाउनुपर्छ, परिवारलाई १० लाख क्षतिपूर्ति र घाइतेको नि:शुल्क उपचार गर्नुपर्छ, सामाजिक सञ्जाल तत्काल खोजिनुपर्छ भनेर मैले पटक–पटक भनेँ, तर प्रधानमन्त्रीसँग कुरा मिलेन,’ मन्त्री पौडेलले भने । उनले प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै भने, ‘एउटा कर्पोरेट कम्पनी दर्ता नगरी कसरी चल्छ ? तेरो देशमा भ्रष्टाचार छ, पारदर्शिता छैन भनेर दर्ता गर्दिनँ भन्न मिल्छ ? कर्पाेरेट कम्पनीले हामीलाई यस्तो लेख्ने ? हामीले हात जोडेर जसरी पनि चलाइदेऊ भनेर किन भन्ने ? यसले हाम्रो स्वाभिमान बचाउँछ ? नियम–कानुनभित्र नआउने भए किन चलाउने ?’

कतिपय विषय नागरिकलाई थाहा नभएको र पछि बुझाउँदै विचार गर्ने र तत्काललाई खुलाउने प्रस्ताव पौडेलको थियो । तर, प्रधानमन्त्रीले मुख्यसचिव एकनारायण अर्याललाई ट्विटरले पठाएको पत्र पढ्न लगाउँदै सामाजिक सञ्जाल नखुलाउने अडान लिएका थिए । पौडेलका अनुसार प्रधानमन्त्रीले जेन–जी आन्दोलनमा घुसपैठ र प्रोभोक भएको भन्दै आन्दोलन दिउँसै फिर्ता भइसकेको समेत बताएका थिए ।

सरकारले सामाजिक सञ्जाल बन्द गरे पनि भिपिएन प्रयोगबाट युवाहरूले चलाइरहेको, सामाजिक सञ्जालबाटै मुभमेन्ट उठाएको भनेर आफूले प्रधानमन्त्रीलाई सम्झाउँदा पनि केही सिप नलागेको मन्त्री पौडेलले बताए । ‘सामाजिक सञ्जाल बन्द भनेर बन्द हुँदैन । भिपिएन प्रयोग गरेर चलाइरहेकै छन् । आन्दोलनकारीले पनि भिपिएनबाटै मुभमेन्ट उठाएका हुन् । बन्दै नहुने कुरालाई हामीले जबर्जस्ती बन्द भनेर म्यासेज किन दिइरहेका छौँ ?’ उनले मन्त्रिपरिषद्मा राखेको प्रस्तावबारे भने, ‘सामाजिक सञ्जालमा जुनसुकै उमेर समूह पनि अभ्यस्त भइसकेका छन् । सबै नागरिक दिनको चार–पाँच घण्टा सामाजिक सञ्जालमा बिताउँछन् । नागरिकको दैनिकी अंग बनेको विषयलाई बन्द गर्नु उपयुक्त हुँदैन । आजकै क्याबिनेटबाट खोल्नुपर्छ ।’

स्वास्थ्यमन्त्री पौडेलका प्रस्तावलाई इन्कार गर्दै मन्त्रिपरिषद्ले १८ जरुरी प्रस्तावमा छलफल गरेर पारित गरेको थियो । जेन–जी आन्दोलनमा भएको घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय पनि गरेको थियो । तर, कसको नेतृत्वमा भन्ने कुनै टुंगो लगाइएन ।

त्यत्तिकैमा गृहमन्त्री लेखक बैठकमा प्रवेश गरेका थिए । उनले अकल्पनीय क्षति भएको भन्दै खल्तीबाट राजीनामापत्र निकालेर प्रधानमन्त्रीलाई बुझाए । ‘गृहमन्त्रीले घटनाको विवरण सुनाउने अपेक्षा थियो । एकैपटक राजीनामा दिनुभयो । तर, उहाँले सामाजिक सञ्जाल खोलिनुपर्छ, सम्माननीय प्रधानमन्त्रीजीलाई अनुरोध गर्न चाहन्छु । क्याबिनेटका साथीलाई अनुरोध गर्न चाहन्छु भन्नुभएको थियो,’ पौडेलले घटनाक्रम सुनाए ।

गृहमन्त्रीको राजीनामालाई शिक्षामन्त्री रघुजी पन्तले रोक्न खोजेका थिए । उनले निर्णयमा पुनर्विचार गर्न भनेका थिए । ‘प्रधानमन्त्री संकटमा हुनुहुन्छ, संकटमोचन गर्न राजीनामाको निर्णयमा पुनर्विचार गरी सहयोग गर्नुस्,’ पन्तको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने । तर, लेखक रोकिएनन् ।

लेखकले राजीनामा बुझाएपछि पौडेलले पनि ‘सामाजिक सञ्जाल नखोल्ने हो भने म पनि छाड्छु’ भन्दै चेतावनी दिएका थिए । तर, प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवा आइसकेको भन्दै भेटेर छलफलका आधारमा निर्णय लिने जवाफ दिएर बैठक टुंग्याएका थिए ।

ओली सरकारका खेलकुदमन्त्री तेजुलाल चौधरीका अनुसार मन्त्रिपरिषद् बैठक चलिरहेकै अवस्थामा देउवाले समेत ओलीलाई फोन गरेर ‘सामाजिक सञ्जाल खोल्न’ भनेका थिए । तर, देउवाको प्रस्तावलाई पनि ओलीले इन्कार गरेका थिए । ‘बुढानीलकण्ठ निवासमा पार्टीका महामन्त्रीसहित पदाधिकारीले सामाजिक सञ्जाल बन्द गर्दा निर्दोष बच्चाहरू मर्ने अवस्था आएको भनेर कन्भिन्स गरेपछि सभापति देउवाले मन्त्रिपरिषद् बैठक चलिरहँदा प्रधानमन्त्रीलाई फोन गर्नुभएको थियो । 

सामाजिक सञ्जाल खोल्न भन्नुभएको थियो,’ ओली–देउवा फोन संवादबारे चौधरीले भने, ‘तर, प्रधानमन्त्रीले यत्तिकै हुँदैन, छलफल गर्नुपर्छ भनेपछि सभापतिजीले रिसाएर फोनमै कडा बोलेको प्रधानमन्त्रीको हाउभाउबाटै पनि बुझ्न सकिन्थ्यो । अन्तिममा ओलीजीले तपाईं यहीँ आउनुस् भन्नुभयो ।’ त्यसको केहीबेरमै ओली र देउवाबिच भेट भएको थियो । देउवालाई भेटेको पाँच–सात मिनेटमै सामाजिक सञ्जाल खोल्ने निर्णय भएको मन्त्री पौडेलले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending