सिराहा । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्रीय कार्यसमितिले सर्वसम्मत रूपमा सिफारिस गरेका उम्मेदवारहरूको नामावलीमा जिल्ला समितिले प्रतिशोधपूर्ण ढंगले फेरबदल गरेको भन्दै किचलो सुरु भएको छ ।
नेपाली कांग्रेस सिराहाको जिल्ला कार्यसमितिका सचिव शैलेन्द्र यादवसहितको उपस्थितिमा आइतबार दिउँसो लहानमा आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीय कार्यसमितिबाट सिफारिस भई आएका उम्मेदवारको नाम जिल्लाले अनुमोदन गरी प्रदेश र केन्द्रीय कार्यसमितिलाई पठाएको भनिएको सूची सार्वजनिक गरिएको छ। जिल्लाले प्रदेश र केन्द्रलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चारवटा निर्वाचन क्षेत्रका लागि आठजना, समानुपातिकतर्फ १५ तथा राष्ट्रिय सभाका लागि चार गरी २७ जनाको नाम सिफारिश गरिएको जिल्ला सचिव यादवले जानकारी दिए।
को को परे सिफारिसमा ?
जिल्ला सचिव यादवका अनुसार २५ मंसिरमा बसेको जिल्ला समितिको बैठकको निर्णयबमोजिम सिराहा क्षेत्र नं. १ का लागि प्रत्यक्षतर्फ पदमनारायण चौधरी र संजयकुमार यादव, २ का लागि एक्ला उम्मेदवार रामचन्द्र यादव, ३ बाट रामबाबु यादव र मधुसुदन यादव तथा ४ नं. बाट मञ्जु खाँड, डा. गणेश मण्डल तथा मो. मुख्तार अहमदको नाम सिफारिस गरिएको छ।
त्यस्तै, समानुपातिकतर्फ क्षेत्र नं. १ बाट उषाकुमारी राउत, प्रमेश्वर साह, शर्मिला पोखरेल, २ नं. बाट चित्रलेखा यादव, ३ नं. बाट उपेन्द्रकुमार यादव, कौशल मण्डल, अरुण सदाय, कुसुमकुमारी यादव, दिनेशकुमार साहको नाम रिफारिश गरिएको छ। त्यस्तै, ४ नं. क्षेत्रबाट अरुणकुमार सिंह, रमेश न्यौपाने, रामएकवाल यादव, रामकृष्ण पोखरेल, नागेश्वर भुडेर, अरहुलिया मुखिया तथा राष्ट्रिय सभाका लागि सूर्यनारायण यादव, वसन्ती सदाय, अमियकुमार यादव, मो. इझारुल हकको नाम सिफारिस गरिएको छ।
जिल्ला कार्यसमितिमा ३ नं. क्षेत्रबाट नाम नै नआएको र उपसभापतिको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेर पठाएको सूची अनुमोदन गरिएको उनको दाबी छ। तर, ३ नं. क्षेत्रीय सभापति यादवले आफूलाई बैठकको विषयमा कुनै जानकारी नै नगराएको दाबी गरे।
क्षेत्रको सिफारिसमा प्रतिशोध भएको गुनासो
केन्द्रीय कार्यसमितिको परिपत्रअनुसार प्रत्यक्षतर्फ एक महिला अनिवार्यसहित तीनजना र समानुपातिकतर्फ एक महिलासहित दुईजनाको नाम सिफारिस गर्नुपर्ने जनाइएको छ। जिल्ला कार्यसमितिले क्षेत्रीय समितिले पठाएका नामावली अनुमोदन गरी प्रदेश र केन्द्रमा पठाएको भनिए पनि प्रतिशोधको कारणले क्षेत्रको सिफारिसलाई लत्याइएको असन्तुष्टहरूले गुनासो गरेका छन्।
३ नं. क्षेत्रीय सभापति संजयप्रकाश यादवले केन्द्रीय परिपत्रअनुसार १९ मंसिरको क्षेत्रीय कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ सीतादेवी यादव र समानुपातिकतर्फ अमर रेग्मी, जीवछ गुप्ता र जगतारैन कामतीको नाम टुंग्याएर २४ मंसिरमा जिल्ला, प्रदेश र केन्द्रलाई सिफाशि गरिएको बताए। ‘क्षेत्रीय कार्यसमितिले गरेको सिफारिश लत्याएर जिल्लाले उपसभापतिको अध्यक्षतमा अर्को बैठक गराई नामावली लिएको छ,’ उनले भने।
त्यस्तै, १ नं. क्षेत्रीय कार्यसमितिले २० मंसिरमा गरेको बैठकबाट प्रत्यक्षतर्फ रामसुन्दर चौधरी र पदमनारायण चौधरी तथा समानुपातिकतर्फ उषाकुमारी राउत, सूर्यनारायण यादव, प्रमेश्वर साह, श्रीचन पासमान र शर्मिला पोखरेलको नाम सर्वसम्मत सिफारिश गरेको बैठकको माइन्युटमा उल्लेख छ। जिल्लाले भने प्रत्यक्षतर्फ १ नं. मा सिफारिश भएका रामसुन्दरको नाम कटाएर लहान नगरसभापति संजयकुमार यादवको नाम सिफारिश गरेको असन्तुष्टहरुको आरोप छ।
२०७८ फागुनमा सम्पन्न सिरहा कांग्रेसमा १४औं जिल्ला अधिवेशनमा संस्थापन पक्षले धाँधली गरेर नेतृत्व हत्याएको भन्दै सामानान्तर समिति नै घोषणा गरिएको थियो। त्यतिबेला सामानान्तर समितिमा रहेकाहरुमध्ये क्षेत्रीय कार्यसमितिले सिफारिश गरेको भए पनि प्रतिशोधपूर्ण ढंगले जिल्लाले नाम काटेको आरोप छ।
प्रतिकृया लेख्नुहोस्: