Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

नाङ्गा डाँडाबाट हरियो वनसम्म : अब सामुदायिक वनलाई समृद्धिको पुँजी बनाउने बेला

खबरडबली संवाददाता

काठमाडौं । कुनै समय नेपालका धेरै पहाडी बस्तीका डाँडाकाँडा उजाड थिए । वन फँडानी बढ्दै जाँदा बस्तीमाथिका पाखा नाङ्गिँदै गए । वर्षायाम सुरु हुनासाथ पहिरो खस्ने, खोलानाला धमिलो हुने र बस्ती जोखिममा पर्ने क्रम बढ्दै गयो ।

त्यही संकटबाट जन्मिएको थियो सामुदायिक वन संरक्षणको अभियान । सिन्धुपाल्चोकको ठोकर्पा गाउँ यसको एउटा महत्वपूर्ण उदाहरण हो । बस्तीमाथिको उजाड डाँडाबाट बर्सेनि पहिरो खस्न थालेपछि स्थानीय बासिन्दाले २०३० सालतिर डाँडामा वृक्षरोपण अभियान सुरु गरे । स्थानीय तहबाट सुरु भएको त्यो प्रयासलाई तत्कालीन सरकारले समेत स्वीकृति दिएपछि नेपालमा सामुदायिक वन संरक्षणको अभियानले संस्थागत बाटो समात्यो ।

आज त्यही अभियानले आधा शताब्दीभन्दा लामो यात्रा पूरा गरिसकेको छ । हिजो पहिरो रोक्न र उजाड डाँडालाई हरियाली बनाउन सुरु गरिएको अभियान अहिले नेपालको पहिचान बनेको छ । ‘हरियो वन, नेपालको धन’ भन्ने पुरानो भनाइलाई सामुदायिक वन अभियानले व्यवहारमै प्रमाणित गरिदिएको छ ।

नेपालको सामुदायिक वन व्यवस्थापनको अभ्यास हेर्न हरेक वर्ष विदेशी अनुसन्धानकर्ता नेपाल आउने गरेका छन् । यस विषयमा अध्ययन र अनुसन्धान गर्ने विदेशीको संख्या पनि उल्लेख्य छ । सीमित स्रोत र कठिन भौगोलिक अवस्थाबीच स्थानीय समुदायले वन जोगाउन सक्ने नेपालको अभ्यास विश्वका लागि अध्ययनको विषय बनेको छ ।

तर अब प्रश्न फेरिएको छ । के सामुदायिक वनको काम केवल वन जोगाउनु मात्रै हो ?  विज्ञहरू भन्छन्—अब उत्तर ‘होइन’ हुनुपर्छ ।  वन जोगाउने अभियानले एउटा महत्वपूर्ण चरण पार गरिसकेको छ । अब वनलाई विनाश नगरी त्यसबाट रोजगारी, आम्दानी, उद्यम र आर्थिक समृद्धि सिर्जना गर्ने दिशामा अघि बढ्नुपर्ने समय आएको छ ।

संरक्षणबाट उपयोगतर्फको बहस

नेपालको कुल क्षेत्रफलको करिब ४६ प्रतिशत भूभाग वनजङ्गलले ढाकेको पछिल्लो तथ्याङ्क छ । करिब दुई हजार तीन सय सामुदायिक वनमार्फत वन व्यवस्थापनको काम भइरहेको छ ।

यसले नेपालसँग वनको ठूलो सम्पत्ति  रहेकााे देखाउँछ ।  तर ठूलो प्रश्न यसको उपयोगमा छ ।   वन छ, तर त्यसबाट स्थानीय समुदायले कति आम्दानी गरिरहेका छन् ?

वनमा काठ छ, गैरकाष्ठ वन पैदावार छन्, जडीबुटी छन्, फलफूल र विभिन्न प्रजातिका वनस्पति छन् । वनमा आधारित पर्यटनको सम्भावना छ । कार्बन सञ्चिति र कार्बन व्यापारको सम्भावना छ । वनमा आधारित साना तथा मझौला उद्योग सञ्चालन गर्न सकिने सम्भावना उत्तिकै ठूलो छ ।

तर यी सम्भावनालाई व्यवस्थित रूपमा आर्थिक गतिविधिमा बदल्न नसक्दा सामुदायिक वनको ठूलो हिस्सा अझै संरक्षणमै सीमित छ ।

संरक्षण आफैंमा आवश्यक छ । तर संरक्षणबाट समुदायको जीवनस्तर उकास्न सकिएन भने सामुदायिक वनको दीर्घकालीन उद्देश्य अधुरो रहन सक्छ ।

त्यसैले अब बहस वन काट्ने कि नकाट्ने भन्नेमा मात्र सीमित हुन नहुने विज्ञहरूको धारणा छ । बरु वन नष्ट नगरी त्यसबाट कसरी आर्थिक मूल्य सिर्जना गर्ने ? भन्ने प्रश्नमा नीति केन्द्रित हुनुपर्ने देखिन्छ ।

वनलाई ‘सम्पत्ति’ होइन, ‘स्थायी पुँजी’ मान्ने प्रस्ताव

राष्ट्रिय सामुदायिक वन दिवसका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा सहभागी वनविज्ञहरूले सामुदायिक वनलाई केवल सम्पत्तिका रूपमा हेर्न नहुने धारणा राखे ।

उनीहरूले वनलाई मुलुकको स्थायी पुँजीका रूपमा गणना गरेर आर्थिक विकासमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।  यो धारणा सामान्य लागे पनि यसको अर्थ गहिरो छ ।

घरजग्गा, उद्योग, बैंकमा रहेको रकम वा अन्य भौतिक सम्पत्तिलाई आर्थिक पुँजीका रूपमा हेर्ने राज्यले वनलाई पनि दीर्घकालीन उत्पादनशील पुँजीका रूपमा बुझ्नुपर्छ भन्ने यसको मूल आशय हो ।

वनले काठ मात्र उत्पादन गर्दैन । यसले पानीका मुहान जोगाउँछ, माटो संरक्षण गर्छ, जैविक विविधता जोगाउँछ, वातावरणीय सन्तुलन कायम राख्छ र कार्बन सञ्चिति गर्छ ।

त्यससँगै वनले स्थानीय समुदायलाई रोजगारी र आयआर्जनको अवसर दिन सक्छ ।

वनविज्ञ प्राडा राजेशकुमार राईले वनजङ्गललाई अन्य मुलुकले जस्तै पुँजीमा रूपान्तरण गर्दै हरित रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् ।

उनका अनुसार वनक्षेत्रलाई उत्पादन र रोजगारीसँग जोड्न सके मुलुकको कुल गार्हस्थ उत्पादनमा समेत यसको योगदान बढाउन सकिन्छ ।

अर्थात् अब नेपालको वन नीति ‘वन बचाऊ’ भन्ने नाराबाट अगाडि बढेर ‘वन बचाऊ, वनबाट रोजगारी सिर्जना गर र वनबाटै समृद्धि ल्याऊ’ भन्ने दिशामा पुग्नुपर्ने आवश्यकता छ ।

गरिबका लागि वन कति उपयोगी ?

सामुदायिक वनको सबैभन्दा ठूलो शक्ति यसको स्थानीय स्वामित्व र सहभागिता हो । वनको संरक्षण गर्ने समुदाय नै त्यसको लाभग्राही बन्न सक्छन् । यही कारण सामुदायिक वनलाई गरिबी न्यूनीकरणको माध्यम बनाउन सकिने सम्भावना पनि उत्तिकै ठूलो छ ।

कृषि, पशुपालन, जडीबुटी, बाँस तथा निगालो, वनमा आधारित हस्तकला, फलफूल, मौरीपालन, पर्यटनलगायतका क्षेत्रमा सामुदायिक वनलाई जोड्न सकिन्छ ।

यदि वनमा आधारित उद्यम सञ्चालन गर्न स्थानीय युवालाई सीप र पुँजी उपलब्ध गराउने हो भने रोजगारीका लागि गाउँ छाडेर सहर र विदेश जाने बाध्यता केही हदसम्म घटाउन सकिन्छ ।

यही सम्भावनालाई ध्यानमा राखेर कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सामुदायिक वनमा आधारित उद्यमशीलता विकास गरी गरिब वर्गको उत्थानका लागि विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको बताएकी छन् ।

उनले वन सम्पदालाई मुलुकको प्रमुख आयआर्जनको साधन बनाउने गरी सरकारले नीति निर्माण गर्ने तयारी गरिरहेको जानकारी दिइन् । यो नीति व्यवहारमा लागू हुन सके सामुदायिक वनको अर्थ नै बदलिन सक्छ ।

आज वन संरक्षणका लागि बैठक बस्ने उपभोक्ता समूह भोलि वनमा आधारित उद्योग सञ्चालन गर्ने उद्यमी बन्न सक्छन् ।

आज वनको रेखदेखमा सीमित स्थानीय युवा भोलि जडीबुटी प्रशोधन, वन पर्यटन, काठ तथा बाँसजन्य सामग्री उत्पादन वा अन्य हरित व्यवसायमा जोडिन सक्छन् । त्यसका लागि चाहिन्छ—स्पष्ट नीति, लगानी, प्रविधि र बजार ।

वनबाट आम्दानी लिन खोज्दा विनाश नहोस्

तर वनलाई आर्थिक पुँजीमा रूपान्तरण गर्ने बहससँगै एउटा जोखिम पनि छ । वनबाट आम्दानी गर्ने नाममा अनियन्त्रित दोहन भयो भने विगतमा संरक्षण गरेर बनाएको सम्पत्ति फेरि संकटमा पर्न सक्छ ।

त्यसैले वनको उपयोग र संरक्षणबीच सन्तुलन सबैभन्दा महत्वपूर्ण विषय हो । सामुदायिक वनबाट काठ निकाल्ने हो भने पुनःरोपण र प्राकृतिक पुनरुत्पादनको व्यवस्था हुनुपर्छ । जडीबुटी उत्पादन गर्ने हो भने दिगो संकलनको मापदण्ड आवश्यक हुन्छ । वन पर्यटन बढाउने हो भने पर्यावरणीय क्षमताको सीमा निर्धारण गर्नुपर्छ ।

वनलाई पुँजी मान्नु भनेको वन बेच्नु वा सक्नु होइन ।  पुँजीको रूपमा प्रयोग गर्नु भनेको त्यसलाई जोगाउँदै त्यसबाट निरन्तर लाभ सिर्जना गर्नु हो । यही अवधारणा नेपालको वन नीतिको केन्द्रमा आउनुपर्ने देखिन्छ ।

जलवायु संकटसँग जुध्ने आधार पनि वन

वनको आर्थिक महत्व जति ठूलो छ, वातावरणीय महत्व त्यसभन्दा कम छैन ।  पालले जलवायु परिवर्तनका असर भोगिरहेको छ । कतै अत्यधिक वर्षा र बाढी, कतै लामो समयको सुक्खा, कतै पहिरो र कतै पानीका मुहान सुक्ने समस्या बढिरहेको छ ।

यस्तो अवस्थामा वनले प्राकृतिक सुरक्षा कवचको काम गर्छ । वनले वर्षाको पानी जमिनमा सोसिन मद्दत गर्छ । माटो संरक्षण गर्छ । पानीका स्रोत जोगाउँछ । कार्बन सञ्चिति गर्छ । तापक्रम सन्तुलनमा सहयोग पुर्‍याउँछ ।

नेपालले कार्बन व्यापारमा समेत सम्भावना देखाइरहेको छ । त्यसैले सामुदायिक वनलाई कार्बन सञ्चिति र वातावरणीय सेवासँग जोडेर स्थानीय समुदायलाई प्रत्यक्ष लाभ दिन सकिने सम्भावना छ ।

वनको संरक्षण गर्ने समुदायले वनबाट प्राप्त वातावरणीय लाभको हिस्सा पाउने व्यवस्था बलियो बनाउन सके सामुदायिक वनप्रति स्थानीयको स्वामित्व र जिम्मेवारी अझ बढ्न सक्छ ।

गाउँमै रोजगारी सिर्जना गर्ने अवसर

नेपालको एउटा ठूलो समस्या रोजगारीको अभाव हो ।  गाउँमा रोजगारी नहुँदा युवा सहर वा विदेश जान बाध्य छन् । खेतबारी बाँझिँदै छन् । गाउँका बस्ती पातलिँदै छन् ।

यस्तो अवस्थामा वनमा आधारित अर्थतन्त्र एउटा विकल्प बन्न सक्छ ।  सामुदायिक वनले स्थानीय युवालाई रोजगारी सिर्जना गर्न सक्छ । वनजन्य उत्पादनको प्रशोधन, प्याकेजिङ र बजारीकरणमार्फत स्थानीय अर्थतन्त्र चलायमान बनाउन सकिन्छ ।

तर त्यसका लागि अहिलेको परम्परागत सामुदायिक वन व्यवस्थापनको सोचमा परिवर्तन आवश्यक छ ।

उपभोक्ता समूहले केवल वनको सुरक्षा गर्ने जिम्मेवारी मात्र होइन, वनमा आधारित उद्यम सञ्चालन गर्ने आर्थिक संस्थाका रूपमा समेत आफूलाई विकास गर्नुपर्ने अवस्था आउँदैछ ।

सरकारले पनि अनुमति, कर, लगानी, प्रविधि र बजारको झन्झट घटाएर सामुदायिक वनमा आधारित उद्यमलाई प्रोत्साहन गर्नुपर्छ ।

आधा शताब्दीको उपलब्धिपछि अब नयाँ यात्रा

नेपालको सामुदायिक वन अभियानले एउटा असाधारण यात्रा पूरा गरेको छ । उजाड डाँडा हरियो बनाउने अभियानबाट सुरु भएको यात्रा आज विश्वले अध्ययन गर्ने व्यवस्थापन प्रणाली बनेको छ ।

अब यसको अर्को यात्रा सुरु गर्नुपर्ने बेला आएको छ । त्यो यात्रा हुनेछ—संरक्षणबाट उत्पादनतर्फ, उत्पादनबाट उद्यमतर्फ र उद्यमबाट समृद्धितर्फ। र यो यात्रा वन विनाशको बाटोबाट होइन, दिगो उपयोगको बाटोबाट हुनुपर्छ ।

सामुदायिक वनको वास्तविक शक्ति त्यसको रूखमा मात्र छैन । त्यससँग जोडिएको समुदायमा छ । समुदायको श्रम, ज्ञान, स्वामित्व र सहभागितालाई उत्पादनसँग जोड्न सके वन नेपालको हरियाली मात्र होइन, आर्थिक समृद्धिको आधार पनि बन्न सक्छ ।

हिजो पहिरो रोक्न रोपिएका ती रूखहरू आज हुर्किसकेका छन् । अब ती रूखले एउटा नयाँ प्रश्न गरिरहेका छन् । हामीले जोगाएको वनबाट हाम्रो गाउँले के पायो ? त्यसको उत्तर केवल हरियो डाँडा देखाएर पुग्दैन ।

उत्तर रोजगारीमा देखिनुपर्छ । आयआर्जनमा देखिनुपर्छ । गाउँमै रोकिएका युवामा देखिनुपर्छ । गरिब परिवारको बदलिएको जीवनमा देखिनुपर्छ ।

त्यसैले अब सामुदायिक वनलाई केवल संरक्षणको कथा बनाएर पुग्दैन ।  यो नेपालको स्थायी पुँजी हो। जोगाउनुपर्ने पनि यही हो, सदुपयोग गरेर समृद्धि ल्याउनुपर्ने पनि यही हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पहिरोले पुरियो, एक जना बेपत्ता

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घ...

नाङ्गा डाँडाबाट हरियो वनसम्म : अब सामुदायिक वनलाई समृद्धिको पुँजी बनाउने बेला

काठमाडौं । कुनै समय नेपालका धेरै पहाडी बस्तीका डाँडाकाँडा उजाड थिए । वन फँडानी बढ्दै जाँदा बस्तीमाथिका पाखा नाङ्गिँदै गए । वर्षायाम सुरु हुनासाथ पहिरो...

प्रतिनिधिसभाको बैठक आज बस्दै, खानी तथा खनिज पदार्थ विधेयकमा छलफल हुने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बस्नेछ। आजको बैठकमा खानी तथा खनि...

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना, देशभर मनसुनी वायुको प्रभाव

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, लुम्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending