नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती हुने समस्या कायमै देखिएको छ। जिल्लामा २० वर्षभन्दा कम उमेरका किशोरीमा गर्भधारणसँगै गर्भपतनको अवस्थासमेत देखिएको छ।
मुलुकी देवानी संहिता, २०७४ ले २० वर्ष उमेर पूरा नभई विवाह गर्न बन्देज गरेको छ। कानुनले यस्तो विवाहलाई अपराध मानेर सजायको व्यवस्था गरे पनि सामाजिक तथा पारिवारिक कारणले उमेर नपुग्दै विवाह हुने क्रम पूर्ण रूपमा रोकिएको छैन।
प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नवलपुरमा ४ हजार ४६३ जना गर्भवती भएका थिए। तीमध्ये २० वर्षभन्दा कम उमेरका किशोरीको संख्या ५०० रहेको कार्यालयले जनाएको छ।
सोही अवधिमा जिल्लामा १ हजार २१८ जना सुत्केरी भएका थिए भने १ हजार ४२३ जनाले गर्भपतन सेवा लिएका थिए। सुत्केरी हुनेको तुलनामा गर्भपतन गराउनेको संख्या २०५ ले बढी देखिएको छ। गर्भपतन सेवा लिनेमा २० वर्षमुनिका ७८ जना किशोरी रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख डा. केशवप्रसाद चापागाईँले जानकारी दिए।
२० वर्ष नपुग्दै सुत्केरी हुनेको अनुपात कावासोतीमा सबैभन्दा बढी ७.९५ प्रतिशत रहेको छ। त्यस्तै हुप्सेकोटमा ६.५४ प्रतिशत, बुलिङटारमा ६.२५ प्रतिशत र विनयी त्रिवेणीमा ४.४४ प्रतिशत रहेको कार्यालयको तथ्यांक छ।
गर्भपतन सेवा लिनेको संख्या भने गैँडाकोटमा सबैभन्दा बढी देखिएको छ। त्यहाँ ५८ जना सुत्केरी हुँदा ४५८ जनाले गर्भपतन सेवा लिएका छन्। कावासोतीमा ६३२ जना सुत्केरी हुँदा ४०५ जनाले गर्भपतन सेवा लिएका छन्।
त्यस्तै देवचुलीमा १७८, हुप्सेकोटमा १४१, विनयी त्रिवेणीमा १००, मध्यविन्दुमा ९७, बौदीकालीमा २५ र बुलिङटारमा १० जनाले गर्भपतन सेवा लिएको तथ्यांकमा उल्लेख छ।
यो तथ्यांक सरकारी तथा प्रसूति सेवा प्रदान गर्न अनुमति पाएका स्वास्थ्य संस्थाबाट प्राप्त विवरणमा आधारित रहेको कार्यालयले जनाएको छ। जिल्लाका अन्य स्वास्थ्य संस्था तथा जिल्ला बाहिर गएर प्रसूति वा गर्भपतन सेवा लिनेको विवरण समेटिएकाले वास्तविक संख्या अझ बढी हुन सक्ने जनाइएको छ।
कलिलो उमेरमा गर्भधारणले स्वास्थ्य जोखिम
स्वास्थ्य विज्ञका अनुसार २० वर्ष नपुग्दै गर्भवती हुँदा किशोरी र शिशु दुवैको स्वास्थ्यमा विभिन्न जोखिम देखिन सक्छ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका उपनिर्देशक डा. सन्देश पौडेलका अनुसार कम उमेरमा गर्भधारण गर्दा प्रसूति जटिलता, पाठेघर खस्ने, पिसाब चुहिने तथा कम तौलको बच्चा जन्मिने जस्ता समस्या देखिन सक्छन्।
कलिलो उमेरमा जन्मिएका शिशुमा श्वासप्रश्वासमा समस्या, शरीरको तापक्रम सन्तुलनमा कठिनाइ तथा सङ्क्रमणको जोखिमसमेत हुने चिकित्सकहरूको भनाइ छ।
किशोरीको शारीरिक तथा मानसिक विकास पूर्ण नहुँदै गर्भधारण हुँदा सामान्य प्रसूति हुन कठिन हुने र कतिपय अवस्थामा शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्ने डा. पौडेलले बताए।
गर्भपतन सेवा पनि सुरक्षित र व्यवस्थित स्वास्थ्य संस्थामार्फत उपलब्ध हुनुपर्ने चिकित्सकहरूको जोड छ। सुरक्षित सेवामा पहुँच नहुँदा किशोरीहरूले थप स्वास्थ्य जोखिम व्यहोर्नुपर्ने अवस्था आउन सक्ने उनीहरूको भनाइ छ।
विद्यालयदेखि नै सचेतना आवश्यक
सानो उमेरमा गर्भवती हुने समस्या न्यूनीकरण गर्न विद्यालय तहदेखि नै प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा प्रभावकारी बनाउनुपर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन्।
किशोर–किशोरीमैत्री सूचना केन्द्र, विद्यालयमा स्वास्थ्यसम्बन्धी कार्यक्रम तथा परिवार नियोजन सेवाको पहुँच विस्तार गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ। ग्रामीण क्षेत्रमा अझै पनि प्रजनन स्वास्थ्य, परिवार नियोजन र सुरक्षित गर्भपतनबारे पर्याप्त जानकारीको अभाव रहेको उनीहरू बताउँछन्।
परिवार नियोजनका साधनको प्रभावकारी प्रयोगले मातृ तथा शिशु स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने स्वास्थ्य अधिकारीहरूको भनाइ छ।
प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख डा. चापागाईँले पछिल्लो समय दुर्गम क्षेत्रसम्म इन्टरनेट र सामाजिक सञ्जालको पहुँच विस्तार भए पनि त्यसको गलत प्रयोग तथा कम उमेरमै विवाह गर्ने प्रवृत्तिले समस्या थप जटिल बनाएको बताए।
स्वास्थ्यकर्मीहरूका अनुसार प्रजनन स्वास्थ्य र परिवार नियोजनसम्बन्धी गलत धारणा, अन्धविश्वास तथा जानकारीको अभाव हटाउँदै परिवार, विद्यालय, स्थानीय तह र स्वास्थ्य संस्थाबीच समन्वय बढाउन सके किशोरावस्थामै हुने गर्भधारण र त्यसबाट उत्पन्न स्वास्थ्य जोखिम कम गर्न सकिन्छ।
प्रतिकृया लेख्नुहोस्: