जव हामी ठुलो पार्टी भयौं, सरकारको नेतृत्व गर्ने भयौं, जनताको काख पोल्टो हामीलाई बसाउन छाड्यो तब हामी कमजोर भयौं । यो तथ्यगत गल्ती स्विकार्दै जनतासँग माफी माग्ने र गल्ती नदोहोर्याउने हो भने हामीले चूनौतिहरुको फेरीपनि सामना गर्न सक्छौ ।एमाओवादीको १ वर्षदेखि जारी बैठक समापनको नजिक पुगेको छ । यसबिचमा खण्डखण्ड र पूर्ण गरी धेरैपटक बैठक भए । समसामयिक राष्ट्रिय राजनीतिक मुद्धाहरुको सम्बोधनमै अल्झिएको यो १ वर्ष लामो कालखण्ड अब भने उसले निधो गरेको विगत कार्यनीति (संविधानसभाबाट लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान) जो मुलभुतरुपमा हासिल भएको छ । त्यसको समिक्षा सहित अब अगाढीको कार्यनीतिको मोटो निरुपणसहित समापन हुँदैछ । गत वर्ष मंसिर २८ मा प्रस्तुत राजनीतिक प्रतिवेदनकै पुरकका रुपमा यसपटक पनि २७ पृष्ठ लामो प्रतिवेदन अध्यक्षले प्रस्तुत गर्नुभएको छ । कैंयन आरोह अवरोह बि चगत प्रतिवेदनले ठोस गरेको मुख्य राजनीतिक कार्यभार ‘संविधानसभाबाटै संविधान जारी गरेर’ पुरा भएपछि प्रस्तुत यो प्रतिवेदनले अघि सारेको ‘बाँकी कार्यभार पुरा गर्दै समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने’ दिशावोध उपर केन्द्रिय सदस्यहरुले धारण व्याक्त गरिरहेका छन् । १५१ सदस्य केन्द्रिय समितिबाट नयाँ शक्तिको बहाकावमा भड्किएका ढेड दर्जनको संख्या बाहेक प्राय सबैले बोल्न नाम टिपाएका कमरेडहरुमध्य आजसम्म ८० जनाले एकसरो धारणा राखिसकेका छन् । आवश्यक परे अर्को चरण पनि चल्ने/चलाउने मनसाय अध्यक्षले व्याक्त गर्नुभएको छ । बैठकमा बोल्ने अधिकांशले ‘हाम्रो पार्टीले मालेमाको विकासमा गरेको योगदानका बारे जिज्ञासा राखेका छन्’ । अविकास वा अल्पविकास, न्यून चेतना वा असिक्षा र पराधिन एवं औपनिवेशिक सामाजिक वस्तुस्थितिको चंगुलमा रहेको समाजको परिवर्तन गर्न केन्द्रिकरण कि जनवाद प्रधान भन्ने विषय जवर्जस्त ढंगले बहसमा आएको छ । समाजवादी क्रन्तिको विचार, नीति र विधि विकास निम्ती थप विहंगम छलफल र बहस गर्दै अघि बढ्नुपर्ने त छदैंछ त्यसका निम्ती खस्किएको वर्तमान जग अपर्याप्त मात्रै होइन वाधक छ । नयाँ र मजवुत जग खडा गर्नका खातिर देखिएको कलिलो सम्भावनामा उभिएर नयाँ जग निर्माण गर्ने दिशामा ठडिएका मुख्यत दूईवटा भयंकर चूनौतिहरुको सामना गर्न साहस गर्ने कि नगर्ने ? भनेर प्रतिवेदनले उठाएको प्रश्न निकै पेचिलो महसुस भईरहेको छ । पहिलो चूनौति कि ‘कमलको फुल टिप्न हिलोमा पस्नै पर्छ’ भने झै पूजिवादी कार्यभार कम्युनिष्टहरुले पुरा गर्नु पर्दाको विगत १० वर्षे कालखण्डमा माओवादी कम्युनिष्टहरुमा माओवादी कम्युनिष्टहरुमा सल्किएको गुटवादीता, अराजकता र व्याक्तिवादीता जस्ता पूँजिपन्थी रोगहरु जो क्यान्सरकै रुपमा फैलिईरहेका छन् । यिनको कठोर शल्यक्रिया गर्न गराउन सकिन्छ कि सकिदैंन भन्ने र बाबुराम जस्ता विद्धवानका मुखबाट ‘नेपालमा माक्र्सवादको औचित्य छैन’ भनेर भनाउन सफल साम्राज्यवादको प्रचारवाजीलाई मिथ्या सावित गर्ने हिम्मत गर्ने कि नगर्ने भन्ने प्रश्न मुख्य हुन् । यस्ता चूनौति पर्गेल्नेक्रममा धेरै कमरेडहरुले विगत जनयुद्धकालका सुरुवाती दिनहरुमा कस्ताकस्ता चूनौति आए र कसरी सामना गरियो भनेर स्मरण गरे गराएका छन् । हामी महान राजनीतिक लक्ष्य उदेश्य हासिल गर्ने मालेमावादी अभियानमा अघि बढ्दा वर्ग बैरीहरुले हामीलाई चोर डाँका र ज्यानमारा जस्ता भयानक पहिचान र पगरी दिएकै थिए । हामीले तीनलाई जनताको मनोभावना जितेर लल्कारेका हौं । कसैले सम्मान नगरेका, हेपिएका, र थिचोमिचोमा पारिएका दमित उत्पिडित नेपाली जनताका काख पोल्टामा रमे/रमाएर तीनको सामना गरेका हौं । जनतालाई आफ्नो हक अधिकार सम्झाएर जनताकै पक्षमा वलिदान गरेर पार्टी र परिवर्तनको आन्दोलनलाई हालका लागी प्रगतिशिल र परिवर्तनशिल मात्रै सहि गणतान्त्रीक नेपालको संघिय संविधान जारी गर्ने हद सम्म ल्याउन सफल भएका हौं । जव हामी ठुलो पार्टी भयौं, सरकारको नेतृत्व गर्ने भयौं, जनताको काख पोल्टो हामीलाई बसाउन छाड्यो तब हामी कमजोर भयौं । यो तथ्यगत गल्ती स्विकार्दै जनतासँग माफी माग्ने र गल्ती नदोहोर्याउने हो भने हामीले चूनौतिहरुको फेरीपनि सामना गर्न सक्छौ । त्यस्तै बाली लगाउँदा झार पनि सँगसँगै उम्रन्छ, घोडा चढ्दा लडिन्छ र जिवनको गोरेटोमा अघि बढ्दा दूर्घटना घट्छन् भने झै काम र समयसँगै थूप्रिने फोहोर सफा गरिरहनु अनिवार्य हुन्छ । विगतमा पनि पार्टीमा थुप्रिएका थूप्रै फोहोर मैला सफा गरिएकै हो । अहिले पनि रोग पन्पिएकाहरुको शल्यक्रिया, सल्किएकाहरुको सघन उपचार र सल्किने सम्भावनावारे चनाखो हुन हामी आफैं बाहेक कसले रोक्छ ? सर्वहारावादी जिवन मुल्य हासिल गर्ने दिशामा हाम्रा अध्ययनहरु कमजोर परेका छन् माक्र्सवादी स्कुल चलाऔं, विचारको हतियारमा खिया लागेको छ भने धार लगाऔं, नीतिगत पक्ष कमजोर भएको छ भने पूर्ण जनवादी भट्टी चलाएर दह्रो तुल्याऔं र पार्टीको विधान सूस्पस्ट बनाई विधिमा चल्ने आदत बसाऔं । यसप्रकार प्रतिवेदनलाई समृद्ध तुल्याउन विचारधारात्मक, राजनीतिक, संगठनात्मक, साँस्कृतिक, नेतृत्वप्रणली लगायत समसामयिक मुद्धाहरुमा यथेष्ट टिप्पणी, आलोचना, सुझाव र समर्थन एवं विरोधका बिचारउत्तेजक खुराकहरु प्रस्तुत भईरहेका छन् । नेतृत्वको उपल्लो भन्दा तल्लो अर्थात केन्द्रिय सदस्यहरुको पक्तिबाट ठोसठोस समस्या र तीनको समाधान उपर तिता तर रोगीको उपचारका निम्ती रामबाण सावित हुनसक्ने तिखा भनाईहरु व्यक्त भईरहेका छन् । माथिल्लो पक्तिं अझै टालटुले अर्थात सतही र ढाकछोप गरे झै देखापरिरहेको छ । यस्तै परिदृश्यलाई मध्यनजर गरेर होला अर्को राउण्ड बहस चल्न सक्छ भन्नुभएको होस् । त्यसो भयो भने छलफल अझै घनिभूत, निदानकारी अर्थात फलदायी हुनेछ । लाखौं जनता र हजारौं कार्यकर्ताले पर्खे, खोजे र रोजेजस्तो जनआधारित क्रान्तिकारी पार्टी बन्ने÷बनाउने अभिष्ट पूरा हुनेछ । नेपाली जनताले खोजेका मूक्ति, स्वतन्त्रता र स्वधिनता सहितको समृद्ध नेपाल निर्माणको ढोका खुल्नेछ ।
प्रतिकृया लेख्नुहोस्: