उच्च प्रशासक र विज्ञ व्यक्तिको छवि बनाएका रामेश्वर खनालले कुबेर खड्का नाम भएको व्यक्ति साँच्चिकै कुबेर हो भन्ने ठान्नु उदेकलाग्दो कुरा हो । आशा गरौं, उनले कुबेर ठानेको व्यक्ति गाउँको सबैभन्दा धनी व्यक्तिसम्म होस् । उसको घर बलियो होस् । केही वर्षपछि \'रातो स्टिकर\' लगाएर बाहिरिनु नपरोस् । नयाँ शक्तिलाई शुभकामना !नेपालका नयाँ र क्रान्तिकारी भनिएका शक्तिहरुले समेत जनताप्रतिको उत्तरदायित्व र जिम्मेवारी पूरा गर्न चुकेको इतिहास छ । त्यसैले जनतामा नयाँ शक्ति ठीक कि पुरानो ? भन्ने विषयमा बेलाबखत द्विविधा पाइन्छ । दोस्रो संविधानसभा निर्वाचनमा राप्रपा नेपालले चौथो शक्तिको दर्जा पाएको जनता झुक्किएर होइन । बरु क्रान्तिकारी शक्तिप्रति जनताको विश्वास कम भएर हो । त्यो अविश्वासलाई चिर्ने स्पष्ट योजना लिएर आउने पार्टीलाई मात्रै आगामी दिनमा जनताले विश्वास गर्नेछन् । राजनीति सही वा गलत हुन सक्छ । राजनीतिक पात्र र विचार ठीक कि बेठीक ? भन्ने विषयमा विचार विमर्श गर्न सकिन्छ । तर राजनीतिविहीन आधुनिक समाजको परिकल्पना गर्न सकिँदैन । संसारभर समाजको नेतृत्व गर्ने काम राजनीतिले गरेको हुन्छ । हामीकहाँ राजनीति गर्ने पात्रहरु, उनीहरुको कथनी र करनीमा हुने फरकका कारण समाज समयसँगै अगाडि बढ्न नसकेको हो । राजनीति आफैमा बेठीक होइन । कुनैपनि शक्ति, कुनै पनि वाद आफैमा शतप्रतिशत सही वा गलत हुँदैन । कर्ता, कर्म र कार्य विभाजन \'चैते-काङ्ग्रेस\' नेपाली राजनीतिमा प्रचलित वाक्यांश हो । शान्ति प्रक्रियाका दौरान \'अयोग्य\' भन्ने शब्द निकै चर्चित रह्यो । अयोग्यहरुले यसो गरे, उसो गरे भन्ने समाचार हेडलाइनहरु निकै लेखिए । \'मण्डले\', \'दलाल\', \'गद्दार\', \'उग्र वामपन्थी\', \'जड सुत्रवादी\' जस्ता अनेक विशेषण विभिन्न पात्रहरुको लागि फरक फरक समयमा प्रयोग गरियो । ती सबै उपमा निश्चित कर्ता, कर्म र कार्य विभाजनका सन्दर्भमा प्रयोग भएको थियो । समसामयिक नेपाली राजनीतिमा कर्ता, कर्म र कार्य विभाजनको तालमेल देखिँदैन । त्यसैले समाजको निम्ति राजनीति गर्छु भन्नेहरुलाई सर्वसाधारणले पत्याइहाल्ने अवस्था छैन । अहिले शक्तिमा रहेका राजनैतिक पार्टीका कार्यकर्ताहरु निश्चित व्यक्तिगत वा सामुहिक स्वार्थलाई शिरोपर गरेर मैदानमा उत्रिएका सयौं उदाहरण पाइन्छ । यसले समाजमा राजनीतिका नाउँमा विकृतिलाई बढाएको छ । राजनीतिक शक्तिको आडमा व्यापार वा अन्य कुनै धन्दा चलाउन, सार्वजनिक सम्पत्तिको चरम दोहन गर्न र शक्तिशाली बन्नका लागि गरिने राजनीतिका कारण जनता दिक्क छन् । यसैबीच जनताले अपेक्षा गरेजस्तो शक्ति बन्ने दाबीका साथ नयाँ शक्ति नाम गरेको सङ्गठन निर्माण भएको छ । कुनै पनि सङ्गठन निर्माण हुँदैमा उत्साहित हुनुपर्ने कारण केही छैन । त्यसका कर्ता, कर्म र कार्य विभाजनले धेरै कुरा स्पष्ट हुँदै जानेछ । नयाँ शक्तिको सङ्गठन शक्तिका पूजक र महत्वाकांक्षी पात्रहरुको भीडमात्रै नबनोस् । अहिलेलाई यतिमात्रै आशा गरौं । \'कुबेर खड्का\' र रामेश्वर खनाल पूर्वअर्थसिचव रामेश्वर खनाल नयाँ शक्तिमा प्रवेश गरेसँगै बजारमा एक किसिमको बहसको सुरुवात भएको छ । खनालको विगतका बारेमा धेरै कुरा नबुझ्नेहरुले पनि जागिरे जीवनको अन्तिमतिर लिएका अडानहरुका कारण उनलाई सम्झछन् । त्यसपछिका प्रायःजसो गतिविधि र भनाइप्रति सर्वसाधारणले चासो राख्छन् । कर छली प्रकरणमा तत्कालीन अर्थमन्त्रीसँग मतभेद भएपछि खनालले राजीनामा दिएका थिए । तत्पश्चात् केही समय निस्क्रिय देखिएका उनी संविधानसभा चुनावताका विभिन्न पार्टीहरुको तानातानमा परे । अन्तत: नेपाली काङ्ग्रेसका तर्फबाट समानुपातिक उमेदवारको सूचीमा देखिए । खै कुन संयोगले संसदमा पुग्ने मौका जुरेन । काङ्ग्रेस पार्टीभित्र अन्यायमा परेको बुझाइसहित उनी नयाँ शक्तिमा जोडिन पुगे । हालसालै प्रकाशित एक अन्तरवार्तामा खनालले आफ्नो लागि \'काङ्ग्रेसको गेटको ताल्चा खुले पनि मुलढोकाको ताल्चा नखुलेको र आफू बाहिरै परेको\' बताएका छन् । साथै पार्टीहरुको शुद्धीकरण गरिनुपर्ने विचार व्यक्त गरेका छन् । र, नयाँ शक्ति अब्बल राजनीतिक शक्ति भएको तर्क प्रस्तुत गरेका छन् । \'बाबुराम भट्टराईले विगतको गल्ती महसुस गरेको र सच्चिने प्रयास गरेको\' कारण आफूले साथ दिएको खनालको तर्क छ । सच्चिने वा विगतमा गरेको गल्ती स्वीकारेको हदसम्म ठीक छ तर सच्चिएर सबैभन्दा आदर्श नेतृत्वको रुपमा स्थापित हुने सन्दर्भमा पर्खेर हेर्नु नै उचित हुनेछ । हामी चाहे संसारको जुनसुकै कुनामा पुगौं अपवाद बाहेक मान्छेहरुको नाम र काम मिल्दैन । बोली र व्यवहार मिल्दैन । नेपाली धनबहादुर, मनबहादुर र कुबेरहरु नामले अर्थ्याएको भन्दा ठीक उल्टो अवस्थामा हुन्छन् । त्यसैले नयाँ शक्तिले नयाँ तरिकाले नै काम गर्छ भन्नेमा विश्वस्त हुने आधार छैन । उच्च प्रशासक र विज्ञ व्यक्तिको छवि बनाएका रामेश्वर खनालले समेत कुबेर खड्का नाम भएको व्यक्ति साँच्चिकै कुबेर हो भन्ने ठान्नु उदेकलाग्दो कुरा हो । आशा गरौं, उनले कुबेर ठानेको व्यक्ति गाउँको सबैभन्दा धनी व्यक्तिसम्म होस् । उसको घर बलियो होस् । केही वर्षपछि \'रातो स्टिकर\' लगाएर बाहिरिनु नपरोस् । नयाँ शक्तिलाई शुभकामना ! tnregmi@gmail.com
प्रतिकृया लेख्नुहोस्: